Search

नेवार जातीले शान्तीको कामना गर्दै गठेमंगल पर्व मनाउर्दै

नेवार जातीले शान्तीको कामना गर्दै गठेमंगल पर्व मनाउर्दै

आज गठेमंगल (घण्टाकर्ण)
गाठामा डुइरी
गठामुँग चह्रे
परम्परा एक किम्बदन्ती अनेक

नेपाल राज्यमा भएका अधिकांश चाडपर्व मध्येमा हिन्दु र बौद्ध धर्मको संयोजनमा मिश्रित रुपमा मनाउने सानोतिनो देखि ठूलाठूला महान पर्वहरुमा जातीय परम्पराको हिसाबले हेर्दा नेवार जातिकोे बाहुल्यता रहेको पाईन्छ । हुन त नेवार जाती नेपाल भरीनै छरिएर रहेका छन् । जहाँ जहाँ नेवारहरुको बस्ती छ त्यहाँ त्यहाँ नेवारी परम्परा र संस्कृती चलेकै मानेको पाईन्छ । यिनै नेवारहरुको विशेष चाड मध्येको एक चार्ड हो घण्टाकर्ण चतुर्दशी ।

यसलाई काठमाडौं उपत्यका लगायतका बनेपा, पनौती, लुभू, किर्तिपुर, फर्पिङ, हेटौंडा, बन्दिपुर, पोखरा, टिस्टुङ्, पालुङ, चित्लाङ, चौतारा, रामेछाप (चिसापानी ) आदि ठाउँमा रहेका नेवारहरुले “गथांमुँग चह्रे या ‘ गठामुंग नख“ भन्छन् भने, यही नेवारी भाषाको उद्गम स्थल दोलखामा “गाठामा डुये नखत“ भनेर भनिन्छ र सिन्धुपाल्चोक जिल्लाको तौथली र लिस्ति अनि काभ्रेपलान्चोक जिल्लाको दूतिमा पनि ’ गाठामा “सले दिन” भनेर मानिन्छ ।

फोटो : रेखा शाक्य राजमती

वस्तुतः यो घण्टाकर्ण चतुर्दशीको बारेमा ठाउँ ठाउँमा विभिन्न किंवदन्ती पाईए पनि मूलतः यो पर्वलाई ऐतिहासिक, धार्मिक, सामाजिक र वातावरणीय हिसाबले खेतीपातीको काम सकेपछिको केहीबेर विश्राम गर्ने र त्यो क्षणमा मनमा कुनै दुविधा, पीर चिन्ता र भय नहोस् । ती सबै मनोबैज्ञानिक तरिकाले बसेको घर, समाज र परिवार सहितको टोलमा शान्तिपूर्ण स्थिति रहोस् भन्ने मनसायले घण्टाकर्ण भनिने दैवीय रुपको एक अंशलाई राक्षस मानेर उनैको जिम्मामा सम्पूर्ण असिद्धि र अलच्छिनी मानिएका भ्रान्तिहरु टाँसेर दही चिउरा खुवाएर पठाईदिने हिसाबले यो साउनको कृष्णपक्षको चतुर्दशी दिनमा घण्टाकर्ण मेलाको रुपमा मानिन्छ ।

यसको अर्को पक्षलाई केलाउने हो भने, मानव जातीलाई पेट पाल्नको लागि अनेकौं सीप र बुद्धि लगाउन दिएको मस्तिष्क र अंगलाई सदुपयोग गर्ने हिसाबले, समाउने, चलाउने, उठाउने, बोक्ने, टोक्ने खाने आदि हरेक क्रियाकलाप दिएको छ यसलाई सही ठाउँमा सदुपयोग गर्दागर्दै पनि कहिलेकाहीँ जनशक्तिको अभाव पर्नसक्छ । त्यतिबेला जनसंख्या एकदमै निम्न थियोे, तर कमाउने जग्गा जमिन यथेष्ट थियोे । किसानहरूले काम गर्दागर्दै थकित हुन्थे तर समयमै बालीनाली लाउन नसकेकोमा कतिपय जमिन खेतबारी बाँझो नै हुन्थ्यो । एउटै खेतमा धान रोप्न समेत ४–५ दिन लाग्ने हुँदा किसानलाई अत्यन्तै दुःख लाग्नु स्वभाविक नै हो ।

यसै प्रसङ्गमा यो घण्टाकर्ण राक्षसको किंवदन्ती :
त्यो भेकमा एउटा अचम्मको अधवैंशे व्यक्ति थियोे । उसंग अलिक नजिक बस्ने एकजना महाबलि शक्तिशाली किसान थियो । त्यो व्यक्ति मानौं कि त्यो ठाउँको जमिनदार हो । जस्तोसुकै काम पनि उसले भनेकै समयमा समाप्त गरेर समाधान गर्थ्यो, जतिसुकै ठूलाठूला खेतका फाँटपनि भनेकै दिनमा रोपाइँ गरिसक्थ्यो ।

अरुहरुले ६–७ दिन लगाएर नसकेको काम उसले रातारात देखि मध्याह्न दिनसम्ममा काम तमाम गथ्यौ । उनीहरुको कृयाकलाप देखेर त्यहाँका किसानहरु अचम्म मान्थे । जान त उनीहरु स्वयं ती व्यक्तिको खेतमा काम गर्न जान्थे तर आफ्नो खेतमा काम गर्दा र त्यो जमीनदारको खेतमा काम गर्दाको क्रियाकलापमा आकाश जमिनको फरक पाउँथे । जतिसुकै ठूलो क्षेत्रफल भएपनि दुई तीन दिनमै काम सकिने लक्षणले अन्य किसानलाई अचम्म लाग्नु स्वभाविकै हो ।

फोटो : रेखा शाक्य राजमती

हुन त हरेक वैशाखको आधाआधिमा गहुँ र जौ काटि सकेपछि अक्षयतृतियाको दिनमा त्यो जमीनदारले उसको साथी किसानलाई संगै राखेर जौको सातु र गहुँको रोटी पकाएर सबै देवी देवताको आराधना गरेर विशेषगरी महादेव र भैरव मन्दिरमा गएर पूजा अर्चना गरि सबैलाई प्रसाद बाँड्ने गर्दथे । भगवानको प्रसाद सम्झेर खाने दायाँबायाँ कुरा खोतल्न नजान्ने सोझा किसानहरुले जमीनदार र मुल किसानको आदेशमा उनीहरुको काम गरिदिने गर्दथे ।

तर पनि कुनैकुनै किसान र छिमेकीको मनमा भने अलिक शंका उब्जिएको थियोे । कि पानी नै नभएको खेतमा रातारात पानी भरिनु ८–१० हल गोरुले जोत्न नसकेको खेत २ हल गोरुले २ दिनमै सकाउनु, फेरि खेतमा खेतालालाई खाजा लानेबेलामा पनि १० जना छ भने २५–३० जनालाई पुग्ने खाजा बनाउन लगाउनुले पनि उनीहरु माथि छिमेकी, परिवार र अन्य किसानहरूको मनमा अनेकौं कुराले खुल्दुली मच्चाउन थालेको थियोे ।

रहस्यमय कुराले रन्थनिएको किसानले एकदिन जमिनदारकी कान्छी छोरीलाई सोध्न जाँदा उनी पहिले त अपत्यारिलो हाँसो छरेर टारिदिईन् । जब गाउँघरमा अलिक बढी नै हल्ला चलेकोले उनलाई पनि कौतुहल जाग्यो र खास कुरा के हो भन्दा बाबु जमिनदारसंग सोध्न पुगिन् । त्यतिबेला त्यो जमिनदार छाँगाबाट खसेको जस्तै महशुस गर्यो, मानौं उ सपनाबाट झसङ्ग झस्केर ब्युँझेको छ । उसले त्यो बेलासम्म ती कुराको ख्याल राखेको थिएन कि उसको खेतबारीमा क–कसले कति के काम भएको छ । कसरी सकिएको छ भन्ने ज्ञान समेत थिएन । उसले त उसको खेतीपाती घर हेर्ने किसानले जे भन्यो ।

घण्टाकर्ण :
त्यही मान्दै आएको थियोे, आफ्नी छोरीको कुरा सुनेपछि, जमिनदारले आफ्नो खेतीपाती र घरघडेरी हेर्न रखवार राखेको किसानलाई बोलाएर सोद्धा पो उसले त्यो रहस्यमय कुरालाई रहस्य कै गर्भमा राखेर साउनको कृष्ण पक्षको चतुर्दशीको दिनमा मात्रै बताउँछु अहिले बताउन मिल्दैन । यदि उतिखेरै बताइयो भने साराका सारा काम लथालिङ्ग हुने र बालीनाली समेतमा नोक्सानी आउने कुरा बताएपछि उक्त व्यक्ति त किसान नभएर अध्यात्म शक्ति भएको तान्त्रिक रहेछ भन्ने जानकारी पाएपछि जमिनदारले आफ्नी छोरीलाई उक्त कुरा जान्न यही दिनसम्म पर्ख भनेर किसानरुपी तान्त्रिकको कुरा सुनाएको रहेछ ।

तर नारी स्वभावकी ती चंचले छोरीले घरघरमा गएर “हाम्रो बाले त भूत प्रेत बोलाउन सक्ने तान्त्रिक वैद्य पाल्नु भएको छ, हाम्रो खेतको सबै काम त्यही भूतप्रेतले नै गरेको हो भनेर हल्ला चलाउँदै जाँदा एकदिन मध्याह्न दिनमा चार दोबाटोमा उभिरहेको भूतको प्रतिनिधिले (राक्षस) ले सुनेपछि उसको सम्पूर्ण शक्ति नै भयावह हुन थालेछ । चारैतिरबाट अनेक थरिका आवाजहरु उनको कानमा ठोक्किन आएपछि उ बहुलाहा जस्तो भएर जो जो धर्म गर्छन् उनीहरुलाई लखेट्ने, तिनकै चेलीबेटीलाई समातेर जे पायो त्यही गर्ने, अनि मान्छे, देउताहरु बोलेको पटक्कै मन नपराउने रिसाउने गरेर उग्ररूप लिएर कसैले बोलेको आवाज आफ्नो कानमा नपरोस् भनेर मन्दिरमा राखेको ठूलाठूला दुईवटा घण्टा ल्याएर आफैले दुईतिरको कानमा झुन्ड्याएर उध्धुम मच्चाउन थाले र “कसैले हाम्रो कुरा नगर्नु, मलाई असैह्य हुन्छ म घण्टाकर्ण हुँ “म सबैलाई खाईदिन्छु” भन्दै दोबाटोमा उफ्रिनु थालेपछि सबैजना भयभीत भएर उनै किसानरुपी तान्त्रिकलाई गुहार माग्न गएकोले उसले उक्त घण्टाकर्ण राक्षसलाई अनेक तरहले सम्झाएर हामीहरु जुन जुन ठाउँमा बसेपनि तिमीहरूको रुप श्रृङ्गार गरेर १४ दिन सम्म शहर बजारमा डुलाएर मनोरञ्जन गराउने छौं, तिमीलाई दुःख दिने जत्तिलाई समाएर सिमा खोलापारि पुर्याउनेछौं, तिमीलाई मीठा मीठा परिकार बनाएर खुवाएर राख्नेछौं ।

तिमीहरूको खिल्ली उडाउनेहरुलाई यसरी दही चिउरा खुवाएर फकाएर पराल र छ्वाली बालेर दोबाटोमा राखेर सबैको सामु यसरी पूजा गरेर बिदा गर्नेछौं भनेर घण्टाकर्णलाई पन्छायो भन्ने प्रसङ्गमा अक्षयतृतियाको दिनमा किसानहरूले पूजा गर्नुको औचित्यलाई वीर मशानको जस्तै साहस र शक्ति प्रदान गरून् र वर्खामासमा काम गर्न सहज होस् भन्ने देखाएर यो चाड मनाउने गरेको भन्ने भनाई रहेको छ । त्यसैको सम्झनामा नै औंसि देखि जनैपूणिर्माको अगिल्लो दिन सम्म दोलखामा दुइखाले लाखे नाच नचाईन्छ । दिउँसो र बेलुकी गरेर । दिनमा नचाइने लाखेको दुवैतिरको हात समाउने गरेर नचाईने लाखेलाई जो राकस भनिन्छ भने बेलुकी पख नचाईने लाखेलाई नेपाल राकस भनीन्छ । जुन लाखेलाई खुल्ला नचाईने चलन रहेको छ ।

अब यो घण्टाकर्ण चतुर्दशी मेला नेपालको नेवार जातीयतामा आधारित भएकोले ठाउँ ठाउँमा भिन्नभिन्नै तरिकाले मनाउने गरिए पनि स्वरुप त्यही राक्षसकै बध गरेर खोला या खोल्सामा सेलाउनु नै हो । यो दिन घरभित्रै लुकेर बसेका भूत प्रेत, पिशाच र जुनसुकै दशा ल्याउने ग्रहहरुले ठाउँ छोडेर जाउन् भन्ने उद्देश्यले पराल या छ्वाली बालेर धुवाँले भगाउने चलन रहेको छ जुन अहिलेसम्म पनी चलि आएको छ । तथापि उपत्यकाको नेवारहरुको बस्तीमा प्रत्येक टोलमा कतै नरकट ल्याएर हात खुट्टा जिउ र लिङ्गको रुपमा तैयार गरेर नाङ्लोमा राक्षस स्वरुप आकृतिमा तयार गरेर त्यसैलाई पराल र छ्वाली बालेर परिक्रमा गर्दै तरवारले काटेर ढालेपछि बजारदेखि टाढाको खोला खोल्सोमा फालेर फर्किने चलन छ ।

यसै गरी ऐतिहासिक शहर दोलखामा भने स्वरुप एउटै भएपनि प्रकृति फरक रहेकोे छ । ऐहिासिक नगर दोलखा शहर भित्र रहेका करीब २०–२२ टोलभरिमा एउटामात्र टोल राजकुलेश्वर मन्दिरको अगाडिको दोबाटोमा मात्रै यही घण्टाकर्णको प्रतिमूर्ति गाँजाको बोटबाट तैयार गरिन्छ । यसमा एकै गुठीयार पूजारीको खलकको तर्फबाट आनन्दमान प्रधानले पूजा गर्ने चलन रही आएको छ । यसै गरी सेलाउन लानको लागि शिवभक्ती परिवार लगायत स्थानिय बासिन्दाहरुको सहभागीतामा सेलाउन लाने चलन रहेको छ । नाङ्लो या चाल्नी जस्तो गोलाकारमा मकुण्डो जस्तै बनाएर गाँजाको बोटबाट बनेको शारीरिक बनोटमा उक्त मुखाकृति राखेर बनाईन्छ ।

करीब साँझमा पुजाआजा गरि दही चिउरा खुवाएर ढाले पछि दोलखा बजार देखि पश्चिम पट्टि रहेको खिङल्चा भन्ने ठाउँमा लगेर खोल्सामा सेलाएर फर्किने चलन छ । यसरी राक्षस बध गरेर लाने बेलामा कसाहीले ढोलक सानो झ्याम्टा र कुसुलेले शनै बजाएर लगेको हुन्छ । पछि फर्केर आउँदा खेरिको धुन भने अति ने मर्मस्पर्शी र कर्णप्रिय लाग्छ । त्यो धुनले जहाँ गए पनि दोलखाको मौलिकतालाई स्मरण गराई रहन्छ । यसरी मनाईने गठेमंगलको आजको दिनमा आज मासु खान पाईएन या जुराईएन भने जनैपूर्णीमाको दिन मासु जुर्दैन भन्ने कथन चलिआएको छ । जुन कुरालाई दोलखावासीहरुले मान्दै आएको छ ।

फोटो : सामाजिक सञ्जाल

चतुर्दशी साउन महिनाको कृष्ण पक्षको चतुर्दशीतिथिका दिन खासगरी काठमाण्डौं उपत्यका, बनेपा, दोलखा, सिन्धुपाल्चोकको तौथली लगायत सिक्किमको गान्तोक र दार्जिलिङ अनि देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो । यस दिनशिव पुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ ।

काठमाडौँ उपत्यकामा यस पर्वलाई ’गठेमङ्गल’ भन्ने गर्दछन् । ’गठेमङ्गल’ पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रूपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ ।
वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र ’गठेमङ्गल’ पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ । यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्ने गरिन्छ ।
घण्टाकर्ण पर्व ठाउँ ठाउँमा फरक फरक तरिकाले मनाईए तापनि मूलतः उद्देश्य एउटै हो ।

घण्टाकर्ण चतुर्दशीका बारेमा काठमाण्डौं उपत्यका लगाएत अन्यत्र यस्तो किंवदन्ती प्रचलनमा रहेको छ ।

नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो । धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो । त्यस राक्षसलाई त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो ।
त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र सम्मृद्धका तुलनामा मगन्तेहरू उसका मन पर्ने मानिसहरू हुन्थे । ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निउँमा उसले मारिदिने गर्दथ्यो । त्यस नरभक्षी राक्षसले बाटामा हिंड्ने महिला र बालिकालाई बलात्कार गर्ने गर्थ्यो । आतङ्क उसको दिनचर्या जस्तै बनेको थियो ।

फोटो : दिपक स्वप्नील

एकदिन उसलाई साह्रै भोक लागेको बेला ऊ आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो । भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो । भ्यागुतो पनि राक्षसदेखि रिसाएको थियो । उसले मौका यही हो भन्दै धाप (भासभएको जमिन) तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर देखायो । राक्षस भ्यागुतोले देखाएको ठाउँतिरै लाग्यो । त्यस ठाउँमा पुग्नासाथ ऊ धापमा ग्वाम्मै खस्यो । उसले आफ्नो विशाल शरीरलाई त्यस भासबाट प्रशस्त उपाय गर्दा पनि निकाल्न सकेन । साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो । भोलिपल्ट बिहान गाउँलेहरूले ढुंगाले हानेर उसलाई मारे । कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ ।

रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख छ । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन एकाबिहानै काठमाण्डौ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ । बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफासुग्घर बनाइन्छ ।

केटाकेटीहरु त्यस दिन बिहानैदेखि बाटोमा डोरी टाँगेर वा तघारो तेर्स्याएर घण्टासुरको जगात माग्दै बस्छन् । देशका विभिन्न ठाउँमा घण्टाकर्ण अर्थात गठेमङ्गल पर्व मनाईंदैछ । यो पर्व नेवार समुदायमा महत्वका साथ मनाउने गरिन्छ । मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ । पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिंदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रूपमा नर्कटको प्रतिमा बनाईन्छ ।

यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रूपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।

काठमाण्डौं जिल्ला भित्रकै साँखुमा प्रत्येक टोल टोलमा घण्टाकर्णको राक्षसको प्रतिमूर्ति बनाएर गठेमंगल घण्टाकर्ण पर्व मनाउने चलन रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!