Search

सुन्दर, शान्त अनि सहज पर्यटकीय गन्तव्य आली ताल

सुन्दर, शान्त अनि सहज पर्यटकीय गन्तव्य आली ताल

सुदूरपश्चिम प्रदेशमा ऐतिहासिक, प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक तथा अध्यात्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छ । प्राकृतिक एवम् पर्यापर्यटनको अपार सम्भावना अन्तरनिहित रहेको यस प्रदेशमा सयौं सुन्दर तालतलैयाहरू रहेका छन् । जैविक विविधताको संरक्षण एवम् संवद्र्धन गर्न, वातावरणीय सन्तुलन एवम् स्वच्छता कायम गर्न, प्राकृतिक स्रोतको सदुपयोग गर्न, पर्यटनको माध्यमबाट आयआर्जन, रोजगारी सिर्जना, सेवा क्षेत्रको विकास गर्न र समग्र मुलुक र प्रदेशको आर्थिक वृद्धि तथा विकास एवम् पर्यटन विकासका लागि यी ताल तलैयाको पहिचान, संरक्षण, विकास र प्रचारप्रसार गर्नु आवश्यक छ । यसबाट नेपाल सरकारले तय गरिएको उल्लिखित बजेट लक्ष्य हासिल गर्नसमेत सहयोग पुग्नेछ ।

नेपाल ताल संरक्षण विकास समितिको सन् २००९ को एक अध्ययनअनुसार नेपालमा जम्मा ५ हजार ३ सय ५८ वटा ताल रहेका छन्, जसमध्ये सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाहरूमा जम्मा ३ सय ३६५ वटा ताल रहेका छन् । जिल्लागत रूपमा हेर्दा यस प्रदेशमा सबैभन्दा बढी ताल कैलाली जिल्लामा (१ सय १४ वटा) रहेका छन् । यस्तै, कञ्चनपुर जिल्लामा ८५ वटा, बाजुरामा ५८ वटा, बझाङमा २५ वटा, डोटी र दार्चुलामा १९/१९ वटा, अछाममा १३ वटा, डँडेलधुरामा २ वटा र बैतडीमा एउटा ताल रहेका छन् । यी तालहरूको धरातलीय अवस्थिति हेर्दा समुद्र सतहबाट १ सय मिटरभन्दा तलदेखि ५ हजार मिटरभन्दा माथिको उचाइसम्म तालहरू अवस्थित रहेको पाइन्छ । ५ हजार मिटरभन्दा माथि तालहरू रहने जिल्लाहरूमा बझाङ (४ वटा), बाजुरा (७ वटा) र दार्चुला (२ वटा) रहेका छन् । यस्तो विषम धरातलीय उचाइमा रहेका यी तालहरू प्राकृतिक, धार्मिक, आध्यात्मिक र जैविक विविधता तथा पर्यापर्यटनको दृष्टिकोणले उच्च सम्भावनायुक्त रहेका छन् ।

जिल्लागत रूपमा अध्ययन गर्दा कैलाली जिल्लाका प्रमुख पर्यटकीय तालहरूमा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल, जाखोर बाबा ताल, कोइलही ताल, लौकाहा भौकाहा ताल, पुरैना ताल, कमल पोखरी ताल आदि रहेका छन् । यीमध्ये रैथाने र बसाइँसराइ गरी आउने ३ सय ६० प्रजातिका चराहरूको घरको रूपमा रहेको घोडाघोडी ताललाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (भयरहित वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने चरा संरक्षित क्षेत्र) को रूपमा घोषणा गरिएको छ । यस्तै, कञ्चनपूर जिल्लामा रहेका प्रख्यात तालहरूमा वेदकोट ताल, झिलमिला ताल, रानी ताल, प्यारा ताल (भारतको अतिक्रमण जोखिममा रहेको), मुड्का ताल, सुनदेउ ताल, बन्दा ताल आदि रहेका छन् ।

पहाडी जिल्लाहरूमा डँडेलधुरामा रहेका प्रसिद्ध तालहरूमा आली ताल, बोडा पाथी ताल, नायल ताल, आदि रहेका छन् । यीमध्ये आलिताल गाउँपालिकामा रहेको आली ताल धार्मिक, प्राकृतिक एवम् पर्यापर्यटनको रूपमा उच्च आकर्षणको केन्द्र बन्दै आएको छ । यस्तै डोटी जिल्लामा छतिवन ताल, खप्तड ताल र सुन दह पर्दछन् । अछाम जिल्लामा रामारोशन ताल, बाटुले ताल, काली दह पर्दछन् । सुर्मा सरोवर, भूमि सरोवर र तिमा दह बझाङमा पर्ने तालहरू हुन् । बाजुरा जिल्लामा बूढीनन्दा ताल, छेडे दह, कैलाश ताल र राक्षस तालहरू रहेका छन् । हिमाली जिल्ला दार्चुलामा ब्रह्मा ताल, पासा दह पर्दछन् ।
यस आलेखमा डँडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य आली तालको बारेमा चर्चा गरिएको छ ।

आली तालको अवस्थिति
आली ताल सुदूरपश्चिम प्रदेशको डँडेलधुरा जिल्लास्थित आलिताल गाउँपालिकामा रहेको छ । विशाल पहाडहरूको बीचमा रहेको यो ताल प्राकृतिक रूपमा सुन्दर, रमणीय र प्राचीन इतिहास बोकेको छ । जैविक विविधता र पर्यापर्यटनको दृष्टिकोणले उच्च सम्भावना रहेको यो ताल भीमदत्त राजमार्ग (धनगढी–डँडेलधुरा सडक) मा पर्ने बुडर नामक ठाउँबाट करिब १५ किमि पश्चिममा रहेको छ । बुडर–दैजी सडक खण्डमा रहेको घुम्ती बजारबाट उत्तरतर्फ करिब ३ किमिको यात्रा गर्दा समुद्र सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत श्रृङ्खलाको फेदीमा यो ताल अवस्थित छ । यस तालको लम्बाई ४ सय मिटर, चौडाइ २ सय मिटर र औसत गहिराइ २२ मिटर रहेको छ । १.५ किमि परिधि रहेको यस तालको आफ्नै सुन्दरता, धार्मिक महŒव र किंवदन्ती छ । तालमा चारैतिरका पहाडको सुन्दर प्रतिछायाँ देख्न सकिन्छ । तालमा वनजंगलका जंगली जीवजन्तुहरू पानी पिउन तथा सयर गर्नका लागि आउने गर्छन् । यहाँको जैविक विविधता मनमोहक छ । चराचुरुङ्गीहरूको बाक्लो उपस्थिति रहने यस तालमा गाउँपालिकाबाट हजारौं माछाका भुराहरू पनि राखिएको छ । यस तालमा डुङ्गा पनि चलाउने गरिएको छ ।

आली तालको किंवदन्ती
हाल यो ताल रहेको ठाउँमा परापूर्वकालमा किसानहरूका खेतहरू थिए । यहाँ खेतीपाती हुने गथ्र्यो । रोपाइँ हुने समयमा असार महिनाको एक रात गाउँकी एक जना महिलाले सपना देखिछन् । सपनामा ती महिलालाई एक जना देवीले भोलि रोपाइँका लागि खेतमा नजानु, गएमा अनिष्ट हुनेछ भनेछन् । ती महिलाले आफूले देखेको सपनाबारे सबै गाउँहरूलाई भनिन् तर उनको कुरामा कसैले विश्वास गरेनन् । सबै आफ्ना हलगोरु साथ रोपाइँ गर्न लागे । एकाएक पानी पर्न थाल्यो र खेतमा पानीका मूलहरू उत्पन्न हुन थाले । यसै क्रममा तालको उत्पत्ति हुन जाँदा हलगोरुसहित सबै रोपाइँ गर्नेहरू डुबेर तालमा विलीन हुन पुगे । तर ती महिला रोपाइँमा नजाँदा बाँचिन् । यस घटनापश्चात् भगवान् शिव ती महिलालाई भेट्न आए र तालको रक्षाका लागि उनलाई दैवी शक्ति प्रदान गरे अनि ती महिला देवीरूप धारण गरी तालमा विलय भइन् । यसरी खेतको आलीमा पानी भरिएर बनेको ताल भएकाले यसको नाम आली ताल नामकरण गरिएको किंवदन्ती छ ।
आली तालको उत्तर तथा पूर्वपट्टि विभिन्न देवीदेवताका मूर्ति तथा मन्दिरहरू रहेका छन् । यस ताल क्षेत्रमा माघे संक्रान्ति र वैशाख संक्रान्ती (विशु पर्व) का दिनमा ठूलो मेला लाग्छ । यहाँ स्नान तथा पूजापाठ गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । यहाँ वनदेवीहरूको बास हुने मानिन्छ ।

आली तालको संरक्षण, प्रचारप्रसार तथा विकासको प्रयास
आली तालको संरक्षण, प्रचारप्रसार तथा पर्यटकीय विकासका लागि गाउँपालिकाबाट आर्थिक वर्ष २०७४/७५ बाट नै वार्षिक बजेट तथा कार्यक्रमहरूमार्फत विभिन्न प्रयासहरू हुँदै आएका छन् । बुडर–दैजी सडक खण्डबाट तालसम्म पुग्ने कच्ची सडक निर्माण गरिएको छ । बर्सातको समयमा बाहेक यस सडकबाट अन्य महिनामा तालसम्म गाडी र मोटरसाइकल लैजान सकिन्छ । यस्तै, तालमा सयर गर्नका लागि गाउँपालिकाले डुङ्गा सञ्चालनमा ल्याएको छ । पर्यटकहरूले प्रतिव्यक्ति रु. ५० शुल्क तिरेर २०–३० मिनेट तालमा डुङ्गा सयर गरी मनोरञ्जन गर्न सक्छन् । ताल क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि उचित प्रबन्ध गरिएको छ । साथै, तालनजिक खानेपानी तथा शौचालयको राम्रो व्यवस्था गरिएको छ । यसका अतिरिक्त तालको पूर्वपट्टि भ्यू टावरको पनि निर्माण गरिएको छ । तालको वरिपरि करिब १.५ किमि पक्की पैदलमार्ग निर्माण गरिएको छ । ताल क्षेत्रमा विभिन्न धार्मिक कार्यका लागि टहरा र वनभोजका लागि अलग्गै स्थलको व्यवस्था गरिएको छ । यहाँ गाडी तथा मोटरसाइकल पार्किङ्का लागि उचित प्रबन्ध पनि गरिएको छ । तालभन्दा अलि तल सामान्य खालको चमेनागृहको व्यवस्था छ । पालिकाले यस तालको विकासका लागि विस्तृत आयोजना प्रतिवेदन तर्जुमाको कार्य प्रारम्भ गरेको छ । पालिका र सामाजिक सञ्जालका माध्यमबाट समेत यस तालको व्यापक प्रचार भएको पाइन्छ ।

तालको संरक्षण र पर्यटकीय गन्तव्य निर्माणका लागि सुझाव
सुदूपश्चिम प्रदेश र समग्र मुलुकको पर्यटकीय तथा आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने क्षमता र प्रचुर सम्भावना बोकेको आली तालको व्यवस्थित विकास, प्रचारप्रसार, पर्यटकीय गतिविधिको प्रवद्र्धन र यस क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना, गरिबी तथा बेरोजगारी न्यूनीकरण, जैविक विविधता तथा पर्यावरणको संरक्षण गर्न सकिन्छ ।

यसका लागि स्थानीय तहको एक्लो प्रयासले सम्भव हुँदैन । यस कारण यस पर्यटकीय क्षेत्रको विकासका लागि तीनै तहका सरकारले पर्याप्त लगानी र विभिन्न पर्यटकीय गतिविधि तथा कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ । यसका लागि तालको पर्यटकीय विकासका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी सोही अनुरूप बजेटको व्यवस्था गरी विकास गर्नु आवश्यक छ । यसको विकासका लागि आली ताल गाउँपालिका, प्रदेश सरकार र संघ सरकारबीच सहलगानी, समपूरक अनुदान तथा लागत साझेदारी मोडलमा पक्की सडक निर्माण, तालसम्म पुग्ने सडकमा पर्ने नदीमा पक्की पुल निर्माण, पर्यटकीय भौतिक पूर्वाधार तथा संरचनाहरूको निर्माण गर्नुपर्ने देखिन्छ । साथै निजी क्षेत्रलाई ताल क्षेत्रमा सेवा प्रदानका लागि उचित वातावरण र लगानी आकर्षण गर्न आवश्यक छ । स्थानीय तहले सो क्षेत्रमा सुरक्षा प्रबन्ध पनि गर्न सक्नुपर्छ । ताल क्षेत्रमा स्थानीय तथा प्रदेशस्तरका साहित्य महोत्सव, साइक्लिङ प्रतियोगिता, शैक्षिक अध्ययन तथा भ्रमण, धार्मिक मेला तथा महोत्सवजस्ता गतिविधिहरू सञ्चालन गर्न सकिन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!