Search

जगतसुन्दर ब्वनकुथीलाई रु ६५ लाख सहयोग

जगतसुन्दर ब्वनकुथीलाई रु ६५ लाख सहयोग

बाँपीझ्याला, काठमाण्डौं । नेपालभाषाको पढाई हुने काठमाडौं महानगरपालिका–१५ चागलः लाखुतिर्थमा सञ्चालित जगतसुन्दर ब्वनकुथी (स्कुल) लाई रु ६५ लाख सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ हारतीमाताले काठमाडौँ महानगरपालिकाको सहयोगमा उक्त विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री, कम्युटर, स्मार्ट बोर्ड तथा बैठक हल निर्माणका लागि उक्त रकम सहयोग गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ एचका डिस्ट्रिक गर्भनर दिनेशप्रसाद श्रेष्ठले लायन्स क्लबले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउँदै जगसुन्दर विद्यालयसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। उनले आगामी दिनमा पनि व्यक्तिगत तथा संस्थागत रुपमा यस्तो सहयोग गर्ने बताए।

लायन्स क्लब अफ काठमाडौं हारतीमाताका अध्यक्ष अशोकमान महर्जनले लायन्स क्लबको उदेश्य नै समाजसेवा भएको बताउँदै शिक्षा क्षेत्रमा सहयोग गर्न पाएकोमा आफूलाई खुसी लागेको बताए। उनले ‘एक लायन्स क्लब, एक विद्यालय सहयोग’ कार्यक्रमलाई लायन्स क्लबले अगाडि बढाएको उल्लेख गरे। काठमाडौं महानगरपालिकाका निर्देशक बुद्धरत्न मानन्धरले विसं २०७४ देखि विद्यालय शिक्षाको जिम्मा स्थानीय तहले लिएको बताउँदै सोही अनुरुप महानगरपालिकाले लायन्सको सहकार्यमा सहयोग कार्यक्रम अगाडि बढाएको बताए।

विद्यालय गुठी सञ्चालक समितिका अध्यक्ष प्रा डा चन्दा बज्राचार्यले नेपाल भाषाका अभियान्ता जगतसुन्दर मल्लको स्मृतिमा गुठीद्वारा सञ्चालित उक्त विद्यालयले नेपालभाषा, अङ्ग्रेजी र नेपाली भाषालाई सँगसँगै अगाडि बढाएको बताइन्। उनले सुरूका दिनमा विद्यालय सञ्चालनमा निकै समस्या भएको स्मरण गरिन्।

प्रा डा बज्राचार्यले विस २०४७ को संविधानले कक्षा ५ सम्म मातृभाषामा पढ्न पाउने व्यवस्था गरेअनुसार सोही वर्षको फागुन १२ गते विद्यालय स्थापना गरी नेपाल भाषाको पढाइ सञ्चालन गर्दै आएको जानकारी दिइन्। जगतसुन्दर विद्यालय नेपाली भाषाको ‘अनुसन्धान केन्द्र’ का रुपमा अगाडि बढेको उनको भनाइ थियो।

विद्यालयका संस्थापक अनाररत्न बज्राचार्यले विद्यालयले नेपाल भाषाका अतिरिक्त आर्थिक रुपले विपन्न, गरिब, दुःखी विद्यार्थीलाई अध्ययन गराउँदै आएको बताए। उनले लायन्स क्लबले गरेको आर्थिक सहयोगले विद्यालयमा प्रविधिको माध्यमबाट पढाई सुरु गरेको बताउँदै कोरोनाको समयमा समेत यसले विद्यार्थी तथा शिक्षकलाई राहत पुगेको स्मरण गरे।

जगतसुन्दर मल्लको नाममा स्थापित जगतसुन्दर गुठीबाट सञ्चालित उक्त विद्यालयमा हाल २६० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा हाल मन्टेश्वरी कक्षा सञ्चालन हुनुका साथै स्मार्ट वोर्डबाट विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालयकी प्रधानाध्यापक सुनिता मानन्धरले जानकारी दिइन्।

उक्त विद्यालयमा डल्लु, ढल्को, मरुहिटी, टेकु, ताहचललगायत क्षेत्रका विद्यार्थी पढ्न आउने गरेका छन् । नेपाल भाषामा पढाइ हुने भएकाले उक्त विद्यालयमा नेवारी समुदायको पहिचान झल्कने सङ्ग्राहलयसमेत निर्माण गरिएको छ। यसका अलावा पुस्तकालय, प्राथमिक उपचार केन्द्रलगायत सञ्चालनमा रहेको प्रधानाध्यापक मानन्धरले बताइन्।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment