Search

आज दोलखाको एक विशेष दिन “भूमीराजा”

आज दोलखाको एक विशेष दिन “भूमीराजा”

प्राचिन शहर दोलखाको अनेकौं संस्कार र संस्कृतिमध्ये आज असार ८ गते मनाइने विशेष दिन भूमिराजा हो । यसलाई जात्रा, पर्व तथा चाडको रूपमा कसरी मनाइन्छ भनेर यकिन गर्न नसके पनि यो दिन किरात वंशका पुस्तेनीहरू मंगोलियन वर्ण समुदायको केही जमातद्वारा मानिंदै आएको कुरालाई नकार्न सकिन्न । यो दिनलाई दोलखाका नेवार समुदायले अर्थात् कृषक वर्गले धरतीको जन्मदिनको हिसाबले मान्दै आएको देखिन्छ ।

धरती र मानव बीचको सौहार्दमय सम्बन्ध रहेको कुरा आजको दिनले प्रस्ट्याउँछ । जहाँ मानव हुँदैन त्यहाँ धर्तीको अर्थ हुन्न भन्ने आशयको परिव्याख्या हो भूमिराजा । यसको शुरुआत किरातकालीन सभ्यताका वंश नेवार, थामी, राई, लिम्बु, मगर र गुरुङ समुदायले धर्तीलाई अनेकौँ देवताको रूपमा मान्दै आएको सर्व विदितै छ । जस्तो कि पूर्व पाँचथर, तेह्रथुम, संखुवासभा आसपासका मंगोलियनहरूले उधौंली र उभौली पर्वको रूपमा बुढा सुब्बासुब्बेनी भनेर हरेक वर्ष मनाउँदै आउका छन् ।

ती बुढा सुब्बासुब्बेनीले नै धर्ती जहाँ रहे पनि जगत जननी हुन् यसको रक्षा गर्नु हरेक मानव प्राणीको कर्तव्य हो भन्ने हिसाबले पहाड उक्लिंदा ‘उभौँली’ र तराइ झर्दा ‘उधौली’को पूजा गर्ने गरेको हामीलाई ज्ञात छ । अर्थात् हिमाल, पहाड र तराइ भन्नु नै धर्ती हो यसलाई आदर, सत्कार र सम्मान गर्न जरुरी छ ।

अब यो भूमिराजा किन मनाइन्छ ? कसरी मनाइन्छ ? क–कसले मनाउने गरेका छन् त ? भन्ने सवाल उठ्न सक्ला । यसको बारेमा पनि गहन अध्ययनको आवश्यक्ता छ । जुन सोधखोजमा हामी प्रयासरत छौँ ।

अनेकौं रीतिरिवाज र परम्परागत परिधिभित्र रहेको दोलखा नगर भित्र आज एक विशेष छुट्टै तरिकाले औजार बिसाउने दिनको रुपमा लिने गरिन्छ । अर्थात् आजको दिनलाई भूमिराजा भनेर स्थानीय कृषकहरूले औजार बिसाएर आराम गर्ने गर्छन्, यसको मतलब आज खेतीपातीमा काम गरिने हलो, कोदालो, कोदाली, कुटो जस्तो फलामे औजारलाई बिसाउने गरिन्थ्यो, तर समय र विज्ञान युगको अपव्याख्या गरेर कसै कसैले यसलाई नमान्ने गरेका पनि पाईन्छ ।

यो भूमिराजाको दिनलाई भूमीकोे दिवस कुन ठाउँबाट शुरुआत भएको हो । कुन जातीयता भित्र यसको महत्व छ भनेर यकिन त ज्ञान छैन, तथापि यसको शुरुआत दोलखा जिल्लाका छत्रछायामा रहेका थामी जातीयतामा आधारित छ कि भन्ने अनुमान गर्न सकिन्छ । किरात कालीन सभ्यता देखि किराँत वंशका मानवहरुले मान्दै आएका उभौँली र उधौँली पर्वको रहस्य र उद्देश्य हेर्दा धर्तीलाई उत्तरायण र दक्षिणायनको हिसाबले पूज्ने गर्छन् । ती पर्वलाई दोलखाका स्थानीय नेवारहरुले “बुढेनी” पुजाको रुपमा पुज्ने गर्छन् ।

यो खासगरी पूर्वी पहाडी भेगको तेह्रथुम, पाँचथर, भोजपुर आदि ठाउँमा बस्ने किराँती जातीहरुले बुढासुब्बाको मन्दिरमा गएर धर्तीको राजाको रुपमा पुजाआजा गर्छन् यसैबाट उत्प्रेरित भएर चारैदिशालाई समेटेर भूमिदेवलाई स्मरण गरेर पुजेको मानिन्छ । समग्रमा भन्नुपर्दा जुन भूमिमा सम्पूर्ण प्राणी रहेका छन् । यही भूमिले विशाल संसारलाई थामिरहेको छ । यो भूमिलाई हामीले पुज्नुपर्छ भन्ने हेतुले आजको दिनलाई भूमि प्रति समर्पण गरिएको मानिएको छ ।

यस बारेमा खोज अनुसन्धान बाँकी नै रहेको छ । यसबारेमा धेरैजना संग सोधपुछ गर्दा, अनुसन्धान गर्दा, धेरैजसोको एउटै तर्क थियो, यो कुनै तिथि विशेष होइन, कुनै त्यस्तो पर्व विशेष पनि होइन, मात्रै असार ८ गतेलाई भूमि प्रति श्रद्धा गरेर आराम दिलाउने एउटा मेसो मात्रै हो भन्ने जानकारी पाएँ, धर्ती भूमिलाई श्रद्धा गरेर औजारद्वारा चोट नपु¥याउने माध्यमको रुपमा लिएको देखिन्छ ।

यहाँ यही कुराको बारेमा थामी जातीयतामा एउटा कुराको अनुमान लगाउँदा के देखियो भने, उनीहरु हरेकपटक देवीदेवताको पूजाआजा गर्दा होस् या भूतप्रेतलाई पन्छाउने काममा होस् उनीहरुले ’सिमे भूमे दोबाटे, पखेरा सबै आआफ्नो ठाउँमा जाओ‘’ भन्दै अनुरोध सूचक प्रार्थना गर्ने गरेको पाईन्छ, यसबाट अलिकति बिचार गर्दा थामी जातीबाट नै यो भूमिराजाको शुरुआत भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

यसै सिलसिलामा दोलखामा भूमिराजाको दिनमा कुनै पनि ज्यावल चलाउनु हुन्न, आज भूमिलाई पनि आफ्नो तनलाई पनि आराम दिने भन्ने कुरा गर्दागर्दै दोलखाकै एकजना युवाले अटेर गरि केही हुन्न भनेर आफ्नो खेतमा काम गर्ने गराउने उद्देश्यले केही ज्यामी सहित गोरु समेत जोत्न खोज्दा अप्रिय घटना घटेको यथार्थ देख्ने प्रत्यक्षदर्शी अद्यपि छँदैछ, उक्त व्यक्तिले गोरु जोत्दाजोत्दै एक्कासि डलेर मूर्छा परेको थियो रे, अब यो भवितव्यता हो या केले हो त्यो कुराको निष्कर्ष जान्ने बुझ्नेहरुले गर्लान् ।

दोलखामा यो भूमिराजा मान्नुको औचित्यलाई सरल रुपमा हेर्दा जेठको आधाआधि महिना देखि लगातार खेतीको काममा जोतिनु परेकोले पनि यो एकदिनलाई विश्रामको रुपमा लिएर भूमिराजा दिवस मानिएको पनि हुनसक्छ । आँखिर जे होस् पुर्खाको पाला देखि चल्दै आएको रीतिरिवाजलाई आत्मसात् गरेर दिगो राख्ने प्रण गरौं ।

यदि यसदिनको बारेमा कसैलाई केही जानकारी छ भने एक अर्कालाई जानकारी दिनुहुनेछ भन्ने अपेक्षा सहित भूमिराजाको सबैमा शुभकामना व्यक्त गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment