Search

सिठी पर्व (सित्नखत) र दोलखा !

सिठी पर्व (सित्नखत) र दोलखा !

ऐतिहासिक शहर दोलखा भिमेश्वर नगरपालीका वडा नंं २ स्थित मनाईने पर्व मध्ये यो सिठी नखः ( सित्नखत ) पनि एक विशेष महत्वपूर्ण पर्व हो । यो पर्व प्रायः गरी नेवार जातीले आ–आफ्नै तरिकाले मनाउने गरेको पाईन्छ । यस पर्वमा मुख्यतया आ–आफ्नो कुल देवता देवगुरुलाई मानेर पुज्ने गरिन्छ चलन रहेको छ ।

यो दिन नेवार जातीले आ–आफ्नो वंश भित्रका परिवार, चेलीबेटी र आफन्तलाई समेटेर देवाली गर्ने चलन रहेको छ । यसै गरी दोलखामा घर देखि केही पर सिंहवन जंगलको बीचमा देव गुरु (कुल देवको पनि गुरु) लाई स्थापना गरेर रहेको स्थानिय नेवारी भाषा रासदेउर देउको पुजा गरि मनाइने विशेष पर्व हो ।

यस दिनमा प्रायः नेवारहरुले आफ्नो घरमा नयाँ बुहारीको आगमन भएको छ भने किसली सहीत उक्त देवस्थलमा भित्र्याउने परम्परा अर्को महत्वपूर्ण विशेषता रहेको छ । किसली सहीत यसरी मन्दिरमा लगेर प्रवेश गराई सकेपछी औपचारीक रुपमा आफ्ना घर परिवार, कुलका परिवार, चेलीबेटी र आफन्तको अगाडी औपचारीक रुपमा घरको सदस्य भएको भनी परिचय गराएको मानिन्छ ।

त्यसपछी ती बुहारी त्यस घरको मुल परिवार जनाउने गरिएको मान्यता पनी रही आएको छ । यो चलन र रीतिरिवाज काठमाडौंको अधिकांश नेवार जातीको बीचमा रही आएको छ । यही क्रममा दोलखाको नेवार जातीयता भित्र पनि “रासद्येगुर” भनेर सिंहबन, रानीबन नजिकैको चम्पूजा, मनेश्वरी त्रिशुलचा, कारीपोकमा आ–आफ्ना खलक १३ दिने दाजुभाई जम्मा भएर पुजा गर्ने चलन रही आएको छ ।

यसदिनमा दोलखाको हरेक चुल्होमा सेलरोटी, चटमारी (चामलको पिठो पातलो बनाएर पकाइने रोटी), कन्केमारी (गहुँको पिठोबाट बन्ने रोटी) बनाएर, छ्यापी, भटमास, आलु साँधेर अनि यसमा मासुका परिकार पनि राखेर “थापन” बनाई देउतालाई चढाईने भाग नजिकैको कुल देवघरमा र त्रिपुरासुन्दरीमा पुर्याउनु चलन रहेको छ । यो दिन विशेषतः हरसिद्धि, बालकुमारी मातालाई पनि स्मरण गरेर पुजिन्छ । हाल आएर मासको रोटी बारा पनि बनाएर चलाउने गरिएको पाईन्छ ।
यो सिठी नखः पर्व देखि घण्टाकर्ण औंसीको दिनसम्म देवलोकका देवताहरु तीनैलोक छाडेर एकान्तवास हुने भएकोले यतिबेला दानवराज र भूतप्रेतको चलखेल हुन्छ ।

त्यसैले यतिबेला अर्थात् आजैबाट दोलखाको भजन पाटीमा ठूलो मादल (खिं बाजा ), मृदंग, घण्टा, झ्याम्टा र गुजराती बजाउन नमिल्ने जनश्रुति रहेको छ । जुन अद्यपि छँदैछ । यसबारे एउटा किंवदन्ती भनुँ या पौराणिक गाथा भनौं, संक्षेपमा भन्नुपर्दा स्वर्गका राजा देवराज ईन्द्रको आसन सहित देवलोक नै राक्षसहरुले कब्जा गरि सबै देवता गणलाई पासोले बाँधेर राखेको हुनाले अन्य देवगण समेत भयभीत भएर लुकेको हुँदा मानव प्राणी समेत भयभीत भै गोप्यरुपमा देवताको गुरुलाई पुकार गर्न मौन भएको भन्ने कुरा शिव महिमामा जनाएको देखिन्छ ।

दोलखामा आजको दिनबाट रोपाइँ शुरु हुनेगर्छ । तर विगत केही वर्षबाट कतै खेतालाको अभावले कतैकतै खेती गर्न नै छाडिएका छन् भने कतै प्रतिस्पर्धामा रीतिरिवाज नियम मिचेरै पहिले नै रोपाइँ गर्ने गरेका छन् ।

दोलखा लगायत काठमाडौं उपत्यका र मोफसलका नेवार जातीहरु प्रायःजसो खेती किसानी गर्ने हुंदा यही बेलामा अन्नबाली लगाउने समय पनि परेकाले अधिकांश समय खेतबारीमा बिताउनु परेकाले पनि यस समयलाई काल्पनिक व्याख्या गरेर एक प्रकारको मनोवैज्ञानिक त्रासको कारण देखाएर सबैको मन र ध्यानलाई खेतीपाती तिर डो¥याउन खोजेको पो हो कि भन्नेमा सोचनीय कुरा छ । किनकि मन्दिर, भजनतिर लगाव राख्दा आफ्नो व्यावहारिक काममा वाधा आउनेछ भन्ने मनशायले पूर्वजहरुले यो खालको सोच बनाएको पो हो कि यो पनि नहोला भन्न सकिन्न ।

यसरी आजको सिठी नखः पर्व देखि घण्टाकर्ण सम्म कुनै पनि चाडपर्व हुनेछैन । यही असारको ८ गते भने भूमिराजाको दिन भनेर धर्तीलाई पनि विश्राम दिने मनशायले कुनै पनि ज्यावल, औजार नचलाउने चलन चलिरहेको छ ।

यसै गरी आजको दिनमा काठमाडौं उपत्यका र बाहिरका नेवारहरूले आ–आफ्ना कुलदेवताको विशेष पूजा–आराधना गर्ने गर्दछन् । अक्षय तृतीयाबाट गर्न थालिने देवाली पूजाको आज अन्तिम दिन हो । देवालीपूजाकै सन्दर्भमा घरको मूलढोकाअगाडि ६ पत्र कमलजस्तै आकृति भएको पिखालखु राखी षण्मुख कुमारलाई ६ थरी दालहरूले बनेको वो अर्थात् बारा चढाई खाने समेत चलन छ ।

आजकै दिनमा कुलदेवताको रूपमा देवीदेवताको पूजा गरी समयबजि, चिउरा, स्याबजि, चटामरी, बोडी, कालो भटमास, लसुन, अदुवा, माछा, मासु, बारा, अण्डा, रक्सी, फलफूल, रोटी, लड्डु, पेडा, विभिन्न व्यञ्जनसमेतको भोज आदि चढाउने र खाने गरिन्छ। आजकै दिनमा कुमार कार्तिकेयकी मातारूप गंगा अर्थात् सम्पूर्ण जलाशय, भूमि आदिको सरसफाइ गरिन्छ ।

देवताहरूका सेनापतिका रूपमा पूजित कुमारलाई नेवारहरूले घर, मन्दिर, दरबार आदिको रक्षाका लागि कुमारलाई स्थापना गर्ने गरेको पाइन्छ । घरमा कुमारको वाहन मयूर कुँद्न लगाई मयूराकृति कुँपा राख्ने गरिन्छ । घरमा मयूराकृति राख्नाले घरको सुखसमृद्धि बढ्ने र दुष्टात्माहरूले प्रवेश गर्न नपाउने किंवदन्ती रहेको छ ।

यस लेखमा प्रयोग गरिएको फोटोहरु गत बर्षहरुका फाईल फोटोहरु भएको जानकारी गराउँदछौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment