Search

गर्भ रहेको एकहजार दिनसम्म : बच्चाको शारीरिक र मानसिक विकासका लागि आमाले पाउने पोषणयुक्त खाना महत्त्वपूर्ण हुन्छ ।

गर्भ रहेको एकहजार दिनसम्म : बच्चाको शारीरिक र मानसिक विकासका लागि आमाले पाउने पोषणयुक्त खाना महत्त्वपूर्ण हुन्छ ।

नयाँ जन्मिने बच्चाको शारीरिक र मानसिक विकासका लागि गर्भ रहेदेखिका हजार दिनसम्मको आमाले पाउने पोषणयुक्त खाना महत्त्वपूर्ण हुन्छ तर, नेपाली समाज अझै यसबारे सचेत भइसकेको छैन।

काठमाडौं। युनिक क्षेत्री १० वर्ष पुगिसके। उनकै उमेरका साथीहरू तीन कक्षामा पढ्ने भइसके। तर उनी बल्ल कक्षा एकमा भर्ना भएका छन्। अक्षर चिन्न गाह्रो हुन्छ। उनी आफ्ना साथीभन्दा फरक पनि छन्। हुनुपर्ने जति शारीरिक विकास भएको छैन। स्वभाव पनि सुस्त छ।

आमा अमृताका अनुसार जन्मेको दुई वर्षसम्म त युनिक बोल्न पनि सक्दैनथे। आफ्नो शरीर थेग्न पनि सक्दैनथे। शरीरमा हाड छालाभन्दा अरू केही थिएन। अमृता आफ्नो छोरालाई जाँच गराउन चाहन्थिन् तर न परिवारले ध्यान दिए न त उनले नै कामबाट फुर्सद पाइन्।

त्यसैबेला गाउँमा बालबालिकाको स्वास्थ्य अवस्था जाँच गर्न आएको टोलीले युनिकको परीक्षण गर्दा उनलाई कुपोषण भएका कारण शारीरिक र मानसिक समस्या देखिएको बतायो। त्यही टोलीको सिफारिसमा अमृताले युनिकलाई काठमाडौंको कान्ति बाल अस्पतालमा जँचाउन ल्याइन्।

अस्पतालले पनि सम्पूर्ण जाँच पश्चात युनिकलाई कुपोषण भएको निष्कर्ष सुनायो। शारीरिक र मानसिक विकास ढिलो भएका कारण केही समयसम्म अस्पतालमै राखेर उपचार गरियो।

डाक्टरका अनुसार अमृताले गर्भावस्थामा पोषणयुक्त खाना र आराम नपाएकाले युनिकको शारीरिक र मानसिक विकास हुन नसकेको हो।

अमृता पनि आफूले गर्भावस्थामा पर्याप्त पोषणयुक्त खाना नपाएको बताउँछिन्।

“परिवारले बाबु पेटमा बसे पनि गर्भवती हुँ भनेर कहिले महशुस गर्नै दिएनन्, सधैँका दिन मेरा लागि उस्तै नै भए”, उनी भन्छिन्, “न त गतिलो खान पाएँ, न कामको बोझ नै कम भयो। धेरै दुःख पाएँ। सुत्केरीपछि पनि केहि स्याहार नै पाइनँ।”

आठ वर्षदेखि अमृताले कान्तिबाल अस्पतालमा युनिकको जाँच गराइरहेकी छन्। बौद्धिकरूपले पनि उनी अलि कमजोर भएकाले समय समयमा मानसिक रोग विशेषज्ञलाई पनि देखाउनु परेको उनले बताइन।

युनिकजस्तै स्वाभाविक विकास नभएका बच्चाहरू अरू पनि छन्। यस्तो हुनुको एउटा मुख्य कारण गर्भावस्थामा हुँदा आमाले पर्याप्त पोषण नपाउनु हो।

बाल रोग विशेषज्ञ डा.कृष्णप्रसाद पौडेलका अनुसार पेटमा बच्चा बसेदेखि नौ महिनासम्म आमाले पाउने पोषणयुक्त खानाले बच्चाको वृद्धि र विकास निर्धारण गर्छ।

“मान्छेको मस्तिष्कको मुख्य विकास गर्भमा रहेदेखि दुई वर्षसम्म हुन्छ”, डा. पौडेल भन्छन्, “आमा गर्भवती भएदेखि कति पोषणयुक्त खाना पाइन् र कति आराम गरिन् भन्नेले शिशु कति बौद्धिक र स्वस्थ हुन्छन् भन्ने निर्धारण गर्छ।”

गर्भ रहेदेखिका एक हजार दिन बच्चाको स्वास्थ्यको वृद्धि विकासका लागि महत्वपूर्ण भएकाले सरकारले पोषणयुक्त खानपानमा केन्द्रित रहेर सुनौलो हजार दिन कार्यक्रम सञ्चालन गरिरहेको छ।

महत्त्वपूर्ण छन् हजार दिन
गर्भाधारण भएको ९ महिनासम्मको अवधीलाई दुई सय ७० दिन र बच्चा दुई वर्ष हुँदासम्मको अवधी सात सय ३० दिन गरेर दुई भागमा बाँडेर एक हजार दिन पुर्‍याइएको स्वास्थ्य सेवा विभाग अन्र्तगतका पोषण शाखा प्रमुख लीलाबीक्रम थापाले बताए।

विश्व स्वास्थ्य संगठन लगायतका विभिन्न अनुसन्धानले कुनै पनि शिशुको बौद्धिक विकास गर्भमा ३० प्रतिशत, जन्मिएको दुई वर्ष भित्रमा ५० प्रतिशत, पाँच वर्ष भित्र १० प्रतिशत र १० वर्ष भित्रमा बाँकी रहेको १० प्रतिशत हुन्छ।

बालबालिकाको सबैभन्दा बढी ८० प्रतिशत बौद्धिक विकास दुई वर्ष भित्रमा हुने भएकाले त्यो अवधिलाई सुनौलो हजार दिन भन्ने गरिएको उनले जानकारी दिए।

यो हजार दिनसम्म आमा र बच्चा ६ महीना पुगेपछि केके पोषणयुक्त खाने कुरा खुवाउनुपर्छ भनेर विभिन्न कार्यक्रम चलाइरहेको उनको भनाई छ।

हजार दिनमा खानुपर्ने पोषणयुक्त खाना नपाएका गर्भवती आमाबाट जन्मिएका बच्चा कम तौलका हुने र बच्चामा बौद्धिक क्षमता कम हुने साथै मृत्यु हुने सम्भावना बढी हुने डा. पौडेलले बताए।

डा. अरूणा उप्रेती त बच्चा जन्माउने योजना बनाएको करीब तीन महीना अघिदेखि नै श्रीमान र श्रीमतीले खानपानमा विशेष ध्यान दिनुपर्छ।

“जाँड, रक्सी, चुरोट, खैनी, सूर्ती र बजारमा पाइने जंकफुडहरू खानु हुँदैन, पोषणयुक्त खानामात्र खानुपर्छ नभए शिशु जन्मँदा नै रोगी हुनसक्छ”, डा. उप्रेती भन्छिन्।

मानसिक रोग विशेषण डा. वासुदेव कार्कीका अनुसार आमाले पोषणयुक्त खाना नपाउँदा बच्चाको मानिसक विकास हुन सक्दैन।

“मानसिक स्वास्थ्यका लागि आइरन र आयोडिनको ठुलो भूमिका हुन्छ।ग गर्भावस्थामा आमालाई यी दुई तत्व लगायत अन्य पोषणको कमी भयो भने बच्चा सुस्त मनस्थितिको हुनसक्छ”, उनले भने, “हजार दिन भित्रमा नपरेका बालबालिकाको शरीरिक, मानसिक र व्यक्तित्व निर्माणमा पनि कमि आउने भएकाले यी हजार दिनलाई निकै महत्त्वपूर्ण मानिन्छ।”

छैन सचेत समाज
गर्भवती महिलाले पोषणयुक्त खाने कुरा खानुपर्छ भनेर धेरैलाई थाहा भए पनि के खाने, कसरी खाने भन्नेबारे नेपाली समाज अनभिज्ञ नै रहेको पोषण शाखा प्रमुख लीलाविक्रम थापाको ठम्याई छ।

शहरी क्षेत्रमै बसोबास गर्ने महिलामा गर्भावस्थामा पोषयुक्त खानपान गर्नु पर्छ भन्ने सचेतना भए पनि ग्रामीण भेगका महिला अहिले पनि त्यसबारे जानकार नभइसकेको अनुभव छ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको। उल्टो बच्चा र आमालाई फाइदा हुन्छ भन्दै जथाभावी प्रोटिन लगायत खाने क्रम बढ्दै गएको पनि उनले बताए।

“यसरी आफै प्रोटिन भन्दै जथाभावी खानाले बच्चा र आमाको स्वास्थ्यमा असर परेको पनि देखिरहेको छु, यसलाई नियन्त्रण गर्न निकै आवश्यक छ”, डा. सुवेदीले सुनाए।

गरिबीका कारण अहिले पनि धेरै महिलाले गर्भावस्थामा साधा दाल र भात बाहेक थप पोषयुक्त खाना नपाएको उनको टिप्पणी छ।

जनस्वास्थ्यविद् डा. अरूणा उप्रेती पनि समाजमा चेतनाको अभाव हुँदा समस्या रहिरहेको टिप्पणी गर्छिन्। भन्छिन्, “कस्ता खाने कुरालाई पोषणयुक्त खान्की हो भनेर शहरी क्षेत्रका महिला केहि सचेत भए पनि गाम्रीण र पहाडी भेगमा अझै यो चेतनाको विकास भसकेको छैन, कतिपय ठाउँमा त धेरै पोषिलो खानेकुरा खायो भने पेटको बच्चा ठूलो हुन्छ र जन्माउन गाह्रो हुन्छ भनेर खान नमिल्ने स्थिति छ।”

सुनौलो हजार दिन अभियान
सरकारले गर्भवती आमालाई पोषणयुक्त खाद्यान्न पुर्‍याउन बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालन भइरहेको शाखा प्रमुख थापा बताउँछन्।

उनका अनुसार २०६९ सालदेखि राष्ट्रिय योजना आयोगको नेतृत्वमा ६ वटा मन्त्रालयको सहयोगमा पहिलो चरणको कार्यक्रम सञ्चालन भएको थियो। २०७५ देखि २०८० सम्मको समयलाई दोस्रो चरण घोषणा गरेर ७२ ओटा जिल्लामा यो कार्यक्रम चलिरहेको उनले जानकारी दिए। यो वर्षसम्म कार्यक्रमलाई सबै स्थानीय तहसम्म पुर्‍याउने सरकारको लक्ष्य छ।

बहुक्षेत्रीय पोषण कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण पाटो ‘सुनौलो हजार दिन’ हो। बच्चा र आमाको स्वास्थ्यको प्रवद्र्धनका लागि कार्यक्रम चलाइएको उनले बताए।

“कुनै महिलाले यी हजार दिनसम्म पाउनुपर्ने पोषणयुक्त आहार र स्याहार पाइनन् भने उनी कुपोषि हुने सम्भावना बढि रहन्छ,” उनले भने, “जन्मने शिशु पनि कुपोषित नै हुने र त्यो शिशुले पछिगएर जन्माउने बच्चा पनि कुपोषित हुने हुन्छ। यसरी यो चक्र जीवनकालभर चलिरहने भएकाले यसलाई न्यूनीकरण गर्न निकै आवश्यक देखिन्छ।”

नेपाल सरकारले पोषण कार्यक्रमका लागि यो वर्ष एक अर्ब ९३ करोड बजेट छुटाएको समेत उनले जानकारी दिए।

घरमै छ पोषणयुक्त खाना
डा. अरूणा उप्रेती भने नवजात शिशुको शारीरिक र मानसिक विकासका लागि गर्भ रहेदेखि नै आमाको पोषणमा ध्यान दिन भन्दै खाद्यान्न वितरण गर्ने अभ्यासको विपक्षमा छिन्।

गाउँघरमा पाइने खाद्यान्नबाटै पोषण तत्त्व प्राप्त गर्न सकिन्छ भनेर सरकारले बुझाउन नसकेको आरोप उनले लगाइन। भन्छिन्, “हामीले दैनिक खाने खानाबाट पर्याप्त मात्रामा फोलिक एसिड, लौहतत्त्व (आइरन), क्याल्सियम पाइन्छ त्यो कसरी खाने भन्ने थाहा पाउन आवश्यक छ। दालमा पर्याप्त मात्रामा लौहतत्त्व, फोलिक एसिड र सुक्ष्म तत्त्व पाइन्छ। हरियो सागसब्जिमा प्रशस्त मात्रामा भिटामीन पाइन्छ, यसलाई मिलाएर खान जान्नु पर्छ।”

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment