अहिलेको समय अत्यन्त प्रतिस्पर्धाले भरिएको छ । यस्तो भागदौड पूर्ण समयमा चाहेर पनि तनाबलाई हटाउन सकिदैन । त्यसैले आफ्नो व्यस्त दिनचर्याको कारणले संगालेको तनाव केही कम गर्न होस् या स्वस्थ बन्न होस, धेरैले ध्यानलाई केही समय दिने गरेकाछन् । आम मान्छेको धारणा यो छ कि ध्यान गर्दा एकाग्र हुनुपर्छ ।
तर ध्यान र एकाग्रताको कुनै खास सम्बन्ध छैन । एकाग्र हुनु भनेको कुनै एक कुरामा मात्र अडिरहनु हो । तर ध्यान भनेको शरिर, भावना र विचारहरुमा आइरहेको दृष्यलाई द्रष्टाको रुपमा हेरिरहने क्रिया हो । हामी कुनै एउटा कुरामा मात्र एकाग्र भयौं भने बाँकी कुराहरु झन् बढी सक्रिय हुन्छन् र ध्यानमा गहनता आउन सक्दैन ।
त्यसैले ध्यानमा बस्दा हाम्रा शरिर, भावना र मनमा आएका संवेदनाहरु, विचारहरुलाई साक्षी भावले हेरिरहनु पर्दछ । यसो गर्दा नकारात्मक विचार, संवेदनाहरु कम हुँदै जान्छन् र अन्ततः ध्यान घटित हुने संभावनामा वृद्घि हुन थाल्दछ ।
ध्यानको बारेमा सही प्रशिक्षण नलिई ध्यान जति गरेपनि ध्यानबाट हुनुपर्ने रुपान्तरण संभव छैन ।
त्यसैले सबैभन्दा पहिला ध्यान भनेको के हो भनेर नै बुझ्नु जरुरी छ । हामी चाँही ध्यानको बारेमा जानकारी नलिएरै अभ्यास शुरु गर्न हतारिन्छौं । मान्छेहरु विसौं वर्ष ध्यान साधनामा लागेर पनि सफलता पाउन नसक्नुको रहस्य पनि यही हो ।
ध्यान गर्ने होइन ध्यान घटित हुने हो ।
धर्मशास्त्रहरुमा ध्यानको महिमाको बारेमा थुप्रै कुराहरु लेखेको पाइन्छ । प्रशिक्षकहरुले पनि ध्यान गर्नु पर्दछ भनेर नगन्य बिधिहरु दिन्छन् । यदि हामिले गहिरिएर हेर्ने हो भने ध्यान गर्ने भन्ने वाक्यनै गलत छ । ध्यान गर्ने होइन ध्यान घट्ने हो । जसरी हामी निद्रा आफै ल्याउन सक्दैनौँ । मात्र निद्रा आउने पूर्बाधारहरु अपनाउन सक्छौँ– जस्तै नरम बिच्छौनामा पल्टनु, आरामले पल्टनु आदि । यसो गरेपछी निन्द्रा आफैँ आउँदछ । त्यसरीनै ध्यान आउने पूर्बाधारहरु अपनाउन सक्दछौ तर ध्यान गर्न सक्दैनौँ । ध्यान आउन सजिलो बनाउन हामी बिचार कम गर्न सक्छौँ, श्वासको गति सिथिल बनाउन सक्छौँ । यसरी गदै गएपछि ध्यान आफै घटित हुन्छ । अतः ध्यान एउटा अवस्था हो जो आफै घट्दछ ।
ध्यान सम्वन्धी अर्को धारणा यो छ की ध्यानमा बस्दा विचारहरु आउनु हुदैन अनि हराउनु पर्दछ भनेर सोच्दछन् । ध्यानमा वस्दा विचारहरु आउन नहुने भने होइन । ध्यानमा वस्दा सयौं विचारहरु आउन सक्छन् उक्त विचारलाई होस पूर्वक हेदै जानु पर्दछ । हामी विचारको पछि लाग्नु हुदैन । होस पूर्वक उक्त विचारलाई हेर्ने सकेमा उक्त विचारहरु बिर्सजन हुदै हुन्छ । ध्यानमा होस पूर्वक बस्ने हुदाँ हराउने भन्ने नै हुदैन । हराउने भनेको होस नहुनु हो । ध्यान बस्दा झन होसको मात्रा बढ्दछ । जति जति हामी धेरै सामय ध्यानमा बस्छौ हाम्रो चेतनाको बिराटता महशुष हुन्छ । ध्यानमा जति बस्दछौ उक्तिकै सत्व उर्जा शरीरमा बढ्न थाल्दछ । जति जति सत्व उर्जा हाम्रो शरीरमा बढ्न थाल्दछ त्यति नै हामी भित्रको चेतना रुपान्तरण हुन थाल्दछ ।
ध्यान गर्ने बित्तिकै ध्यान घटित हुदैन । ध्यानको लागि धैर्यको आबश्यक चाहिन्छ । ध्यान एउटा यस्तो प्रक्रिया हो जसले मनुष्यको चेतनालाई रुपान्तरण गरी स्वयम्को बोध गराउन सक्दछ त्यसैले आफ्नो दैनिक जीबनमा केही समय ध्यानलाई पनि दिने हो भने जीवनमा कहिल्यै निराशापन आउन सक्दैन ।
ध्यान कसरी गर्ने ?
- मेरुदण्ड सिधा पारेर कुनै पनि आसनमा बस्न सकिन्छ । आसनमा बस्न गाहृो हुन्छ भने मेचमा पनि बसेर गर्न सकिन्छ ।
- ध्यानमा बस्दा मुद्राको पनि महत्व हुन्छ । यस बेला दुबै हातलाई क्रस गरेर मुद्रा बनाएर पनि बस्न सकिन्छ । ध्यान मुद्रा, ज्ञान मुद्रामा पनि बस्न सकिन्छ ।
- आँखा बन्द गरेर केही बेर लामो, गहिरो श्वास लिने अनि लामो, गहिरो श्वास छाड्ने । त्यसपछि केही बेर नाकको अग्र भागमा चेतनालाई लाने आफै भित्र गएको श्वास र बाहिर आएको श्वासलाई ध्यान दिने ।
- त्यस पछि शान्त सँग बसेर मनमा आएको बिचारलाई कुनै बिश्लेषण नगरी हेर्ने मात्र । यदि धेरै बिचार आयो भने फेरी केही बेर नाकको अग्र भागमा चेतनालाई लाने भित्र गएको श्वास र बाहिर आएको श्वासलाई ध्यान दिने । यसो गर्दा बिचार आफै कम हुन्छ ।