Search

सरकारले उखुको किसान बिक्री मूल्य बढाउने

सरकारले उखुको किसान बिक्री मूल्य बढाउने

२२ मंसिर, बाँपीझ्याला ,काठमाडौं । सरकारले उखुको किसान बिक्री मूल्य बढाउने भएको छ । उखुको यस वर्षको किसान बिक्री मूल्य सिफारिस गर्ने तयारी सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यसवर्ष उखुको मूल्य बढ्ने र यसैसाता उखुको मूल्य तोक्ने गरी तयारी गरिरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

यो वर्ष उखुको मूल्य तोक्ने कार्य विगतको भन्दा वैज्ञानिक र व्यवहारिक रहेको उनको दावी छ । ‘उखुको मूल्य तोक्ने सम्बन्धमा अध्ययन सकिएको छ, यो शुक्रबारसम्म मूल्य तय हुन्छ,’ प्रवक्ता सञ्जेलले भने ।

यो वर्ष उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जनाका दरले प्रतिनिधि खटाइएको थियो । प्रत्येक जिल्लाबाट कम्तीमा पनि ३०भन्दा बढी अध्ययन नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ

देशैभरबाट प्राप्त ३ सय नमूनालाई कृषि विभागले अध्ययन गरेको र यसैका आधारमा बिहीबार थप छलफल गरिने मन्त्रालयले जनाएको छ । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

उखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो । यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँ भन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ ।

यो वर्ष उत्पादन लागत निकै बढेको भन्दै महासंघका अध्यक्ष कपिलमणि मैनालीले ६ सय रुपैयाँ भन्दा कम उखुको मूल्य तोकिए किसानले उखु खेतमै आगो लगाउने चेतावनी उनले दिए ।

‘सरकारले किसान मार्नेगरी मूल्य नतोकोस् भन्ने हाम्रो माग छ, ६ सय रुपैयाँ भन्दा कम प्रतिक्विन्टल मूल्य तोकियो भने खेतमै आगो लगाउँछौं,’ महासंघका अध्यक्ष मैनलीलले भने । उखुको मूल्य निर्धारण सम्बन्धमा बिहीबार मन्त्रालयमा छलफल गर्न बोलाइएको पनि उनले बताए ।

गत वर्ष सरकारले मंसिर तेस्रो साता उखुको मूल्य तोकेको थियो । चिनी मिलहरुले उखु क्रसिङका लागि यस वर्ष तयारी थाले पनि अझै कृषि मन्त्रालयले मूल्य टुङ्ग्याउन सकेको छैन ।

कृषि मन्त्रालयले तय गरेर मूल्य वाणिज्य मन्त्रालयलाई सिफारिस गर्नेछ । वाणिज्य मन्त्रालयले मन्त्रिपरिषद् पठाएपछि बल्ल उखुको मूल्य सरकारले घोषणा गर्नेछ । चिनी मिल सञ्चालकहरुको संस्था नेपाल चिनी उत्पादक संघले सरकारले उखुको मूल्य निर्धारण गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएको छ ।

यसवर्ष देशभर १० वटा चिनी मिल सञ्चालनमा आउने तयारी पुरा भएको संघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए ।

‘सरकारले योवर्ष मूल्य निर्धारण गर्न ढिलाइ गरेर स्वदेशी चिनी बजारमा आउन ढिलाइ भएको छ, छिटो मूल्य निर्धारण होस्,’ उपाध्यक्ष अग्रवालले भने । नेपालमा औषत वाषिर्क एक लाख २० हजार मेट्रिकटन चिनी उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment