Search

ऐतिहासिक शहर दोलखामा डबली, यसको महत्व र संरक्षण ?

ऐतिहासिक शहर दोलखामा डबली, यसको महत्व र संरक्षण ?

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको ऐतिहासिक साँस्कृतीक शहर दोलखाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार जातीको बसोबास रहेको यस ऐतिहासिक साँस्कृतीक शहर दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक नेवारी मातृभाषा प्रचलनमा रहेको छ ।

मल्लकालमा डेढसय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म ईतिहासकार शिरोमणी बाबुराम आचार्यको भनाई अनुसार “नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ” भन्ने प्रशिद्धता पाइएको छ ।

ऐतिहासिक साँस्कृतीक दोलखा शहर, यसको ऐतिहासिक नाम मल्लकालिन शासनकालसम्म अभयपुरबाट चिनिएको थियो । बिक्रम सम्वत १५३८ मा यक्षमल्लको मृत्यु पछि उपत्ययकाको राज्य टुक्रा भए पश्चात् दोलखा शहरको त्यसताकाका शासक उदयदेवको पालामा दोलखाधिपतीको रुपमा एउटा स्वतन्त्रराज्यको खडा भयोे । त्यस पछि अभयपुर शव्दको लोप र दोलखा शव्दको उत्पत्ती भयो । यसरी दोलखा शब्दको उत्पती कसरी भयो भन्ने सन्दर्भमा त्यसताका भेट्टाइएका प्रमाणहरु अनुसार ढ्वाकु–ठूलो लुखा–ढोका अर्थात द्वाल्खा, ठूलोढोका भएकोले द्वाल्खा शव्द अप्रभंश हुंदै दोलखा भएको भन्ने मान्यता रहेको रहेको छ ।

वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा शहरका राजा जयइन्द्रसिंह देवले हिन्दू राज्यकै सबभन्दा पहिलो पटक चा“दीको सिक्का निकाली आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिए, जुन तथ्यलाई सावित गर्न प्रचलनमा रहेको मोहर, ताडपत्र, शिलापत्र र भोजपत्र जस्ता ऐतिहासिक प्रमाणहरु आजसम्म पनि विद्यमान रहेको छन् ।

नेपालको इतिहास निमार्णमा बाबुराम आचार्यले दोलखाको ऐतिहासिक अस्तित्वको शंखनाद पश्चात् धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको अथक प्रयासबाट वि.स. २०३१ सालमा दोलखालाई इतिहासको पानाभित्र राखिराख्ने जमर्को स्वरुप “दोलखाको ऐतिहासिक रुपरेखा” तयार भयो ।

यसै गरी पर्यटकीय एवं प्राकृतिक रमणीय स्थानको हिसाबले महत्वपूर्ण मानिएको ऐतिहासिक साँस्कृतीक दोलखा शहरको पूर्वमा आफ्नै विशेषता बोकेको चम्पुजा अवस्थित छ । यहाँ बाट मनोरम प्राकृतिक दृश्यले सु–सज्जित स्थानहरुलाई चिर्दै कलकल सुमधुर आवाजमा गौरीशंकर हिमालको चिसो हावा स“ग–स“गै आफ्नै तालमा बगिरहेको तामाकोशीको मनमोहक दृश्य हेर्न सकिन्छ । सोही स्थानबाट देखिने प्राकृतिक एवं धार्मिक महत्वको गौरीशंकर हिमाल पर्यटकीयहरुको स्वागतमा हा“सिरहेको भान हुन्छ ।

समुद्र सतहदेखि करीव ७१३४ मिटरको उचाइमा अवस्थित गौरीशंकर हिमाल हिन्दू धर्मावलम्वीहरुका आराध्यदेव शिव र माता पार्वतीको प्रतीक मानिने भएकोले आन्तरिक र बाह्य पयर्टकहरुलाई आरोहण गर्न निषेध गरिएको छ । यस्तै गरी समुद्र सतहदेखि करीव १३६०२ फिटको उचाइमा अवस्थित कालिञ्चोक भगवती लगायत गणेश ट्वापर यहाँ बाट सजिलै हेर्न सकिन्छ ।

यी ऐतिहासिक एवं धार्मिक देवस्थलहरुले यस शहरलाई नेपाल राज्यकै महत्वपूर्ण ऐतिहासिक एवं धार्मिक स्थलका रुपमा स्थापित गरेका छन् । यसरी दोलखाको परिचय दिनु पर्दा हामीले समग्रमा दोलखा भिमसेन र भिमसेनलाई आएको पसिनाको चर्चासंग गाँसिएका हुन्छौं । अनि त्यसपछि विश्व जगतको समयमापन केन्द्रसँग जोडिएर गौरीशंकर हिमालय श्रृङखलामा उक्लेर आफ्नो पहिचान दिलाउनमा गर्व गर्छौं ।

हामीले परिचय दिनुपर्दा हाम्रो देवता त दोलखा भीमेश्वर (भिमसेन) हो । जो अति बलवान् शक्तिशाली तेजवान छ । त्यसैले अधिकांश व्यापार व्यवसाय उद्योग कल कारखानाको शुरुआत गर्नु गराइनु पूर्व भिमसेन देवतालाई आराधना, पूजा गरेर मात्रै नयाँ कामको थालनी गर्ने गरिन्छ ।

भीमेश्वर (भीमसेन) देवताको मन जित्नको लागि पूजापाठ गरेर, स्तुति गरेर, नाचगान बजान गरेर टोलटोलमा भजन किर्तन गर्दै अभिनय सहितको नृत्यनाटक गरेर हुन्छ की व्यङ्ग्यात्मक प्रहसन गरेर हुन्छ भीमेश्वर (भिमसेन) देउतालाई जसरी भए पनि प्रसन्न गरेर आफ्नो कार्य सिद्ध गरेर सबैको जीवन गुजारा गर्न सहज होस् भन्ने हो । यही कारणले गर्दा साँस्कृतिक शहर दोलखाको हरेक टोलको मध्ये भागमा अनि अलिक फराकिलो ठाउँमा एउटा डबली बनाएर नाचगान गर्ने गरेको पाईन्छ । यसै ऐतिहासिक तथ्यलाई आधारमानी दोलखामा डबली “डोबर” बनाएको पाईन्छ ।

डबलीको वास्तविक तर्कलाई केलाउने हो भने चारकुना मिलेको वर्गाकाररुपमा जमीनको सतहबाट केही माथि उठाएर ठूलाठूला चारपाटे ढुंगा विछ्याइएको सतहलाई ’डबली’ भन्ने गरिन्छ र सोही शब्दलाई हामीले दोलखाको नेपाल भाषामा “डोबर” भन्छौं भने सोही शब्दलाई उपत्यकाको नेपाल भाषा ’दबु’ भन्ने गरिन्छ ।

यो डबलीमा के गरिन्छ त ? भन्नेबारे जिज्ञासा मेटाउनको लागि सहजरूपमा भन्नुपर्दा यस डबलीलाई हिजोआजको समयमा हेर्दा मञ्चका रुपमा बुझ्न सकिन्छ । जुन ठाउँमा मञ्च बनाउन धेरै कसरत गर्न नपर्ने पाल र बाँसको खम्बा ल्याएर जोडजाम गरे पुग्ने हुन्छ । कुनै पनि साँस्कृतिक कार्यक्रम, नाटक जात्रामा प्रहर्सन गर्नको लागि सजिलोका लागि बनाउने गरेको पाईन्छ । हामीलाई पनि याद छ कि ती डबलीहरुमा धेरै पु्णाङ्की नाटक मञ्चन गरेको, ऐतिहासिक र पौराणिक एवम् धार्मिक नाटक “खट् प्याखन” (वर्गाकार रुपमा काठको दलिनले चारैतिरबाट छेउमा घेरिएको परिधिभित्रलाई “खट्” भनिन्छ ) र त्यसै भित्र खिं (नेवारी ठूलो मादल) बाजा र सामुहिक भजनको रुपमा गानाको तालमा गाएर देवी, रासलीला, कृष्णलीला, रामलीला जस्तो नृत्यनाटक गरिने ठाउँको नाम हो डबली ।

यसरी दोलखाको ऐतिहासिक साँस्कृतीक शहरको प्रमुख परिधिभित्र रहेको धार्मिक नगरको रुपमा सिंहवन हापिचा देखि पूर्व, पाखलती सियौटाडा मन्जेश्वरी देखि दक्षिण, बालकुमारी देवीथान वत्चा, ट्वापरचा छोपती देखि उत्तर र रानीवन वाराणसी देखि पश्चिम यति चार किल्ला भित्रमा समेटिएको नेवार बस्तीको बिच भागमा भएको डबलीको बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ ।

फेरि नागदह, फुलपा, नेगल, पिखुती, राम्पा, तिखातल, चाथली, ड्वाकथली, सुनखानीलाई बाहेक गर्यो भनेर गुनासो आउला, यहाँ मात्रै ऐतिहासिक साँस्कृतीक शहर दोलखा भित्रको डबलीको चर्चा गर्न खोजिरहेका छौं ।

दोलखा शहर भित्र प्रत्यक्षरुपमा ५ वटा डबली अद्यावधिक छँदैछ । ती हुन्,
१. नाट्येश्वर (नाश्वर) डबली, दुङ्गल टोल,
२. मच्छिन्द्र (बुग्देउ ) डबली, पिङ्गल टोल
३. चक्र जोगी डबली, बहिर टोल
४. सर खाउ डबली, टसिचा टोल
५. भिमसेन डबली, लिस्टोल टोल ।

यी त भए दोलखामा यथावत् रहेका डबली, अनि अप्रत्यक्ष रुपमा रहेका अस्थाई रुपमा प्रयोग गरिएका डबली जस्तै सार्वजनिक रूपमा रहेका श्यामसुन्दर नारायणको मन्दिरको प्राङ्गण र माथिल्लो बजारको स्वयम्भू चैत्य सामुको आँगन ।

नाट्येश्वर डबली (नाश्वर डोबर) :
यो डबली मुख्य देवता भिमेश्वर मन्दिरबाट दक्षिण र तल्लो बजारबाट पूर्व रहेकोे छ, जुन ठाउँको टोलको नाउँ हो दुङ्गल । दुङ्गल टोल भन्नाले पूर्वमा त्रिपुरासुन्दरी मन्दिर र चम्पुजा पार्क देखि पश्चिममा नसु दोबाटो बिचको टोललाई भनिन्छ । यही टोलको मध्ये भागमा रहेको छ नाट्येश्वर मन्दिर । कुनै पनि धार्मिक या सामाजिक नाटक वा नृत्य प्रदर्शन एवं मञ्चन गर्नु पूर्व त्यस कामको तालिम दिनुभन्दा अगाडि यस देवतालाई आराधना गरेर गुरुको रुपमा स्थापना गरिन्छ । अनिमात्र नृत्य या नाटकलाई एउटा निश्चित स्थानमा सिकाईन्छ । यसरी यही देवतालाई गुरु ईश्वरको माध्यम लिएको हुनाले नै “नाट्यश्वर” अर्थात् स्थानीय दोलखाको नेपाल भाषामा “नाश्वर” देवता मानिदै आएको छ ।

यस देवताको मन्दिरको ठिक सामु रहेको डबलीलाई नै नाट्यश्वर डबली भन्दा भन्ने गरिन्छ । दोलखा शहर भित्र जुनसुकै धार्मिक नाटक मञ्चन गर्दा सबैभन्दा पहिले यसै डबलीमा मञ्चन गरेपछि मात्रै अन्यत्र नाटक नृत्य देखाउने गरेको छ । परापूर्वकालदेखि नै यस डबलीमा अनेकौं नाटक धार्मिक नृत्यहरु मञ्चन गरेको यथार्थलाई कसैले नकार्न सक्दैनन् । सत्यनारायण पूजा, रामलीला, शिशिरवसन्त, खट् ( खरी) प्याखन् जस्तो ऐतिहासिक नृत्यनाटक प्रदर्शन गरेको कुरा सर्वविदितै छ । यसै स्थानको ठिक विपरीत ठाडो उकालोमा सिंढी मार्ग छ, जहाँबाट प्रसिद्ध भिमेश्वर मन्दिरको दक्षिणी ढोकामा पुग्न सहज छ ।

मच्छिन्द्र डबली (पिङ्गलय डोबर) :
दोलखा शहरको तल्लो टोल नसु दोबाटोबाट पश्चिम र पिङ्गलेश्वर महादेवको मन्दिरदेखि पूर्वको टोललाई पिङ्गल टोलको नामले चिनिन्छ । यही टोलबाट मच्छिन्द्र नाथको रथयात्रा आरम्भ हुन्छ, यही टोलबाट नै ५ रातसम्म भैरवकुमारी जात्रा निकालिन्थ्यो विगत केही वर्षदेखि माथिल्लो टसिचाको भैरव कुमारी घरबाट निकाल्ने गरियो । यहाँ रहेको भैरव कुमारी घरको अगाडिको दायाँपट्टि एउटा डबली छ । यसलाई पिङ्गलको डबलीको नामले प्रसिद्धता पाएको छ । यस डबलीमा रात्रिकालीन् नृत्य र नाटकहरु प्रदर्शन नगरिए पनि भैरव कुमारीले पाईलो टेकेर नाच्नैपर्ने प्रचलन रहेको छ । यस डबली संगै राखेर मच्छिन्द्र नाथको रथ तैयार गरिन्छ । हाल कुनै नृत्यनाटकको लागि प्रयोग नगरिए पनि स्थानीयहरुले बिस्कुन सुकाउने कामको रुपमा प्रयोग गरिरहेका छन् ।

चक्र डबली बहिर (बहीरय डोबर) :
दोलखा शहरको दक्षिणपश्चिम क्षेत्रमा रहेको यो चक्र डबली अन्य डबलीको तुलनामा फरक रहेको छ । यो डबली दोलखाको ऐतिहासिक रानीपोखरीको ठिक दक्षिणमा रहेको छ । यो डबली अरु डबली भन्दा अग्लो पारेर बनाईएको छ । यो डबलीको परिसरमा रहेको ५ घरको टोललाई धहिर टोलको नामले चिनिन्छ । खास त त्यो शब्द बहिल हुनुपर्ने हो, बोलीचालीमा फेरबदल हुँदै बहिर हुनुपर्छ, यसबारेमा प्रमुख तर्कलाई नियालेर हेर्न “दोलखाको ऐतिहासिक रुपरेखा” र कालिन्चोक युवा क्लवले प्रकाशन गरेको “आँखा” पुस्तकको सहारा लिनुपर्ने हुन्छ ।

यो चक्र डबलीको सदुपयोग भने वडा दशैं अर्थात् विजया दशमीको दिन र त्यसको भोलिपल्ट एकादशी खड्ग जात्रा दिनमा मात्र हुन्छ । केही दशक पहिले सम्म यही डबलीमा विशेष रौनकपूर्ण जात्रा “हिपाथामी“ को मौलिक पर्व मनाईन्थ्यो । तर राजनीतिक परिवर्तनले जात्रामा केही अवरोध भएर स्थगन भएको छ । यो डबलीमा विशेषतः कुसले वर्गले मात्रै पाइला हाल्न पाउने र उनीहरूले आफ्नो रीतिरिवाज चलाउने गरिएको थियोे । अनि टीकाको भोलिपल्ट खड्ग जात्राको दिन वटुक भैरव (बटिङखाँडा) भगवती र मुल खड्गधारीले महिषासुर राक्षस राँगोको शरीर भित्र लुकेर बसेको कथनमा नाच्दै खोजेर बध गरेको प्रसङ्गमा अनौठो नृत्य प्रस्तुत गर्ने गरिन्छ ।

दोलखाको एउटा अर्को विशेषता भनेको खड्गजात्रा पनि हो । जुन जात्रा एकादशीको पूर्व उज्यालो अर्थात् रातको तेस्रो प्रहर देखि बाजा बजाएर सबै खड्गधारी कलाकारलाई जम्मा गरेर राजकुलेश्वर तलेजु मन्दिरबाट जात्रा शुरु भै त्यही दिनको साँझसम्ममा विसर्जन गर्ने चलन छ । यसै प्रसङ्गलाई समेटेर यो चक्र डबलीमा खड्गजात्रको दिन विशेष चहलपहल हुनेगर्छ ।

घोडा काम्ने डबली (सर खाउ डोबर–टसिचा डोबर) :
यो डबली दोलखा शहरको को मध्य दक्षिणमा छ । दोलखा शहर भित्रको दोश्रो उकालो रास्नी बाटोको छेवैमा पर्ने स्वर्गीय काशीलाल जोशीको घर अगाडिको डबली हो । यसमा पनि अन्य नाटक नृत्य प्रदर्शन गरिन्थ्यो या गरिदैनथ्यो त्यति थाहा भएन, तर यहाँ पनि भैरव कुमारीले नाचेर पाईला हाल्ने गरिन्छ ।

यो डबलीले टोलको सिमानाको काम पनि गरेको छ । यसको दक्षिण भागमा पिङ्गल टोल, पूर्वमा दुङ्गल नसु टोल, उत्तरमा डोकलुङा र बालमन्दिर अनि पश्चिममा गुर्कोट टोल छ । यस डबलीको एक रोचक प्रसङ्ग छ, निकै वर्ष अगाडि यस डबलीमा मध्य रात भएपछि एउटा सेतो घोडा आएर बस्थ्यो रे, अन्य कोही मान्छे नभेटेसम्म वा नआएसम्म फनफनी घुमेर कामेर बस्थ्यो रे, त्यतिबेला दोलखाका केही धनाढ्य वर्गले घोडा पनि पालेको हुनाले त्यति वास्ता नगरे पनि दोलखाको वयस्क अवस्थाका एक व्यक्ति कुनै काम विशेष रास्नीबाट तल झर्ने क्रममा सो घोडालाई देखेपछि चढ्ने रहर गरेर घोडा छेउमा जाँदा सो घोडा थपक्क घुँडा टेकेर बसेपछि सो मान्छेले “आहा यो घोडाले त मलाई चढाउन खोजेको रहेछ” भनेर चढेछ । त्यसपछि त त्यो घोडाले त्यो मान्छेलाई लिएर मूर्दा लाने बाटोबाट दायाँबायाँ नगरि लगेछ, जुनबाटो तामाकोसी घाट जाने बाटोको परेछ । पछि त्यो मान्छेको मृत्युु भएको भन्ने कुरा सुनिनमा आएको हो । त्यसैले सो डबलीलाई घोडा काम्ने (सर खाउ डोबर) डबली भनिएको हो कि भन्ने अनुमान हो ।

भिमसेन डबली (भिमसेन डोबर):
दोलखा शहरको मुख्य बजार लिस्टोल, पुरान्छें र त्यसताकाका घरेलु ग्रामिण कारखानाको पश्चिमी भागमा रहेको यो डबली भिमसेन देवको मन्दिर जाने बाटोको दायाँ पट्टि रहेको छ । जुनसुकै जात्रा, नाटक, रथ लाई शहर परिक्रमा गरेर आएपछि यो डबलीमा पुगेर केहीबेर विश्रामको रुपमा लिईन्छ । यहाँपनि नाटक मञ्चन गर्ने पनी गरिन्छ । तर दायाँबायाँ घरको पंक्तिले गर्दा दर्शकहरु नअट्ने भएकोले अगाडिको स्वयम्भू चैत्यको प्राङ्गणमा नाच्ने नचाउने गर्न थाले । यो डबलीमा भैरव कुमारीलाई पनि नचाएर विश्राम गराउने गरिन्छ ।

यसरी दोलखाको इतिहासमा दोलखाको मौलिकतामा यहाँ रहेका डबलीले पनि आ–आफ्नै विशेषता बोकेको पाईन्छ । पौराणिक रुपमा जति महत्वको रुपमा हेरिन्थ्यो । अबका सन्ततिलाई पनि यो कुरा चेतना हुन जरुरी छ कि कुन ठाउँ केका लागि प्रयोग गरिन्थ्यो ? त्यसबारेमा अध्ययन अनुसन्धान गरेर सोही कामलाई निरन्तरता दिन र भत्केको बिग्रेको यी डबलीको मर्मत सम्भार र पुर्ननिर्माण गर्न सके हामी दोलखावासी हौं भन्नेकुरामा अझ चरितार्थ र गर्भ हुनेथियो !

हामीले हामीलाई चिन्न सके दोलखालाई संसारले चिन्नेछ । यस अभियानमा हामी सम्पूर्ण दोलखावासीहरु विना स्वार्थ एकजुट हौं । ऐतिहासिक शहर दोलखा भीत्रको यी पाँचवटा डबली हाल जिर्ण अवस्थामा छ । यसको संरक्षण कसरी र कसले गर्ने ? भन्ने विषय महत्वपूर्ण रहेको छ । त्यसैले सम्पदा पुर्ननिर्माणको लागि विशेषतः यस कार्यको लागि स्थानिय दोलखाको सरकार समृद्ध भीमेश्वर नगरपालीका अनी वडा नं. २ को आँखा पर्नेछ भन्नेमा हामी आशावादी छौै । बाँपीझ्याला मिडिया, अस्तु !

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment