बाँपीझ्याला, काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक शेयर आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।
गएको असोज २० देखि २५ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएर बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
उक्त सार्वजनिक निष्कासनमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले तीन अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
स्वीकृत आवेदनमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार मागभन्दा बढी आवेदन परेको हुँदा योग्य आवेदकमध्ये गोलाप्रथाबाट बाँडफाँड गर्दा आठ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । १४ लाख ७५ हजार ४९६ योग्य आवेदकको भने हात खाली भएको छ ।