Search

रोनाल्डोको गोलमा युनाइटेडको जित

रोनाल्डोको गोलमा युनाइटेडको जित

बाँपीझ्यााल, एपी । रेफ्रीले फाइनल ह्विसेल बजाएपछि क्रिष्टियानो रोनाल्डोले मैदानमा घुँडा टेकेर आकाश तिर हेरे । रंगशालामा दर्शकले रोनाल्डोको नाम गुञ्जयमान बनाए । पोर्चुगलका स्टार रोनाल्डोले खेल सकिन नौ मिनेट बाँकी हुँदा गरेको गोल च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई जिताउन निर्णायक बन्यो । युनाइटेडले घरेलु मैदानमा एटलान्टामाथि उत्कृष्ट पुनरागमनमा ३–२ को जित निकाल्न सफल भयो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेड पहिलो हाफमा दुई शून्यले पछि गरेको थियो । भ्रमणकारी इटालियन सिरी ‘ए’ क्लब एटलान्टाले १५औं मिनेटमा मारियो पासालिकको गोलबाट अग्रता लिएको थियो । मेरिह डेमिरलले २९औं मिनेटमा एटलान्टाको अग्रता दोब्बर बनाए ।

५३औं मिनेटमा मार्कुश राशफोर्डले गरेको गोलबाट युनाइटेडले पुनरागमन गर्यो । राशफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए । ७५औं मिनेटमा फर्नान्डेजकै पासमा ह्यारी म्यागुएरले बराबरी गोल फर्काए । ८१औं मिनेटमा लुक शको क्रसलाई रोनाल्डोले हेडमार्फत पोष्ट दिएपछि युनाइटेड तीन अंक जोड्न सफल भएको थियो ।

च्याम्पियन्स लिगमा रोनाल्डो सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले युरोपियन क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा १३८ गोल गरिसकेका छन् । यसअघि भिल्लारियालविरुद्ध पनि रोनाल्डोले इन्जुरी समयमा गरेको गोलमा युनाइटेड २–१ ले विजयी भएको थियो । युनाइटेड फर्किएपछि रोनाल्डोले आठ खेलमा ६ गोल गरिसकेका छन् ।

‘‘उन सही समयमा उफ्रिए । त्यो उत्कृष्ट हेडर थियो,’’ रोनाल्डोको गोलबारे युनाइटेडका कप्तान म्यागुएरले भने, ‘‘च्याम्पियन्स लिगमा रोनाल्डोको कीर्तिमानमा अर्को गोल थपियो ।’’

जारी सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा युनाइटेड स्विट्जरल्यान्डको योङ ब्वाइजसँग अप्रत्यासित रुपमा २–१ ले पराजित भएको थियो । त्यसपछिको दुई खेलमा युनाइटेडले पुनरागमनमा जिन निकालेको छ ।

जितसँगै युनाइटेड समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडको ६ अंक छ । दोस्रो स्थानमा रहेको एटलान्टाले चार अंक जोडेको छ । भिल्लारियालको पनि समान चार अंक छ । योङ ब्वाइजले तीन अंक जोडेको छ ।

गएराति नै सम्पन्न खेलमा भिल्लारियालले योङ ब्वाइजलाई ४–१ ले हराएको थियो । भिल्लारियालको जितमा एरेमी पिनो, जेरार्ड मोरेनो, अल्बर्टो मोरेनो र सामुयल चुकविजले गोल गरे । योङ ब्वाइजका मिसचेक एलियाले गोल गरे ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment