हरेक वर्ष झैं बडा दशैं विशेष तामझामका साथ यसवर्ष पनि दोलखामा फूलपाती बढाइँ हुँदैछ । गत वर्ष कोभिड–१९ नामक जीवाणुले विश्व नै आक्रान्त बनाएकोले सारा शक्तिपीठ लगायत देव देवीका मन्दिरहरुको प्रमुख द्वार नै बन्द गर्नुपर्ने अवस्थाले रहर आकांक्षालाई स्थगन गर्नुपरेको थियो । कतिपय गाउँ टोल नै विरहमा डुबेको अवस्था थियो । कोभिड–१९ को संक्रमण त यथावत नै छ तथापि केही संतुलनको राहत महशुस गरेर अधिकांश मान्छेहरू आआफ्ना गाउँघर फर्केका छन् ।
यसै क्रममा दोलखामा नगइ नहुने गुठियार सहितको स्थानीय बासिन्दाहरु गाडी रिजर्भ नै गरेर भएपनि दोलखा पुगिसकेको र कोही फूलपातीको साँझसम्म पुग्नेछन् ।
जात्रा पर्वको हिसाबले हेर्दा दोलखाको साँस्कृतिक चहलपहलमा अझै यथावत् रहेको छ, नयाँ कपडा लाउनु, घर आँगन सिंगार्नु, मिष्ठान्न परिकार बनाएर आफ्ना परदेशबाट फर्केका परिवार बीचमा रहेर रमाउनु र खुशी महशुस गर्नु नै दशैंको प्रमुख विशेषता भएपनि दोलखाका सबै टोलका पूजारी खलक, गुठियार खलक र पंडित सापकोटा र दाहाल दुवै ब्राह्मणको उपस्थितिले पनि दोलखाको दशैंको फूलपाती बढाइँमा अझ रौनकता छाएको देखिन्छ ।
विगतका दशैंको फूलपातीको दिनमा अझ भनौं, करीब ५ दशक पछाडि फर्केर हेर्दा दोलखाको यो फूलपातीको दिनलाई सम्झिदा अहिले पनि मन रोमाञ्चित भएर आउँछ । त्यतिबेला अहिलेको जस्तो दिनहुँ राँगाको मासु पाइँदैनथ्यो, मासु खाने इच्छालाई प्रत्येक चाडपर्वको बाटो कुर्नुपर्थ्यो । त्यो पनि त्यतिबेला दोलखा शहरको पश्चिम पट्टि रहेको गणेश टोल र नारायण (राइती) टोलमा मात्र कसाईहरूले मात्र राँगो काट्ने चलन थियो ।त्यसैले त्यो दिन भालेको डाकसंगै त्यो ठाउँम विशेष चहलपहल हुन्थ्यो, पछि केही परिवर्तन भएर समुहगत पैसा उठाएर भाग छुट्याएर मासु ल्याउने गरे । यसरी दशैंको लागि मासु ल्याउन जिलु, फुलपा, तिखतल सम्म गएर बेलुकातिर घर आईपुगिन्थ्यो ।यो एउटा स्मरणीय कुरा छ फूलपाती दिनको ।
दिनभरि खाना खाजाको रूपमा परिवारसंग बसेर समैबजीको रूपमा खाएपछि साँझतिर सबैजना राजकुलेश्वर तलेजु मन्दिरमा भेला हुन्थे । भीमेश्वर मन्दिरबाट बाजागाजाका साथ ब्राह्मण, गुठियारहरू त्यो तलेजु मन्दिरमा पुगेर विधिपूर्वक पूजाआजा गरि नगरा, ढोलक, शहनाई, छ्यालि बजाउँदै फूलपाती लिन भीमेश्वरको मन्दिरमा गएर फूलपाती बोकिने डोलीमा बोका बलि स्वरूप मार हानेर पूजा सकिएपछि पूनः राजकुलेश्वर तलेजु मन्दिरमा पुगेर भित्र्याउने परम्परा छ ।
पहिले पहिले यो मार हान्ने काम ६ थरि मिलेर गरिन्थ्यो, पछि आयश्रोत कमिको कारण देखाएर ती ६ थरि पछि हटेपछि भीमेश्वर गुठीले नै यो परम्परालाई निरन्तरता दिइरहेको कुरा वर्तमान भीमेश्वर गुठी व्यवस्थापनका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । अझ पहिले त यो राजगुठी नै भएकोले दोलखाका राजा स्वयम् नै रहेर धुमधामले बढाइँ गर्ने गरेको इतिहासमा दर्शाइएको भएपनि राजाहरुको शासन परिवर्तन भएपछि त्यही प्रकारले बढाइँ नगरिए पनि फूलपाती भित्र्याउने चलन भने रोकिएको छैन, अबका भावी पुस्तालाई पनि यसबारे शिक्षा दिएर परम्परालाई दिगो बनाउन तत्काल अग्रसर हुनुपर्ने देखिन्छ भनेर अध्यक्ष श्रेष्ठबाट जानकारी आएको छ । फूलपातीको दिनदेखि नै दोलखाको विभिन्न ठाउँमा लिङ्गेपिङ राखेर दशैंको रौनकतालाई थप उत्साहप्रद वातावरण देखिन्छ, त्यसमाथि जागीर, व्यापार र कर्मको लागि बाहिर रहेका आफन्तहरू यसबेला दोलखामा जमघट हुँदा दोलखा शहरमा विशेष रमझमले माहौल रमाइलो देखिन्छ ।
अब काठमाडौंको फूलपाती हेरौं,
आश्विन शुक्ल सप्तमीका दिन आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद्अर्थात् सहायक हुन, उनले भने ।
देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा गौतमले जानकारी दिए ।
हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको भनाइ छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।
अन्तमा, सारा जगतमा दशैं उल्लासमय रहोस्, समय र परिस्थितिलाई बुझेर प्रतिस्पर्धाको नाममा अनाहकमा झण्झटिलो खर्च नगरीकन सबै साथीसंग र आफ्नो परिवार बीच पारस्परिक सम्बन्ध अतुलनीय होस् भनी बाँपिझ्याला परिवार आजको फूलपाती शान्तिपूर्ण र सौहार्दपूर्ण रहोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं । जय नवदू्र्गा भवानी ! जय भीमसेन !!