Search

दोलखाको आँगनमा श्री शाक्यमुणी गौतम बुद्ध विराजमान !

दोलखाको आँगनमा श्री शाक्यमुणी गौतम बुद्ध विराजमान !

दोलखा जिल्ला नामाकरणमा रहेको विशुद्ध र पवित्र धार्मिक एवम् ऐतिहासिक धरातल दोलखा अभयपुर अर्थात् भीमेश्वर नगरपालिका वडा नं २ पलाचुटी टोलमा शाक्य मुनि बुद्धको प्रतिमा प्रतिस्थापन गरिएको छ ।

श्री पद्मबर्ण महायान विहार ललितपुरको शाखाको रूपमा पद्मवर्ण महाविहार पालचुटीमा आज श्री शाक्यमुणी गौतम बुद्धको प्रतिमा यस्तै गरी दायाँबायाँ थापना गरिएको सारीपूत्र, मौकल्याण भिक्षुको प्रतिमालाई प्रतिस्थापन गरिएको छ । स्थानिय दोलखावासी र स्थानिय संघ–संस्थाका पदाधिकारीहरुले श्री शाक्यमुणी गौतम बुद्धको प्रतिमालाई फुल मालाको गुच्छा सहित चरणमा ढोग गर्नुका साथै गुरु भिक्षु लामा गुणसागरज्यू लगायत दोलखा पाल्नु हुने सम्पूर्ण भिक्षु र शुभचिन्तक महानुभावहरुलाई बाजागाजा सहित स्वागत गरिएको छ ।

श्री शाक्यमुणी गौतम बुद्धको प्रतिमालाई प्रतिस्थापन गर्न सोही ठाउँमा जन्मेर हुर्केका, बढेका र पढेका युवाहरूको अति नै अनन्य प्रेमि मित्र दोलखाली सपूत डाक्टर सुनिल मास्के जग्गादान गर्नु भएको छ । उहाँको सद्भाव र सदिच्छालाई साथ दिंदै उहाँकै दाजु भल्ला मास्केको पनि यस पूण्य कामको लागि थप जग्गा दान सहित विशेष योगदान र सहयोग गर्नु भएको छ ।

यस पुण्य र सुखद अनि महान धर्मको कार्य सुसम्पन्न गर्न गुरु भिक्षु लामा गुणसागरज्यूको विशेष सक्रियता र पाटन निवासी, विन्दुराज शाक्य, अमीर शाक्य र भीम शाक्य लगायत अन्य महाभिक्षूहरुको पनि सहभागी रहेको छ ।

दोलखाको सिङ्गो आँगनमा देखिएको मूख्य छ वटा स्तुपा मध्ये ४ वटा स्वयम्भु चैत्यमा स्थानीय युवा देखि बुढापाकाहरु सम्मका लागि साँझपख विश्राम गर्ने थलोको रूपमा परिचालित थियोे । जुन माथिल्लो टोलको सिम्भुथान (थाब्न सेङ), दुङ्गल टोलमा अवस्थित सिम्भुथान, कोर्छें टोलको ठूलो सिम्भु थान र नक्छें टोलको सिम्भुथान आदि ।

जहाँ बसेर राजा महाराजा देखि प्रेमि प्रेमिकाका कुरा, वल्लो घर र पल्लो घरका बेलिबिस्तार, मन्त्री भार्दारका कुरा गरेर समय कटाउने थलोका रूपमा थियो । प्रत्येक वर्षको तीनपटक भने ती सिम्भुथानहरुमा केही रमझम हुने गथ्यौ । हिले जात्रामा, खड्ग जात्रामा र मच्छिन्द्रनाथको रथ यात्रा गर्ने बेलामा ती सिम्भुथानहरुमा अर्कै रौनक देखिन्थ्यो ।

यसै गरी यस अघिपछि लगभग साँझमा मात्रै केही चहलपहल देखिन्थ्यो । ती स्तुपाको तल्लो फेदमा बसेर बच्चाहरु लुकामारी खेल्थे भने अलिक युवाहरूको आफ्नै सुरतालको गफसप हुनेगथ्यौ । अधवैंसे सज्जनहरु भने कोही बाघचाल खेलेर समय बिताउँथे भने, कोही अतीतका बाजे बराजुहरुको पालाको बाघसंग जुधेको, भेंडी गोठ जाँदाको, मसाने घोडाले मान्छेलाई लगेको, काँग्रेसले घरघरबाट बन्दुक खोस्ने पिट्ने गरेको आदि ईत्यादि कुरालाई कोट्याएर बेलिबिस्तार लाउने एउटा रमाइलो थलो थियो ।

तर कुनैकुनै सिम्भुथान जीर्ण हुँदै गएको देखिँदा पनि त्यसलाई मर्मत सम्भारका लागि कसैले पनि कुरा कोट्याउन खोज्दैनथे । न कि आफूहरू बसेर रमाइलो गरेको त्यो स्तुपा बुद्धको प्रतिमा प्रतीक हो । यसलाई संरक्षण गर्नुपर्नेछ, बुद्ध लीलाको चरित्र चित्रण गर्नुपर्छ भन्ने हेक्का समेत कसैले पनि गरेका थिएनन्, मात्रै बुद्धको बारेमा यत्ति कुरा जानेका थिए कि बुद्ध धर्मले, ’अहिंसा नै परमोधर्म हो, सत्य बोल्नुपर्छ, अन्याय गर्नुहुन्न’ भन्ने पाठ सिकाएको छ भनेर । बुद्धको बारेमा गहिरिएर सोच्नेहरुको कमि नै थियोे भन्दा फरक नपर्ला ।

जहाँ बुद्धको स्तुपा थियोे, त्यहीँ अगाडि नै राँगोलाई मार हानेर चाड मनाउथे, चाडको नाममा जाँड रक्सी पिएर झगडा गर्थे, यो किन त ? किनकि वास्तविक रूपमा बुद्धलाई र बुद्धको यथार्थलाई बुझ्न नसकेर र जान्न नचाहेर पनि हो । एकात्मक विचारमा लागेर “बुद्धधर्म मान्नेले त काटमार गर्नुहुन्न रे‘ यो त हाम्रो संस्कृति विपरीत हो“ भन्ने अबुझ ज्ञानको कारणले त्यसताका बुद्धधर्म प्रति गहिरिएर चिन्तन गर्नेहरूको जमाना थियो । शायद यिनै कारणले पो त्यो ठाउँमा भिक्षुहरु नबसेको, गुम्बाहरु नबनेको पो हो कि ? नत्र दोलखाको प्रारम्भिक बसोबासको संकेतले देखाइरहेको बुद्धका सानाठूला माने, चैत्य, स्तुपाले भरिएको थलोमा बुद्धका अलंकार स्वरुपमा अन्य कृयाकलाप नहुनेमा शंका लाग्नु अस्वभाविक नहोला ।

जे होस् झण्डै दोलखाको इतिहासमा बुद्ध धर्मको जग बसेको देखिएको आठौं शताब्दीमा आएर स्थानीय वासी मास्के परिवारले बुद्धधर्म र बुद्ध शिक्षा र बुद्ध ज्ञानको महत्व र अस्तित्वलाई मनन गरेर जुन सराहनीय कार्य गर्न थालेको छ । यो अत्यन्तै समय सान्दर्भिकता छ र आजको आवश्यकता पनि हो भन्ने सम्झेर ललितपुरका शाक्य परिवारसँग सहकार्य गर्नुभएर पद्मवर्ण बुद्ध महाविहारको लागि आफ्नो बासस्थान र जग्गा समर्पण गरि डाक्टर सुनिल मास्केज्यूले जुन सराहनीय कार्य गर्नुभएको छ । उहाँको लागि धन्यवाद शब्द शायदै अपूर्ण र अधुरै होला ।

आजको दिनमा उहाँको स्वविवेकले त्याग गर्नुभएको जग्गामा महाविहार स्थलमा विराजमान हुनुहुने शाक्यमुनि बुद्धको आत्मारुपी प्रतिमालाई महाज्ञानदाता अलौकिक बुद्धलाई हृदयमन समेटेर पवित्र मनले सदाशयता प्रकट गरौं ।

बुद्ध शिक्षा पुस्तकमा खुलानजर गरेर मात्रै होइन, चेतनाको नजरले हेर्ने गरौँ । आफ्नो मनभित्र रहेको कलुषित भावनालाई अति नै टाढा राखेर सत्य सात्विक अर्थलाई दिव्यदृष्टि राखेर जल, थल, आकाशलाई समेट्ने प्रकृतिमाथि ज्ञान, शिक्षाको सद्भाव राखेर आफ्नो पुण्यकर्मलाई शाश्वत सत्य बनाउन भोलि जग्गादानको कार्यक्रम रहेको छ । ॐ मणि पद्मे हुँ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment