२१ असोज, बाँपीझ्याला, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिन खोज्ने नौ जना बिचौलियालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
बिभिन्न टिकट काउण्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका समिर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसरीका सविन राई पक्राउ परेका हुन् ।
त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौै बस्ने राज ठकुरी, दाङ घोराहीका बिशाल गुरुङ्ग र कैलालीका रमेश कठायत गोंगबुबाट पक्राउ परेका हुन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले बताएको छ ।
त्यसैगरि काठमाडौंको कलंकीबाट नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने बिनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले बताएको छ ।
तोकिएको टिकट काउन्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत व्यक्तिहरुले बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दा बढि भाडा लिदै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ ओटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ ।
बिगतका वर्षहरुमा झै चाडपर्बको समयमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्याधिक हुने गर्दछ । यस्तो भिडभाडको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढि भाडा लिने, डबल टिकट काट्ने समुहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यबस्था गर्न ट्राफिक प्रहरीले बिशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको छ ।