बाँपीझ्याला, काठमाण्डौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी शुक्रबारदेखि खसीबोकाको बिक्रीवितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैँका लागि दुई हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ ।
गत वर्ष एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष दुई हजार खसीबोका मात्रै बिक्रीवितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्यधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्रीवितरण नगर्ने बताएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत शर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्टदेखि राजधानीमा खसीबोका बिक्रीवितरण सुरु गर्ने जानकारी दिएन । कम्पनीले दाङको तुलसीपुरबाट ८ सयवटा र हेटौँडाबाट १२ सयवटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले जानकारी दिइन् ।
कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ मूल्य घटाएर खसीबोका बिक्री गर्ने उनले बताइन् ।
कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैँ यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएको छ । दसैँका वेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ ।