Search

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ आनन्दपुर थलीमा रक्तदान कार्यक्रम सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ आनन्दपुर थलीमा रक्तदान कार्यक्रम सम्पन्न

बालकृष्ण श्रेष्ठ “पासा”
२६ भाद्र, बाँपीझ्याला, काठमाण्डौं । आज शनिवार बागमती प्रदेश नं.३ अन्तर्गतको काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ मा अवस्थित आनन्दपुर थलीमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा अन्तर्गतको उपशाखा थली तथा नेपाल ट्याक्सी व्यवसायी संघ अन्तर्गतको नमोबुद्ध ट्याक्सी प्रा.लि. द्वारा आयोजित रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ । उक्त रक्तदान कार्यक्रममा करीब ४५ जनाले रक्तदान दिइएको छ ।

मानवीय सेवा अन्तर्गतको यस्तो खालको कार्यक्रममा केवल रक्तदान मात्रै नभएर प्राकृतिक प्रकोप र भवितव्य घटना हुँदा पनि यस उपशाखाले सेवा र उपचारमा निरन्तरता दिंदै आएको कुरा उक्त कार्यक्रम आयोजकहरुले बताउनु भएको छ ।

यस कार्यक्रमलाई उत्साह र जागरुक बनाउनको लागि कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । हामीले नगर प्रमुखसंग कार्यक्रमबारे केही जानकारी लिन खोज्दा उहाँले यसो भन्नु हुन्छ ।

यो कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटीको उपशाखा अन्तर्गतको एउटा अंश हो । यस शाखाले रक्त संकलन गर्ने, विपदको अवस्थामा आवश्यक पर्ने पालहरु पनि वितरण गर्ने गरेको छ । अर्को कुरा यस रेडक्रसको नियमको दायरा भित्र रहेर बिशेष सदस्यता लिने व्यक्तिबाट आउने प्रतिव्यक्ति १ लाखको दरले रकम उठ्छ । अब हामीले काठमाडौंबाट पूर्वमा रहेका तीनवटा नगरपालिका मिलेर ब्लड बैंक बनाउने र पूर्वी भेगका जनसमुदायका लागि रगतको तत्कालीन आवश्यक्तालाई परिपूर्ति गर्ने लक्ष राखेका छौं ।”

उक्त कार्यक्रमका प्रमुख आयोजक नमो बुद्ध ट्याक्सी प्रा.लि. का अध्यक्ष प्रेम तामाङलाई यो रक्तदान कार्यक्रम आयोजनाबारे जिज्ञासा राख्दा उहाँले भन्नु हुन्छ “हामीले यो नमोबुद्ध ट्याक्सी व्यवसायी प्रा.लि.को मातहतमा नेपाल रेडक्रस सोसाइटीका उपशाखा थलीको विशेष सहयोगमा मानवको हित र समाजको कल्याणको लागि यस्तो कार्यक्रम गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ । साथै यहाँको स्थानीय बासिन्दाको अभूतपूर्व सहयोग र रक्तदानमा उल्लेखनीय सहभागी भएकोमा फेरि फेरि पनि यसरी समाज सेवामा लागिरहुँ जस्तो उत्साह बढेको छ ।

यस रक्तदान कार्यक्रममा सहयोग गर्नुहुने रेडक्रस उपशाखाका सभापति, सचिव लगायत सबैमा हार्दिक आभार, सोही नगरपालिकाका नगर प्रमुखज्यूमा ह्रृदयदेखि नमन गर्दै रक्तदान दिन मनैदेखि उपस्थिति जनाउने ट्याक्सी चालक साथीहरु र अन्य रक्तदाताहरु हृदयदेखि नै धन्यवाद दिन चाहन्छु भन्नुका साथै बिना बोलावट नै यहाँसम्म आईदिनु भएकोमा तपाई र तपाईहरुको अनलाईन पत्रिका बाँपिझ्याला अनलाइन पत्रिकालाई अझै विशेष धन्यवाद छ भन्नु भयो ।

त्यसैगरि उक्त कार्यक्रममा बिशेष सहयोगी बनेको नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापति बासुदेव पौड्यालले भन्नु हुन्छ “यस उपशाखाले हरेक महिनामा २÷३ पटक स्थानीय संघ, संस्था एवम् सहकारीहरु संग समन्वय गरेर रक्त संकलन कार्यलाई निरन्तरता दिंदै आएका छौं । अर्को कुरा यस उपशाखाको आफ्नै भवन भद्रवासमा निर्माण भैरहेको छ । कागेश्वरी मनोहरामा बनाईएको भवनबाटै मानव कल्याणको काम गर्ने अठोट लिएका छौं ।

यस उपशाखाले स्थानीय सरकारसंग समन्वय गरेर रक्त संचार केन्द्र बनाउने कामको लागि पूर्वीय नगरपालिकाका प्रमुखहरु, राष्ट्रिय रक्त संचार केन्द्र प्रमुख निर्देशक दिव्यराज पौडेल, डाक्टर मनिता प्रधान लगायत विज्ञ विशेषज्ञको टोली सित उचित परामर्श लिएर नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले सञ्चालन गर्ने गरि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा संग समन्वय गरि अगाडि बढ्ने अठोटका साथ तैयारी अवस्थामा छौं ।

यसका लागि आवश्यक भौतिक पूर्वाधार र मूल्याङ्कनको सम्पूर्ण काम यसै कागेश्वरी मनोहरा नगरपालिकाले उपलब्ध गर्ने गरि यस रेडक्रस उपशाखाले नै सञ्चालन गर्ने र यो काम लगभग फागुन देखि नै सञ्चालन गरेने लक्ष लिएका छौं ।

त्यसैगरि यसै रक्तदान कार्यक्रम र नगरपालिकाको भावी कार्यक्रमबारेमा सोही वडाका वडाध्यक्ष एवम् कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले भन्नु हुन्छ, हाम्रो कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटीको उपशाखाले प्रत्येक वर्षमा १२÷१५ पटक सम्म रगत संकलन कार्य गरिरहेको छ, यो एकदमै सराहनीय कार्य हो ।

अब कदममा यस रेडक्रस उपशाखाको विशेष अनुरोधमा यसै नगरपालिका भित्र नै रगत संकलन गरेर एकै थलोमा जम्मा गर्ने र आवश्यकता अनुसार वितरण गर्ने उद्देश्यले ब्लड बैंकको स्थापना गर्ने जटिल कार्यको लागि विशेष कदम चालिसकेको अवस्थामा छ । यसको लागि यस रेडक्रस उपशाखाको आफ्नै भवन बनिरहेको र करीब पुरा हुनैलागेको छ ।

यस उपशाखाले काठमाडौंको बागमती पूर्वमा रहेका नगरहरुलाई सहजै रगत उपलब्ध गर्न सकियोस् भन्ने लक्ष र उद्देश्यका साथ अगि बढिरहेको जानकारी गराउँदछु । साथै आजको यस रक्तदान कार्यक्रम सोचेभन्दा बढी नै सफलता मिलेको महशुस भएको छ, तपाईंको मिडिया मार्फत् आफ्नो क्षेत्रको बारेमा केही शब्द राख्न दिनु भएकोमा धन्यवाद व्यक्त गर्दछु ।”

यसैगरि उक्त कार्यक्रममा विशेष सहयोगी भूमिका निभाउनुहुने त्यसै रेडक्रस सोसाइटी कागेश्वरी मनोहराका उपशाखाका सचिव लक्ष्मी प्रसाद कुइँकेलजीले उक्त कार्यक्रम आयोजना गर्ने नमोबुद्ध टयाक्सी व्यवसायी प्रा.लि. का अध्यक्ष प्रेम तामाङजी लगायत सम्पूर्ण सदस्य र रक्तदाता ट्याक्सी चालक समुह एवम् अन्य रक्तदातालाई धन्यवाद दिनुहुँदै भन्नुभयो, “सर्व प्रथम त यहाँहरुको यो बाँपिझ्याला अनलाइन मिडियालाई धेरै धेरै धन्यवाद, यहाँसम्म आउनुभएर हाम्रो कुरा राख्ने अवसर मिलाई दिनुभएकोमा आभार व्यक्त गर्दछु ।

यो कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटीको उपशाखाको रुपमा रहेको रेडक्रसले अहिलेसम्म धेरै उपलब्धिमुलक र सराहनीय कार्य गरेर सबै नागरिकहरुको मन जित्न सफल भएकोमा अत्यन्तै खुशी लागेको छ ।

यस उपशाखाले यस भेकमा भएको विभिन्न सामुदायिक संघ संस्था, स्कूल र सहकारीहरुले आयोजना गरिएका मानवीय हितका कार्यहरुमा दिलो ज्यान दिएर आत्मसात् गरिरहेको छ, आवश्यक परे भीषण वर्षा र हूरी नै चले पनि पछि हटेको छैन, अब भावी योजना अनुसार काठमाडौं बागमती पूर्वका तीन नगरपालिकाका बासिन्दालाई सहज होस् र रगतको अभावले अलमलिनु नपरोस् भन्नको लागि यसै नगरपालिकाको वडा नं.३ मा पर्ने भद्रवासमा आफ्नै नीजि भवन बनाएर त्यसैमा आफ्नै कार्यालय राखेर ब्लड बैंक स्थापना गरि रगत संकलन र वितरण समेत गर्ने लक्ष राखेर यस नगरपालिका संग समन्वयात्मक भूमिका निर्वाह गरेको छ र नगरपालिकाले पनि स्थानीयतालाई मध्यनजर राखेर उक्त अनुरोधलाई स्वीकार गरेर कार्य थालनीको लागि विशेष ध्यान दिएर सहमति जनाइसकेको छ । लगभग आगामी फागुन चैत देखि नै सम्पूर्ण कामको शुरुआत गरिने भएको छ ।”

यसैगरि हामीले रक्तदाता प्रहरी हवलदार र सहभागी स्वयंसेविकाहरु संग त्यस भेकमा भएको रेडक्रस र संघ संस्थाबारे जिज्ञासा राख्दा उपलब्धिमूलक सराहनीय कार्य भैरहेको कुराको जानकारी प्राप्त भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!