Search

साताको १० गित यहाँहरुको लागि

साताको १० गित यहाँहरुको लागि

बाँपीझ्याला, काठमाण्डौं । नेपाली सांगीतिक आकाशमा एक सातामा ३ दर्जन बढी गीत सार्वजनिक हुने गरेका छन् । सार्वजनिक गीतमध्ये निक्कै कम गीतले मात्र श्रोता तथा दर्शकको साथ पाएका छन् । ती बाहेक अधिकांश गीतमा गरिएको लगानी निर्माताको रहरमै सिमित छन् । यो साता पनि २ दर्जन बढी गीत सार्वजनिक भए । तीमध्ये धेरै गीतलाई भ्यूजको खडेरी नै छ । गत शुक्रबारदेखि हिजो विहीबारसम्म सार्वजनिक भएका गीतमध्ये १० गीत यसप्रकार छन्ः

अशोकले गाएको हिन्दी गीत ‘माँ’
बालगायक अशोक दर्जीको स्वरमा गत शुक्रबार ‘माँ’बोलको हिन्दी गीतको भिडियो सार्वजनिक गरिएको हो । समिर खानको शब्द, टंक बुढाथोकीको संगीत एवं एरेन्जमा अशोकले स्वर दिएका हुन् । डि.आर सुजनको निर्देशनमा बनेको यसको भिडियोमा कञ्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी, अशोक निरौला लगायतको अभिनय छ । गीतले आमाबारे वर्णन गरेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाइँको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । यस गीतको भिडियोलाई अहिलेसम्म ११ लाख ९० हजार बढी पटक हेरिएको छ । गीत युट्युब ट्रेन्डिङको ८ नम्बरमा समेत छ ।

मेक्समको ‘मेरो बाबा सुपरम्यान’
गत शुक्रबार ‘मेरो बाबा सुपरम्यान’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतले बुवाको वर्णन गरेको छ । सन्तानको खुसीका लागि बाबुहरुले गर्ने कामहरुको गीतमा वर्णन सुन्न र हेर्न सकिन्छ । गीतका शब्दहरु नरेश खातीले लेखेका हुन् । उनकै संगीत, विशाल निरौलाको एरेन्जमा मेक्सम खातीले स्वर दिएका हुन् ।

क्रान्ती केसीको निर्देशनमा बनेको यसको भिडियोमा अर्जुन श्रेष्ठ र मेक्सन खातीको अभिनय छ । यस गीतले युट्युबमा ३ लाख ५७ हजार बढी भ्यूज पाएको छ । भिडयोमा उत्सव दाहालको छायाँकन, क्रान्ती केसीको सम्पादन छ ।

टंकको ‘तिमी जे सुकै गर’
टंक तिमिल्सिनाले गत शनिबार ‘तिमी जे सुकै गर’बोलको गीत सार्वजनिक गरेका हुन् । टंकको शब्द र संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतमा प्रविशा अधिकारीले स्वर दिएकी हुन् । विक्रम चौहानको निर्देशनमा बनेको यसको भिडियोमा टंक तिमिल्सिना, आश्मा बस्नेतको अभिनय छ ।

विरेन्द्र भट्टको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई अहिलेसम्म ३ लाख १५ हजार बढी पटक हेरिएको छ ।

उर्गेनको ‘हेर्यौ फर्केर’
उर्गेन दोङले गत शुक्रबार ‘हेर्यौ फर्केर’बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । यसमा उनको शब्द, संगीत, एरेन्जसंगै स्वर छ । उनीसँगै गीतमा विरेन्द्र दोङ, सुजिता योन्जनको स्वर छ । विकास प्रसाईँको निर्देशनमा बनेको गीतको भिडियोमा उर्गेन दोङ, विरेन्द्र दोङ, सुजिता योञ्जन र सम्झना जिम्बाको अभिनय छ ।

यस गीतको भिडियोलाई युट्युबमा ३ लाख ८८ हजार बढीपटक हेरिएको छ ।

अल्मोडाको ‘तिमी जस्तै हो’
अल्मोडा राना उप्रेतीको स्वरमा गत शुक्रबार ‘तिमी जस्तै हो’बोलको गीत सार्वजनिक भएको हो । गीतमा अल्मोडासँगै अप्सरा घिमिरे, मिष्टर आरजेको स्वर छ ।

सन्तोष सुनारको शब्द, राजेन्द्र भट्टको संगीत रहेको गीतलाई अल्मोडाले नै एरेन्ज गरेका हुन् । डान्सिङ गीतको भिडियोमा स्वस्तिमा खड्का र अरुण क्षेत्रीको अभिनय छ । शान थापाको निर्देशन, राजिव समिरको कोरियोग्राफीमा भिडियो बनेको हो । गीतको भिडियोलाई युट्युबमा २ लाख ६८ हजार बढी पटक हेरिएको छ ।

मेलिना राईको ‘एक्लै एक्लै’
बिहीबारमात्रै सार्वजनिक ‘एक्लै एक्लै’मा मेलिना राई र सिडी बिजय अधिकारीको स्वर छ । नारायण दाहालको शब्द, सिडी बिजय अधिकारीको संगीत, राजु कार्कीको एरेन्ज रहेको गीतले मायाप्रेमको कुरा व्यक्त गरेको छ । प्रहिल कार्कीको निर्देशन, अवेश मान महर्जनको छायाँकन रहेको भिडियोमा मेलिना र सिडी बिजय स्वयंम फिचर्ड छन् । मेलिनाकै युट्युबबाट सार्वजनिक भिडियोलाई एक दिन नपुग्दै ५६ हजार बढी पटक हेरिएको छ ।

स्मिताको हिन्दी गीत ‘इबादत बन गए हो’
गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा पनि स्वर भरेकी छिन् । उनको स्वरमा समावेश ‘इबादत बन गए हो’ बोलको गीत गत शुक्रबार सार्वजनिक भएको हो । केआर वाहीको शब्द, शबाब सबरीको संगीत रहेको गीतमा स्मिता र शबाबको स्वर दिएका हुन् ।

यो गीतको भिडियोमा स्मिता आफैले मोडलिङ गरेकी छिन् । उनलाई भारतीय टेलिभिजनका सफल कलाकार अर्जुन बिज्लानीले अभिनयमा साथ दिएका छन् । राजीव एस रुयाले निर्देशन गरेको यो भिडियोलाई पूनम यादवले निर्माण गरेकी हुन् । यो गीतका भिडियोलाई १ लाख ७५ हजार बढी पटक हेरिएको छ ।

विशालको ‘जात नमिल्ने भो’
तीन दिनअगाडि सार्वजनिक ‘जात नमिल्ने भो’मा विशाल निरौला र अनिता चौधरीले स्वर दिएका छन् । प्रशान्त पौडेलको शब्द, संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।

विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा विक्रम बुढाथोकी र अनिता चौधरीले अभिनय गरेका छन् । यो भिडियोलाई १ लाख २७ हजार बढी पटक हेरिएको छ । प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियो विशाल निरौलाको युट्युब च्यानलमा सार्वजनिक छ ।

यम र प्रविशाको ‘अझ वर वर आउ’
‘अझ वर वर आउ’मा यम बराल र प्रविशा अधिकारीले स्वर दिएका छन् । उज्वलराज भट्टराईले कोरेको शब्दमा गायक यम स्वयंमले संगीत भरेका छन् भने गीतका एरेन्जर बलराम समाल हुन् । सोनम पाख्रिनको निर्देशन, सुरेन्द्र बसेलको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेत्री वेनिशा हमाल, जोर्डन राजभण्डारीको अभिनय छ ।

बुद्ध थापा र उनको टिमको छायाँकन रहेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । ४ दिन अगाडि सार्वजनिक भिडियोलाई अहिलेसम्म १ लाख १७ हजार पटक हेरिएको छ ।

तारा र आर्यनको ‘मायाको चौघेरा’
‘द भ्वाइस अफ नेपाल सिजन ३’ मा उत्कृष्ट ४ भित्र पर्न सफल प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङको स्वरमा ‘मायाको चौघेरा’बोलको गीत सार्वजनिक गरिएको हो । जोसेफ शाहीको शब्द एवं कम्पोज रहेको गीतमा विशम आचार्यको एरेन्ज छ ।

गौरब गिरीको निर्देशन एवं सरोज राना प्रजाको कोरियोग्राफीमा सरोजसँगै बिना राउतले भिडियोमा अभिनय गरेका हुन् । बसन्त कुवँरको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई एक सातमा युट्युबमा १ लाख ६१ हजार बढी पटक हेरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!