Search

ईटाको भाउमा बृद्धि, असोजपछि इँटा अभाव हुने संकेत

ईटाको भाउमा बृद्धि, असोजपछि इँटा अभाव हुने संकेत

बाँपीझ्याला, विराटनगर । कोरोना महामारीका कारण भारतीय मजदुर आउन नपाएपछि प्रदेश १ का इँटा उद्योगको उत्पादन रित्तिन थालेको छ । हिउँदमा खोल्नुपर्ने इँटा उद्योगको चिम्नी वरिपरिको अन्तिम लेयर पनि यसै बेला खोलेर इँटा उद्योगले बिक्री गर्न थालेपछि असोजपछि इँटा अभाव देखिएको हो । सोही कारण १८ रुपैयाँ प्रतिगोटा पाउँदै आएको १ नम्बर इँटाको मूल्य २३ रुपैयाँ पुगेको छ ।

भारतीय मजदुर प्रत्येक वर्ष भदौ अन्तिम देखि असोज महिनामा इँटाभट्टामा आउने र उनीहरू वैशाख लागेपछि फर्कने गरेका थिए । तर, सरकारले कोरोनाको कारण देखाउँदै गत वर्षदेखि भारतको कुचविहारबाट आउने मजदुर ल्याउने अनुमति उद्योगलाई नदिएपछि नेपाली अदक्ष मजदुरबाट इँटा उत्पादन पूर्ण रूपमा हुन नसक्दा अभाव सुरु भएको नेपाल उद्योग परिसंघ अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

उनका अनुसार उद्योगले अन्तिम लटमा पकाउन चिम्नीमा हालेको इँटा अर्को सिजनको सुरुमा मात्र खाली गर्ने गरेका थिए । तर, यसपटक बजारमा इँटा अभाव भई उपभोक्ताको माग थेग्न नसकेर व्यवसायीले धमाधम डक खाली गरिरहेका छन् ।

यस पटक भने भारतबाट श्रमिक ल्याउन समस्या नहुने अनुमान व्यवसायीले गरेका छन् । परिसंघले दक्ष श्रमिक ल्याउने कार्यमा सहजीकरण गरिदिन प्रदेश र संघीय सरकारसमक्ष पहल गरेको थियो ।

सरकारले सहजीकरण गरिदिए यसपटक समयमै मजदुर ल्याउन सकिने भएकाले उत्पादन ६० प्रतिशतसम्म गर्न सकिने उनले बताए ।

संघीय सरकारले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन र स्थानीय पालिकाको स्वीकृतिमा श्रमिक ल्याउन सकिने व्यवस्था भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!