Search

तिजको अवसरमा हार्दिक शुभकामना – तिजय व्यालाकु भिङ्गु टोनगु

तिजको अवसरमा हार्दिक शुभकामना – तिजय व्यालाकु भिङ्गु टोनगु

उसकै नामको सिन्दुर–पोते दिन आउँछ अरे
रातो डोली सजाएर लिन आँउछ अरे

‘अरे’ अर्थात् एउटा मीठो सम्भावना व्यक्त गर्ने शब्द । तीजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसैगरी तीजमा यस्तै सम्भावना, रसिक अनि प्रेमिल भाका हाल्दै अनि कम्मर मर्काउँदै आज धेरै चेलीहरू गोलबद्ध भएर उत्रिएका छन्, आ–आफ्नै रंगमञ्चमा ।

यो वर्षको तीज पनि अन्य वर्षहरू झैँ सांगीतिक रूपमा अब्बल रह्यो । यो वर्ष भने सकुना श्रेष्ठको “माईतीको आगन” र विष्णु माझीको जेलैमा हो… जेलैमा गीतले बजार तताएको छ । यस्तै सम्झिने पानी छम्किने लगायत अन्य थुप्रै गीतहरूले यस वर्षको वैराग र विस्मात्लाई तीजको रौनकमा रूपान्तरण गरिदिएको छ ।

नेपाली महिला दिदीबहीनीहरुले आफ्नो पति अनि परिवारको रक्षार्थ र उज्वल भविष्यको लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ्य सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौँ ।

पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।

तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरू अनि मौलिक सङ्गीतहरू हुन् । हरेक वर्ष सयौँ तीजका नयाँ भाकाहरू आउने गर्छन् । तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् ।

अब थोरै कुरा गरौँ, तीजका गीतहरूको, परम्परागत शैलीका मौलिक गीतहरूको साटो अश्लिल अनि दुई अर्थ लाग्ने गीतहरूको प्रयोगले तीजको माहौल दुषित हुन भने कृपया नदिनुहोला ।

रत्यौलीका गीत र शब्दहरू अनि तीजका भाकाहरू अवश्य फरक छन् । तथापि सस्तो लोकप्रियताका लागि रत्यौलीका शब्दहरूमा अझ श्रोता, दर्शक यस्तै मन पराउँछन् भन्दैमा ‘तथाकथित मसला’का शब्द र भाका हालेर तीजका लागि तयार गरिनुले तीजको गहनतालाई हलुका त बनाएको छैन ? सोचनीय छ । चाहे ‘लाउडस्पीकर’मा घन्किने गीत हुन् या थपडीका आवाज, तीजमा संगीतको महत्व अत्यन्त धेरै हुन्छ । त्यो मौलिक होस्, नेपाली माटोको सुगन्ध दिने खालको होस् ।

रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, बुलाकी, असर्फी लगायतका विभिन्न गहनाहरू अनि उत्साहपूर्ण माहौलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको सम्झना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँछ ।

समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन् र शक्तिका केन्द्र पनि हुन् । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले आफ्नो शौभाग्य र परिवारको सु–स्वास्थ्य अनि दीर्घायुका लागि व्रत बस्ने दिन, अविवाहित नारीहरूले आफूले भनेजस्तै वर पाइयोस् भनी भगवानसँग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन ।

विभिन्न टेलिभिजन च्यानल र रेडियोहरूले आजको दिन विभिन्न ठाउँहरूमा अनेक कार्यक्रमहरू गरी आयोजना हुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रशारण समेत गर्ने गर्छन् । रातो रङ्ग र हर्षको प्रवाह आज नेपाली सञ्चार माध्यमहरूले पनि गर्नेछन् । पत्रिकाहरू पनि तीज विशेष रौनकयुक्त तस्बिर र शब्द सामाग्रीले भरिएको हुनेछन् । सनातन हिन्दू महिलालगायत अधिकांंश नेपाली महिला हृदय आज पूर्णत् तीजको रङ्गमा रङ्गिएको छ ।

‘तीज’ महिलाहरूको चाड भनेर निकै लेप लगाइए पनि पुरुष र महिलाहरू दुवैका लागि यो चाड एकदमै महत्वपूर्ण छ । महिलाहरूले जसरी आफ्नो श्रीमान् र भविष्यमा हुने श्रीमानका लागि व्रत बस्ने तीज जस्तो चाडको अवसर प्रदान गरिएको छ । तर पुरुषहरूका लागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन । तथापि पुरुषहरूले आफ्नो जिम्मेवारी वहन गरेर महिलाहरूप्रति थप जिम्मेवार, माया र सद्भाव बढाएर आफ्नो स्नेह बाँचुञ्जेल प्रवाह गर्न सक्छन् ।

आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाउँमा हुनै सक्दैन । महिलाहरूलाई माइतीको विशेष स्नेह हुन्छ । माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहल–पहल र सँगैका सङ्गीहरूका साथ माइती गाउँका आफन्त प्रियजनहरूसँगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौँदेखि चलिआएको जीवन्त संस्कृति हो ।

‘तीज’ शब्द नामाकरण कसरी भयो भन्ने कुरामा हामीले थोरै अध्ययन गर्यौं । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दैछौँ । तीज वर्षा याममा निस्कने एकप्रकारको किरा भएको र वर्षायामको उत्तराद्र्धमा भएको यो चाडको नामाकरणको कथा यसै वर्षे किरासँग सम्बन्धित भएको पनि पायौँ । अर्कोतर्फ तिहार, त्योहार भन्नाले उत्कर्षको चाडका रूपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरूपमा आएको कुराहरू पनि पायौँ ।

वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ । आधुनिककालमा वरवधुले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन, तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरू तुहिएर जाने हामी सबैलाई थाहा छ । माता पार्वतीको असिम कृपाले प्रेम अनि प्रेमीहरूको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।

तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्ज्वलन गरिन्छ । ती दिपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ । पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवारबीचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिका साथ अघि बढाउन सकोस् ।

सबैको नेपाली दाजुभाई, दिदीबहीनीहरुको जय होस् । यसपालाको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस् । भावनाहरू जोडिउन् । हरेक नेपाली जोडीहरूको हजारौँ जोर सपनाका थानहरू पूरा हुन् ।

अनि पुरुष मित्रलाई सानो प्रश्न जाँदा जाँदै, आफ्ना लागि व्रत बस्ने धर्मपत्नी या प्रेमिकालाई के उपहार दिने सोच्नुभएको छ ? कसैले आफ्नो लागि व्रत बस्ने चाल पाउनु भएको छ भने साँझमा एक कल फोन या भेट गर्नाले व्रत र प्रेम दुवैको सम्मान हुनेछ हैँ । अनि सम्पूर्ण महिला वृन्दहरू, चाहे तपाईँ माइतीमा हुनुहुन्छ या हुनुहुन्न या विदेशमा तीजको स्वदेशी यादहरू सम्झना गर्दै हुनुहुन्छ, हाम्रो बाँपीझ्याला डटकम मिडियाको तर्फबाट यो पावन चाडको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!