Search

दोलखामा ’पाङ्जापर्व’ पञ्चदान

दोलखामा ’पाङ्जापर्व’ पञ्चदान

नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले पञ्चदान पर्व प्रचलनमा ल्याएको ऐतिहासिक प्रमाणमा उल्लेख छ । यस पर्वलाई विशेषतः बौध्दधर्मका अनुयायी भिक्षुहरुले मानि आएको कुरा नेपालमा प्रचलित कथन छ, जुन अद्यापि छँदैछ । फरक फरक दिनमा मानिदै आएको यस पर्वलाई भने दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २ को प्रधान खलकले विशेष रुपमा मान्दै आएका छन् । यसमा पनि मुख्यतः नक्छेंमी (नक्छें टोलका बासिन्दा) प्रमुख भूमिका रहेको छ । जसमा यही टोललाई प्रमुख रुपमा लिए तापनि बसोबासको हिसाबले स्थान अन्तर पनि परेको छ ।

नक्छेंमीकै पूर्वजको आधारमा दोलखा शहरको विभिन्न टोलमा छरिएर रहेका प्रधानहरु पर्दछन् । यस प्रधान समुदायकै हिसाबमा ४ प्रधान खलकले प्रत्येक ४÷४ वर्षमा पालैपालो गुठीपालोको संज्ञा दिएर मनाउँदै आएका छन् । यस वर्ग भित्र ’याकरगण’ प्रधान खलक चाहिँ पर्दैनन् भन्ने कुरा स्थानीय वरिष्ठ साहित्यकार अमर कुमार प्रधानले बताउनु भएको छ । यो गुठीको सञ्चालन गर्न भीमेश्वर नगरपालिका अन्तर्गतकै वडा नं. ५ मा पर्ने माटी गाउँबाट यो भन्दा धेरै पहिले १७–१९ मूरी धान आउँथ्यो त्यसैबाट गुठी सञ्चालन भैरहेकोमा उक्त धान दिने मोही खलकले पारिवारिक समस्या र कम उब्जनीको कारण देखाएर तोकिएको अन्न बुझाउन आनाकानी गरेर वर्षेनी नगद ७०००/– रुपैयाँ बुझाउँदै गरेको कुरा भीमेश्वर नगरपालिकाका पूर्व वडाध्यक्ष एवम् सो गुठी खलककै सदस्य टीका नारायण प्रधानले बताउनु भयो ।

यसै गरी सो गुठी सञ्चालनमा हाल आएर आफ्नै आर्थिक समस्यापूर्ति गर्न असहज भएको र समय परिस्थितिले पनि अनिवार्य सर सामग्री उपलब्ध गर्न गराउन कठिनाइ परेकोले यथासक्य शक्तिले परम्परालाई निरन्तरता दिंदै आएको कुरा स्वर्गीय अमृत बहादुर प्रधान (कोर्छें गुर्कोट) का माहिलो छोरो प्रशुराम प्रधानले बताउनु भयो । यो गुठीको रीतिरिवाजलाई सम्बन्धित गुठियारहरुले ’८४ गुठी’ पनि भन्ने गरेका छन् । यसको मूल कारण के हो भनेर तीनै जना प्रधान संग जान्न खोज्दा यो गुठीको परम्परा अनुसार दोलखा सेङ टोल ( श्यामसुन्दर टोलको दक्षिण) मा बस्ने गुभाजुहरु स्वर्गीय बुद्धरत्न तुलाधर (बौद्धे बाजे) र स्वर्गीय कालुपाते बज्राचार्यका पूर्वज देखिका सन्तानलाई पुजारीको रुपमा मान्दै आएको र हाल स्वर्गीय बुद्धरत्न तुलाधरका जेठो छोरो नरेन्द्र तुलाधर समेतका दाजुभाइले यो पुजारीको कार्यभार सम्हालिरहेको थाहा हुन आएको छ ।

उक्त पुजारी खलकले यो पञ्चदान (पाङ्जा) पर्वको सञ्चालन गर्न विशेष कक्ष स्थापना गरि यही दिन अर्थात् भाद्र कृष्ण पक्ष एकादशीको दिनमा पञ्चदान (पाङ्जा) पर्वको पूर्व तैयारी अनुरुप देवताको स्थापना गर्ने गरिन्छ । जुन कार्यलाई स्थानीय दोलखाको नेवारी भाषामा “जाकी स्वारिउरी” भन्ने गरिन्छ । भोलिपल्ट द्वादशीको दिनमा मूलपूजा गरिनेछ र त्रयोदशीको दिनमा अभयपुर द्वाल्खा शहर भित्रका सबै चैत्य स्तुपाको दर्शन र परिक्रमा गरिनेछ ।

यसै गरी क्रममा बज्राचार्य गुभाजु वर्गलाई पञ्चदान दिने प्रचलन रहेको छ । तर अहिले कोरोना संक्रमणको कारणले यसरी दानलिने कार्यलाई गुभाजुकै घरमा लिने गरिएको छ । यो पर्व खासगरि एकातिर बौध्दधर्म संग सम्बन्धित र अर्कोतिर गुभाजुहरुलाई तान्त्रीक विद्याका गुरु भएको कारणले पनि लोकमा आईपरेका भवितव्य घटना र भूत, प्रेत र पिशाचहरुले अमानवीय व्यवहार गरेर मानव जातीलाई दुख दिएर त्रासमय नगरुन् भनेर गुभाजुका मुल तान्त्रिकले आफ्नो मन्त्र र ईन्द्रजालको शक्तिले ती अज्ञात शत्रुलाई वशमा राखेर लोकको कल्याण गर्ने कार्य गरेकोले जनमानसले खुशी व्यक्त गर्दै उनीहरुलाई स्वेच्छाले दान दिएको हुनसक्छ ।

यसबेलामा आफूले सकेको अन्न (धान चामल) फलफूल, नगद, धातु र वस्त्र गरेर पाँच थरीका वस्तुहरु दान दिने भएकोले पनि यसलाई ’पञ्चदान’ भनिएको हुनुपर्छ । यसलाई दोलखा नेवारी भाषामा “पाङजा” भन्दछन् । काठमाडौं उपत्यका लगायत अन्यत्र मोफसलका नेवारहरु जो नेपाल भाषा बोल्ने गर्छन् उनीहरुले ’पञ्चदां’ भन्ने गर्छन् । यही ’ पञ्चदां’ नै बोलचाल गर्दागर्दै दोलखामा ती शब्द अपभ्रंश भएर ’पाङ्जा’ भएको हुनुपर्छ ।

यो चाड ’ गुँन्ला’ पर्वको छेउछाउमा भएकोले उपत्यका र मोफसलका नेवारहरुले ’गुँला पर्व’ मा जस्तै अलिक फरक तालमा बाजा बजाएर गुभाजु संगसंगै चैत्य, स्तुपा, बही, बिहारको परिक्रमा गर्छन् भने दोलखामा अझै विशेष खालको मौलिक धुनमा नेवार जातीकै कसाईले ढोलक र छ्याली (छुस्याल) बजाउने अनि कुसलेले शहनाई (म्वारी) फुकेर उनै गुभाजु र गुठीयारहरु संगसंगै बौध्दधर्म संग सम्बन्धित चैत्य, स्तुपा र बहिर अनि यस संग सम्बन्धित व्यक्तिहरुको चोक र घरमै पुगेर पूजा गराउने र दान थाप्ने प्रचलन छ । यसबेला दोलखामा बजाइने बाजाको ताल र धुन अन्य समयमा भन्दा फरक ढंगको हुन्छ । जुन धुन अन्य चाडपर्वमा बजाउन मिल्दैन ।

अब यो “पाङ्जा” पर्वलाई ८४ गुठी किन भनिन्छ त भन्ने कौतुहल लाग्नसक्छ ।दोलखामा मनाइने यो पर्वमा सम्बन्धित प्रधान खलकहरुमा तीन दिन तीन थरीको भोज हुनेगर्छ, ’समै भोज’ ( प्रसादको रुपमा खुवाउने), ’फर्सी भोज’ र ’मुल भोज’ हुन् । यी तीनै थरीका भोज गुभाजुको निर्देशन अनुसार तैयार हुनुपर्छ । मूल भोजका दिन पुजारी गुभाजुहरुलाई ८४ भोजन खुवाउनु पर्ने प्रचलन छ, अर्थात ८४ व्यञ्जन ।

यो ८४ व्यञ्जनमा एउटै राँगोको मासु, छाला, नसा, रगत, आन्द्रा, भूँडी, टाउको आदि ईत्यादि हरेक अंग–प्रत्यङ्गको छुट्टाछुट्टै परिकार बनाएर ८४ थरी बनाएर गुभाजुले जे आदेश दिन्छ त्यही अनुरुप तैयार गरेर खुवाउने अनौठो रीत भएकोले यसलाई स्थानीय स्तरमा ’८४ गुठी’ भनिएको हो ।

अब दोलखा लगायत अन्य ठाउँमा यो पञ्चदान पर्व बौध्दधर्म संग सम्बन्धित राखेर भिक्षु (भन्टे), गुभाजु र बुद्धका अनुयायीहरुलाई दान दिएर मनाइने प्रचलन भएपनि दोलखामा भने बज्राचार्य, तुलाधर (गुभाजू ) लाई सम्मान र आत्मीय पूर्वक पूजाआजा गरेर ८४ व्यञ्जनको भोजन गरेर पञ्चदान गरिनुको तात्पर्य के हो त ? यसको प्रसङ्ग बिल्कुलै फरक खालको देखिन्छ र यसबारे सम्भाव्यता अलि जटिल खालको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

परापूर्वकालमा दोलखामा रहेका तीन देवी कालिन्चोक, त्रिपुरा सुन्दरी र बालकुमारी जो दिदीबहिनी मानिन्छ । ती मध्ये कान्छी बालकुमारी साह्रै नै धूर्त, चञ्चले र अभय निडर खालकी भएकी देवी मानिन्छ, दुइ दिदीहरु छुट्टिएर अलग्गै बस्न थालेपछि उनलाई एक्लोपनले साह्रै सताउन थालेर मानसिक सन्तुलन बिग्रेको मानिस झैं उत्ताउलोे भएर आफ्नो अगाडि देखिएका किशोरी बालिका र अविवाहित स्त्री जाती प्रति एक्कासी हमला गर्ने, मार्ने र अपाङ्ग बनाउन थालेपछि अभयपुरका बासिन्दाहरुमा भय र त्रास फैलिन थाले, आफ्नो काम धन्दा नै छाडेर ज्यान जोगाउन तिर लाग्नु पर्ने अवस्था आएपछि स्थानीय केही व्यक्तिले नेपाल उपत्यकाको पाटनमा बस्ने तान्त्रिक गुभाजुलाई लिन गए र त्यतिबेला ७÷८ दिनको पैदल बाटो हिनेरै ती गुभाजुलाई दोलखामा लगेर आफूहरुलाई परि आएको आपद विपदका कुरा सुनाएर बालकुमारीलाई चिनाई दिए । ती गुभाजूले बालकुमारीको उद्दण्डताको कारण र रहस्य बुझेर आफ्नो तान्त्रिक शक्तिले वशमा पारेर फकाउँदै शहर देखि तलको जङ्गलको बीचमा लगेर जुन ठाउँमा पहिले नै खाल्डो बनाउन लगाएको थियो ।

त्यसमा बाल कुमारी र तान्त्रिक दुवैले फलामे साङ्लाले बाँधेर झुल्लिने खेल खेल्ने बहानामा कुमारीलाई चाहिँ वास्तविक फलामकै साङ्लोले बाँधेर आफूलाई चाहिं तन्त्र शक्तिले चामलको पीठोको साङ्लोले बाँधेर पीङ खेले जस्तै झुलेर खेल्ने बहानामा हुत्तिन थाल्दा तान्त्रिक गुभाजु पीठोको साङ्लो चुँडिएर फुत्केको र कुमारी भने फलामे साङ्लोको कारणले झुण्डेको झुण्ड्यै भएर त्यहीं अल्झिन पुगिन् । तान्त्रिकको यो चलाखी र छलकपट चाल देखेर बालकुमारी देवी झन् छटपटाएर चिच्याउन थालेपछि गुभाजू तान्त्रिकले अनेकन् उपायले सम्झाएर “ “अबदेखि तिमीलाई हरेक साता, महिना र वर्षमा तिम्रो सेवा र सुरक्षा दिन भैरव शिवका गणहरु आउनेछन्, प्रत्येक वर्षको साउन शुक्लपक्ष द्वितीयाको दिनबाट हरेक रात ५ रातसम्म तिमीलाई भैरव नै अगाडि राखेर यो शहर घुमाउनेछौं,त्यतिबेला म पनि तिम्रो रक्षाको लागि अघिल्तिर हिन्नेछु, तिम्रा लागि घोडा घोडचढी, नाइके नायिका, माझी लगायत सबैको बन्दोबस्त गर्नेछु…“ भनेर फकाइ फुल्याई त्यस ठाउँमा बन्धनमा राखेपछि लोकबासीले सुख शान्तिपूर्ण बस्न पाएको कारणले नै उक्त गुभाजुलाई दोलखामै बस्ने अनुरोध गरेर यथाशक्य अन्न, बास र लत्ताकपडा दान गरेर दोलखालाई अभयको शहर अर्थात डर नलाग्ने स्थलको नामले अभयपुर राखिएको भन्ने भनाई रहेको छ । यसै सिलसिलामा गुभाजू बज्राचार्य वर्गले पनि बुद्धको उपदेश र ज्ञानलाई आत्मसात् गर्दै आफुले बालकुमारी देवीलाई छलकपट पुर्ण सजायँ दिएकोमा पश्चाताप गर्दै बुद्धसंग क्षमाप्रार्थना स्वरुप हरेक वर्षको भैरवकुमारीको जात्रा पछि प्रत्येक चैत्य, गुम्बामा पुगेर क्षमापूजा गरेको हुनुपर्छ भनेर अनुमान लगाउन सकिन्छ ।

यसरी दोलखाको इतिहासलाई नियालेर हेर्दा भैरव कुमारीको जात्रा र यो पञ्चदानको पर्व शुरु हुनुभन्दा पहिले नै दोलखामा बौध्दधर्म धेरै पहिले देखि नै स्थापित भएको कुरा प्रमाणित हुन आउँछ ।

यस आलेख तयार गर्नको लागि यस बाँपीझ्याला डटकमको व्यवस्थापन सहयोगी बालकृष्ण श्रेष्ठलाई पूर्व वडाध्यक्ष टिकानारायण प्रधान, अमर कुमार प्रधान र प्रर्शुराम प्रधानले सहयोग गर्नु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!