Search

एमालेबाट दोलखा जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुले पार्टी विभाजनमा साथ नदिने

एमालेबाट दोलखा जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुले पार्टी विभाजनमा साथ नदिने

बाँपीझ्याला, काठमाण्डौं । एमालेबाट दोलखामा निर्वाचित सबै जनप्रतिनिधिहरुले पार्टी विभाजनमा साथ नदिने भएका छन् । माधव नेपाल समुहले नेकपा (एकिकृत समाजवादी) पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपनि दोलखामा निर्वाचित सबै जनप्रतिनिधिहरुले विभाजनको विपक्षमा उभिने निर्णय गरेका हुन् । सरकारले राजनीतिक दलसँगै जनप्रतिनिधिहरुलाई समेत विभाजन गर्नेगरी २१ दिनभित्र नयाँ दल रोज्न पाउने अध्यादेश ल्याएको थियो ।

दोलखाका प्रत्यक्ष निर्वाचित संघीय सांसद पार्वत गुरुङसहित जिल्लाका सबै जनप्रतिनिधिहरुले मुलघरमै रहेर पार्टी एकताको सन्देश दिएका छन् । समानुपातिक तर्फका संघीय सांसद शान्ति पाख्रिन, प्रदेशसभा सांसद रचना खड्का र सरस्वती बस्नेत एमालेमै छन् ।

पार्टी एउटै हुँदा माधव समुहकी प्रभावशाली नेतृ समेत रहेकी प्रदेशसभा सांसद रचना खड्का दल विभाजनमा साथ नदिने निर्णयमा पुगेकी छन् । वाग्मती प्रदेशका १२ जना एमाले सांसदले मंगलबार नयाँ दल रोज्दा सांसद खड्का सहभागि भईनन् । जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सांसद पशुपति चौलागाईको निधन भैसकेको छ ।

जिल्लाका ९ स्थानीय तहमध्ये दुई नगरसहित ७ वटा स्थानीय तहका प्रमुखहरु एमालेबाट निर्वाचित हुन् । उनीहरु सबै एमालेमै रहने भएका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, जिरी नगरप्रमुख टंक जिरेल, तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ, शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल, कालिञ्चोक गाउँपालिका प्रमुख विन कुमार थामी र गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयम बहादुर खड्काले एमाले छाड्न नसकिने बताएका छन् ।

यसैगरी एमालेबाट निर्वाचित ७ उपप्रमुखमध्ये ६ जनाले एमालेमै रहने निर्णय गरिसकेका छन् । भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, जिरी नगर उपप्रमुख कृष्णमाया बुढाथोकी, तामाकोसी गाउँपालिका उपप्रमुख उर्मिला खड्का, कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठक, गौरीशंकर गाउँपालिका उपप्रमुख उर्मिला थामी र शैलुङ गाउँपालिका उपप्रमुख लालमाया योञ्जन एमालेमै रहने भएका हुन् । मेलुङ गाउँपालिका उपप्रमुख कल्पना भण्डारी अनिर्णित रहेको बताईएको छ । उनका श्रीमान शिव प्रसाद भण्डारी हाल एकिकृत समाजवादीमा खुलेका छन् ।

जिल्लामा जम्मा ६७ वटा वडा छन् । जसमध्ये स्थानीय तहको निर्वाचनमा एमालेबाट ३९ जना वडाध्यक्ष निर्वाचित भएका थिए । एकाधबाहेक पार्टीबाट निर्वाचित सबै वडाअध्यक्षहरु एमालेमै रहेका छन् । एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले विभाजित भएर बनेको पार्टीको हातल ईतिहाँसमा देखिईसकेको भन्दै त्यस्तो गल्ती नदोहोरिने गरी दोलखाका जनप्रतिनिधिहरु पार्टीको पक्षमा दृढतापुर्वक उभिएको बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!