Search

श्रीकृष्ण जन्माष्टमी, दोलखामा कृष्ण जन्माष्टमी र यसको महिमा

श्रीकृष्ण जन्माष्टमी, दोलखामा कृष्ण जन्माष्टमी र यसको महिमा

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना …

हातमा मुरली, शीरमा मयूरको प्वाँख, शीतल बगैँचामुनि, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट उहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन ।

संसारभरका हिन्दू धर्मावलम्बी अनि श्रीकृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रतिभाशाली–प्रभावशाली व्यक्तित्वका धनी भगवान श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्थे । उनको मुस्कानमा हर्ष छ । मनको सौन्दर्यता र सौम्यताको अद्भूत संगमयुक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ । गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरिएका कृष्णका पोशाकका रंगहरू बिजुली चम्किँदाको जस्तो चम्किलो हुन्छन् । उनको पैतालाका नङ्गका रगंहरूले चन्द्रमाको आभास मिल्छ

त्यस्ता व्यक्तित्वका धनी उनै श्रीकृष्णको परिचयका शृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी, दूध–दहीका घैला फुटाउने, चकचके जस्ता अनेक कार्यहरू ‘कृष्णलीला’ को पगरी गुथेर परिचित छन् । कामले बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथा र घटना वृन्दावन, मथुरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू–लोकमै चर्चित छन् । उनी सम्पूर्ण रूपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्न सक्ने दिव्य व्यक्तिका रूपमा अझै पनि चर्चित छन्

गोविन्द, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर आदि थुप्रै नामबाट पुकारिन्छन् । यिनै कृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रूपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ

भगवान श्रीकृष्णको नामसँगै राधाको नाम पनि बडो आस्थाका साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरू संसारभरि धेरै ठाउँमा छन् । तर राधा–कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासमा लिपिवद्ध छैन । बरू इतिहासले रुक्मिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको उल्लेख भएको पाइन्छ

कृष्ण धारावासीको कृति राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो । तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तिको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।

कृष्णका कुरा गर्दा ‘मीरा’लाई पनि इतिहासले बिर्सन खोजेको जस्तो भान हुन्छ । मीरा वास्तवमा एक गृहस्थी जीवन व्यतित गरिरहेकी महिला थिइन् । जो कृष्णको आकर्षण र अनुभूति मात्रैले पनि सम्पूर्ण कुराहरू त्यागेर कृष्णको खोजीमा निस्किइन् । मीराका भजनहरूमा र संगीतमा कृष्णमोह पाइन्छ । समर्पण र सुफी भावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।

दोलखामा कृष्ण जन्माष्टमी र यसको महिमा
धर्म, संस्कृती, परम्परा र साँस्कृतिक मौलिकता संगै बिभिन्न चाडपर्वको दोलखा शहरको एउटा आँगनको ऐतिहासिक नाम हो अभयपुर । प्राचीनताको इतिहास बोकेको प्राङ्गण हो दोलखा जसलाई स्थानीय स्तरमा मौलिकताको पहिचान दिएर द्वाल्खा नेवारी भाषामा द्वाल्खा भन्ने गर्छौ ।

किराँतकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल देखि अहिले लोकतान्त्रिक शासनको सेरोफेरोमा आउन्जेलसम्म दोलखा अभयपुरमा संस्कृति र प्रकृतिले त्यत्ति नै श्रृङ्गार भरिएको छ । जति पूर्खाहरुले भविष्यमा आफ्नो कृति, रीतिरिवाजको सृजना गरेर पुस्तौंसम्मको लागि सौगात सुम्पेर गएका थिए ।

शत प्रतिशत बाँकी नहोला तर सकेको जत्ति ती परम्परागत शैलीको सुरक्षा, संरक्षण र सम्बर्द्धनको लागि २१औं शताब्दीको व्याख्यान गरेर धर्म र संस्कृतिलाई उथलपुथल पार्न खोज्ने केही अबुझ वर्गको निमित्त दोलखाको परम्पराले चुनौती दिन पछि हटेको छैन, अझै यसलाई दिगो र निरन्तरता दिनको लागि भग्नावशेष मन्दिरको पुनर्निर्माण, पुनःव्यवस्थापनको लागि स्थानीय लब्ध प्रतिष्ठीत व्यक्तित्व वर्ग तथा जनसाधारणलाई चासो बढेकोमा खुशी नलाग्ने कुरै भएन ।

मूलतः सामाजिक परिवेशलाई कसैले राजनीतिकरण नगरीकन आ–आफूमा वैमनस्य नराखीकन एकात्मक एकता राखेर अगि बढिरहेको कुरा ऐना जत्तिकै छर्लङ्ग छ । जसको उदाहरण हो, दोलखामा ऐतिहासिक संग्राहलय तैयार हुनु, भैरव कुमारी मन्दिर निर्माण हुनु र अन्य देव देवीका देवल, चैत्यहरु पुनर्निर्माण गरेर उदाहरणीय बन्नु हो ।

यसरी दोलखाको अस्तित्व जोगाउनको लागि सदैव तत्पर हुने सामाजिक मन र तनलाई हामी सबैले उत्साहित बनाउन उत्प्रेरित गर्न जरुरी छ । यो अहिलेको दोलखाको परिवेशमा सामाजिक रुपान्तरणको लागि अति नै आवश्यकता सिद्ध भईसकेको छ । यस कुरालाई ख्याल ख्याल नठानौं ।

अब अहिलेको सन्दर्भमा भन्नुपर्दा आज कृष्ण जन्माष्टमी हो । द्वापरयुगका देवनायक श्रीकृष्ण जन्मेको दिन । तमाम हिन्दूहरुले मान्दै आएका भगवान श्रीकृष्णको जन्मोत्सव हिन्दू धर्मावलम्बीले धुमधामका साथ मनाउँदै आएका छन्, नेपाल राज्यको अधिकांश ठाउँमा जहाँजहाँ कृष्ण मन्दिर छ, त्यहाँ त्यहाँका अनुयायीहरु व्रत उपासना गरेर मनोकाँक्षा पूरा होस् भन्ने अभिलाषा लिएर दर्शन गर्ने गर्छन् । यसै अनुरुप दोलखामा पनि श्रीकृष्ण जन्मोत्सव हर्षोल्लास पुर्ण मनाउँदै आएको छ । अन्यत्र भन्दा तामझाम नगरे पनि सप्तरीको दिनभरि भीमेश्वर मन्दिर सामुको पाटीमा प्रदर्शन गरिन्छ र भोलिपल्ट नगर परिक्रमा गरिन्छ, यो प्रकृतिको प्रकृयालाई बुझ्दा सप्तमीको दिनमा माता देवकीलाई प्रसव व्यथा लागेर राखिएको र अष्टमीको दिनमा पैदा भएपछि लोकका मान्छेले खुशी भै बाजागाजा र नाचगान गरेको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

यो रथ यात्राको सम्पूर्ण प्रबन्ध दोलखाको ड्वाल्ङा टोल निवासी लक्ष्मण जोशी खलकले मिलाउने गरिएको छ । पहिले पहिले उहाँहरुकै पुर्ख्यौली १३ दिने दाजुभाइ पर्ने हरिलाल जोशीले चलाउँदै आएको र पछि लक्ष्मण जोशीलाई हस्तान्तरण गरेर नियमित रुपमा चलाउँदै आएको कुरा स्थानीय समाजसेवी एवं पूर्व वडाध्यक्ष टीका नारायण प्रधानले बताउनु भएको छ ।

यसै प्रसङ्गमा लक्ष्मण जोशीज्यूको कान्छो छोरा जीवन कुमार जोशी संग बुझ्दा पहिले भीमेश्वर मन्दिरमा प्रदर्शन गरेर भोलिपल्ट नगर परिक्रमा गरि सकेपछि सोही ड्वाल्ङा टोलमा लगेर सहभागी एवम् दाजुभाइलाई भोज खुवाएर विसर्जनको लागि भीमेश्वर मन्दिरमा लगिने परम्परा थियोे । पछि देउताको मूर्ति नै माथि नै राख्नुपर्ने अवस्था आएपछि यो चलन हटेको भन्ने कुरा बताउनुभयो । जे होस् । यो परम्परा दिगो रहोस्, सकिन्छ भने भीमेश्वर नगरपालिका संग समन्वय गरेर कृष्ण मन्दिर बनाउने पहल गरेर अझै पूण्यको काम गर्ने काम गर्न सकियोस् । श्रीकृष्णले रक्षा गरून् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!