Search

प्रसङ्ग भैरव कुमारी जात्रा – किशोरावस्था स्मरण

प्रसङ्ग भैरव कुमारी जात्रा – किशोरावस्था स्मरण
बिके श्रेष्ठ “पासा“

जतिबेला लगभग ५/६ कक्षामा पढ्दै थिएँ ।
पढ्नमा म सक्षम थिएँ, सबल थिएँ यो मेरो विद्यालय र गुरुहरुले दिएको मुल्यांकनमा आधारित कुरा हो । म कस्तो थिएँ र कसरी बाल्यकाल बिताएँ । शायद समकालीन साथीहरुलाई अलिअलि याद होला, तर जसले जीवन्त याद गर्नुहुन्थ्यो उहाँ यस धर्तीमा हुनुहुन्न, मात्रै बाँकी छ त उहाँको स्मरण मात्रै । मलाई बाल्यकालदेखि नै हिमाल, पहाड, नदि, झरना जस्ता प्राकृतिक दृश्यहरु अति नै मनपर्थ्यो, यसैले जानी नजानी कविता कोर्न खोज्थें, कोर्थें पनि । तर ती रचनाहरु आँगनमा नपुगी टिनको कन्तुरमै विलीन हुन्थ्यो ।

मलाई साँस्कृतिक चाडपर्व अति नै मनपथ्यौ । चाडपर्वमा खानेकुरामा मासुका परिकार भन्दा चाडपर्व, जात्रा कतिबेला शुरु हुन्छ र कुदेर हेर्न जाउँ जस्तो लाग्थ्यो । तर ममा एउटा कमजोरी थियोे त्यो के भन्दा म हम्मेसि हुलमुलमा पस्दिनथें । अलि पर बसेर हात काखीमुनि च्यापेर डिलमा, कुनै घरको पिंढीमा बसेर हेर्ने गर्थें केही गरि कसैले छेकेर देख्न पाईएन भनेपनि बाजाको धुन र भीडको होहल्ला सुनेरै चित्त बुझाउँथे । यो सब कारण थियोे आमाको लाडप्यारको नतिजा । आमाले कतै जान नदिने हुलमा थिचिएला, मिचिएला, किचिएला भनेर त्रास फैलाउनु हुन्थ्यो । त्यसैले म प्रायःजसो डरको कुण्ठित भावनामा दुनियाँबाट अलग्गै हुन्थें । कसैले जात्रामा झगडा गर्न लागेको छ भने म एकैपटक घरमा पुगेर झ्यालबाट चियाउन थाल्थें ।

जब म ७ कक्षामा पुगें, त्यतिबेला भने म अलिकति अन्य साथीहरूसंग सामान्य रुपमा बजारतिर डुल्ने एक अर्काको घरमा आउने जाने गर्थें, त्यतिबेला म संग हिंड्ने बोल्ने साथीहरुमा दिनेश प्रधान, लोकशास्त्र श्रेष्ठ, दिलकृष्ण श्रेष्ठ, नरेन्द्र तुलाधर, नवराज प्रधान, मिलन नारायण श्रेष्ठ र श्यामसुन्दर टोलको प्रेमकृष्ण श्रेष्ठ अनि थातकोर्छेंको सुरेन्द्र श्रेष्ठ थिए । जो साथीहरू थिए उनीहरू म भन्दा सामान्य सम्पन्न खालका थिए । त्यतिबेलासम्म मैले दौरासुरुवाल र वेस्टकोट लाउने गरेको थिएँ ।

हुन त म ४ कक्षा देखि ९ कक्षा सम्म कक्षाका सर्वश्रेष्ठ नै थिएँ । म भन्दा अघिल्लो श्रेणीमा पढ्ने साथीहरू दाजुहरु जस्तो कि हालको पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, इन्जिनियर डा.हरिदर्शन श्रेष्ठ, तीर्थनारायण जोशी, रवि भक्त श्रेष्ठ, माधव प्रधान, रामजी प्रधान, उदय चन्द्र श्रेष्ठ, सुरेश प्रधान, धर्मात्मा श्रेष्ठ, डा.सुनिल मास्के, डा. मधुकृष्ण श्रेष्ठ लगायत संग परिचित नै थिएँ, उहाँहरु कतिले सोझो सिधा सादा ठानेर माया गरेर स्नेह दर्शाउनु हुन्थ्यो, कतिले मेरो सोझोपनको फाइदा उठाएर जोकर बनाउनु हुन्थ्यो । गाली पनि खुवाउँथे । यस्तो लाग्थ्यो कि कसै कसैलाई त म समय बिताउने चटके ख्याली जस्तै बनीदिन्थें । अझ कसैले त मलाई प्रेमपत्रको हुलाकी पनि नबनाएका होइनन् । यसरी चल्दै गैरहेको किशोर जीवनमा धेरै उतारचढाव भैरहन्थ्यो ।

त्यतिबेला हाम्रो दोलखाको विशेष जात्रा हिलेजात्रा अर्थात गाईजात्रामा अत्यन्तै रमाइलो हुन्थ्यो । गाईजात्राको दिनमा शोक नृत्यनाटक देखाउनको लागि त्यही सालमा दिवंगत हुने व्यक्तिको घरमा शोक गीत गाएर नृत्य निकाल्नको लागि संगीतको अभ्यास हुँदा हारमोनियम बजाएर गीत सिक्ने र सिकाउने लहर चल्ने हुँदा कुनैकुनै टोल त संगीतमय नै हुन्थ्यो । कति पटक त गाईजात्राको दिनमा म स्वयं पनि महिलाको भेषमा नाचेको थिएँ । त्यतिबेला बजारको माहोलमा यति रौनकता थियोे कि हाम्रो दोलखा शहर मात्रै यस्तो शहर लाग्थ्यो हरेक कृयाकलापमा संसारमै उत्कृष्ट छ भनेर ।

गाईजात्राकै दिनको राती “ट्वाकलप्याखन” निकाल्दा जस्तोसुकै झरी परेपनि नाच्नको लागि तम्तयार हुन्थे युवाहरु । हेर्नेहरुको भीड त्यस्तै हुन्थ्यो । त्यो “ट्वाकल प्याखन” को नृत्यमा बजाईएको शहनाईको धुनले मन छुन्थ्यो । जुनबेला ’खिं’ (ठूलो खालको देशी मादल) ले ’ता धिं तां‘ ता धिं तां‘ धिं धिं धिं धिं तां‘’ को तालमा बज्दा दोलखा शहर नै गुञ्जायमान हुने गथ्यौ ।

यतिबेला एक थरि यो जात्राको माहोलमा व्यस्त भएर मज्जाले आनन्द लिइरहन्थ्यो भने अर्को थरि भने “मौकामा चौका” हानेर मज्जा लिन्थे । त्यतिबेला प्रायः सबैजसो त्यो नृत्य हेर्न गएको हुन्थ्यो, अनि कोही कोही उल्पट्याङ गर्ने जमात चाहिँ कसको बारीमा काँक्रो फलेको छ भनेर दिउँसो नै निरीक्षण गरेर राख्थे, अनि त्यही मौकामा काँक्रो चोरेर ल्याएर खाने गर्थे । त्यस्तो काम गर्दा काँचो ज्यामिर र निबुवा समेत बाँकी राख्दैनथे ।

भोलिपल्टको रातिदेखि भैरव कुमारीको जात्रा हुनेगर्छ । जुन अद्यपि छँदैछ । त्यतिबेला हिजोआजको जस्तो बिजुली बत्ती थिएन, भैरव कुमारीको जात्रामा उज्यालोको जरुरी भएकोले स्वेच्छाले मैनटोल बाल्ने चलन थियो । भैरव कुमारीको नाममा यसरी रातभरि मैनटोल बालिदिंदा नि मनोकामना पूरा हुने मनशायले पनि टाढा टाढादेखि मैनटोल बाल्न आउने गर्थे ।

मलाई जहाँसम्म याद छ, शुरुआती रातमा प्रायः कमै हुन्थ्यो मैनटोल । त्यतिबेला निरन्तर रुपमा मैनटोल बालेर सहयोग पु¥याउनेमा आदरनिय दोलखा स्व. धनबहादुर प्रधान तिखतल, स्व. जयनारायण प्रधान पाखलती पुर्खुचा टोल, कृष्ण प्रसाद श्रेष्ठ पुरान्छें टोल, सोही एकाघर बस्ने लक्ष्मी दास श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ पिङ्गल टोल र कृष्ण बहादुर प्रधान र रतन प्रधान देखिन्थे । भोलिपल्टदेखि अर्थात् तृतिया, चौठी र पञ्चमीको दिन भने आगन्तुक यात्री र दर्शनार्थीहरु चरिकोट, मकैबारी र सुनखानीदेखि आएर बाल्ने गर्थे ।

भैरव कुमारीको जात्राको बाजागाजा बजाउने प्रचलनमा शहनाई फुक्ने काम नेवार वर्गकै कुसुले थर भएकाले गर्थे भने, ढोलक र छ्याली (छुस्याल) कसाई वर्गले बजाउँथे । तर दुःखलाग्दो कुरा केही दशक यता ती व्यक्तिहरूलाई कसैले अनावश्यक रुपमा भड्काएर हो या सामाजिक जीवनको अर्थ नबुझेर हो आफ्नै रीतिरिवाज र संस्कारबाट अलग्गिन खोजेको देखियो ।

एउटै समुदायको परिधिभित्र रहेपछि परम्परागत संस्कार संस्कृतिबाट अलग हुनु जायज कुरा नहोला । समय, शासन र पद्धतिको परिवर्तन भएपनि आफ्नो थलोमा रहेको विधि विधानबाट अलग हुनु त्यत्ति उपयुक्त देखिदैन । पहिले पहिलेको जस्तो संस्कारमा मात्र सहनाई फुक्ने र बाजा बजाउने कार्य सम्पन्न गर्न सकिन्दैन भने त्यसलाई पेशागत रुपमा अगाडी बढाएर संस्कृती रक्षा गर्नु पर्छ । किनकि त्यसबेला पनी स्थानीय समाजसेवी, लब्धप्रतिष्ठीत व्यक्तीहरुले पनी जोड जबर्जस्ती त ल्याएर राखेका त पक्कै होइनन् होला ।

त्यसैले सन्तान् दर सन्तान न त्यही थलोमा जीविकोपार्जन गरेर बसेपछि त्यो ठाउँको संस्कृतिलाई आफ्नो पनि हो भनेर मनन गर्नु सबैको दायित्व र जिम्मेवार हो । यो जिम्मेवारले आफ्नो पहिचानलाई कायम गर्न मद्धत पू¥याउँछ । जुन कुरा हामी सवैले बुझ्न जरुरी रहेको छ । यसै गरी पहिले पहिले ती समुदायका व्यक्तिहरु बोलाउनै नपर्नेगरि उपस्थिति जनाएर खुशीले बाजागाजा बजाउँदै मनोरञ्जन गर्न लालायित हुन्थे । तर हिजोआज अनुनय विनय गर्नुपर्नेमा के कारण छ त ? यसको समाधानका उपाय निकाल्नु पनी आजको आवश्यकता रहेको छ ।

अब प्रसङ्ग स्मरण तिर नै ! एकपल्ट यही भैरव कुमारीको जात्राकै समयमा रातभरि तल्लो टोल पिङ्गलबाट कुमारी जात्रा निकाले देखि भित्र्याउने बेलासम्म ननिदाइकन बसेर भित्र्याएको हेर्ने रहरले फनफनी घुमेर बसेका थियौँ । त्यतिबेला म भन्दा अघिल्लो कक्षाका साथी दाजुभाइ पनि रातभरि नसुत्ने भनेर बजारमा घुम्दै दुड्गल टोलमा पुगेका थियौँ, भैरव कुमारी भीमसेन थानबाट देवीकोट तर्फ लैजाँदै थिए ।

मेरा अग्रज साथीहरू मुक्ति प्रधान, हरि दर्शन श्रेष्ठ, सुनिल मास्के, रविभक्त श्रेष्ठ, रामजी प्रधान धर्मात्मा श्रेष्ठ आदि एकछिन बस्नुप¥यो भनेर नाट्यश्वर मन्दिरकै छेउमा रहेको सइ साहेब अम्बर बहादुर श्रेष्ठको घरको पसलमा बस्न थालेका थिए । म र मेरा समुहका साथीहरू नाश्वर मन्दिरको सामुन्ने रहेको डबलीमा बसेका थियौं । हामीहरू कुमारी संगसंगै जाने सोचले पर्खिरहेका थियौं । केहीबेर पछि सइ साहेबको घरको पसलमा बेजोडको हाँसो सुनियो । के भयो भनेर हेर्न गएको त कोही भित्तामा हात बजार्दै हाँस्दै थिए, कोही आफ्नै तिघ्रा ठट्टाउँदै हाँस्दै थिए । पछि अलि नजिकै गएर हेर्दा पो हाँस्नुको कारण बुझियो ।

हरि दर्शन र सुनिल मास्के दुवैजना अति नै मिल्ने साथी हुन् नातामा दाजुभाइ पनि पर्नेहुन् । उनीहरू बीचमा खै के कुराले हो मनमुटाव भएर बोलीचाली नै बन्द भएको रहेछ । संयोगवस दुवैजना त्यही ठाउँमा बस्दाबस्दै निदाएछन् । अर्को साथीले कालो ल्याएर दुवैको अनुहारमा जुँघा बनाएर टाटेपाटे देख्ने गरि लाईदिएछ र अर्को चाहिँले “ल देउता ल्याइसक्यो उठ“ भनेर ब्युँझाइदिंदा दुवैले एक अर्कालाई हेरेर खित्का छाडेर हाँस्दै एक अर्कोतिर इसारा गरेको देखेर सबैलाई हँसाएको रहेछ र यसै सिलसिलामा उनीहरू दुई बीचमा पूनः बोलचाल शुरु भएको थियोे । यही कुराले नै दोलखाको भैरव कुमारीको हरदम स्मरण गराउँछ शायद ती अग्रज दाजुभाइले यी कुरालाई बिर्से कि ?

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!