Search

घरजग्गा व्यवसायमा फस्टाउँदै अनलाइन कारोबार

घरजग्गा व्यवसायमा फस्टाउँदै अनलाइन कारोबार

बाँपीझ्याला, काठमाण्डौं । सहरी क्षेत्रमा इन्टरनेटको सहज पहुँच बढेसँगै हरेकजसो व्यापार व्यवसायमा अनलाइन कारोबार सेवा फस्टाउँदै गएको छ । पछिल्लो समय अनलाइनमार्फत घरजग्गाको कारोबार गर्नेहरू बढेका छन् ।

अनलाइनमार्फत कारोवार गर्दा व्यापारी र सेवाग्राही दुवैको समय सदुपयोग हुने र टोल–टोलमा घरजग्गा खोज्दै हिँड्नुपर्ने झन्झट नहुने भएकाले घरजग्गा कारोबारमा अनलाइन व्यवसाय फस्टाउँदै गएको हो ।

नेपालमा अहिले अनलाइनमार्फत घर जग्गासम्बन्धी सम्पूर्ण कारोबार गर्ने फेसबुक पेज, युट्युब च्यानललगायत डिजिटल सामग्री प्रयोग हुन थालेका छन् ।

१५ वर्षदेखि घरजग्गासम्बन्धी कारोबार गर्दै आएका राजु बस्नेतले सुरुमा कीर्तिपुरको नयाँबजारमा सटर भाडामा लिएर कारोबार गर्दै आएका थिए । तर, अचेल उनको कारोबारको स्वरूप बदलिएको छ ।

सुरुमा घरजग्गा किन्न र विक्री गर्न चाहने मानिसहरू उनको अफिसमै आउँथे । त्यतिबेला समय मिलाउन धौ–धौ पर्ने गरेको अनुभव उनको छ ।

अचेल भने आफ्नो अफिसको हाम्रो घरजग्गा नामक फेसबुक पेजमार्फत विक्री गर्नुपर्ने घडेरी वा घरको फोटो र त्यसको विशेषता, मूल्यसहित सबै कुरा पोस्ट गरेपछि चित्त बुझ्ने ग्राहकले फोनमार्फत सम्पर्क गरेर किन्न आउने गरेको उनले सुनाए ।

त्यसैले सबैजसो काम आजभोलि अफिसभन्दा पनि घरबाटै सञ्चालन हुने गरेको उनी बताउँछन् । अनलाइनले काम गर्न निकै सहज भएको उनको अनुभव छ ।

अनलाइनमार्फत घरजग्गाको कारोबार गर्नेहरू पनि अहिले बढेको उनको भनाइ छ । घरजग्गा नेपाल, घरजग्गा मार्केट, रेन्टल नेपाललगायत दर्जनौं फेसबुक पेज तथा युट्युब च्यानल अहिले कारोबारमा सक्रिय छन् । यी पेज तथा च्यानलले आफैंले विक्री गर्नुपर्ने घरजग्गा भएको ठाउँमा पुगेर फोटो तथा भिडियो बनाई आफ्नो पेजमार्फत सशुल्क विज्ञापन गरेर ग्राहक तथा घरजग्गा मालिकलाई समेत सहज बनाइदिएका छन् ।

डिजिटल माध्ययमबाट घरजग्गाको कारोबार हुन थालेपछि सेवाग्राही पनि जग्गा खोजिरहनु पर्ने झन्झटबाट मुक्त भएका छन् । बस्नेतसँगै डिजिटल माध्यमबाट कारोबार गरी कलंकीमा भर्खरै घर किनेका नवराज शाहले अनलाइन प्रविधिले ग्राहकलाई सजिलो बनाइदिएको बताए । अनलाइन प्रविधिले समयको सदुपयोग भएको उनको बुझाइ छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment