Search

तौथली जात्रा गाईजात्रा –२

तौथली जात्रा गाईजात्रा –२

भेष कुमार श्रेष्ठ –तौथली र बालकृष्ण श्रेष्ठ “पासा“ द्वाल्खा

पहिलो भागमा तौथलीमा भएको चतुर्दशी र जनैपूणिर्मा “गुनिला पुन्हिस” को बारेमा चर्चा गरेका थियौं अब दोस्रो भागमा अझै रोमाञ्चक जात्राको चर्चा गर्न गैरहेका छौं । सिन्धुपाल्चोक जिल्लामा रहेको त्रिपुरा गाउँपालिका वडा नं.५ रहेको यो तौथली नेवारी समुदायको एक अलग्गै जात्राको विशेषता बोकेको शहर हो ।

यही भाषा यही जातीयता र एउटै रीतिरिवाज बोकेर बसेको ४÷५ ठाउँहरु छन् । जस्तो कि दोलखा जिल्लामा रहेको दोलखा “अभयपुर” शहर, सिन्धुपाल्चोक जिल्लामै रहेको लिस्ति, जेठल बजार र काभ्रेपलान्चोक जिल्लामा रहेको दुति हो । संस्कृति र परम्परा एउटै भएपनि मौलिकता र तौरतरिकामा फरक देखिन्छ । तर पनि तौथलीमा मनाइने जात्राको स्वरुप र तरिका अलि भिन्नता देखिन्छ दोलखाको अभयपुर शहर भन्दा पृथक नै मान्नुपर्छ ।

एउटा खुशीको कुरा के छ भने यहाँको नेवार जातीयतामा जतिसुकै थरमा विभाजित देखिए पनि, राजनीतिक पार्टीको वर्गीकरण भएपनि जात्रामा एकताबद्ध भएको देख्न पाउँदा गर्व नै महशुस गर्नुपर्छ । त्रिपुरा गाउँपालिका अन्तर्गतको यो वडा परिवेशमा भएको देउ ट्वाल, डोबर, नक्छें ट्वाल, टार्छें ट्वाल, बिसौरी ट्वाल, बिष्णु ट्वाल, गंगाती ट्वाल, थिलिछ्वाबा ट्वाल, गणेशचा ट्वाल, भीमसेन ट्वाल, जपसिले ट्वाल र छैटुङ ट्वाल नामका टोलहरु छन् । अधिकांश श्रेष्ठ थरका नेवारहरु र अन्य मिश्रित थरहरूले भरिएको यो तौथली नेवार बस्तीमा हिन्दु धर्मको बाहुल्यता रहेपनि आयातित धर्मको अनुसरण गर्नेहरु पनि यहाँ पाईन्छ ।

धर्म निरपेक्षताको पालना गरेर जे जस्तोसुकै धर्म मानिए तापनि आफ्नो संस्कृति जोगाउन भने पछि हटेका छैनन् भन्नेकुरा जात्रामा सहभागी हुनेहरुको संख्यामा आंकलन गर्न सकिन्छ । तर पनि नयाँ र आधुनिक शिक्षाको कारणले र विविध शिक्षा, सेवा र व्यापारको लागि परदेशिने क्रममा धेरैजसो बाहिर जाने र शहर तिरै घरजम गरेर जन्मभूमि फर्कनलाई कठिन मान्नेहरुको जमात हेर्दा ती कला संस्कृति र परम्परागत चाडपर्व ओझेलमा पर्ने पो हुन् कि भन्नेबारे स्थानीय बासिन्दाले दुखेसो पोखेका देखिन्छन् । अब लागौं जात्राको परिदृश्यतर्फ लागौं ।

राकस (लाखे)
नेवारी समुदायमा लाखे नामले परिचित जात्रा तौथलिमा राकस भनिन्छ।यहाँको लाखे नाच अन्यत्र नेवार समुदाय भन्दा पृथक र मौलिक पाइन्छ। यहाँ लाखे रातीमात्रै निकालिन्छ। स्थानीय मानिसहरूको दिनभरि फुर्सद नहुने र दिनभरको थकान मेटाउनु र मनोरञ्जनको निम्ति रातीमात्रै निकालेको अनुमान लगाउन सकिन्छ । गाइजात्राको दिनदेखि ईन्द्रजात्राको भोलिपल्ट पुर्णिामासम्म करिब एकमहिना निकाल्ने अर्को बिशेषता हो।त्यसैगरी यहाँ लाखेलाइ २ जना सहयोगिले २ तिरको पाखुरा समाइ नचाउने प्रमुख विशेषता तथा मौलिकता हो ।

गाइजात्राको सम्पुर्ण जात्रा सम्पन्न भइसकेपछि बेलुकी करिब ड बजेतिर लाखे निकाल्ने गरिन्छ।दात्छेमी तान्त्रिक गुरु , कुसुले गुठियार र लाखे नाच्न इच्छुक ब्यक्ती( दात्छेमी बाहेक) दात्छेमा जम्मा भइसकेपछी लाखेको मकुन्डो तथा पोशाक लगाएर लाखेलाइ जातोमा बसाइन्छ र दात्छेमी तान्त्रिक गुरुले तन्त्रमन्त्र द्वारा लाखे जगाउन थालिन्छ र लाखे जागिसके पछि नचाउदै भिमेश्वर प्राङ्गणमा ल्याइन्छ ।

लाखे बाजाको दुई फरकफरक तालमा नाचिन्छ।एउटा आफै स्वतन्त्र पुर्वक नाच्दछ भने अर्को अरुको सहायताले नाच्दछ। लाखेलाइ ख्यालिचाहरुके टिनको बट्टा , थाल , अन्य आवाज आउने सामग्री बजाएर अघिपछि बसि च्यो लाखे च्यो ….. भनेर गिज्याउने गरिन्छ।यसरी खिज्याउदा लाखेले समायो भने पैसा लिने गर्दछ।पैसा नपाएसम्म छोड्दैन ।

अर्को लाखे सहयोगिको सहयताले दुईतिर पाखुरामा समाएर एक छेउबाट अर्को छेउसम्म बाजाको तालमा नचाउने चलन छ। लाखे यो तालमा एक्लै नाच्दा दोबाटो काटेर गाउँ बाहिरीएको र फिर्ता नआइ अहिलेको राकस सिकु पोकोमा गइ मरेकोले त्यो क्रम नदोहोरिउन भनेर उक्त तालमा नचाउदा दुई जना सहयोगले समाएर नचाएको बुझिन्छ। लाखे दात्छेमी परिवार बाहेक जोसुकै इच्छुक ब्यक्तिहरु पालैपालो नाच्न सकिन्छ ।

सडप्याखन (घोडानाच)
गुनिला जात्राको तेस्रो र चौथो दिन निकालिने निकै आकर्षक र मनोरञ्जनात्मक जात्रा सडप्याखन हो। पौराणिक कथामा बर्णन गरे अनुसारको राजा महाराजाको सेनामेना सहितको घोडा सवारको आभास दिने यो नाच निकै रोचक र आकर्षक छ। मुजुरको प्वाँख ,र विभिन्न रत्न जडित मुकुट शिरमा पहिरिएर कालो कोट र कालो चस्मा लगाएर आफ्नो सेनामेना हतियार सहित घोडामा सवारको आभास यो नाचले दिन्छ । सुमधुर बाँसुरीको धुन, खरी (खिं मादलको) तालमा नाचिन्छ । यो नाच नाच्न चाहने जोसुकैले नाच्न सक्छन् र पाउँछन् पनि । स्थानीय बुढापाकनहरुको भनाइलाई आधार मानेर हेर्दा यो सड प्याखन् पाल्पाको चेलीले दाईजोमा लिएर आएको भन्ने बुझिन्छ।

यो नाच इच्छुक जो पनि नाच्न सकिन्छ ।निखुहरुको घरबाट निकालेर भिमेश्वर डबली र त्रिपूरा सुन्दरीमा लगी समापन गरिन्छ।

माझिपा प्याखन
माझिपा गुनिला पर्वको अर्को महत्त्वपूर्ण नाच हो।चोयाको मुकुट बनाइ चौरिको चंगुर शिरमा फिजाएर ,चुल्ठो बाटेको आकार दिई बनाएको माझिपाको मुकुट निकै आकर्षक हुन्छ ,। रंगीचंगी चौबन्दी चोली र पटासी लगाएर कम्बरमा विभिन्न घण्टी घाडहरु झुन्ड्याएर ,अनुहार जालिरुमालले छोपेको माझिपालाइ चारैतिर कम्बरमा डोरि बाधेर पहरा दिई माझमा नचाउने गरिन्छ । यो नाच महाजनका पुर्खाहरु द्वाल्खाबाट बसाई सरि आउँदा ल्याएर संचालन गरेको बुझिन्छ , पछि आफुले संचालन गर्न नसकेर दात्छेमी खलकलाइ जिम्मा लगाएको हो भनिन्छ , हाल यो जात्रा दात्छेमिखलकले संचालन गर्दै आएको छ।द्वाल्खामा माझिपालाइ माझिपा राकसको रुपमा लिइन्छ , ।
यो नाचमा राकसले बस्तीका मानिसहरुलाइ दुख दिएपछी समाएर डोरिले बाधेको र राकसले आफ्नो बचाउ को लागि कसैलाई गुहार मागेको वा उम्कन जोरजुलुम गरेको हाउभाउ प्रस्तुत गरिन्छ।

माझिपालाइ अर्को गुप्तदेबिको रुप पनि भन्ने गरिन्छ,आफुलाइ अप्ठेरो परेकोले आकाशदेबिलाइ गुहारेको हो भन्ने कथन पनि प्रचलित रहेको पाइन्छ। किबदन्ति जेसुकै भएता पनि गुनिलाको प्रमुख आकर्षक मध्ये यो पनि एक हो। यो नाच पनि भिमेश्वर , डबली हुँदै त्रिपुरासन्दरी मन्दिरमा पुर्याएर समापन गरिन्छ ।

रक्सिन प्याखन
आकाशदेबिको रुपमा रक्सिन नाचलाइ लिइन्छ।देबिको मकुन्डो, मुकुट र पोशाक लागाएर सुर्य देबतालाइ नमस्कार गर्दै नाच्ने नाच रक्सिन हो। गुप्तदेबिको गुहारको लागि प्रकट भएको यो नाच दात्छेबाट शुरु भएर भिमेश्वर डबली र त्रिपूरा सुन्दरी हुँदै पुनः दाच्छेमा पुगि समापन हुन्छ। यो नाच कुनै पनि ठाउँमा विश्राम नगरी नाच्दै सरासर गएर सरासर फर्किने गर्दछ।

ट्वाकल प्याखन
छ्जना नर्तकहरु एक अर्काको हातमा डोरि बाधेर जोडि जोरि बनी बाजाको तालमा नाच्दै ट्वाक ट्वाक आवाज आउने गरि लठ्ठी बजाउने जात्रा हो ट्वाकल प्याखन।गुनिलाको पाँचौं दिन निकालेने यो जात्रा नर्तकिहरुको हातमा रंगीचंगी रिबन र धागो, कम्बरमा घण्टि झुन्डिएको हुन्छ।बाजाको तालमा निकै जोशिलो र फÞुर्तिलो साथ नाचिने नाच नेवारी बस्तीहरु भक्तपुर, द्वाल्खा, चौतारा आदि ठाउँहरुमा देख्न सकिन्छ ।
किवदन्ती अनुसार द्वापर युगमा रामभक्त हनुमानले लंका बिजय प्राप्त गरि सकेपछि खुशीयालीको रुपमा मनाइने गरिएको भन्ने कथन छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!