Search

वितृष्णामा जकडिएको समाजको त्यो विम्व

वितृष्णामा जकडिएको समाजको त्यो विम्व

कल्पना श्रेष्ठ महर्जन
कानले सुन्दा अचम्म लाग्छ । आँखाले देखिँदा मन आनन्द लाग्छ यो समाज । समाजमा रहेका कतिपय बुद्धिजीवी विद्बानहरुलाई बाहिरी नजरमा जे देखिन्छ त्यो अत्यन्तै शोभनीय जस्तो लाग्छ, मानौं ती भद्र भलाद्मी हुन्, ज्ञाता हुन् र समाजका लागि ती व्यक्तिहरु अपरिहार्य हुन् । जो बिना समाजमा कुनैपनि आवश्यकता अपुरो हुन्छ र समाजका सुनौलो सपनाहरु अधुरो हुन्छ । तर यही समाजमा त्यस्ता व्यक्तिको पनि बास रहेको हुन्छ कि उनीहरु हात्तीका दाँँत बोकेर अनि गोहीको आँसु खल्तीमा बोकेर हिंडेको हुन्छ । यही समाजमा अर्कोतिर बाँदर प्रवृत्ति बोकेर हिंड्छन् । जसले न आफ्नो घर बनाउँछन् न अरुलाई बनाउन दिन्छन् ।

समाजमा गण्यमान्यको मान सम्मान पाएर पगरी लगाउनेहरुको जमात हेर्दा यस्तो लाग्छ कि उनीहरु मानव जातीयतामा सर्वश्रेष्ठ हुन् । उनीहरुको मीठा मीठा बोली र भाषणको बिम्ब सुन्दा साँच्चै समाजकल्याणका लागि सदा सर्वदा तत्पर छन् र हाम्रो समाज बिल्कुलै दुनियाँका सामु उदाहरणीय बनेका छन् । तर यी सबै कपोल्कल्पित परिकल्पना मात्रै हुन् ।

किनकि ती व्यक्तिहरूको आन्तरिक आचरणमा माकुरोको जालो फैलिएको हुन्छ, धमिराको विशेषताले ढाकिएको हुन्छ । जसले आफ्नोे गल्तीको महशुस गर्दैनन् बरु उल्टै अरुलाई अपजस लगाउने, खोट देखाउने र हुँदै नभएका कुरालाई उठाएर लाञ्छना लगाएर वरिष्ठतम् व्यक्तिको उपनाम झुण्ड्याउन चाहन्छन् अनि शक्ति, स्रोतको आडम्बरी धाक देखाएर सर्वेसर्वा जताउन चाहन्छन् । यस्ता व्यक्तिहरु चाहे पुरुष होस् या महिला समाजका लागि भयानक र घातक सिद्ध हुन्छ । त्यस्ता खाले व्यक्तिहरूलाई निगरानीमा राखेर उचित सजाय वा कार्वाही गर्नसक्ने शक्तिको खोजी गर्न जरुरी छ ।

समाज भनेको त एउटा समुदायको प्रतीक हो । त्यो समुदायमा रहेपछि न्याय अन्याय छुट्टयाउन सक्ने सामर्थ्य हुनुपर्छ । जता शक्ति, स्रोत र मान हुन्छ उतैतिर लागेर निर्दोषलाई दुख दिने र झन् खराब नजरले हेर्ने होइन नि अन्यायमा परेकालाई पो उचित न्याय दिलाउने हुनुपर्छ, तर हाम्रोमा यसतर्फ ध्यान दिने बुद्धिजीवी वर्गहरुको कमि छ जस्तो लाग्छ ।

समाजले व्यक्तिको आचरणको खोजिनीति गरेर हिंड्ने मात्रै होइन कि जब कोही व्यक्ति कुनै गलत काममा फसेको छ भने त्यो उसको बाध्यता हो या बानी हो रहस्य र उद्देश्य पत्ता लगाएर सुझाव सल्लाह दिएर हुन्छ भने त्यही अनुसारको कदम चाल्ने यदि जनाजानी नै त्यस्तो गलत काम गरेको छ या गर्दैछ भने नसिहत दिएर हुन्छ या चेतावनी दिएर हुन्छ त्यो अनुसारको कदम बढाउनुपर्ने हुन्छ । अनिमात्र मानव सामाजिक प्राणीको दर्जामा छ भन्ने प्रमाणित हुनसक्छ ।

समाजको लागि काम गर्ने कुनैकुनै यस्ता ठेकेदारहरु पनि देखिन्छन् कि मानौँ त्यो संसार नै उसैको बाउको बिर्ता हो र उसले जे बोल्यो सत्य नै हो भन्ने ठान्छन् र सार्वजनिक परिवेशलाई नै दुषित बनाएर धाक धम्कीको भरमा सडक, बाटो, पर्खाल नै मिचेर आफ्नो बनाउने, अनि भतुवा भाडाका टट्टुहरु ल्याएर थर्काउने गर्छन् र प्रशासनलाई समेत मुठ्ठीमा राखेको फोस्रो रवाफ देखाउँछन् भने त्यस्तालाई चाहिँ तहलाउने काममा ऐक्यबद्धता जनाउने साहस समाजमा हुनुपर्छ ।

हाम्रो समाजमा अर्काेखाले त्यस्ता व्यक्तिहरु पनि छन्, जो करुणादायी भाव वचन लिएर आउँछन्, मीठा मीठा आश्वासन दिएर सिधा सादा महिलालाई फकाउने फसाउने र आर्थिक र शारीरिक शोषण गर्न लालायित हुन्छन् ।

जो व्यक्ति राजनीतिक पार्टीमा स्थानीय देखि उच्च तहसम्मका पनि हुन्छन्, उनीहरूको स्तर र क्षमता नबुझीकनै जालमा फस्नेहरुको पनि कमि छैन हाम्रो समाजमा । त्यस्तो खराब नियतमा फस्ने र फसाउने दुवैतर्फका कीराहरुलाई निर्मूल पार्ने काम पनि समाजले गर्नुपर्छ । शोषण भयो वा शोषण गर्यो तर आफ्नो र परिवारको प्रतिष्ठामा आँच आउनेछ भनेर निरीहता देखाएर अत्याचार सहेर बस्नु पनि समाजका लागि उचित होइन ।

यस्तो घटनाहरू हाम्रो समाजमा नभएका होइनन्, तर थाहा हुँदाहुँदै पनि समाजका टाठाबाठाहरु त्यो समस्याको निराकरण गर्नुको साटो उल्टो आफैले आफ्नै टोल समाजको बदनाम हुनेगरी ’फलानो यस्तो छ है, ढिस्कानो उस्तो छ है’ भनेर झ्याली पिटाउँदै हिंड्छन् भने त्यही टाठाबाठा नै समाजको नजरमा पत्तुर साबित हुनेछ ।

कुनैकुनै कार्ययोजनाको काम सम्बन्धित स्थानीय निकायले एकतर्फि निर्णय गरेर एकलौटी आफ्ना वरपरकालाई मात्रै जानकारी गराएर फाइदा लुट्न चाहन्छन् भने त्यसमाथि पनि समाजको ध्यान जानू जरुरी छ । आम नागरिकको समान अधिकार हुन्छ, ती नागरिकलाई हक अधिकार समान रुपले चित्त बुझाउने र समस्या समाधान गरिदिने काम स्थानीय निकायको हो भने स्थानीय निकायले चित्तबुझ्दो काम कार्वाही नगरिएको खण्डमा समाजले मिलाउने हो । तर हाम्रो समाज हातमा दियो बोकेर उज्यालो खोज्दै हिड्ने र जता आगो बल्छ त्यतै ताप्छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!