Search

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि

बाँपीझ्याला, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैया तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर दुई रुपैया नै वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजल र मट्टीतेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो ।

निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर १४२५ रुपैयाँमा कारोबार हुँदै आएको ग्यास अब रु १४५० रुपैयाँ पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।

मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको दावी छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!