Search

ऐतिहासिक शहर दोलखामा भैरब र कुमारी जात्रा आजदेखि शुरु, नयाँ भैरब कुमारी घरबाट जात्रा निकाल्दै (भिडियो सहित)

ऐतिहासिक शहर दोलखामा भैरब र कुमारी जात्रा आजदेखि शुरु, नयाँ भैरब कुमारी घरबाट जात्रा निकाल्दै (भिडियो सहित)

रात्रीकालिन भैरव कुमारी जात्रा यही भाद्र ८ देखि १२ गतेसम्म ५ दिन निकालिने छ ।

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ ।

नव निर्मीत भैरव कुमारी भवन

विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक नेवारी मातृभाषा प्रचलनमा रहेको छ । मल्लकालमा डेढ दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।

भैरव र कुमारी । फोटो : सन्जिप श्रेष्ठ


वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा शहरका राजा जयइन्द्रसिंह देवले हिन्दू राज्यकै सबभन्दा पहिलो पटक चा“दीको सिक्का निकाली आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिएस जुन तथ्यलाई सावित गर्न ताडपत्र, शिलापत्र र भोजपत्र जस्ता ऐतिहासिक प्रमाणहरु आजसम्म पनि विद्यमान रहेको छन् ।
नेपालको इतिहास निमार्णमा बाबुराम आचार्यले दोलखाको ऐतिहासिक अस्तित्वको शंखनाद पश्चात् धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ को अथक प्रयासबाट वि.स. २०३१ सालमा दोलखालाई इतिहासको पानाभित्र राखिराख्ने जमर्को स्वरुप “दोलखाको ऐतिहासिक रुपरेखा” तयार भयो ।
पर्यटकीय एवं प्राकृतिक रमणीय स्थानको हिसाबले महत्वपूर्ण मानिएको दोलखा शहरको पूर्वमा आफ्नै विशेषता बोकेको चम्पुजा अवस्थित छ ।

रात्रीकालिन भैरव कुमारी जात्रामा स्थानिय वासिन्दा तथा भक्तजनहरु, फोटो : सन्जिप श्रेष्ठ

यहाँबाट मनोरम प्राकृतिक दृश्यले सु–सज्जित स्थानहरुलाई चिर्दै कलकल सुमधुर आवाजमा गौरीशंकर हिमालको चिसो हावा स“ग–स“गै आफ्नै तालमा बगिरहेको तामाकोशीको मनमोहक दृश्य हेर्न सकिन्छ । सोही स्थानबाट देखिने प्राकृतिक एवं धार्मिक महत्वको गौरीशंकर हिमाल पर्यटकीयहरुको स्वागतमा हाँसिरहेको भान हुन्छ । समुद्र सतहदेखि करीव ७१३४ मिटरको उचाइमा अवस्थित गौरीशंकर हिमाल हिन्दू धर्मावलम्वीहरुका आराध्यदेव शिव र माता पार्वतीको प्रतीक मानिने भएकोले आन्तरिक र बाह्य पयर्टकहरुलाई आरोहण गर्न निषेध गरिएको छ ।

रात्रीकालिन भैरव कुमारी जात्रामा चाकर चुकुरमा जान तयारी बालक, फोटो : उपेन्द्र प्रधान

यस्तै गरी समुद्र सतहदेखि करीव १३६०२ फिटको उचाइमा अवस्थित कालिञ्चोक भगवती लगायत गणेश ट्वापर यहाँ बाट सजिलै हेर्न सकिन्छ । यी ऐतिहासिक एवं धार्मिक देवस्थलहरुले यस शहरलाई नेपाल अधिराज्यकै महत्वपूर्ण ऐतिहासिक एवं धार्मिक स्थलका रुपमा स्थापित गरेका छन् ।

तर्सथ आफ्नै मौलिक परम्पराले समृद्ध दोलखा नगरको महत्वपूर्ण जात्राहरु मध्ये गाईजात्राको भोली पल्ट बेलुकी द्धितिया देखि षष्ठिसम्म लगातार ५ दिन (बेलुकी बेलुकी) सम्म जात्रा निकाली बिधिपूर्वक मनाईने भैरब र कुमारी (बालकुमारी) जात्राको बारेमा कसरी उत्पती भयो भन्ने बारेमा बिश्लेषण गर्न खोजिएको छ ।

साथै यस बर्ष आज २०७८ साल भाद्र ८ गते देखि १२ गतेसम्म निकालिन्दै छ । गत बर्ष भुकम्पबाट क्षति भएको भैरव कुमारी घरबाट जात्रा निकाल्र्दै आएकोमा यसपाली नयाँ भैरब कुमारी घरबाट जात्रा निकालिएको छ । यसरी ऐतिहासिक नगर भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित टसिचा टोलमा कुमारी भवन निर्माणाधिन अवस्थामा रहेको छ कुमारी घर निर्माण अन्तिम चरणमा पुगेको छ । मल्लकालिन कला कौशललाई झल्काउने अनी परम्परागत नेवारी शैलिका बुट्टाका झ्याल ढोकाहरु हालेर निर्माण हुन गईरहेको उक्त भवन अनुमान गरेको भन्दा आकर्षक र ऐतिहासिकता देखिएको छ ।

भीमेश्वर नगरपालीकाको वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको विशेष पहल र समाजसेवी गोपाल प्रधानको संयोजनमा निर्माण भईरहेको उक्त भवन निर्माणको लागि हालसम्म भीमेश्वर नगरपालीका वडा नं. २ तथा समाजसेवी लक्ष्मण श्रेष्ठ लगायत ७३ जना जना सहयोगी दाताहरुबाट करिव ४७ लाख ५४ हजार १ शय २५ रुपैया रकम सहयोग प्राप्त भईसकेको र सहयोग आउने क्रम जारी रहेको छ भनी निर्माण समितिका संयोजक गोपाल प्रधानले बताउनु भयो ।

यसरी निर्माण भईरहेको भवनबाट यही आज भाद्र ८ गतेदेखि निकालिने भैरव कुमारी जात्रालाई मध्यनजर गरी निर्माण कार्य तिव्र रुपमा गरि रहेकोले आज जात्रा यही नव निर्मित घरबाट निकाल्नको लागि पाएकोमा खुसी व्यक्त गर्नु हुर्दै सहयोगी, शुभचिन्तक दोलखावासी लगायत सम्पूर्ण शुभचिन्तक महानुभावहरु प्रति वडाध्यक्ष विराजमान श्रेष्ठ र संयोजक गोपाल प्रधानले हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिनु भएको छ ।

यसै गरी भवन निर्माणको काम अन्तिम अन्तिममा पुगेपनी छाना राख्ने, ढोकाको खापाहरु राख्ने लगायत अन्य महत्वपूर्ण कामहरु बाँकी रहेको छ । यसै गरी छाना राख्ने काम यही १० गतेदेखि हालसम्मको खर्च रकम समेत गरी जम्मा निर्माण सम्पन्नको लागि रकम ७० देखि ७५ लाख खर्च हुने अनुमान गरिएको छ । प्राप्त भईसकेको सहयोग रकममा केही रकम आउन बाँकी लगायत अन्य आवश्यक रकम समयमै सहयोगी दाताहरुबाट सहयोग प्राप्त भएमा यही महिनामा निर्माण कार्य सम्पन्न हुनेछ भनी वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

मन्दिर :
दोलखा जिल्ला भीनपा वडा नं. –२ दुंगल टोल स्थित दक्षिण तर्फ तामकोशी नदि जाने बाटोको उत्तर तर्फ सानो जंगल छ । यस जंगलको मध्य भागमा भित्र जाने एउटा बाटो छोडी चारैतिर ढुंगाको पर्खालले घेरेको छ । पर्खाल भित्र ३ वटा ढुंगा केही तल गाडिएको अवस्थामा रहेको छ भने त्यसको पछाडी लाम्चो ढुंगा उभ्याइएको छ । , यसको ठिक अगाडी एउटा लाम्चो ढुंगा बिछ्याइएको छ । यसैलाई बालकुमारी भनिन्छ । यसरी बिछ्याइएको ठुलो ढुंगामुनी कुमारीलाई तान्त्रिक बिधिद्वारा साधना गरी बसाइएको भन्ने जनविश्वास रहेको पाईन्छ ।

उत्पत्ति र स्थापना:
दोलखा शहरको पुरानो बस्ती दुंगल हालको भीनपा–४ दुंगलको नामले प्रख्यात छ । जुन ठाउंमा त्यसताका २ जना सिन्धु र बिन्दु आचार्य नाम गरेका २ जना त्रान्त्रिक दाजुभाई थिए । ति दुई दाजुभाई दिनदिनै तामकोशीको किनारमा गएर नुहाउने अनि चोखो पानी ल्याई नित्य पूजा गर्दा रहेछन् । यसरी तामकोशीमा जादा एकदिन अति राम्री ३ वटी कन्या देखेछन् यसरी देखे पछि त्रान्त्रीक शक्तिले ध्यान गरी हेर्दा देविहरु भनी थाहा पाएपछि तान्त्रीक शक्तिबाटै ति तिन वटी कन्यालाई समाती दोलखा ल्याएछन् । साक्षात देविका तीन दिदीबहिनीहरु त्रिपुरा सुन्दरी, बालकुमारी र कालिञ्चोक माई श्री भीमेश्वर मन्दिरको पछाडीपट्टी रानीवनसंगैको ओढारमा वासस्थान गरेका थिए । पछि त्यसको वरिपरि जनावर पशुपंछी मानिसहरु दिन–प्रतिदिन मर्दै गएकाले स्थानिय वासिन्दाहरु होहल्ला र आतंकित हुंदै गयो ।

यसरी दिन दिनै यहि क्रम जारी रहेपछि तान्त्रिक विद्यामा निपूण गुरुको आत्मिक दृष्टिकोणबाट हेर्दा देवि माताहरु खुल्ला ओढारमा बस्नु परेकोले यस्तो दैविप्रकोप हुन आएको होे भनि पत्ता लगाएपछि यी तीनै दिदीबहिनीहरुलाई एउटै ठाउंमा राख्न नहुने विचार माताहरु सित प्रकट गर्दा देवि माताहरु सहमतिको विन्दुमा पुगेकाले आचार्यले आ–आफ्नो वस्ने ठाउंको वारेमा विन्ती प्रकट गर्दा जेठी दिदी त्रिपुरा सुन्दरी खोला देख्ने ठाउं र जंगलको छेउमा वस्ने निधो भए वमोजिम हालसम्म त्यही रानीवनको नजिक अर्थात ओढार संगै अवस्थित छ (हाल जुन ठाउं भीनपा–४, दुंगलमा पर्दछ) । माहिली बहिनी बालकुमारी दिदीसंगै आसपासमा वस्ने सहमति कायम गरिन भने कान्छी वहिनीले हिमालको मधुर मुस्कान देख्ने र आफू बसेको ठाउंबाट दिदीको दैनिक दर्शन गर्न पाउने ठाउंमा विराजमान हुने सहमतिले हाल दोलखा देखि करीव ३ कोष टाढा उच्च पहाडमा सुमद्र सतहदेखि १३,६०२ फिटको उच्चाईमा अवस्थित छ ।

यसरी देवि माताहरुलाई आ–आफ्नो इच्छा अनुसार बसाईयो । यसरी बसाई सकेपछि देवि माताहरु मध्ये बालकुमारी अति चञ्चल स्वभावकी थिईन । जुन सुकै बेला रातो पहिरनमा शहर बजार घुमि रहने, यसरी सधै रातो पहिरनमा घुमी रहने भएकोले बालकुमारी देवी मातालाई रातो (हेगउ) कुमारी पनि भन्दछन् । यसरी आफुलाई मन लागेको बेला निस्कने हिडडुल गर्ने भएपछि केटाकेटी, ठुलो मानिस दिन दिनै मर्न थाले यसरी दिन प्रतिदिन मर्न थालेपछि दोलखा शहरमा हाहाकार मच्चियो । यो मस्या समाधानका लागि स्थानिय बासिन्दाहरु बीच छलफल एवं सल्लाह भयो र सबैको सल्लाह र सहमतीमा त्यसताका त्रान्त्रिक बिद्यामा निपुण दोलखावासी बिद्यानन्दले अन्तदृष्ट्रिबाट पत्ता लगाउंदा बालकुमारी देवी माताबाट यस्तो गराएको भन्ने थाहा पाएपछि क्षमा पूजा गरी देवी मातालाई जगाई नरसंहार भएको बेलिबिस्तार गर्दा माताबाट आज्ञा भएनुसार आफुलाई कसैले हेरबिचार नगरेकोले गर्दा यस्तो बिपत्ति हुन गएको भनि जवाफ पाएपछि त्रान्त्रिकको आफ्नो चलाखिपनबाट अवदेखि मानव जातिलाई दुःख नदिएमा सम्पूर्ण ब्यवस्था हुनेछ भनी त्रान्त्रिक र देवी माता बीच बाचा बन्धन भयो ।

नाट्यश्वर मन्दिर अगाडी भैरव कुमारी जात्रा, फोटो : उपेन्द्र प्रधान

यसपछि त्रान्त्रिकले आफ्नो तान्त्रिक शक्तिबाट मातालाई खाडलमा पुर्ने योजना बनाए त्यसपछि दिक्षितहरुलाई पूजाको सामानहरु तयार पार्न लगाई ७–८ फिटको खाडल (हालको मन्दिर अगाडी) खन्न लगाई नित्यकर्म अनुसार पूजाआजा गरी त्यस खाल्डोलाई छोप्ने ढुंगाको ढकनी बनाई राखि दुवैलाई सिक्रिले बाध्ने र जो अगाडी सिक्रि चुडालेर बाहिर निस्कन सक्दैन त्यसलाई सदाको लागि पुर्ने शर्तमा बाचा भए । यसपछि देवी मातालाई फलामको साङ्लाले ढुंगामा अंकुसे लगाई बा“धे र आफुलाई चामलको पिठोको साङ्ला बनाई बाँधे । देवी माता फलामे साङ्लाको जालमा फसे भने त्रान्त्रिक आफु पिठोको साङ्लाले बाँधेको कारणले सजिलै साङ्ला चुडालेर बाहिर निस्किन् । देवी मातालाई यो कष्ट भएको असह्य भएर केही अनर्थ गरी हाल्ने हो की भनि त्रान्त्रिकले जुन दिन तामाकोशीको ढुंगा आँप हुन्छ, भंगेराले पाईला चाल्छ र भुटेको भटमास उम्रेला त्यस बेलामा मात्र बाहिर निस्कन पाउने बाचा गराई सदाको लागि ढकनी बन्द गरी दियो । यसै बेलादेखि दिक्षाकर्म, मन्त्रतन्त्र प्राप्त गरेका ब्यक्तिहरु बाहेक अन्य ब्यक्तिहरु जान नहुने भयो । जुन मान्यता हालसम्म पनि रहिरहेको छ । तर शिवभक्ति परिवारका सदस्यहरु भने आफ्नो कुल देवता मानि जाने गर्दछन् ।

ब्रत बस्ने भक्तजनहरुबाट चढाईएको थापन गुठीयारहरुबाट भैरब र कुमारी भगवानलाई बाग भोजन बाड्दै
फोटो : उपेन्द्र प्रधान

शिवभक्ति परिवारको कुलदेवता कसरी भयो र बालकुमारी देवी माताको जात्रा कसरी शुरुवात भयो भन्ने सम्बन्धमा छुट्टै किम्बदन्ती रहेको पाईन्छ । शिवभक्ति परिवारको पुर्खोली बजै (ब्वातिन) शिवलक्ष्मी दिनहु जसो देवी चढी काम्ने गर्दी रहेछिन् । दोलखा शहरमा कुनै न कुनै रोगको निहुले केटाकेटी, ठुलो मानिसहरु मर्न थाले । यसरी मर्न केटाकेटी, ठुलो मानिसहरु मर्न थालेपछि दिन दिनै देवी चढ्ने ब्वातिन शिवलक्ष्मीलाई गोरेबाबुका पुर्खाले चुल्ठो समाती दिसामा दाहिने खुट्टाले टेक्दै बुढीको मुखमा हान्न थाले । बालबच्चा, ठुलो मानिसलाई दुःख दिने तँ बोक्सी बुढीलाई भनि लात्तले हान्दै गरेको बेलामा देवी चढी बग्न थालेको ब्वातिनले म बोक्सी होईन र मैले कसैको बालबच्चा पनि मारेको होइन म निर्दोष छु म बालकुमारी देवी हुँ मलाई त्रान्त्रिकले छलले बाचा गराई म माथि विश्वासघात गरी फलामे साङ्लाले बादी जमिनमुनी खाल्डोमा पुरी ढुंगो छोपी आफु भागे यसरी म अपमानित भएको छु । तान्त्रिकले मेरो लागि केही गरेन यस माथि फोहर दिशा मेरो मुखमा कोचि अर्को अपमान तिमीहरुले ग¥यौ त्यसले गर्दा म तिमीहरुलाई सराप दिन्छु भन्दै तिमीहरुको सन्तान दरसन्तानको कुर्कुचा फुटेर जाओस भनेर सराप दिए । यसपछि तान्त्रिकले अन्तदृष्ट्रिबाट हेर्दा बालकुमारी देवी माता रहेछ भनी थाहा पाई क्षमा मागे । यसपछि यदि मानव जातिलाई नोक्सान नगर्ने हो भने बर्षमा १ पटक ३ दिन गाईजात्राको भोलीपल्ट द्धितिया, तृतिया र चौठीसम्म जात्राका रुपमा शहर परिक्रमा गर्न पाउने र जात्रा मनाउने बाचा गरे । यसरी बर्षमा १ पटक ३ दिन जात्रा निकाल्ने चलन रहि आएकोमा पछि पञ्चमी, षष्ठी २ दिन थप गरी ५ दिन जात्रा मनाउने चलन चलि आएको छ । जुन हालसम्म पनि यथावत भएको छ ।


जात्रा कसरी कहाँबाट संचालन गर्ने भन्ने सम्बन्धमा कुमारी देवीमाताबाट आज्ञा भए अनुसार माथिल्लो टोलको थात बिहार्छें जाने मुखको घरमा एक ब्वातिन छ जुन ब्वातिनले बताए अनुसार १ जना कुमारी, १ जना कालो बर्ण, लुगा पहिरन भएको भैरब, १ जना सेतो जामा लवेदा शुरुवाल लगाएको हातमा तरवार र ढाल लिएका राजा इन्द्र, १ जना घोडाचढी (सर गौ), १ जना नायिका (नकिन), १ जना नाक काट्ने (नास डेङुगु), १ जना जाल फाल्ने (जाल ङकु) १ धागो मिलाउने (थाजि यङ्गु), २ जना कालो भैरबको साहन बाहन, २ जना रातो कुमारीको साहन बाहन २ जना ध्वजा पतका बोक्न १ जना भूत प्रेत पन्साई बाटो खुल्ला गराउने समेत गरी जम्मा १५ जनाको गण हुनु पर्ने जस्मा १४ जना शिवभक्ति परिवारको र १ जना बज्रचार्य गुभाजु परिवारको पुरुष सदस्य हुनु पर्ने, रातो कुमारी एवं उनको साहन बाहनहरुलाई रातो पहिरनको र कालो भैरब एवं उनको साहन बाहनलाई कालो पहिरनको लुगा हुनु पर्ने तथा मुकुन्डो, घर गहना हुनु पर्ने बताए । यसको साथै भैरब र कुमारीबाट पूजा लिदा जुन घरबाट पुजाआजा हुन्छ त्यस घरबाट जान आउने बाटोमा ४ वटा सिडि हुनु पर्ने र पहिलो सिडीमाथि बायाँ खुट्टा भैरब र कुमारीले राखेर पुजा लिने भनी बताए । अहिले पनि कुमारी जात्रा नाच्दै जादा भीमसेन डब्बली उत्तर तर्फ समाजसेवी स्वर्गिय खड्ग बहादुर श्रेष्ठको घरबाट यो पूजा थाप्ने चलन रहेको छ । तर अन्य घरबाट यस्तो पूजा थाप्ने चलन छैन ।

भैरव कुमारी जात्रामा घोडा चढ्ने तथा जाली फ्याक्ने, फोटो : उपेन्द्र प्रधान


बालकुमारीको जात्रा त निकाल्ने तर कसरी कहिले निकाल्ने भन्ने बिषयमा स्थानिय बासिन्दाहरु बीच छलफल र सर–सल्लाह भयो । छलफल र सहमती अनुसार श्रावण सङ्क्रान्तीदेखि दक्षिणायन लाग्ने र यस महिनादउखि देवगण तल पर्ने र भूतप्रेत दानवगण माथि पर्ने भई दावगणले देवगण मानवहरुलाई खुःख दिने भएकोले दावगण भूतपे्रतलाई हटाउन भाद्र कृष्ण पक्ष द्धितियाको रात अर्थात रक्षाबन्धन पुर्णीमाको भोली पल्ट देखि भैरब कुमारीलाई निकाली जात्रा संचालन गर्ने सहमती भयो । यसको साथै जात्रा निकाल्ने घरहरु २ ठाउंमात्र भेटिन्छ । एक पिंगलटोल हाल (दोलखा बजार भीनपा–२) र टसिचाटोल (दोलखा बजार, भीनपा–२) बाट ३-३ वर्षको आलो पालो गरी निकाल्ने चलन छ । यो हालसम्म पनि रहि रहेको छ । तर हाल आएर भीनपा–२ स्थित पिंगलटोलको भैरव कुमारी निकाल्ने घर जिर्णोवस्थाको स्थितीमा पुगेकोले भीनपा–२, टसिचाटोलबाटमात्र बर्षेनी भैरब कुमारी जात्रा निकाल्दै आएको छ । यस जात्रामा कसाई बाजा अर्थात कसाईबाट बजाईन बाजा, १२ जना कुसुलेले सहनाई फुक्ने प्रचलन रहेको छ ।

घोडा चढ्ने


जात्रा निकाल्नु भन्दा पहिले जात्रामा भाग लिने भैरब, कुमारी र अन्य गण एवं साहन बाहनहरुलाई देवतादेवी अनुसार लुगा लगाउन लगाई पगडी बाँधी सगुन दिएर मात्र बाहिर निकाल्ने चलन रहेको छ । सगुन लिने बेलामा सगुन बाजा बजाईन्छ । यसपछि पूजाआजोको बिधि सिद्धिएपछि सबभन्दा पहिले राजा इन्द्र र नकिन हुने निस्कन्छ, त्यसपछि अन्तिममा भैरब कुमारी निस्कन्छ । यसपछि जाल फाल्नेले जाल फालेको अभिनय गर्ने, घोडा चढ्ने राजाको पछिपछि लाग्ने, नाक (नास) काट्नेले बुच्चे खुकरी र रगत थाप्ने ढुंग्रो लिनेले खुकुरी नचाउंदै नाच्ने गर्दछ । त्यसपछि भैरब बाजाको तालमा नाच्छ भने कुमारी भैरबको पछाडी पछाडी बसि नाच्छ । कुमारी जात्रामा भैरब कसरी भन्ने खुलदुली हुन सक्छ यस सन्दर्भमा बालकुमारी अति चञ्चल भएकोले कुनै बिध्वंश कार्य गर्न सक्छ भनी नियन्त्रणका लागि पतिका रुपमा भैरबलाई समावेश गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । त्यसैले भैरबले जहिले पनि बाल कुमारीलाई जहिले पनि आफ्नो पछाडी पछाडी मात्र राखेको हुन्छ कहिबाट अगाडी बढ्न लागे अगाडि बढ्न दिदैन आफ्नो पछाडी पछाडी मात्र लाने गर्दछ ।

भैरव र कुमारी जात्रामा नकिन र नास डेङ्गु, फोटो : उपेन्द्र प्रधान


जात्रा शुरु भएको पहिलो दिन भूत प्रेतहरुले जात्रा हेर्छ र मानव जातिले हेर्नु हुंदैन भन्ने मान्यता रहेको छ । जात्रा शुरु भई केही पर पुगेपछि भूत प्रेत, दानव राक्षसहरु आई भैरब कुमारीको बाटो छेक्ने, जात्राको नक्कल गर्ने र बाधा पार्ने गरी खिसी गरेकोले भैरब र कुमारीले जोगिन देउ हालको दोलखा बसपार्कसम्म भुत प्रेत, दानवराक्षसलाई लखेटरे लगेको थियो भन्ने मान्यता रहेको छ भने दोश्रो देखि पहिलो दिनको जात्रामा भुत प्रेत, दानव राक्षसले अवरोध गरेको कारण दोश्रो दिन गुभाजुले एउटा मानिसलार्य बारन अर्थात पुजा एवं खाद्य सामान बोक्ने खर्पन जस्तो बोकाइृ सबभन्दा अगाडी बसी बज्र लिई घण्टी बजाउंदै भुत प्रेत, दावन राक्षसहरुलाई पन्साउदै र जस्ले जे माग्छ त्यही वारनबाट चित्त बुझाउदै बाटो दायाँ बायाँ पन्छाउदै जान्छ भन्ने स्थानिय बुढापाकाहरुको भनाई रहेको पाउंछौं । यसरी भुत प्रेत, दानव राक्षसले दुःख दिन्छ भनी भैरबले नक्छें टोलको बुद्धस्तुपको छेउबाट र माथिल्लो टोलको सरचुका भन्ने ठाउंबाट सिठि फुकि सहरपा डांडा तिर हेरी बोलाई सर्तकता गराउंछ भन्ने भनाई रहेको छ जुन हालसम्म पनि प्रचलनमा रहेको छ । दोश्रो दिन देखि भैरबको जिउमा करिव डेढ मिटर लामो तामाको पाताको लिङ्ग बा“धिएको हुन्छ र एक जनाले समातेको हुन्छ । यसरी दोश्रो दिन देखि लिङ्ग भैरबले राख्नुमा पनि किम्बदन्ती रहेको पाउंछों । पहिलो दिन भैरब कुमारी जात्रामा कुमारीलाई मात्र पूजाआजा गर्ने र भैरबलाई वास्ता नगरेकोले भैरब रिसाई दोश्रो दिन देखि यहि लिङ्गमा पूजाआजा गर्नु भनी लिङ्ग फैलाई दिएको मानिन्छ ।

फोटो : उपेन्द्र प्रधान


भैरब कुमारी जात्रा दोलखा शहर पिंगल टोलको घरबाट निकाल्दा पिंगल, राजकुलेश्वर, बहिर, श्यामसुन्दर, डोकलुङा, टसिचा, कोर्छे, गणेश टोल, पालचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल हुंदै पिंगल घरमा प्रवेश गर्छ भने टसिचाबाट निकाल्दा कोर्छे, गणेश टोल, पलाचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल, पिंगल, बहिर, श्यामसुन्दर, डोकलुंगा हुंदै टसिचामा प्रवेश गर्दछ । यो जात्रा रातीको समयमा हुने हुंदा स्थानिय एवं बाह्य भक्तजनहरुबाट ब्रत लिने, मईनटोल बाल्ने, गोकुल धुप, सिन्के धुप बाल्ने गर्दछन् । यस जात्रामा दिवङ्गत पितृहरुको आन्म शान्तीको लागि तथा आफन्तहरुको सुख शान्ति एवं दिर्घायूको कामना, नौ ग्रह शान्तीको कामनाका साथ महिलाहरु ब्रत बस्ने गर्दछन् । भैरब कुमारी मांसाहारी देवता देवी भएकोले चिउरा मासु लगायत सबै किसिमका तरकारीहरु समावेश गरिन्छ । यो जात्रा रातभरी नाच्ने जात्रा भएकोले जति जति पछि पछि दिन हुन्छ त्यति त्यति उज्यालो भएपछि मात्र भित्र जाने गरिन्छ ।

भैरब कुमारी जात्रा कहिले देखि शुरु भयो भन्ने प्रमाण त भेट्टिएको त छैन तरपनि स्थानिय बयोबृद्धहरुको भनाई अनुसार बि.सं. १७८२–८३ देखि शुरुवात भएको मानिन्छ । भैरब र कुमारी लगायत अन्य साहन बाहनहरुले लगाईने मुकुन्डो सुनको बनाउन लगाई जात्रा निकाल्न खोजे तर धातुबाट बनेको मुकुन्डो लगाई जात्रा निकाल्ने बेलासम्म पनि भैरब कुमारीलाई कम्पन छुट्ने अर्थात शरिरमा देवता पस्ने भएन त्यसपछि धातुको मुकुन्डो हटाई साविककैको मुकुण्डो प्रयोग गरेपछि जात्रा शुरु भयो । साविकको लाहाबाट निर्मित मुकुन्डोलाई ब्यक्तिगत तथा संघ–संस्थाहरुबाट बर्षेनी मर्मत सुधार भई आएको छ ।

भैरव कुमारी जात्रामा ब्रत बस्ने दोलखाली चेलीबेटी तथा स्थानिय वासिन्दाहरु, फोटो : उपेन्द्र प्रधान

जात्रा संचालनको लागि गुठीको तथा आर्थिक सहयोगको ब्यवस्था :
भैरब कुमारी जात्रामा सहभागी हुने शिबभक्ति परिवारका सन्तानहरुलाई १० पाथि धानको बीउ जाने कुमारी बुँ नामबाट प्रख्यात गुबु“ भन्ने खेत, ४ माना मकैको बीउ जाने देउपाटी भन्ने बारी रहेको छ । यो खेतबारीको अन्न जात्रामा सहभागी हुने शिवभक्ति परिवारका सदस्यहरुले भाँडी चुडी खाने गर्दछन् । भैरब र कुमारीले लगाउने अनेक किसिमका गर गहनाहरु रहेको छ । सो गर गहनाहरु बिभिन्न स्थानिय एवं बाह्य भक्तजनहरुले चढाएको पाईन्छ । नेपाल सम्वत् ९१२ (बि.सं. १८४८) मा काठमाण्डौं नघल निवासी चित्रनरसिंह र सुपुत्र भोजमान सिंह भर्या हेमलक्ष्मीले चाँदीको लामो सिक्रि माला एवं चाँदीकै कमलको फुल जोडिएको चढाएको भन्ने उल्लेख गरेको देखिन्छ । दोलखा बस्ने बिद्यानन्दले १६ तोलाको चाँदीको माला, सिहबीरको नारचा भन्ने खेत कुमारीलाई चढाएको भन्ने देखिन्छ ।

बर्तमान अवस्थाको बढ्दो महंगीले गर्दा पहिले पहिलेको गुठीको नाउंमा राखेको जग्गाबाट मात्र जात्रा संचालन हुन नसक्ने अवस्था भएकोले भीनपा –२, निवासी श्री डब्बल बहादुर श्रेष्ठको सुपुत्र ब्यापारी एवं उद्योगपती श्री लक्ष्मण श्रेष्ठले बि.सं. २०४९ सालमा टसिचामा २ तले कुमारी घर बनाई दियो भने जात्रा संचालनको लागि रू. ५०,०००/– अक्षकोष राखि प्राप्त ब्याजबाट खर्च गर्ने ब्यवस्था मिलाई दिएको छ । तर हाल उक्त टसिचामा बनाई दिएको घर २०७२ सालको भुकम्पपछि जिर्नोदारको पर्खाईमा रहेको छ । स्थानिय निकायको चुनावबाट जनप्रतिनिधीहरु चुनिएर आएपछी हाल वडा र नगरपालीकाको तर्फबाट पनि विशेष सहयोग रहेको छ ।

सम्वन्धीत सम्पूर्ण महानुभावहरुमा विशेष जानकारी तथा अनुरोध

आज मिती २०७८ साल भाद्र ८ गते मंगलबार बेलुका ५ बजेसम्म प्राप्त सहयोग रकम तपसिलमा उल्लेखीत लिष्ट अनुसार हामीले सार्वजनिक गरेका छौं । यसरी प्राप्त भएको सहयोग रकमको लिष्टमा भुलचुल कसैको नाम छुट्न गएको खण्डमा हामी संग सम्पर्क गर्नु हुन सादर अुनरोध गर्दछौं । साथै पछी फाईनल अपडेट हुदा सम्पूर्ण आम्दानी र खर्चको विवरण समावेश गर्नेछों । यसै गरी भैरव कुमारीको भवन पूरा तयार भर्ई नसकेको कारणले सहयोगी महानुभाव, लब्ध प्रतिष्ठीत व्यक्तीत्वहरुको निरन्तर सहयोगको लागि आग्रह सहित हार्दिक अनुरोध गर्दछौं ।

संयोजक : गोपाल प्रधान, ९८४१–५४०८२२

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!