Search

गाईजात्रा विशेष, दोलखामा यसको आफ्नै मौलिक विशेषता, फोटो फिचर–भिडियो सहीत

गाईजात्रा विशेष, दोलखामा यसको आफ्नै मौलिक विशेषता, फोटो फिचर–भिडियो सहीत

यो जात्रा विशेषतः गत वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्दछ । सडकमा गाई, गाईकै भेष अथवा बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् । गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ ।

मृत्यु भएका आफन्तको संझनामा गरिने जात्रामा आत्मसाथ गरिएको रमाइलो र हाँसोका माध्यमहरुलाई बिचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवस्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाको रुपमा लिएर अघि बढ्नकालागि मृतकका शोक सन्तप्त परिवारजनलाई आह्वान गरेको भान गराउँदछ ।

गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौ उपत्यका बासिहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यू भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलाई राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाण्डौ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो ।

आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।

अर्कोतर्फ जात्रामा आएका ब्यक्तिहरुले बिभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यत्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने शुरूवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनितिक गतिविधिका नकारात्मक पक्षहरूलाई समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्गात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा शुरुवात गरिएको यो ब्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई छेड हान्ने चलनकारुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको ब्यङ्गप्रति रिसिबि र इख राख्न पाइदैन ।

आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएकोछ ।

गाईजात्राको बारेमा संचार माध्यम अन्तर्गतको पत्र–पत्रिका, टेलिभिजन तथा आधुनिक समाजिक सञ्जाल अन्तर्गतको फेसबुक, युट्युब र ट्विटरहरुमा अनि जताततै देखिएका विभिन्न व्यक्तिगत पेज र समुहमा खोलिएका टिप्पणी सञ्जालले नेपालको सामाजिक रीतिरिवाज, मौलिक चाडपर्वहरुको जति नै विश्लेषण गरिए तापनि २÷३ अलग्गै शहरमा भएको अविस्मरणीय ऐतिहासिक र साँस्कृतिक परम्पराको बारेमा ती सञ्जालहरुको दृष्टिकोण नपुगेको हो कि या अभिरुचि नभएको हो कि भन्ने आभास हुनु अस्वाभाविक नहोला ।

यसै क्रममा दोलखा जिल्लामा रहेको भीमेश्वर नगरपालिका वडा नं.–२ ऐतिहासिक शहर दोलखा अभयपुर र सिन्धुपाल्चोक जिल्लाको पौराणिक नाम हाजिपुर हाल तौथलि भनेर चिनिने ठाउँमा पनि गाईजात्रा विशेष धुमधामले मनाउँदै आएका छन् जसमध्ये दोलखाको गाईजात्राबारे विशेष कुरालाई यहाँ प्रस्तुत गर्न गैरहेका छौं । तौथलिको बारेमा अलग्गै रुपमा प्रस्तुत गरिरहेको जानकारी दिंदै आदरणीय पाठकहरुको ध्यान दोलखामा हुने गाईजात्रा तिर केन्द्रित गर्न चाहन्छौं ।

काठमाडौं उपत्यकामा मल्ल कालीन सभ्यता देखि अर्थात् राजा प्रताप मल्लको पाला देखि गाईजात्राको शुरुआत गरिएको भनिए तापनि दोलखामा लिच्छविकाल सभ्यता देखि नै शुरु भएको कथन छ, जस्तो कि तत्कालीन राजा मानदेव, धर्मदेव, यक्षदेव र शिवदेवको पाला देखि नै पाञ्चायन नृत्यनाटकहरु टोल टोलमा भएको हो ।

दिउँसो निकालिएको लाखेलाई ठूलो लाखेको रुपले चिनिन्छ । अघिल्लो ११–१२ दिन नचाइने लाखेको रुपको बनोटमा फरक छ यस लाखेको । ठूलाठूला आँखा, गोला अनुहार र झ्याम्म चउर लाएको यसको स्वरुप हेर्दो नै भयावह देखिन्छ । यसरी निकालिएको लाखे करीब २–३ घण्टा नाचेपछि बजारको पश्चिम भागमा रहेको राइती (तीनधारा) को सामुन्ने रहेकोे नारायणको मन्दिरको प्राङगणमा भएको यज्ञ र होमको अवलोकन गरेर फेरि फर्केर तल्लो बजारको समिपमा रहेको पोखरीमा पौडी खेलेको हेरेर राजकुलेश्वर अगाडिको डबलीमा नाचेर अन्तिम पटक नृत्य अभिनय बदलेर एउटा खुट्टाले टेकेर मृदङ्ग तालमा नाचेपछि सो टोलमा लाखे जात्राको अन्त्य हुन्छ । यसपछि हरेक डबली र गुठियारहरुको घर आँगनमा नाचेर साँझ पख यस वर्षको लाखे जात्रा समापन हुन्छ ।

लिच्छविकाल सभ्यताको मानदेव र धर्मदेवको पालाको कुराहरु दोलखाको भजन पुस्तकहरुमा पढ्न देख्न पाईन्छ । त्यतिबेला शिक्षाको विकासको अभावले मान्छेहरू आफ्नोतर्फबाट पढ्न र लेख्न असमर्थ भएपनि संकलन र संग्रह गरेर संस्कृत, हिन्दी र नेपाल भाषाका भजन, श्लोक र मन्त्रहरुलाई समेटेर गाउने, अभिनय गर्ने र नृत्य गर्ने कुराहरु दोलखाका पुर्खाहरुले सुनाउने गर्थे, जुन कुराको प्रमाण मन्दिरमा कुँदिएका नृत्यका दृश्यले दर्शाउँछ । हुनसक्छ राजा प्रताप मल्लले छोराको मृत्युु पश्चात् आफ्नी रानीको वियोगी हालत देख्दा कसरी त्यसबाट मुक्ति दिलाउने भनेर जुक्ति र युक्तिको खोजतलास गर्ने क्रममा प्राचीन नगरी दोलखामा भैरहेको यिनै जात्राको चर्चा सुनेर यसैको अनुसरण गरेर रानीलाई देखाउन नक्कल गरेको पो हो कि, नत्र दोलखाको भजन पुस्तकमा संगीतबद्ध मौलिक लयको गीत गोविन्द पुस्तकमा मल्ल काल पूर्व नै नृत्य सहितको रास लीला, व्यङ्ग्यका कुरा कसरी हुन्थ्यो र !

दोलखामा गाईजात्रा ;
जुनसुकै कार्यको लागि एउटा शुभिसाइतको कुरा हुन्छ, त्यसको थालनी नगरीकन अन्य काम गरिएमा शुभफल मिल्दैन भन्ने मान्यता अनुरुप दोलखामा गाईजात्राको दिनमा सबैभन्दा पहिले दुवै टोलबाट गाईजात्राको स्वरुपमा स्थानीय एक जोडा मान्छेहरु नै धोक्रो या बोराको लुगा लगाएर टाउकोमा कपडा या जालीले मुखसम्म छोपेर बाँसको लठ्ठीमा डोली जस्तो बनाएर त्यसमा गाई दुहुने सामाग्री ढुंग्रो, बाल्टिन आदि राखेर बोक्दै खिं (ठूलो खालको मादल जुन भजन गाउने बेलामा बजाउने गरिन्छ ।),

झ्याम्टा र शहनाई बजाएर नाच्दै बजार परिक्रमा गर्ने गरिन्छ, यसै क्रममा सो समुहमा गाई हुने दुई पुरुषले कुनैकुनै डबलीमा जहाँ धेरै दर्शक हुन्छ, जसमा तरुनी केटीहरु हुन्छन्, त्यही ठाउँमा बसेर सामान्य अभिनय गरेर हँसाउने माध्यम निकाल्ने गर्छन् । जस अनुसार जहाँ केटीहरुको समूह हुन्छ, त्यहाँ गाई हुने व्यक्ति चारपाउ टेकेर बस्छ, अनि गोठालो हुनेले ढु्ग्रोमा दूध दुहुने हिसाबले आफ्नो काम गर्न शुरु गर्छ, जुन ढुंग्रोमा पहिले नै हिलो माटो र पानी राखिएको हुन्छ , अनि दूध दुहुने अभिनय गर्ने क्रममा गाईले लात्ती हानिदिन्छ, त्यसपछि लात्ती लागेर लडेको अभिनय गरेर त्यो ढुंग्रोको हिलो पानी जता तरुनी केटीहरु हुन्छन् त्यतै हुर्याईदिन्छ, यो क्रम बजारको हरेक ठाउँमा हुन्छ, जहाँ जहाँ मुख्य देवताको मन्दिर, सत्तल या डबली हुन्छ त्यहाँ पुगेर प्रार्थना संगीत सहित प्रार्थाना (द्येउलाई) गरिन्छ ।
यसरी गाईजात्राको प्रतिरुप निकालि सकेपछि मात्रै अन्य झाँकी, व्यंग्यात्मक प्रहसन, लोकनृत्य, रोपाइँ नृत्य आदि निकालिन्छ ।

दोलखामा यो दिन सोही वर्षको बीचमा दिवंगत हुनेहरुको घरघरबाट मृतकको स्मरणमा मृत आत्माले शान्ति पाउन् भनेर निरन्तर सम्झिरहेको भाव झल्काएर विभिन्न देवदेवीको रुपमा श्रृङ्गार गरेर भावनामा डुब्ने खालका गीत गाउँदै नाच्दै शहर परिक्रमा गर्ने चलन यथावत् छ । यसबेला अन्य घरघरबाट चोक डबलीमा ती मृतकका समुहलाई फलफूल, जुस, पानी पिलाएर आफ्नो मनमा शान्ति प्राप्त गर्ने गरेको हुन्छ ।

यो प्रचलन हेर्दा दोलखा संस्कृति र प्रकृतिको लागि अग्रस्थानमा रहेको देखिन्छ । यस्तो ऐतिहासिक एवम् पौराणिक रीतिरिवाजलाई युगान्तकारी बनाउन सबै दोलखाली अग्रज, बुद्धिजीवी र आम जनसाधारणले दिगो कदम चालिरहोस्, हरेक वर्ष झैं यसवर्षको गाईजात्रा सफलता पूर्वक सम्पन्न होस् भनेर बाँपिझ्याला अनलाइन पत्रिका हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
फोटो र भिडियो बिन्दीया श्रेष्ठ दोलखाबाट सहयोग र सामाजिक सञ्जालबाट साभार ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!