Search

जनैपूर्णिमाको अर्को स्वरुप भ्यागुताको भोज !

जनैपूर्णिमाको अर्को स्वरुप भ्यागुताको भोज !

बालकृष्ण ‘पासा’ (श्रोत : सामाजिक सञ्जाल )
जनैपूर्णिमा नेपालका हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व हो । यस पर्व हरेक वर्ष श्रावण पूर्णिमा दिन बिशेष जलकुण्डहरुमा बिशेष पूजाआजा गरी मनाउने गरिन्छ । यस पर्वको दिन टुसो पलाउने गरी भिजाइएको नौ थरीको गेडागुडीहरु भटमास, मास, ठूलो केराउ, चना, बोडी, मुड., सिमी र बकुला समेतको विशेष परिकारको क्वाँटी खाने प्रचलन नेपाली समाजमा छ ।

क्वाँटी खानाले शरीरमा सर्दी र गर्मीको सन्तुलन, स्वच्छ मन, दिमाग स्फूर्ति, शक्तिवद्र्धक हुने र पेटको विकार नाश गर्छ भन्ने मान्यता रहेको पाइन्छ । यस दिन नेपालका ब्राम्हण क्षेत्री जातका पुरुषले काधमा छड्के पारी लगाउने पुरानो जनै फ्याँकी नयाँ जनै फेर्ने गर्दछन् । जनै नलगाउनेले पनि ब्राह्मणको हातबाट दायाँ नाडीमा डोरो बाधी रक्षाबन्धन बाँध्ने गर्दछन् । यसरी लगाएको डोरी तिहारको लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधी पूजा गर्ने प्रचलन छ । जनैपूर्णिमाको दिन पुरेत्याई गर्ने ब्राह्मण जजमानका घर घर पुगी जनै लगाइदिने र क्वाँटी, पीठो, आलु, चामल, बेसार, दाल, घिउ र नुन सहितको दक्षिणा दान लिई फर्कने गर्दछन् ।

बौद्ध धर्मग्रन्थ ललितविस्तारमा जनैपूर्णिमाको दिन गौतम बुद्धले अनेक बिपदमाथि विजय प्राप्त गरी जिती सम्यक हुनु भएको कथन छ । यसै दिनको स्मरणमा गुन्हुपून्हीको आठ दिनसम्म बिहान उपत्यकाका बहि बिहारमा प्राचीन थाड.का, पौभा र देवताको मूर्तिहरु सर्वसाधारणका लागि प्रदर्शन गरिनुका साथै गुँलाबाजा बजाउँदै स्वयम्भू परिक्रमा गर्ने परम्परा छ । सोहि दिन यमराजले यमलोकमा रहेका धर्मात्मालाई षडाक्षरी लोकेश्वरका रुपमा धर्मदेशना प्रदान गर्नुभएको थियो भन्ने जनविश्वास रहेको छ ।

अर्को आख्यान अनुसार दानव र देवता मिली समुन्द्र मन्थन हुँदा निस्किएको कालकुट विषको सेवन गरेका महादेव छटपटाउँदै रसुवा जिल्लाको गोसाइँकुण्ड पुगेछन् । विषको प्रभावले छटपटी भए पछि शीतलताको खोजीमा भौतारिदै हिँडेका शिवले नेपालको उत्तराखण्डको रमणीय हिमाली दृश्य देखेर मुग्ध भई पानी खाने विचारले आराम गर्नु भएको अवस्थामा आफ्नो दिब्य आयुध त्रिशूललाई गाडेर नदीका तीन धारा तिनतर्फ बगाईदिनु भयो । आफूले उत्पत्ति गरकोे त्रिशूलको जल पिएर भगवान शिवको डाह शान्त भएको र यही जल अलिकति अगाडि गएर विशाल जलकुण्ड बनेको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ ।

विषपानबाट छटपटिएका महादेवलाई समेत शान्त पार्न सक्ने तीर्थस्थल गोसाँकुण्डमा जनैपूर्णिमाको दिन नेपाल भरीका ठूलो संख्यामा तीर्थालु भक्तजनहरु श्राद्ध, पितृ तर्पण गर्न पुग्ने गर्छन । यस दिन गोसाइकुण्ड जान नपाएका उपत्यकाका नेवार समुदायले पाटनको कुम्भेश्वरमा गई मेला भर्न जाने गर्दछन् । विषपानबाट छटपटिले भौतारिएको समयमा भगवान शिव पाटनको सर्वेश्वर महादेव ललितारण्यस्थित कुण्डमा शीतलता प्राप्तिको अभिलासाले आएको लोकआख्यान ज्यादै प्रचलित रहेको छ ।

यो कुण्ड वर्तमानकालको कुम्भेश्वर कुण्ड हो । चौधौं शताब्दीमा उपर्युक्त ललितारण्यमा उक्त कुण्ड फेला पर्नुका साथै त्यहाँ सर्वेश्वर महादेवको शिवलिङ्गको अतिरिक्त सो ठाउँमा अन्य देवी देवताको मूतिहरु, शिवलिङ्गहरु पनि प्राप्त भएको थियो । साथै कुम्भ ऋषिको आश्रम विद्यमान रहेको कुरा उपर्युक्त शताब्दीको अभिलेखले ईङ्गित गरको छ । कुम्भेश्वर स्थित कुण्डमा भगवान् शिवले शीतलता प्राप्तीको लागि डुबुल्की मारेको बिश्वास गरिन्छ । यस स्थानबाट भगवान शिव हिमालयस्थित गोसाइकुण्ड प्रस्थान गरेको जनबिश्वास रहेको छ । कुम्भेश्वरको कुण्डमा सप्तसागर, सप्तकुण्ड एवं शिवलुतीको जल पनि मिसीराखेको विश्वास लिई श्रावणशुक्ल पूर्णिमाको दिन गोसाईकुण्ड जस्तै ललितपुरको कुम्भेश्वरमा पनि ठूलो मेला लाग्दछ ।

साथै नगरकोटको कुण्ड, साँखुस्थित मणिचुड महाराज( भगवान् बुद्धको पूर्वअवतार)को बासस्थान मणिचुड दहमा समेत ठूलो मेला लाग्ने गर्दछ । यसरी मेला लाग्ने कुण्डहरुमा बोन्पो धर्मावलम्बी तामाड. जातीका झाक्रीहरु बिशेष भेषभूषामा सजिएर कुण्डमा स्नान पश्चात झाँक्री विद्या अनुसार मन्त्रपाठ गरी पूजा गर्नेहरुको भिड देख्न सकिन्छ । जनैपूर्णिमालाई नेवार समुदायले गुन्हुपून्हीको नामले मनाउने गरिन्छ । यो दिन उपत्यकाका ज्यापू समुदायका मानिसहरुले काग र भ्यागुतोलाई खानेकुरा खुवाई पूजा गर्ने परम्परा छ ।

भ्यागुतोलाई वर्षाकालिक जलचर प्राणी हो । पृथ्वीमा वर्षायाममा कृषि र उत्पादनको लािग अत्यावश्यक वर्षा र यी प्राणीहरुको आगमनसँग हुने तथा खेतमा लाग्ने विभिन्न प्रकारका कीरालाई खाई यिनले कृषि उत्पादनमा पनि टेवा पुयाउने हुँदा यी प्राणीको गुणलाई सम्मान गर्दै पूजा गर्ने र क्वाँटी सहितको विशेष परिकारको खाना खुवाउने प्रचलन रहेको छ ।

अर्को वैदिक शिक्षण पद्धतिमाथि यी प्राण्ीको योगदान महत्वपूर्ण मानिन्छ । वैदिककालमा अध्ययनको लागि पुस्तकहरु नहुने हुँदा गूरुले प्रदान गर्ने जत्ति पनि शिक्षाहरु छन् तिनीहरुलाई विद्यार्थीहरुले कण्ठस्थ गर्नु पर्दथ्यो । वर्षायाममा एउटा ठूलो भ्यागुतो कराएपछि अरु सबै भ्यागुताहरुले त्यसै स्वरमा पछ्याउने जस्तै शिक्षा प्रदान गर्ने क्रममा गुरुले सर्वप्रथम एक पंक्ति उच्च स्वरमा पढाउने र विद्यार्थीले एउटै स्वरमा दोह¥याउने गर्छन । यसरी गुरुबाट शिष्यहरुलाई शिक्षा प्रदान गर्ने कार्य हुन्छन् । यसरी तत्कालीन शिक्षण पद्धतिमा भ्यागुतोको योगदान महत्वको रहेको स्पष्ट हुन्छ । ऋग्वेद ७.१०.३ को अध्ययनले यस यथार्थताको पुस्टि गरेको छ ।

उपर्युक्त ऋग्वेदीय प्रसिद्ध मण्डूक ऋचा तथा अर्थववेद ४.१५.१२(१६ मा ब्राम्हणहरुको तुलना भ्यागुताहरुको वर्षाकालिक ध्वनिसित गरिएको छ । यिनीहरु वर्षा ऋतुको आगमनको साथ कार्यरत जीवन थाल्नको लागि जागा हुन्छन् । यस यर्थार्थताले श्रावणी पूर्णिमा देखि प्राचीनकालकामा शैक्षिक सत्र प्रारम्भ हुने कुराको पुष्टि हुन्छ । यो पूर्णिमाको दिन श्रावणी कर्म अथवा उपाकर्म गरिन्थ्यो । जसको अनन्तर तिनीहरुले आ आफ्ना शाखाका वैदिक अध्ययनको प्रारम्भ गर्दथे । अर्थववेदमा भ्यागुतोलाई ज्वराग्निलाई शान्त गर्नको लागि आमन्त्रित गरिएको छ ।

उपर्युक्त विभिन्न आधारहरुको अध्ययनबाट श्रवणी पूर्णिमाको दिन यहाँका नेवार समाजमा भ्यागुतोलाई भात ख्वाउने परम्पराको थालनी किन भएको भन्ने कुराको यथार्थतालाई स्पष्ट भएको जस्तो जाग्दछ । समाजका प्रबुद्ध वर्गदेखि सामान्य कृषकवर्ग समेत यी प्राणीको ऋणी रहेका छन् । जनैपूर्णिमाको दिन भ्यागुताकोलागि सिमि वा भटमासको पातमा भात, क्वाँटी र गोलो आकारमा काटेको मुला राखेर मन्दिरमा पूजा गरे पश्चात आफ्नो खेतको चारकुनामा राखेर खुवाउदै कृषि पेसामा भ्यागुतोले पु¥याएको सहयोग प्रति आभार ब्यक्त गर्ने काम ज्यापू समुदायले गर्दै आएका छन् । मध्यकालीन नेपालका अभिलेख तथा साहित्यिक सामग्रीहरुले तत्समय यहाँ ब्याँजा नकेगु अर्थात भ्यागुतोलाई खाना खुवाउने प्रथा प्रचलित रहेको कुरा खुलाशा गरेका छन् ।

नेपाल सम्वत् ७९२को नेपाल भाषाको पोथी नामक गिती संगीतमा पनि भ्यागुताको बारेमा उल्लेख गरिएको छ। प्रस्तुत भ्यागुतालाई खाना खुवाउने बारेमा भक्तपुर मालतीचोकको नेपाल सम्वत् ८१८को अभिलेखमा पनि उल्लेख छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!