Search

“गुँन्ला पुन्हिस” दोलखा विशेष पर्व !

“गुँन्ला पुन्हिस” दोलखा विशेष पर्व !

नेपाल राज्यभरमा आजको दिनलाई कतै जनैपूणिर्मा, कतै रक्षाबन्धन (राखी पूर्णिमा) त कतै कुण्ड मेलाको रुपमा मनाईन्छ ।
विशेषतः यो पूर्णिमाको दिनमा नेपालभित्र रहेका अधिकांश कुण्डहरुमा मेला लाग्ने नै गरिन्छ । जस्तैः रसुवाको गोसाइँकुण्ड, काठमाडौंको साँखु शंखरापुर स्थित शिवपुरी पहाड संगैको मणिचूडको शिवकुण्ड, भक्तपुर जिल्लाको नगरकोट स्थित महादेव पोखरी, काठमाडौंको पशुपति क्षेत्र, ललितपुरको कुम्भेश्वर, मुगुको पाप कुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, जुम्लाको दान साँघु, नवलपरासीको त्रिवेणी, भक्तपुरको डोलेश्वर महादेव, धनुषाको गंगासागर र धनुष सागर अनि दोलखाको कालिन्चोक भगवती कुण्ड र शैलुङेश्वर महादेवमा धुमधामका साथ जनैपूणिर्माको विशेष मेला लाग्छ ।

फाईल फोटो – देउधारा सहित कालिञ्चोकबाट दोलखा फर्कर्ने क्रममा स्थानिय वासिन्दाहरु

यसैगरी मुक्तिनाथमा बौद्ध धर्मावलम्बीले जनैपूणिर्मामा यार्साङ् मेला लाग्छ । नेपाल अधिराज्यमा जहाँ शिवको मूर्ति , शिवलिङ्ग हुन्छ त्यहाँ आजको दिनमा विशेष मेला लाग्ने गर्छ ।

यिनै चाडपर्वलाई अझै विशेषगरी विशेष रुपले हिलेजात्राको रुपमा मान्ने ठाउँको वर्णन गर्नुपर्दा दोलखा अग्रपंक्तिमा पर्न आउँछ । तर दुःखलाग्दो कुरा संचारकर्मिहरुले त्यत्ति महत्वका साथ दोलखाको इतिहास, संस्कृति र परम्परालाई गहिरिएर दोलखाको ईतिहासलाई खोतलेको पाईन्दैन । जहाँ जुनसुकै संचार माध्यम किन नहोस् छाक टार्ने र मुख बार्ने काम मात्रै गरेको पाईन्छ । किनकि यही दोलखाको रीतिरिवाज, संस्कृति र साँस्कृतिक रुपरेखा बारेमा खुलेर प्रशंसा र विश्लेषण गरेको देखिदैन ।

दोलखाली जनमानसले जनैपूणिर्मालाई अलग्गै पहिचान रहोस् भन्ने हेतुले यो दिनलाई ’गुँन्ला पुन्हिस’ को नाम दिएर आफ्नो विशेष पहिचानको छाप छोडेको छ । जुन कुरालाई विगतका दिनहरूमा दोलखाको स्थानीय स्तरमा प्रकाशित गरिएका पुस्तकहरु जस्तो कि दोलखाको ऐतिहासिक रुपरेखा, कालिन्चोक युवा क्लवको आँखा पत्रिका, तिलिन्चो परिवारको चिमाल पत्रिकामा सबिस्तार वर्णन गरिएको छ कि दोलखाको वास्तविक परम्परा के कसरी चलेको थियोे र कसरी चलिरहेको छ भनेर । त्यसैले हामीले यो बाँपिझ्याला अनलाईन पत्रिकामा हुबहु लेख्ने सोच राखेनौ, तर समय सान्दर्भिक हिसाबले गुँन्ला पुन्हिसको बारेमा संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छौं ।

फाईल फोटो– कालिञ्चोकबाट दोलखा फर्कर्ने क्रममा स्थानिय वासिन्दाहरु


गुँन्ला पुन्हिस दोलखाको अविस्मरणीय चाड हो । यो दिनमा अघिल्लो दिनमा दोलखाको प्रमुख दुईवटा टोलबाट स्थानीय युवाहरूको जमात दुईवटा छुट्टाछुट्टै अर्थात् तल्लो टोल र माथिल्लो टोलका डापा खलकहरु बाजागाजा सहित शहरबाट कालिन्चोक माताको मन्दिर तर्फको यात्रा थालिन्छ । बाटैभरि बाजा बजाउँदै रमाइलोका साथ दुवै समूह कालिन्चोकको कुरीमा पुगेर विश्राम गरिन्छ । भोलिपल्ट पूर्व उज्यालोमै मन्दिरको गन्तव्यमा ठाडो उकालो लागिन्छ, तर अहिले मोटरको बाटो र केबुलकारको व्यवस्थापनले गर्दा केही सहज भएको छ तथापि जति आनन्द र मज्जा पैदल हिंडाइमा हुन्छ त्यत्ति केबुलकारमा शायद नहोला ।

अनि पूर्णिमाको दिनमा कालिन्चोक भगवती संग युद्धमा लड्नको लागि साहस, शक्ति, बुद्धि र जुक्तिको ज्ञान हासिल गरेर दोलखामा दुख दिईरहेका नरसंहारी दैत्यहरुलाई परास्त गर्नको लागि मातासंग केही हतियार समेत गुहार मागेर प्रफुल्ल हुँदै दोलखा प्रत्यागमन हुन्छ । जब सो डापा समूह दोलखाको पाखलती भन्ने ठाउँमा पुग्छन् त्यसपछि स्थानीय बासिन्दाहरु खुशी भएर बाजागाजा र गानभजन सहित स्वागत गर्न आईपुग्छन् । अनि सबै समूह पंक्तिबद्ध भएर देउदारा सहित दोलखा शहर परिक्रमा गर्ने गर्छन् र तल्लो टोलको कोर्छें स्वयम्भू चैत्यबाट दुईवटा समूह छुट्टिएर आआफ्नो गन्तव्यमा लाग्छन् ।

फाईल फोटो– कालिञ्चोकबाट दोलखा फर्कर्ने क्रममा स्थानिय वासिन्दाहरु

त्यसपछि थाकेर आएका सो समुहका व्यक्तिहरु आआफ्नो घर गएर नौ थरीका गेडागुडीको तातो झोल र मासुको परिकारहरु संग खाना खाएर दिउँसो ठुलो लाखे नाच्न र नचाउन तयार हुन्छन् । त्यही नौ थरीका गेडागुडी पकाएर तातो तातो झोल खानपिन गर्ने भएकोले नै यो दिनलाई क्वाती पुन्हिस पनि भनिन्छ । अर्थात् ’ क्वाकु’ को अर्थ तातो र ’ ती’ को अर्थ झोल हो । तर यही शब्दलाई उपत्यकाको नेवारहरुले ’क्वाटी’ भन्ने गर्छन् । यही दिन नौ थरीका गेडागुडी पिउने खाने, नौ थरीका नयाँ कपडाहरु नौ दिनसम्म लगाउने र नौ थरीकै जात्रा गर्ने गराउने हेर्ने भएकोले नै यो जात्रालाई गुँन्ला जात्रा भनिएको हुनसक्छ । यसको रहस्य नेपाली संख्या नौलाई नेवारीमा ’गुँ’ वा ( गुगर, गुता ) हुने भएकोले र ’ ला’ भन्नाले नेवारी महिनामा साउन र भदौको मध्य समय या महिना हो । त्यसैले यस अवधिको जात्रालाई “ गुँन्ला जात्रा भनिन्छ ।

ऐतिहासिक शहर दोलखा स्थित तल्लो टोलमा आज पौडी खेल्नको लागि तयारी अवस्थामा राखीएको रानी पोखरी ।

दिउँसो निकालिएको लाखेलाई ठूलो लाखेको रुपले चिनिन्छ । अघिल्लो ११–१२ दिन नचाइने लाखेको रुपको बनोटमा फरक छ यस लाखेको । ठूलाठूला आँखा, गोला अनुहार र झ्याम्म चउर लाएको यसको स्वरुप हेर्दो नै भयावह देखिन्छ । यसरी निकालिएको लाखे करीब २–३ घण्टा नाचेपछि बजारको पश्चिम भागमा रहेको राइती (तीनधारा) को सामुन्ने रहेकोे नारायणको मन्दिरको प्राङगणमा भएको यज्ञ र होमको अवलोकन गरेर फेरि फर्केर तल्लो बजारको समिपमा रहेको पोखरीमा पौडी खेलेको हेरेर राजकुलेश्वर अगाडिको डबलीमा नाचेर अन्तिम पटक नृत्य अभिनय बदलेर एउटा खुट्टाले टेकेर मृदङ्ग तालमा नाचेपछि सो टोलमा लाखे जात्राको अन्त्य हुन्छ । यसपछि हरेक डबली र गुठियारहरुको घर आँगनमा नाचेर साँझ पख यस वर्षको लाखे जात्रा समापन हुन्छ ।

ऐतिहासिक शहर दोलखा स्थित तल्लो टोलमा आज पौडी खेल्नको लागि रानी पोखरीलाई सिंगारीन्दै स्थानिय युवाहरु

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment