Search

रहस्यको गर्भमा द्वाल्खा (अभयपुर) नगरका दुई पोखरी !

रहस्यको गर्भमा द्वाल्खा (अभयपुर) नगरका दुई पोखरी !

खोजतलास

बिके श्रेष्ठ “अभयपुर पासा”
एउटा त्यस्तो धरातल ! जहाँ स्वर्ग, मत्य र पाताल तीनवटै लोकको आभास हुन्छ । लाग्छ त्यो धर्ती भित्र अनगिन्ती विचित्रको संसार छ । त्यो संसार भित्र रुमल्लिन अपुरो भएझैं लाग्छ, सपनाहरु अधुरै भए जस्तो लाग्छ, जन्म लिएर पनि जन्मस्थलको त्यो परिवेशको गर्भाशय भित्र छिचोल्दै मूल जड र तत्वलाई चिनेर पहिचान दिलाउन असक्षम भएझैं लाग्छ, मात्रै ढोलक, झ्याम्टा, शहनाई, गुजरति, घुँघरु, डमरु, खिं, ताल र बउल को घम्साघम्सी बजाईमा हाम्रा कान रमाएर तालमा ताल खुट्टा हल्लाउँदै संस्कृतिको पर्याय उच्चारण गरेर परम्पराको व्याख्यान गर्दै आफूलाई महान् साँस्कृतिक पूर्वाधारको परिचय दिलाएझैं लाग्छ ।

यसो मातृभूमि र मातृभाषाको मौलिकता भित्र रमाउँदैमा म त्यो पूण्यस्थलको पुर्णभक्त नहुँला कि जस्तो पनि लाग्छ । हाम्रा जन्मदाता जननीको काखमा जन्मेर बामे सर्दै खेलेर हुर्केको आँगनमा कस्ता खालका इँट्टाहरु छापिएका थिए । कसरी छापियो ? कताबाट ल्याए ? कतिदिनमा ल्याए ? जबकि त्यो समयमा न कुनै प्रविधिको विकास भएको थियोे, न कुनै विशाल यन्त्र नै थियो, न हिजोआजको जस्तो क्रेन, स्काईभेटर, डोजर, ट्रिपर, ट्रक नै थियोे, मात्रै थियो त मानवीय ज्यान, मानवीय बुद्धि, सीप र शक्ति अनि सामुदायिक एकता, त्यसपछिका महत्वपूर्ण कुरा हातमा हात र काँधमा काँध मिलाउने आत्मसातका जीवन्त आवाजहरु ।

न त त्यतिबेला तमासे थिए । न त हिजोआज झैं चाकडी चाप्लुसी गरेर तिकडमबाजी गरेर खुट्टा तान्नेहरुको जमात नै थिए । जे थियो हिजो सभ्यता र संस्कृति जोगाउनुको लागि छाती खोलेर ज्यान दिनेहरु थिए । तर आज संस्कृति र सभ्यताको कुरालाई लोभ र लालचको कुण्ठित भावना बोकेर संकीर्ण र संकुचित मानसिकताको उपज उमारेर देवस्थल, तिर्थस्थल र सामाजिक एवम् धार्मिक स्थलका पाटो, बाटो र माटो नै मिचेर अनी खिंचेर र थिचेर आफ्नो निजीकरण गर्नेहरूको समाजसेवी अनुहार देख्दा आफूलाई त्यो धरातलीय सन्तान भनेर पहिचान दिलाउन कता कता लाज लागेर आउँछ ।

आफ्नो धरातलमा रहेका सम्पदाको सकारात्मक बयान गर्नुपर्नेमा मेरै पूर्खाको, मेरै बाजे बराजूको पैतृक सम्पत्ति भनेर अहिले अड्डी कस्नेहरुले यत्ति कुरा किन जानेनन् कि यदि ती सम्पत्तिहरु उनीहरुको पूर्खाहरुकै थिए भने किन छाडेर गए ? किन साथमा लगेर गएनन् ? किनकि त्यतिबेलाका पूर्खाहरूमा यस्तो दिव्यशक्ति थियोे कि सात डाँडा जोडेर तीनदिनको बाटो एकैदिनमा हिंडेर अड्डामा हाजिरी जनाउँथे रे, त्यस्तो वीर साहसीका सन्तानहरुले सार्वजनिक मन्दिर, डबली, चोक, धारा, पोखरी, कुवा र कुलोलाई आफ्नो पूर्खाको बिर्ता भन्दै मिचेर निजीकरण गर्दै जाँदा ती ऐतिहासिक सम्पदाहरुको अस्तित्व भावी सन्तानहरुका लागि “एकादेशका कथा” हुन बेर नलाग्ला कि ! यसै सिलसिलामा प्राचीन नगरी दोलखाको इतिहासको पानामा लेखिएका र देखिएका दुईवटा महत्वपूर्ण पोखरीको बारेमा आज इतिहासमै सिमित नरहोस् र युगान्तकारी रहोस् भन्ने कामनाका साथ केही सम्भाव्य रोचक तथ्य यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

माथिल्लो टोल पाखलतीको ईन्द्र राज सरोवर पोखरीः
दोलखा अभयपुर नगरको माथिल्लो नयाँ बस्ती पाखलतीको उत्तरपश्चिममा रहेको छ एक सुन्दर ’ईन्द्र राज पोखरी’ छ । जुन पोखरीलाई हामीले माथिल्लो पोखरी नामले जान्दछौं । यसलाई पौराणिक र धार्मिक रुपले खासै महत्त्व दिएको पाइंदैन । तर भौगोलिक र व्यावहारिक रुपले यो पोखरी अत्यन्तै महत्वपूर्ण छ । जहाँबाट दोलखा शहरको मध्य दक्षिणपूर्व सम्मका खेतबारीमा सिंचाइका लागि जीवनदान नै हो । यस पोखरीमा पानी जम्मा गर्ने श्रोतको रुपमा एउटा राजकुलो थियोे, जुन राजकुलो सदरमुकाम चरिकोट नजिकैको अँधेरी खोला (स्थानीय दोलखाको नेवारी भाषामा खिंगौ झोर) बाट पानी ल्याएर यहाँ जम्मा गरिन्थ्यो । हिउँदे बालीको लागि यो पोखरीको पानी अमृतरुपी जीवनजल नै हो भन्दा फरक नपर्ला । उक्त अँधेरी खोलादेखि दोलखाको सो पोखरी सम्म ल्याएर जोडिएको कुलोलाई नै राजकुलो भनिन्छ ।

यो राजकुलो इतिहासमा केलाउने हो भने लिच्छविकालीन् सभ्यताको पहिलो चरणमै बनाईएको हुनु पर्छ । अझ भन्नुपर्दा ईसापूर्व बुद्ध धर्मको प्रचार हुनेबेलामै यो राजकुलो निर्माण गरिएको भन्ने भनाई रहेको छ । किनकि जब मञ्जुश्री लुम्बिनीबाट बुद्ध धर्मको प्रचार गर्दै नेपालको उपत्यका हालको काठमाडौं उपत्यकामा पुगेर काठमाडौं उपत्यका खाल्डोमा जमेको पानी निकासीका लागि अनुसन्धान गर्दैजाँदा शिवपुरीको डाँडामा बसेर अनुमान लगाउँदै त्यो ठाउँको पानीलाई चोभारको डाँडा पहाड काटेर पानी बाहिर निकासी गर्न सकिएमा उक्त तलाउको छत्रछायामा मानव बस्तीका लागि उपयुक्त सम्भावना देखेर नै मञ्जुश्रीले बुद्धिमता पूर्वक योजना बिस्तार गर्न श्रमिकहरुको खोजी गर्दै जाँदा शिवपुरी पहाडबाट साँखुको बज्रयोगिनी मन्दिर भन्दा माथिल्लो भाग जहाँ मणिचुड पर्वत छ त्यहाँ रहेको शिवकुण्डबाट यात्रा गर्दै नगरकोटको महादेव पोखरी भएर भक्तपुर (भादगाउँ) को कमलकुण्ड (हालको कमल पोखरी) क्षेत्र भएर नाला हुँदै धुलिखेलमा बाँस बसेर फेरि काभ्रेपलान्चोक भगवती थान भएर सिन्धुपाल्चोकको चौतारा नजिकैबाट बाह्रबिसे धारेढुंगा खरिढुंगा हुँदै विभिन्न ठाउँमा पानीको श्रोतको मुहानलाई नियालेर कालिन्चोकको भूतपोखरी गणेश ट्वापर भएर दोलखाको अँधेरी खोलाको मुहानमा पुगेर निरीक्षण गरीकन हाल दोलखाको मन्जेश्वरी टुप्पामा पुगेर विश्राम गरेको देखिन्छ ।

जब मञ्जुश्री दोलखाको उक्त ठाउँमा पुगे, विश्राम गरे, त्यतिबेला त्यो ठाउँ घना जंगल, साँघुरो बाटो र सिमित बस्ती भएपनि त्यहाँ रहेका आदिवासी नेवार जातीहरुको चहलपहल अनि भीमेश्वर मन्दिर परिसरमा केही मानव बस्ती देखेका थिए । जतिबेला त्यो शहरमा बुद्ध धर्म सम्बन्धि चर्चा नदेखिने नसुनिने तर भगवान प्रति आस्था राख्ने केही अल्पसंख्यक अशिक्षित मान्छेहरुलाई बुद्ध धर्म प्रचार गरेको हुनसक्छ भन्ने अनुमान दोलखा शहरको माथिल्लो भाग हालको पाखलतिको बीच भागमा रहेको बज्रयोगिनीको सानो प्रतीकले जनाएको देखिन्छ ।

यस्तोमा मञ्जुश्रीकै माध्यमबाट त्यहाँ सानो स्तुपाको निर्माण गरेर बुद्ध धर्मको प्रचारप्रसार गरेर नै दोलखाको विभिन्न ठाउँमा बौद्धका स्तुपा र चैत्यको निर्माण हुनसक्ने देखिन्छ । यसै सन्दर्भमा चैत्य त बनाउने तर जुनसुकै काम गर्नकोलागि पानीको आवश्यक पर्ने हुँदा श्रोत त खोज्नै पर्ने भो, यसैक्रममा पानीको मूल मुहान खोज्दै जाँदा हालो ईन्द्र पोखरीको उत्तरीभागको कुनामा सानो कुवा जस्तो तलाउ देखिन थाल्यो र उक्त बुलबुले कुवाको पानीलाई खेर जान नदिन नजिकै खाल्डो बनाएर पानी जम्मा गरिएको र सोही जमाएको पानीको खाल्डो नै कालान्तरमा पोखरीमा परिणत गरेर दैनिक कामकाजको लागि, मठ, मन्दिरको निर्माण लगायत सिंचाइका लागि पनि उपयुक्त देखिएकाले अलि व्यवस्थित तरिकाले बनाईएको भन्ने भनाई रहेको छ ।

यसरी बनाईएको उक्त पोखरीमा त्यो सानो कुवाको पानीले मात्रै थेग्न गाह्रो परेकाले उनै मञ्जुश्रीकै सल्लाह र आदेशमा नै अलि ठूलै पानीको श्रोतको आधारमा अँधेरी खोलादेखि कुलो बनाएर दोलखाको सो पोखरीमा जम्मा गरेको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

अब त्यहाँ स्थापित कुवाको चर्चा गरौं :
उक्त ठूलो पोखरीमा भएको सानो कुवाबाट आएको पानीलाई बुढापाकाहरुले कालिन्चोक भगवती माताले दोलखाली जनताको प्यास मेटाईदिने अभिप्रायःले पहाडको भित्री भागबाट आफ्नै कुण्डको जल सेचन गरेर पठाएको हो भन्ने अनुमानित किंवदन्ती बनाएको पाईन्छ । यसरी पहिले पहिले बाह्रै महिना पानी निरन्तर आईरहेको थियोे । तर पछि बर्खायाममा धारा नै बनेर आउने हिउँदमा सुक्दै गएको थियो । यसलाई पुर्खाहरुले गोदावरी कुण्डको रुपमा मान्दै आएको कुरा मलाई पनि केही हदसम्म याद छ ।

तर दुःखलाग्दो कुरा हिजोआज उक्त कुवा भनौं या कुण्डलाई बेवास्ता गरेर जथाभावी फोहर फ्याकिएको र धारालाई समेत कुनै चासो नदिकन चारैतिरबाट हक अधिकारको भाषा प्रयोग गरेर आफ्नै नाममा नापी गराएर प्राकृतिक र पौराणिक सम्पत्तिमाथि हदबन्दी गर्न खोजिरहेको थियो । यो कतिसम्मको सत्य हो या असत्य हो त्यो त निरन्तर रेखदेख गर्ने सम्बन्धित व्यक्ति निकायले बुझ्नुपर्ने कुरा हो । यदि यस्तो प्रकृति र संस्कृति संग सम्बन्धित छ भने स्थानीय समाजसेवी, सामाजिक संघ संस्था, बुद्धिजीवी, स्थानीय जन प्रतिनिधि सबैले आपसी समझदारीमा सरसल्लाह गरेर पौराणिक र साँस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न सबै एक जुट हुन जरुरी छ ।

हिजोआज यो पोखरी नजिकै शिव मन्दिर, कृयापुत्री बस्ने घर र हल समेत बनेको छ, यसैबीच यो गोदावरी कुण्डमा पनि सम्बन्धित पक्षको ध्यान जावस् भन्ने विशेष अनुरोध छ । अघिपछि यहाँको पानीलाई सिंचाईकालागि र भवितव्यता आकस्मिक घटना र दुर्घटनाको लागि मात्रै सदुपयोग गरिए पनि यस पोखरीलाई दोलखाको सुन्दर तलाउको रुपमा सृजना गरेर आन्तरिक पर्यटकलाई समेत आकर्षण गर्ने थलोका रुपमा लोकप्रिय बनोस् यही छ शुभकामना छ ।

तल्लो टोलको रानीपोखरी :
यो पोखरीको महत्व धार्मिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अपरिहार्यता छ, यसको प्रमुख मुहानको स्रोत त माथिल्लो ईन्द्र पोखरी नै हो, जुन पोखरीलाई रानीपोखरीको नामले प्रचलित छ । माथिल्लो पोखरीबाट बगेर आएको पानी यसमा जम्मा गरिने हो । दूरीको हिसाबले करीब सवा किलोमिटरको फरक होला, तथापि यस पोखरीमा पनि एउटा अविरल पानी बग्ने इँट्टाले बनाएको नहर थियोे । जुन अत्याधुनिक हिम पाईप भन्दा नि निकै बलियो र आकर्षक पनि थियोे । एकताका हालको राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय बनाउने क्रममा जग खन्ने बेलामा ती इँट्टाको गोलाकार पाइपले सो पोखरीमा पानी ल्याएर भराइने काम भएको रहेछ भन्ने बुझिन्थ्यो भने सोही पाइप राजा रानीको दरबार रहेको बहार टोल सम्म लगिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

त्यो पाइप हेर्दा उहिलेका मानिसमा भएको सीप, कला कौशलताको वर्णन गरि नसक्नु देखिन्छ । उक्त स्थानमा अझै उत्खनन गरेर हेर्ने हो भने दोलखा उत्पतिको वास्तविक रुपरेखा पत्ता लगाउन सहज हुनेछ । त्यो इँट्टाको नहर बनाएर लगिएको पाइप सो पोखरीबाट पानी अन्त लगिएको हो वा अन्यत्रबाट त्यहाँ पानी ल्याइएको हो खोजको विषयमाथि अनुसन्धानको आवश्यक छ । त्यसै गरि सो विद्यालय निर्माणको क्रममा जग खन्ने बेलामा बुद्ध र शिवका मूर्तिहरु पनि फेला परेको थियोे । जसको प्रत्यक्षदर्शी म स्वयं छु । जतिबेला म मात्रै ११ वर्षको थिएँ ।

अब लागौं पोखरीको धार्मिक महत्व । प्रत्येक जनैपूणिर्माको दिन यहाँ हर्षोल्लासमय हुन्छ, ठूलो लाखे, पौडीबाजहरुको रोमाञ्चक दृश्य यो दिन देखिन्छ । अघिपछि करीब सुनसान हुने यो परिवेश त्यो दिन जुरमुराउन थाल्छ, कतिबेला ती दृश्यहरु हेर्न पाउने हो भन्ने उत्सुकता छाईरहन्छ, त्यस्तो के छ र त्यहाँ भन्ने रहस्य थाहा पाउन स्वयं उपस्थित भएर हेर्दा अझ रोमाञ्च थपिनेछ । त्यसैले सबैलाई हृदयदेखि खुल्ला आमन्त्रण गरेर आजलाई विश्राम लिने अनुमति मागें । अस्तु ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!