Search

“सेङ्कु च्वङन्“ द्वाल्खा नेवारी भाषाको गीत – एक सन्देश – एक विवेचना भिडियो सहित

“सेङ्कु च्वङन्“ द्वाल्खा नेवारी भाषाको गीत – एक सन्देश – एक विवेचना भिडियो सहित

दोलखा भन्दा जति प्रचलित र लोकप्रिय स्थलको नामको स्मरण हुन्छ । सायद ’अभयपुर’ भन्दा कमैलाई थाहा होला कि यो ठाउँ कहाँ होला, कस्तो होला भनेर । तर यो अभयपुर प्राचीनताको पहिचान भएको शहर बस्तीको नाम हो, जुन ठाउँलाई अधिकांशले ’द्वाल्खा’ अर्थात् दोलखा भनेर चिन्दछन् ।

यही अभयपुर शहरमा भएको स्वयम्भू चैत्यहरुको पहिचानले दोलखा पनि बौद्ध धर्मको लागि अति लोकप्रिय बनेको छ भन्ने स्पष्ट थाहा हुन्छ । यही अभयपुर शहरमा बिराजमान भएको प्रसिद्ध साक्षात भीमेश्वर भीमसेनको मन्दिर रहेको धार्मिक पवित्र भूमिलाई ताजा स्मरण गराउँदै यहाँ भएको अत्यन्तै लोकप्रिय धार्मिक परम्परागत भैरवकुमारी नृत्यनाटकको जीवन्त इतिहास बोकेर दोलखाको पहिचान दिलाउन खोजिएको छ यो कर्णप्रिय गीतले ।

यस गीतमा राखिएका शब्दहरुले दोलखा भीमेश्वर, कुमारी जात्रा र हरियाली मञ्जुश्री पार्क र ति हरियाली पहाडको संक्षिप्त परिचय सहितको प्रेममय भाव झल्काइएको छ । जसमा नव किशोर किशोरी बीचको यौवनमा नव मिलनको प्रारम्भिक चरणको हृदयस्पर्शी भाव झल्केको पाईन्छ ।

यस गीतमा दर्शाइएको गीतको भावले दोलखा अभयपुर शहरको मध्य भागमा अवस्थित बौद्ध चैत्यमा बसेर एक किशोरीले मुसुमुसु हाँसेर आफ्नो मनको भाव व्यक्त गर्दै नवप्रेमीलाई देखेर भीमेश्वर मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मनको राजकुमारलाई प्रसाद दिंदै आफ्नो जीवन नै समर्पित गरेको कुरा राखेर मुस्कुराउँदै लाज व्यक्त गर्दै लुकामारी खेलेर बसेको भाव जनाएको छ ।

यसै गरी आफ्नो प्रेमी मन्देश्वरी सरस्वती थानमा जाने बेलामा प्रेमिकाले खोज्दै भेट्न गएको अनि मीठामीठा कुरा गरेर अजम्बरी माया लाउने कुरा व्यक्त गरेको छ, यसरी उनीहरू बीचमा भएको अगाध प्रेममय मिलन पश्चात् द्वाल्खा शहरमा भएको अनेकौं जात्रामा सम्मिलित भएर प्रेमलाई गहिराइसम्म पु¥याउनु खोजेको देखिन्छ । जसमा वर्तमान यो गुँन्ला जात्रामा सञ्चालित भैरवकुमारीको जात्रा हेर्न आफ्नो प्रेमी आएको खबर पाएर ती प्रेमिका उसलाई खोज्दै गएको अनि भेटिसकेपछि जात्राको माहोलमा देखिएको भिडमा केही भयभीत बनेर प्रेमीको हात समातेर मिलनमा आबद्ध भएको पाईन्छ ।

यो गीतमा भनिए जस्तै भीमेश्वरको दर्शन, प्राकृतिक दृश्यले भरिएको मन्देश्वरीको भ्रमण र स्थानीय मौलिक परम्परागत जात्रालाई समेटर दोलखाको पहिचान दिलाउन सक्दो प्रयास गरिएको छ । जसको लागि गीतका रचनाकार डा. भानु श्रेष्ठ हुनुहुन्छ । उहाँ हाल कोरियामा हुनुहुन्छ । यसै गरी यस गीतलाई डा.भानुले नै संगीत दिनुभएको छ भने यसलाई सुमधुर स्वरमा गाएर मन्त्रमुग्ध बनाउनमा यसै दोलखा अभयपुरका नवोदित गायक दिपक स्वप्निलको ठूलो देन रहेको छ ।

रचनाकार डा. भानु श्रेष्ठ बाल्यकालदेखि नै गीतको शब्द संयोजन र संगीतको गहिराइमा डुबेर बस्ने सशक्त बुद्धिवान व्यक्ति हुनुहुन्छ । उहाँ संगीत साधनमा मेन्डुलम बजाउन खूब रुचि राख्ने युवा हो । पढाइमा अब्बल दर्जामा भएको कारणले नै हाल कोरियामा अध्ययन सकाएर उतैको महा–विद्यालयमा प्राध्यापकको भूमिका निभाइरहनु भएको छ ।

यसरी दोलखाको नेवारी भाषाको विकास क्रममा द्वाल्खा नेपाल भाषा खलकको प्रकाशन र त्रिलोचलन प्रधानको संयोजनमा “स्याउदाई” नामको पहिलो गित निकालिएको थियो । यसै गरी भीमेश्वर नगरपालीकाका वडाध्यक्ष विराजमान श्रेष्ठको शव्द र अनी दिपक स्वप्नीलको स्वरमा “ईतार” नामको दोश्रो गित प्रकाशनमा ल्याएको छ । त्यसै गरी यो तेश्रो पटकमा फेरी डा. भानु श्रेष्ठ र दिपक स्वप्नील कै सक्रियतामा “सेङकु च्वङन” नामको तेश्रो गित प्रकाशनमा ल्याएको छ ।

यसै गरी चौथो पटक भानु श्रेष्ठको सक्रियतामा “द्वाल्खाय म्ये” नामको सिडि प्रकाशनमा आएको छ । कालिञ्चोक युवा क्लव दोलखाको सहयोग र त्रिलोचन प्रधानको सक्रितामा “भाग्यमानी” गित पाँचौ पटक निकालिएको छ । यसरी स्याउदाईदेखि भाग्यमानीसम्मको गितको बोलले दोलखाको नेवारी भाषाको विकास क्रममा भईरहेको सहयोगलाई सम्मान गर्नुका साथै यी अभियानमा लाग्ने दोलखाका युवावर्गहरुलाई हामीले सहयोग र सद्भाव राख्नु पर्ने आजको आवश्यकता रहेको छ ।

स्मरणीय रहोस् डा. भानु श्रेष्ठ भीम माध्यमिक विद्यालयका पूर्व शिक्षक स्वर्गीय श्यामकृष्ण श्रेष्ठका माहिला छोरा हुन् । उहाँका पिता पनि धार्मिक भजन, नाटक र सामाजिक कृयाकलापमा पोख्त व्यक्ति हुनुहुन्थ्यो ।

यसै गरी गायक दिपक स्वप्निल पनि सानैदेखि गीत गाउनमा माहिर युवा हो । दोलखाको भीम माध्यमिक विद्यालयमा अध्ययन गर्दा देखि नै हरेक कार्यक्रममा सुरिलो स्वरले गीत गाएर सबैलाई मख्ख पार्ने वजनदार किशोर हो ।

हाल उनले दोलखा नेवारी भाषामा र नेपाली भाषामा थुप्रै गीत र भजन गाएर जन्मभुमि दोलखाको प्रतिष्ठालाई गरिमामय बनाएको छ । भारतीय च्यानल “सारेगमप” मा दमदार गीत गाएर दोलखाको गरिमा बढाएकोमा उनलाई साधुवाद सहित नमन गर्नमा कञ्जुस्याईँ गर्न उचित नहोला । उक्त कार्यक्रममा उनले “हे दिल दिल दिवाना….” भन्ने गीत गाएर सबैलाई उत्साहित बनाएको थियो ।

यसरी हाम्रो दोलखाको यो अविस्मरणीय धरातलमा अनेकौं प्रतिभाले जरा गाडेको छ । यस्तो प्रतिभावान दोलखाका युवाहरुलाई बाँपिझ्याला अनलाइन पत्रिका मार्फत हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment