नेपाली हिन्दु धर्मावलम्बीको एउटा विशेष पर्व जनैपूणिर्मा ! वर्षायामको यो अवसरमा केही बादल, केही घाम, केही वर्षाको मिश्रित वातावरणमा हरियाली बहारको परिधिभित्र मनाउँदै आएको विशेष चाड हो जनैपूर्णिमा । यसलाई कतै जनैपूणिर्माको रुपमा मनाइन्छ त कसै तागाधारीहरु जो ब्राह्मण, क्षेत्रीय वर्गमा हुन्छन् उनीहरूले यो दिनमा जनैलाई फेरेर नयाँ जनै लगाएर अझै नयाँ साहस, शक्ति र कल्याण आजमाउनका लागि ईश्वरसंग आराधना गरेर मनाइन्छ ।
तराईका थारु, यादव, महतो, चौधरी, गुप्ता समुदायले यही दिनमा सहोदर र मान्य दाजुभाइलाई दिदीबहिनीले सुस्वास्थ, दिर्घायु र उत्तरोत्तर उन्नतिशील जीवनको कामना गरेर रोगव्याधि, दशा ग्रहबाट मुक्ति मिलोस् भनेर प्रार्थना गरेर रक्षाका खातिर राखी बाँधेर आराधना गरिने पूजा उत्सवको रुपमा “ “रक्षाबन्धन” या “राखी बन्धन” को रुपमा मनाइन्छ चलन रहेको छ । यस प्रकारको रीतिरिवाजलाई असल र उत्तम मानेर हिजोआज अन्य वर्ग जातीले पनि यस पर्व मनाउन थालेका छन् ।
विशेषतः नेवार जातीयता भित्र भने “क्वाती पुन्हिस” अर्थात क्वाती पुन्हि (तातो झोल पिउने पूर्णिमा) को रुपमा मनाउँदै आएका छन् । यो दिनलाई उपत्यका लगायतका नेपालभाषा बोल्ने नेवार र मोफसलका नेवार जातीहरुले यो चाडलाई ’गुँपुन्हि’ भनेर मान्ने चलन रहेको छ । यसै गरी दोलखा जिल्लाको ऐतिहासिक साँस्कृतीक शहर भीमेश्वर नगरपालिका भित्रका नेवार समुदायले ’गुन्ला पुनिस’ र सिन्धुपाल्चोक जिल्लामा रहेका तौथली, दुती जेठल र लिस्तिमा रहेका नेवारहरुले ’गुनिला पुन्हि’ भनेर मान्दै आएका छन् ।
आँखिर जहाँ जसले जसरी जे नाम दिएर यो चाड मनाए तापनि यो हामी सबैको मौलिक र साँस्कृतिक परम्परा हो । यसलाई हामीले जिवन्त राख्न जरुरी छ । रहनसहनमा समय अनुसार परिवर्तन भएपनि आफ्नो मौलिकता र सम्पदाका प्रतीकलाई परिवर्तन गर्न हुन्न । किनकि यो हाम्रो जातिय मौलिक र धरातलीय पहिचान हो ।
यो जनैपूणिर्मालाई दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ को ऐतिहासिक साँस्कृतिक द्वाल्खा शहरमा ’गुन्ला पुनिस’ को रुपमा मनाउँदै आएका छौं । यो दिनदेखि कृष्णाष्टमीको दिनसम्म लगातार ९ दिनसम्म विभिन्न जात्रा र झाँकीको प्रहसन र प्रदर्शन गरेर मनाउने गरेकोले नै सायद हाम्रा पुर्खाले “ गुन्ला पुनिस” भनेका हुन् कि !! त्यो कसरी भने यही पूर्णिमाको दिनदेखि कृष्ण अष्टमीको दिनसम्म ठ्याक्कै ९ दिन जात्रा हुनेगर्छ, स्थानीय दोलखाको नेवारी भाषामा ९ दिनको संख्यालाई ’गुन्हु’ भनिन्छ, अनि ला भनेको नेपालभाषाको हिसाबमा साउन र भदौको बिचको समयलाई ’ला’ अर्थात् महिना भन्ने गरिएकोले नै ’गुन्हुला’ भन्दाभन्दै यो चाड वा जात्रालाई ’ गुन्ला ’ भनिएको भन्ने भनाई रहेको छ ।
यो बेलामा तत्कालिन अभयपुर दोलखा शहरभित्र जात्राको जुन रौनकता देखिन्छ त्यसको वर्णन गरेर साध्य नहोला । यसका लागि जात्राको प्रत्यक्ष नजर लगाउनु नै उचित हुनेछ । आफ्नो आँखाले देखिएका कुरालाई लेखिएका शब्दहरुले धित नमर्ला जति त्यो शहरको टोलटोलबाट निकालिएका विभिन्न खालका लाखे जात्रा, खरी प्याखन, नृत्य, नृत्यनाटक, राजनीतिक प्रहसन, ख्याली, झ्याली, रोपाइँ नृत्यले मनलाई आनन्दित तुल्याउने गर्छ ।
यसरी दिनमा मात्रै होइन रात्रिकालीन समयमा पनि बेकारमा दोलखा पुगेछु भन्ने नैराश्यपन हुदैन । गाईजात्राको बेलुकी पखको कृष्णलीला “ट्वाकल प्याखन” र भोलिपल्ट अर्थात् द्धितियाको दिनको रातिदेखि षष्ठीको रातीसम्म लगातार ५ रातसम्म चारै प्रहर मनग्ये मनोरञ्जन दिने रात्रीकालिन आफ्नै मोलिक र ऐहिासिक विशेषता रहेको भैरव कुमारी जात्रा हेर्नको लागि एकपटक साँस्कृतीक शहर द्वाल्खा पुग्नको लागि यहाँहरु सवैमा आग्रह सहित अनुरोध गर्दछौं ।
यसै गरी यसपाली यही भदौ ४ गते नै दोलखा पुगेर ५ गतेको उच्च पर्यटकिय एवं धार्मीक अस्थित्व बोेकेर बसेको कालिन्चोक भगवतीको दर्शन र प्रार्थनाका लागि जाने दोलखाको दुईवटा डापा खलक समुहको बाजागाजा सहितको झाँकी हेरेर जनैपूणिर्माको दिनमा हुने सोही बाजागाजा समुह सहभागी बनौं ।
यसै गरी द्वाल्खा शहर परिक्रमा र ठूलो लाखेको अलौकिक प्रदर्शन, होम यज्ञमा गरिएका मौलिक परम्परा अनि ऐतिहासिक दोलखा शहरको तल्लो टोलमा रहेको रानी पोखरीमा ख्याली र पौडीवाजको पौडथी प्रतियोगिता हेर्नाका लागि सबैजना तम्तयार हुन पनी अनुरोध गर्दै जनैपूणिर्मा र ’गुन्ला पुनिस’ २०७८ को शुभकामना सहित सम्पूर्ण दोलखावासी, ऐतिहासिक शहर दोलखा अनी यस बाँपिझ्याला अनलाइन पत्रिकाको तर्फबाट हार्दिक आमन्त्रण सहित सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई ऐतिहासिक साँस्कृतीक शहर दोलखामा हुन गईरहेको गुन्ला पर्वमा सहभागी हुन स्वागत गर्दछौं ।