Search

दोलखा जिल्ला सुनखानीदेखि साङ्बासम्मको ३० किलोमिटर सडक कालोपत्रे हुने

दोलखा जिल्ला सुनखानीदेखि साङ्बासम्मको ३० किलोमिटर सडक कालोपत्रे हुने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको उत्तरी भेग जोड्ने सुनखानी–साङ्वा सडक कालोपत्रेका लागि बहुवर्षिय ठेक्का लगाउने तयारी भएको छ । कालिञ्चोक गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन डिपीआर गरिसकेको उक्त सडकको ३० किलोमिटर खण्ड कालोपत्रे हुने भएको हो । वाग्मती प्रदेश सरकारले संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीमा कालिञ्चोक गाउँपालिका हुँदै विगु गाउँपालिका पुग्ने मुख्य प्रवेशमार्ग कालोपत्रे गर्न लागेको सिन्धुपाल्चोक स्थित भौतिक पुर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका ईन्जिनियर रविन खातीले कालोपत्रेका लागि प्रदेश सरकारले १० करोड ७७ र संघीय सरकारले १० करोड ७७ लाख गरी कुल २१ करोड ५४ लाख रुपैयाँ बजेटको अख्तियारी प्राप्त भैसकेको जानकारी दिए । उनका अनुसार बहुवर्षीय ठेक्का अन्तर्गत पहिलो चरणमा लेप्टुङको दूधपोखरी पहिरोदेखि सोरुङ खोलासम्मको सडक क्षेत्रमा कालोपत्रेको काम अघि बढाईनेछ ।

पुर्वाधार विकास कार्यालयले प्राविधिक सर्वेक्षणका आधारमा कालोपत्रेका लागि वोलपत्र आव्हान गर्ने तयारी गरेको छ । त्यसका लागि लेप्टुङदेखि सोरुङसम्मको डिजिटल सर्वेक्षणको काम भैरहेको छ । सर्वेक्षण प्रतिवेदनका आधारमा बहुवर्षीय ठेक्काको कुल लागत स्टिमेट तयार हुनेछ । आयोजना सम्पन्न गर्न झन्डै ७० देखि ७५ करोडसम्म खर्च हुने अनुमान छ ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले प्रदेश र संघीय सरकारसँग निरन्तरको अनुरोधपछि यो वर्ष वहुवर्षिय ठेक्का लाग्ने निश्चित भएको बताउनु भयो । ‘पालिकाको बजेटबाट सडकको कालोपत्रे सुरु गरिसकेका छौं, उनले भने तर गाउँपालिकाको स्रोतबाट मात्रै सम्भव नभएकाले संघ र प्रदेश सरकारलाई अनुरोध गरिएको हो, उनले भने ।’

सुनखानीदेखि साङ्बासम्मको करिब ४० किलोमिटर सडकमध्ये डिपीआर भएको ३० मिलोमिटर सडक कालोपत्रे हुने भएको हो । गाउँपालिकाले आफ्नै बजेटबाट गएको आर्थिक वर्ष सुनखानीको भदौरेदेखि लेप्टुङको सुँगुरेसम्म ४ किलोमिटर सडकखण्ड कालोपत्रे गरिसकेको छ । यसअघि एसियाली विकास बैंकको सहयोगमा उक्त सडक खण्ड स्तरोन्नतिसहित चौडा गरिएको थियो । सोरुङ खोलादेखि साङ्बासम्मको झन्डै १० किलोमिटर सडकको डिपिआर गर्न बाँकी छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!