Search

विश्वभर चर्चित नम्बर पजल सुडोकूका सर्जक माकी काजीको निधन

विश्वभर चर्चित नम्बर पजल सुडोकूका सर्जक माकी काजीको निधन

भदौ १, बाँपीझ्याला, टोकियो एजेन्सी। विश्वभर चर्चित नम्बर पजल सुडोकूका सर्जक ६९ वर्षको माकी काजीको निधन भएको छ । यसै गरी काजीको निधन अगष्ट १० मा टोकियोस्थित उनकै घरमा भएको बताइएको छ । उनको मृत्युको पुष्टि काजीको कम्पनीले मंगलवार गरेको हो । उनी पित्त नलीमा क्यान्सरको समस्यासँग जुधिरहेका थिए ।

उनी गडफादर अफ सुडोकु भनेर चिनिन्थे । शुरुमा जापानमा मात्रै सीमित रहेको सो पजलको लोकप्रियता बेलायती पत्रिका द टाइम्समा सुडोकू प्रकाशित भएपछि विस्तारै विश्वभर चुलियो । सन् २००६ यता वार्षिक रुपमा विश्वस्तरीय सुडोकु प्रतिस्पर्धा हुँदै आएको छ ।

केइओ विश्वविद्याल पढिरहँदा बीचमै पढाई छाडेर काजीले जापानको पहिलो पजल पत्रिका शुरु गरेका थिए । उनले सन् १९८३ मा निकोली नामक कम्पनीको स्थापना गरे । सुडोकुको विकास पनि उनले त्यति बेला तिर नै गरेका हुन् ।

यस वर्षको जुलाईसम्म उनी सोही कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका थिए । निकोलीले सय भन्दा धेरै सञ्चार कम्पनीहरुलाई मौलिक सुडोकु पजल उपलब्ध गराएको छ । यीमध्ये १० विदेशी सञ्चार कम्पनी थिए । काजीकी एक श्रीमति र दुई छोरीहरु छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!