Search

साँखु शंखरापुर

साँखु शंखरापुर
प्रकाशमान श्रेष्ठ

संस्कृति, परम्परा देशको गहना हो । कुनै पनि समुदायको आफ्नै मौलिक परम्पराहरु जस्तै जात्रा, मेला, पर्व आदि उनीहरुका सम्पदा र संस्कृति हुन् । त्यस परम्परा र संस्कृतिले उक्त जाति, समुदायहरुको सभ्यताको पहिचान गर्दछन् । हाल नेपाल मण्डल भित्र विभिन्न जात्रा, पर्व उत्सव चलिरहेका छन् । बसन्त महोत्सव श्री पञ्चमीदेखि सुरु हुने जात्रा पर्वहरु पनौतिको भद्रकाली र भैरवको जात्रा सम्पन्न भईसकेपछि मात्र अन्त्य हुन्छ ।
पिशाच चतुर्दशीदेखि काठमाडौँ उपत्यकाबाट सप्तमातृका देवीहरुको जात्रा सुरु भएपछि भक्तपुर, ठिमी, बोडे, साँखु, बज्रवाराही आदि स्थानमा देवी देवताहरुको भव्य जात्रा हुन्छन् । भैरव र भद्रकालीको पुनर्मिलन समागमको प्रतिक विश्वध्वजोत्थान लिंगो ठड्याउने जात्रा साँखु, भक्तपुर, श्रीखण्डपुर, साँगा, टोखा लगायतका नेवार सम्प्रदायहरुले चलाउँदै आईरहेका छन् । सपना तिर्थ मेला, बाघद्वार मेला, नागचापाख मेला, मणिचुड मेला, साँखु चाँगु मेला, गुँलापर्व आदि नेपाल मण्डलका संस्कृति परम्पराहरु हुन् ।

साँखुको बज्रयोगिनी जात्रा, भक्तपुरको भैरव भद्रकाली जात्रा, बज्रवाराही देवीको जात्रा, बनेपाको चण्डेश्वरी जात्रा, दोलखाको भीमसेन जात्रा तथा रातो मत्स्येन्द्रनाथको रथ जात्रा, पाटनको बुँगमतिको पनि रातो मत्स्येन्द्रनाथको जात्रा, जमलको सेता मत्स्येन्द्रनाथको रथ जात्रा, असनमा सप्तमातृकाको खट जात्रा जस्तै यस हप्ताभरि सातगाउँको जात्रा नामले प्रख्यात परम्परागत चाँगु, इन्द्रायणी, आलापोट, सुन्दरीजल, न्हुगाँ, कोतगां, गोकर्ण स्थानमा आ–आफ्नै परम्परागत देवी देवताहरुको जात्रा सुरु भइरहेको छ । गणेश, ब्रम्हायणी, इन्द्रायणी, भैरव, उत्तरवाहिनी देवी जाली देवता, जाःद्यः जस्ता स्थानीय देवी देवताहरुको भव्य जात्रा गर्दै रमाईलो गर्दैछन् ।

सातगाउँको जात्रामा बैशाख कृष्ण पक्ष चतुर्दशी मातातिचह्रेको बेलुका देखि माई झर्ने जात्रा सुरु हुन्छन् भने औँसीको दिन रातभरी मूल जात्रा गरिन्छन् । चाँगुमा छिन्नमस्ता देवी तथा किलेश्वर महादेवको जात्रा सहित मूल रथ यात्रा हुन्छन् । कान्तिभैरव स्थानबाट भैरवको खटयात्रा, भातको देवता भनिने जालुद्यःको जात्रा गरिन्छन् । त्यस कार्यको लागि चाँगुका पूजारी वर्ग भँडेल समुदायहरुको प्रत्यक्ष सहभागिता हुन्छन् । उक्त जात्रा पर्वको समापन बैशाख शुक्ल पक्ष अक्षय तृतियाका दिनमा सम्पन्न हुन्छन् ।

मातातिर्थमा मातृसम्मानको प्रतिक भव्य मेला जात्रा सम्पन्न हुन्छ । सुन्दरीजलको स्थानीय कोतगाँ म्येस्याख्यःमा पनि भव्य जात्रा हुन्छ । गोकर्ण पारी टुपिया, टुसाल, वस्की गाउँहरुमा बैशाख पूर्णिमाका दिन जात्रा पर्व हुन्छन् ।

सनातनकालदेखि चलिआईरहेका धर्म कर्म काण्डलाई नै पछि आ–आफ्नै विशेष धर्मका नाम दिएर विशेषताहरु थपिँदै लगेर समयानुकूल परिवर्तन गर्दै गए । सुरुमा साँखु बज्रयोगिनी देवीको जात्रा पर्वमा ठूलो छानायुक्त खट थियो भने हाल छाना हटाईएका खट जात्रा गरिन्छ । त्यस्तै डालोमा देवी देवताका मूर्ति राखेर पिठ्यूँमा बोक्दै नगर घुमाउने, गाउँ घुमाउने जात्रालाई सानो खटमा राखेर बाजागाजाका साथ भव्य जात्रा गर्ने प्रचलन चल्दै गयो ।

पश्चिमी नेपालको गौरापर्वमा त्यस्तो दृश्य आजसम्म देख्न सकिन्छ । काठमाडौँ उपत्यकामा पनि आ–आफ्नै कूलदेवताको मूर्तिलाई खमू डालोमा बोकेर बाजागाजाका साथ जात्रा चलाईने दिगुपूजा गर्ने चलन देख्न सकिन्छ ।

आफ्नो परम्परा जोगाउन स्थानीय निकायबाट आर्थिक सहयोग गरि त्यस्तो संस्कृति परम्परा जोगाउन सहयोग भईरहेको देख्न सकिन्छ । हुनतः गुठी संस्थानबाट समेत केही खर्च पाउने व्यवस्था गरिएको भएतापनि गुठी संस्थानले दिने रकम समय सापेक्ष नभएकोले स्थानीय निकाय, समाजसेवी, व्यापारीहरुसँग चन्दा उठाएरै भएपनि हाल आफ्नो संस्कृति जोगाउन लागिपरेका छन् यहाँका नेवार समुदाय ।

लोप हुन लागेका संगीत बाजागाजा तथा गीतको संरक्षण र सम्वद्र्धन गर्न टेवा दिन आवश्यक छ । परम्परागत बाजा, गीत र संगीतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्दछ । त्यसकोलागि अनुभवि अगुवा गीत नाईके संगीत नाईके, नृत्य निर्देशकहरुबाट अन्य पुस्ताले सिक्ने प्रयास गर्नुपर्दछ । अन्त्यमा यस भेगका जात्रा पर्वमा खटयात्रा गर्ने देवी देवताका नामहरु यस प्रकार छन् ।
– साँखुमा बज्रयोगिनी जात्रामा स्वयम्भू चैत्य, सिंघिणी, ब्याघ्रिनी र बसुन्धरा जात्रा
– इन्द्रायणी (चुगाँ) श्रीगणेश तथा ब्रम्हायणी र इन्द्रायणी खट जात्रा ।
– चाँगुमा छिन्नमस्ता किलेश्वर, जाद्यः र भैरव जात्रा
– न्हुगाँमा श्री गणेश जात्रा
– आलापोटमा श्री गणेश जात्रा
– गोकर्णमा उत्तरबाहिनी देवी जात्रा र जाद्यः जात्रा
– जोरपाटीमा चामुण्डा देवी जात्रा
– टुपिया, टुसाल, वस्कीमा अजिमाद्यः जात्रा आदि प्रख्यात जात्राहरु हुन् ।
– प्रतिक्रियाको लागि [email protected]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!