Search

लिगका रत्न मानिएका लियोनल मेस्सी विना नै स्पेनी ला लिगाको नयाँ सिजन शुक्रबारबाट सुरु

लिगका रत्न मानिएका लियोनल मेस्सी विना नै स्पेनी ला लिगाको नयाँ सिजन शुक्रबारबाट सुरु

काठमाडौं बापीझ्याला । स्पेनी ला लिगाको नयाँ सिजन शुक्रबारबाट सुरु हुँदैछ । त्यो पनि लिगका रत्न मानिएका लियोनल मेस्सी विना नै । केही वर्षअघि युरोपकै बलियो मानिने लिगबाट मेस्सीले बिदा लिएका छन् । ला लिगाका लागि मेस्सी बर्हिगमन सर्वाधिक अनपेक्षित खबर रह्यो ।

ला लिगाबाट मेस्सी खोसिँदा सो लिगको स्तर खस्किएको पुष्टि हुन्छ । स्पेनी लिग कमजोर बनिरहेको छ भन्ने दाबीलाई बल पुर्‍याउने अर्को प्रमाण पनि छ । त्यो हो उसको खराब आर्थिक अवस्था । कोभिड–१९ महामारीका कारण ला लिगाले गत सिजन करिब दुई अर्ब युरो घाटा व्यहोर्यो । बार्सिलोना एक्लैको ऋण पनि एक अर्ब २० करोड युरो पुगिसकेको बताइन्छ ।

ला लिगाले आर्थिक संकटसँग जुध्न केही उपाय अबलम्वन गर्न चाहिरहेको छ । तीमध्ये, खेलाडीहरूको तलब सीमा तोक्ने एउटा अस्त्र हो । ला लिगाले नयाँ लगानीकर्ताको पनि खोजी गरिरहेको छ । यही योजना मुताबिक ला लिगाले गत साता मात्रै आफ्नो १० प्रतिशत शेयर बेच्‍ने निर्णय गरेको छ । अमेरिकी कम्पनी सीभीसीलाई ला लिगाको व्यापारिक आम्दानीको हिस्सेदार बनाउन लागिएको हो । तर आउँदो ५० वर्षसम्मका लागि मात्र । ला लिगाले निर्णय गरिसकेको भएपनि यसबारेमा आउँदो बिहीबार मतदान हुँदैछ ।

ला लिगाको निर्णयमा रियल म्याड्रिड र बार्सिलोनाको भने सहमति छैन । उनीहरुको भनाइ छ, आफूहरूको आम्दानीको हिस्सा ला लिगाले सीभीसीलाई जिम्मा लगायो । फेरि यी दुवै क्लब सुपर लिग योजनाका सदस्य हुन् । सुपर लिगको उदेश्य बढी भन्दा बढी आम्दानी नै हो । मुख्यगरी युरोपका ११ ठूला क्लब आपसमा प्रतिस्पर्धा गर्ने र त्यसबाट हुने आम्दानी बाढ्ने, सुपर लिगको योजना हो ।

मेस्सी र केहि वर्षअघि युभेन्टस गएका क्रिस्टियानो रोनाल्डो विनाको ला लिगा कमजोर मान्न सकिए पनि यसले समग्र स्पेनी फुटबलमा असर परेको भने होइन । स्पेनमा एक सय एक युवा खेलाडी उत्पादन भइरहेका छन् । युरो र ओलम्पिक फुटबलमा स्पेनको प्रदर्शन हेर्दा आउँदो सिजन कयौँ युवा खेलाडीको उदय हुने देखिन्छ । सायद यस्तै अनुमानका कारण हुनसक्छ, स्पेनी क्लबहरु यसपटकको सरुवा बजारमा ठूलो खर्च गर्ने पक्षमा देखिएका छैनन् ।

बरु रियल र बार्सिलोना जस्ता क्लबहरु पनि ‘फ्रि(ट्रान्सफर’मा खेलाडी भित्र्याइरहेका छन् । सन् २०१४ देखि २०१८ सम्म प्रत्येक सिजन च्याम्पियन्स लिगमा एक छत्र नियन्त्रण जमाएका यी क्लबहरुले आफ्ना स्थापित स्टारहरुसँग नयाँ सम्झौता गर्न सकेनन् । जसरी बार्सिलोना कप्तान मेस्सीले क्लब छाडे त्यसरी नै रियलका कप्तान सर्जियो रामोस पनि स्पेन बाहिर पुगे । दुवै खेलाडीको नयाँ गन्तब्य पीएसजी नै बन्यो ।

आफ्ना स्टारहरु गुमाए पनि अन्य क्लबका स्टारहरुलाई भने बार्सिलोना र रियलले आर्कषित गर्न छाडेका छैनन् । बार्सिलोनाले सर्जियो अग्वेरो र मेम्पिस डिपे लगायतका स्थापित खेलाडी अनुबन्ध गर्दा रियलले बायर्न म्युनिखबाट डेभिड अलाबालाई खासेको छ । किलियान एमबाप्पे समेत रियलसँग जोडिएका छन् ।

खेलाडीहरुले छाडेको कुरा गरिरहँदा भुल्न नहुने अर्को बर्हिगमन जिनेदिन जिदानको हो । रियलमा उनको स्थान लिएका छन्, कार्लो एनसिलोट्टीले । दोस्रो पटक रियलका प्रशिक्षक बनेका जिदानका अघि केही चुनौती छन् । सरुवा बजारमा सधैँ ठूलो खर्च गर्ने गरेका रियलको यसपटक शान्त छ । एनसिलोट्टीलाई नयाँ खेलाडीहरुलाई टिममा कसरी उपयोग गर्ने भन्ने तनाव छैन । बरु भएकै खेलाडीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा चिन्ता छ । विशेषगरी ग्यारेथ बेल, मार्टिन आडेगार्ड र डानी सेबालोस जस्ता खेलाडीहरुका बारेमा एनसिलोट्टीको निर्णय के हुन्छ रु यसमा सबैको चासो छ ।

जब आर्थिक संकटको आँधीले क्लबहरुलाई छोप्छ, तब उनीहरुले आफ्नो स्थान नगुमाउनु नै उपलब्धी हो । यसको उदाहरण हो, एथ्लेटिको म्याड्रिड । च्याम्पियन प्रशिक्षक डिएगो सिमओनेलाई निरन्तरता दिएको एथ्लेटिकोले इटालियन क्लब रोड्रिगो डे पौउललाई अनुबन्ध गरेको छ ।

एथ्लेटिको बाहेक सेभिया पनि सरुवा बजारमा एक हदसम्म सक्रिय देखिएको छ । गत सिजन चौथो स्थानमा रहेको सेभियाले सुसोलाई स्थायीरुपमै अनुबन्ध गरेको छ भने टोटनहमबाट एरिक लामेलालाई भित्र्याएको छ । खेलाडी खरिदमा मात्र होइन विक्रीमा पनि सेभिया सक्रिय हुन चाहिरहेको छ । उसको लक्ष्य रक्षक जुल्स कौन्डेलाई महंगो रकममा बेच्ने हो । चेल्सी लगायतका क्लब कौन्डेसँग जोडिएको छ ।

गत सिजन शीर्ष चारमा पर्न नसकेको रियल सोसिडाडले पनि खेलाडी थपेको छ । उसले इंग्लिस क्लब बर्नमाउथबाट फुलब्याक डिएगो रिकोलाई स्पेन फर्काएको हो । साढे तीन वर्ष सोसिडाडमा रहिसकेका प्रशिक्षक इमानोल अलुगावासिलले यस पटक सोसिडाडलाई च्याम्पियन्स लिगमा छनौट गराउने अपेक्षा गरिएको छ । शीर्ष चारको दौडको अर्को दाबेदार क्लब भिल्लारियल पनि हो । युरोपा लिग जितेको भिल्लारियलले जुवान फोयथ, बौलाए डिया लगायतका युवा प्रतिभामाथि लगानी गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!