Search

भीमेश्वर नगरपालिकामा फिल्म सिटी – चलचित्र नगरी

भीमेश्वर नगरपालिकामा फिल्म सिटी – चलचित्र नगरी

बालकृष्ण श्रेष्ठ “पासा”
जमानामा ७०० घरे, ४ थरि, ४ गुठियारहरुको पौराणिक शहर दोलखा अभयपुर । समग्रमा दोलखा जिल्लाभरिकै लागि खुशीको खबर दिनानुदिन प्राप्त हुँदै जाँदा सम्पूर्ण दोलखा जिल्लावासीको लागि खुशी नलाग्ने कुरै भएन, एक त दोलखा भीमेश्वर नगरपालिका साक्षात भीमसेन देवको नामले नै परिचित, अर्को महत्वपूर्ण कुरा नेपालको इतिहासमै पहिलो चाँदीको सिक्का त्यो पनि दोलखाकै नामांकित गरि तत्कालीन मल्ल राजा जय ईन्द्रसिंह देवको पालामा बनेको भन्ने स्पष्टता भएको र नेपाल र नेपालीको हितको लागि लिच्छविकाल देखि नै भोट र नेपालको व्यापारिक दौत्य सम्बन्ध सुमधुर बनाउनको लागि मन्जुश्री स्वयं पैदल यात्रा गरेको नेपालको विभिन्न इतिहासमा देखिंदै, पढिदै र सुनिंदै आएका कुरालाई नकार्न सकिन्न ।

दोलखाको नामाकरण संगै जोडिएका दोलखामा भएका प्रायःजसो सबै नगरपालिका र गाउँपालिकामा खोतल्ने हो भने सबै ठाउँमा बिकासले फड्को मारिरहेको छ । माथिल्लो तामाकोसीमा विद्युत उत्पादन भए लगत्तै सडक बिस्तारले दुर्गम ग्रामीण बस्तीलाई नजिक तुल्याएछ भने, “ल्हासामा सून छ कान बुच्चे” भनेर उखान लाउँदै गालामा हात लाएर बस्नुपर्ने अवस्था छैन, कर्मशील साहस र मनमा अदम्य भरोसा लिएर मेहनत र लगनशील शक्ति हुनेहरूले सून लाउनको लागि ल्हासामा नै पुग्नुपर्छ भन्ने छैन भन्ने उदाहरण दोलखामा देखिएको विकासले देखाई रहेको छ ।

अब त झन् भीमेश्वर नगरपालिका भित्र नै इन्जिनियरिङ कलेज, अस्पताल, रंगशाला जस्तो अत्यावश्यक भवन र मैदानहरु बन्न थालेको छ । ऐतिहासिक साँस्कृतिक सम्पदाको संरक्षणको लागि भीमेश्वर नगरपालिकाको वडा नं २ मा ऐतिहासिक संग्रहालय, भैरव कुमारीको परम्परागत जात्रालाई नियमित राख्नको लागि बनाउँदै गरेको नयाँ भवनले समेत दोलखाको आकर्षणमा निकै वृद्धि भैरहेको छ ।
अब दोलखाको अनुहारमा अझै चमक थपि दिनको लागि र दोलखा जिल्लाकै नाम र सौन्दर्यतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनका लागि फिल्मसिटी चलचित्र नगरी नै निर्माण हुने कुरा परिपक्वताका साथ आवश्यक संरचना निर्माण प्रकृया अगाडि बढिसकेको कुराले आम दोलखा जिल्लावासीमा अधिक प्रसन्नता छाएको छ ।

यस कुरालाई विगत एक दशक अगाडिदेखि भीमेश्वर नगरपालिका वडा नं.२ मा जन्मनु भएर काठमाडौंलाई कर्मक्षेत्र बनाएर सानैदेखि कलाकार र कथा वाचनमा पोख्त हुनुभएका वरिष्ठ कलाकार, समाजसेवी एवं जेष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष समेत रहनु भएका आदरणीय मदनदास श्रेष्ठले जुन लगनशीलता दर्शाउनु भएको छ । उक्त कार्यको लागि उहाँलाई धन्यवाद नदिइरहन सकिन्न । दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. ८ र ९ मा पर्ने लाकुरी डाँडा र डाङडुङे डाँडा क्षेत्रमा सर्वेक्षण गरेर बनाउन लागेको यो योजनाको डिपिआर तैयार गरिसकेर प्रस्तावलाई केन्द्रीय स्तरमा कुरा राख्दा तत्कालीन सोही जिल्लाका सम्बन्धित मन्त्रीहरुले समेत त्यत्ति चासो र उत्सुकता नदेखाएकोमा वरिष्ठ कलाकार मदन दास श्रेष्ठलाई अति नै दुख लागेको थियो ।

झन् त्यसमाथि निवर्तमान प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले “२ घण्टा पनि घाम नलाग्ने ठाउँमा पनि फिल्म सिटी बनाउन सुहाउँछ ? यो हुनैसक्दैन र बनाउन मिल्दैन पनि भन्ने जस्ता गैरजिम्मेवार पूर्ण वक्तव्यले अधिकांश दोलखा जिल्लावासीलाई साह्रै नै नमज्जा लागेको थियोे । देशको सम्मानित वरिष्ठ पदमा रहेका व्यक्तिले देशको विकासको कुरामा यस्तो कुरा गरेर नैतिकताको पराकाष्ठा नाघ्नु दुःखद कुरा हो ।
अहिले केन्द्रीय सरकारले खुलेर सहयोग गर्ने वचन नआएपनि वागमती प्रदेश सरकारको मार्फतबाट भीमेश्वर नगरपालिकाले उक्त फिल्मसिटी दोलखाको लागि प्रशासनिक भवन, प्रवेशद्वार र केही प्रावधानको लागि भनेर ३ करोड ५० लाख रकम विनियोजन गरेर काम अगाडि बढाउँदै गरेको थाहा हुँदा खुशी लाग्नु अस्वाभाविक नहोला ।

हुन त उक्त चलचित्र नगरीको सम्पूर्ण काम सकिनका लागि तैयार गरिएको डिपिआर अनुसार अनुमानित बजेट २ अर्ब ७५ करोड लाग्ने अनुमान गरिएको छ । यस चलचित्र नगरी (फिल्मसिटीमा) ७६.२५ हेक्टर जमिनको आवश्यक पर्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । यस कार्यक्रममाथिको प्रस्तावलाई भारतीय राज्यको मुम्बईका चलचित्र संग सम्बद्ध रहेका केही लगानीकर्ताले पनि उत्सुकता देखाएको कुरा पनि आदरणीय वरिष्ठ कलाकार मदन दास श्रेष्ठले बताउनु भएको छ ।

उक्त डाङडुङे डाँडा र लाकुरी डाँडाबाट मनोरम प्राकृतिक दृश्यले भरिएका हिम शृंखला, चैत बैशाखमा फुल्ने राताम्मे लाली गुराँस र रंगीचंगी चिमाल फुल र ऐसेलु चुत्रो अनि पंक्षिहरुमा कालिज र मुनाल समेत हेर्न सहजरूपमा पाईन्छ । नजिकै रहेको निगाले मुडेको आलुको लागि पनि लोकप्रिय रहेको त्यो परिसरमा चाँडै नै चलचित्र नगरी (फिल्म सिटी) तैयार भएको देख्न पाईयोस् । आयोजना वर्गलाई सफलताको शुभकामना ।

हुन त दोलखा जिल्लामा २ वटा नगरपालिका बनेको छ । भीमेश्वर नगरपालिका दोलखाको हकमा हेर्नुपर्दा कालिन्चोक भगवती मन्दिर दर्शन गर्न विगतमा पैदल गईन्थ्यो, समयको परिवर्तन संगसंगै प्रविधि र सीपको विकास र प्राज्ञ अनि प्राविधिकहरूको दिव्य दृष्टिकोणले मोटर चल्ने बाटो र केबुलकार सञ्चालनका कारणले दूरीलाई नजिक ल्याएसंगै स्वदेशी तथा विदेशी पर्यटकलाई र कालिन्चोक भगवती माताको जलकुण्ड हेर्न र दर्शन गरेर चीरायू सुस्वास्थको कामना अनि आशिर्वाद लिनको लागि जतिपनि भक्तजनहरुको आवागमन भैरहेको छ । यसबाट पनि हामीले यो कुरा जान्न जरुरी छ कि समयको मागलाई मानव जातिले पूरा गर्दं लानुपर्छ ।

अर्कोतिर मौलिकता र परम्परालाई यथावत राख्नुपर्छ भनेर मठ, मन्दिर, गुम्बा र चैत्यहरुलाई उही पुरानो र जीर्ण नै राख्ने होइन कि त्यसकै प्रारूपले उही स्वरुपमा जिर्णोद्वार गरिरहन जरुरी छ । यदि शायद २०७२ सालमा भयावह भुकम्पले दोलखाका अधिकांश घरहरुमा क्षति नपु¥याएको भए शायदै कमै परिवर्तन हुन्थ्यो होला दोलखाको शहरी स्वरुप । यसको अर्थ बस्ती र सम्पदाको नवीन नौलो देखिनलाई दैवीय प्रकोपले नै सताउनु पर्छ, तर्साउनुपर्छ भन्न खोजिएको चाहिँ होइन । बेला बेलामा प्रकृतिले जानकारी र सूचना दिंदादिंदै पनि मानव जातिले बुझ पचाएरै अटेरी भैदिंदा अकालमा मृत्यु र धनजनको क्षति भएको हेर्न विवश हुनुपरेको छ, यो पाठ सबैले सिक्न जरुरी छ ।

अब भीमेश्वर नगरपालिकाको अधिकांश ठाउँमा विकासको बिरुवाहरु उत्पादन हुँदै गएको छ । सदरमुकाम चरिकोटमा भएको अत्याधुनिक महलहरुले विकासको एक नमूना देखिएको छ । झन् यही नगरपालिकाको वडा नं.२ को नारायण देवघाट मार्गमा पर्ने हरित नगर (करण्डी) मा बन्न लागेको इन्जिनियरिङ क्याम्पसले दोलखालाई अझै विकासको स्वर्णिम अनुहारमा बदलिनेछ । त्यसैगरि दोलखा शहरभित्रको भीमेश्वर भण्डार भवन्, संग्रहालय, त्रिपुरा सुन्दरीको मन्दिर, भैरव कुमारीको मन्दिर लगायत टोलटोलमा भएको परिवर्तनले भीमेश्वर नगरपालिकाले काँचुली फेरिरहेको छ ।

अझै पनि दोलखा शहरको दक्षिण पश्चिमीभागमा रहेको तल्लो टोलको श्यामसुन्दर नारायणको मन्दिर जिर्णोद्वार गर्नको लागि स्थानीय निकाय, पूरातत्व विभाग र समाजसेवीहरुको ध्यान जानू जरुरी छ । सामाजिक धरातलमा रहेको सम्पत्तिलाई व्यक्तिगत अधिकारको कुरा राखेर सांस्कृतिक सम्पदालाई हडप्न खोज्ने व्यक्तिको नीच प्रवृत्तिलाई सबैले नकार्न जरुरी छ, अलिकति टाठाबाठा भएर सार्वजनिक स्थलमा स्वामित्व जताउन खोज्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ यसको लागि सामाजिक जनजागरणको आवश्यक पर्छ र समाजले पनि न्यायोचित आवाज उठाउनुपर्छ ।

कुनैकुनै योजना कतैबाट कसैले ल्याएर अर्थात् चाहे त्यो नेपाल सरकारको मातहतमा आएको योजना होस् चाहे गैरसरकारी संघ संस्थाले प्रायोजन गरेको होस् , यदि त्यस्ता योजनाले आफ्नो टोल, समाज, सांस्कृतिक एवं धार्मिक स्थल बनेर ठाउँ सुन्दर हुन्छ र विकास अनि उत्पादनमूलक कार्य हुन्छ भने प्रत्येक नागरिकले हृदयदेखि स्वागत गरेर आत्मसात् गर्ने बानी बसाल्नु पर्छ, तब त्यो ठाउँको विकास हुन्छ र सबैलाई सबैले श्यावासी दिनेछन् । अस्तु !

२०७८/०४/२३
काठमाडौं ,जोरपाटी ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!