Search

व्यंग्यात्मक तीतो : “टिकटक”.. ठिकठाक कि टकनटाट !

व्यंग्यात्मक तीतो : “टिकटक”.. ठिकठाक कि टकनटाट !

बालकृष्ण श्रेष्ठ “पासा”

प्रकृतिले समय अनुसार रंग बदलेर मानवमा जति चेतना दिलाएपनि मानवीय सोचाइमा कहिल्यै पनि समवेदनशीलता जागृत नहुँदा कहिलेकाहीँ प्रकृति यति क्रुर हुन्छ कि जसको कारण मान्छेहरु निधारमा धाप लाउन पछि पर्दैनन् । अनि… “हे भगवान मैले के पाप गरें र, आज यो दिन दशा देख्नु पर्यो” भनेर आफ्नै थाप्लोमा हातले बजार्छन्, ताकि त्यही मान्छेलाई थाहा हुदैन कि मैले समयलाई सही सदुपयोग गरिन र त्यसको फल भोग्दैछु भनेर, समय कति बलवान् हुन्छ भनेर शायद कुस्ती लड्ने पहलवानलाई पनि थाहा नहोला ।

हिजोआज हाम्रो परिवेशमा चलेको “टिकटक” जात्राले समयको भरपूर सदुपयोग गरेको देखिन्छ, यस्तो सम्म व्यस्त बनाएको छ कि “टिकटक” ले कपडामा आइरन लगाउँदै “टिकटक” बनाउन थाल्दा कपडा भ्वाङ परेर नयाँ डिजाइनमा परिणत गरिदिन्छ । तरकारी बनाउँदै “टिकटक” मा क्यामेरा तेर्साउने क्रममा मोबाइललाई नै डाडु सम्झिन बेर लाउँदैनन् । अझ कोही त बाटोमै हिंड्दा हिंड्दै “टिकटक” निर्माण गर्ने किशोरीहरुको त कुरै छाडौं न, हिंड्दै क्यामेरामा आँखा झिम्काउँदै जाँदा कोहीसंग ठोकियो भनेपनि उनीहरूकै आवाज ठूलाठूला हुन थाल्छ…सुगुरको मुख जस्तो चुचो गर्दै मोवाईललाई किस खान खोज्ने नव अर्धवैश्य किशोरीहरुको त कुरै छोरौ “बरु आँखा छैन कि क्या हो त्यत्तिकै ठेलेर हिन्छ… गालामा चड्काम् जस्तो …. “उल्टै गाली दिन पछि पर्दैनन्, “टिकटाक” को लागि दिनको दुईजोड लुगा लगाएर हिड्नेहरुको पनी यहाँ कमी छैन भन्दा नौलो नहोला ? यस्तो लाग्छ कि “टिकटक” नै सडक, “टिकटक” नै सर्वस्व जस्तो लाग्छ, घरमा रहने ३०–३५ को अर्धवैश्य किशोरी मात्रै हो र,…हिजोआज त ५५–६० की आन्टीहरु पनि पछि परेका छैनन् हो, “ल ल नानी एउटा “टिकटक” बनाई हालुम् त..“भनेर टिशर्ट पैण्ट ढल्काएर…” नाईँ नाईँ बाबा मनले मान्दैन.. मेरो पछि कोही पनि आउँदैन…“भनेर कम्मर मर्काउँछन् त गाँठे …!

अझ आफ्नो बुढेसकालकी बुढीले त्यसरी “टिकटक” मा नाचेकी देखेर बुढोपनि के कम र, सेतै दाह्री जुँगा मुसार्दै…“ईसाराले बोलाउनु पर्दैन… माया भए बोलाउन पर्दैन..“भन्दै बुढीतिर लहसिन थाल्छ त तेसका बाजेहरु त…!

यतिमात्र कहाँ हो र अहिले त सरकारी कार्यालयका कर्मचारीले समेत झ्यालबाट चियाउँदै अर्काको घरको छततिर हेरेर आफ्नै मोबाइल तेर्स्याउँदै…“एकफेरा हाँसेर बोली दिए पो, यो दिल तिम्रै लागि साँची राखेको..“भनेर मस्कि दिन्छन् त.. बिचरा उसलाई के थाहा र अर्को कुनाबाट आफ्नै साथीहरूले मोबाइलमा त्यही दृश्य कैद गरेर छिचिमिरे पत्रुकारसम्म पु¥याउनेछ भनेर, अनि जब युट्युबबाट अफिसको कर्मचारीले यसरी तलब पकाउँछन् भनेर भाइरल बनाउँदा पो बाउको बिहे र आमाको रत्यौली देख्छन् त !

“टिकटक” लाई सामान्य बालप्रतिभा झल्काउने हिसाबले सदुपयोग गरे त हुन्थ्यो नै, पुरै अंग पर्दर्शन गरेर तल्लो पेट माथिल्लो सुँगुरे भुँडी समेत देखाएर रजहाँस जस्तै हिनेर…“लौ आईज सक्छौ…? “भन्ने किसिमको संवाद बोलेर छाती तेर्साएर कसलाई कुन प्रतिस्पर्धामा निम्त्याएको हो बुझ्न गाह्रो छ हो हामीलाई…! अनि बुढाको अफिस जान ढिलाइ, सासूलाई औषधि खुवाउन ढिलाइ.. ससुरालाई खाजा बनाउन ढिलाई, बच्चाहरुलाई टिफिलन पू¥याउन ढिलाई त्यस्ता बुहारीलाई गाली नदिए कस्तालाई दिने त कुरो बुझ्नु भो… ! ? यदि यो प्रश्न त्यही बुहारीलाई गरि हालियो भने “टिकटक” बाटै जवाफ दिन बेर छैन है हिजोआजका बुहारीले यसरी…“मेरो बुढालाई मकहाँ पठाईदे सासू, धेरै बाँच्न मन छ भने…“भन्न बेर छैन है सासूआमाहरु सजग हुनुहोला…!

अहिले “टिकटक” विदेशतिर प्रायः जसो बन्द भैसकेको अवस्था छ तर नेपालमा दिनप्रतिदिन फस्टाउँदै गैरहेको छ, यो कुनै मौलिकता होइन, न त हाम्रा लागि भौगोलिक रुपमा नै सुहाउँदो हो, समयको परिवर्तित अवस्थालाई उछृङ्खलमा होइन कि समसामयिक विषयमाथि मध्यनजर राखेर कला संस्कृति झल्काउने सोच राखेर अगाडि बढनु समुचित होला, परम्परालाई नै धज्जी उडाउने हिसाबले कुनै मनोरञ्जन गर्नु गराउनु भनेको अनुशासनको खिल्ली उडाउनु हो, उल्टो श्रीमान्ले मेरो श्रीमतीले सुत्ने बेलामा पनी “टिकटाक”, उठ्ने बेलामा पनी “टिकटाक”, खाने बेलामा पनी “टिकटाक” भनेर मख्ख पर्ने श्रीमान्हरुको पनी कमी छैन यहाँ ।

बालबालिकालाई मनोबैज्ञानिक ज्ञान हासिल गर्नसक्ने क्षमताको वृद्धि होस्, ताकि प्रकृति, संस्कृति र विकृतिको फरक छुट्टयाउन सकोस् । हिजोआज समयको यति अपमान भएको छ कि बालबालिकालाई भन्दापनि अभिभावकलाई नै पाठ पढाउनुपर्छ जस्तो लाग्छ, यदि कोही कोही अभिभावकलाई….“ छोराछोरीलाई यस्तो कुरा गर्न दिनुहुँदैन सचेत गराउनुपर्छ…“भनेर सुझाव दिन खोजियो भने उल्टै झपार्न थाल्छन् “तिमीहरूले पाल्नुपर्ने हो र ! हाम्रो बच्चा हो, हामी जेसुकै गरौंला.. धेरै मास्टर हुनुपर्दैन…“भन्ने खालका जवाफ नआउला भन्न सकिन्न । जब कुनै अप्रिय घटना घट्न पुग्छ त्यतिखेर पनि गल्तीको महशुस गर्दैनन् बरु उल्टै… “त्यही फलानोको आँखा लागेर यस्तो भएको नि..“भनेर अझै चोखिन खोज्ने हाम्रो समाजमा जनचेतनामूलक अर्धबैश्य बुहारीहरुको कमी छैन यहाँ, नेवारी खाजाघरमा पनी त्यही टिकटाकको निहु, मःम पसलमा पनी त्यही टिकटाकको निहु, पार्कमा पनी त्यही टिकटाकको निहु, बच्चालाई स्कुलमा खाजा पु¥याउन जानेबेलामा पनी त्यही टिकटाकको निहुमा भेट, धन्य छ टिकटाक तिमीले हरेक जातजातीको पैतलादेखि शिरसम्म अनी मुटुलाई जोडेको छौं । तसर्थ यी सवै कुरामा कार्यक्रममार्फत सन्देश दिन अत्यन्तै जरुरी रहेको छ ।

“टिकटक” यथार्थमा चीनले बच्चाहरूलाई सामान्य मनोरञ्जन होस् र खेलकुद, संगीतबारे अभिरुचि जगावस् भनेर बनाएको हो, न कि अश्लील फिल्महरु बनाएर समाजलाई असर पर्ने अनैतिकताको परिधिभित्र धकेल्न खोजेको होस् । अस्तु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!