Search

असामान्य मध्यान्तर

असामान्य मध्यान्तर

एउटा विखण्डित चलचित्र,
शायद अन्त्य नहोला यो,
किन्तु, परन्तु र भवतुमा,
अल्झनु सिवाय रहेन केही,
तुक्का, मुक्का र हुक्कामा..
अट्याक अट्टालिकामा,
नायक खलनायकको अपारदर्शितामा,
चलचित्र ओहोरदोहोर गरेको छ !

कहिले नायिका..
बुझपचाउँदै व्यङ्ग्य हाँसो छर्छे,
कहिले लाज पचाउँदै मुस्कुराउँछे,
यता दर्शक बिचरा..
कन्फ्युजनमा…
इसाराको पार्श्वध्वनि,
महानायकको वाणमय शंखध्वनि,
मानौं कि…
बार्दलीमा प्रिमसयर शो भैरहेको छ,
चपली महलमा रिहर्सल,
खुमल्टारमा संवाद प्रशिक्षण,
शितल महलमा सर्वेक्षण‘
अनि‘
थ्रीलर एक्शनको पर्खाइमा,
कान तेर्साएर उभिंदो छ !

असामान्य प्रवृत्तिको दृश्य हेर्न,
अबुझ जनदर्शकहरु….
पर्दा विहीनता छ दृश्य,
चोइटिएका इज्जतलाई,
ढाक्न खोजिए झैं छ,
चारकोसे झाडीका स्याउलाहरुले,
संविधान जलाउने हातलाई,
पदको मलमले बेह्रिएको छ,
लाठी, भाला र भट्टा भुलिएको छ,
इंटाका भट्टाहरु,
पराले मूठाहरु,
फलामे साङ्लोका साङ्केतिक बारुदी,
यहाँ प्रतिबिम्बित बनिरहेको छ,
देशका दृश्य परिदृश्यहरु‘ज्ञ्

कुन एक्शन लिने हो त..
हिउम्हका ढिकालाई पनि,
धोतीका सप्काले छोपिएको छ,
दृश्यले फड्को मारेको छ,
फालिएको थुक चाटिएको छ !

अब त…
अब त धारा उपधाराको पाइप पनि,
अक्सिजनको सिलिन्डरमा जोडिएछ क्यारे,
शब्द पनि ध्वंस ध्वस्त हुनलागेछ,
त्यसैले त..
चलचित्र अपवाद बनेको छ,
हेरौं त वाक्क दिक्क भएको छ,
नहेरौं त खाई नखाई टिकट खरीद गरिएको छ,
कर राजस्वको भौचरमा..
हिजो सक्दो सराप्ने मुखले,
आज बधाई दिएका छन् !

ज्यानमारालाई काखी च्यापेर,
भ्रष्टाचारीलाई अंगालो हालेर,
व्यक्तित्वलाई लिलाम गरेर,
श्रद्धा गरिरहेका छन् यहाँ,
यसरी चलचित्र अल्पान्तरमा अल्मलिएको छ,
शायद यो माटोमा..
लाज छोप्ने दौरासुरुवाल बनेन क्यारे,
फरिया गुन्यूचोली फाटिएछ क्यारे,
निर्वस्त्र छ संविधान…!

निर्लज्ज छ आख्यानहरु,
मात्रै ’गोपिकृष्ण’ को रटाई छ,
चकलेटी चम्चेहरुको खटाइ छ,
बिनाकारण ताली बजाइ छ,
शायद यो चलचित्रको क्लाईमेक्स हुँदा हुन्,
बिना पात्रको कथा होला शायद,
राजनीतिक परिशिष्ट भित्र,
उदाङ्गिएको चरित्र…!

खै, अन्त्य होला कि नहोला,
नायकको सिमाना नै कहाँ छ खै,
अनुसन्धान गर्न नै घिनलाग्दो छ,
बाँकी दृश्यले देखाउलान् खै के,
यतिबेला त मात्रै…
असमान्य मध्यान्तर भएको छ ।

यो चलचित्रमा मिक्स मसला नै रहेछ,
क्षणिक आक्रोश,
भरपुर मदहोस,
बिचरा दर्शक बेहोस,
विभेदकारी विवेचनाहरु,
अर्थहीन आलोचनाहरु,
निरीहतामा लादिएका भावनाहरु !

२०७८/०४/१५
जोरपाटी, काठमाडौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!