Search

आज खिर खाने दिन साउन १५

आज खिर खाने दिन साउन १५

यो छोरी बढ्लिन्, कमाई गर्लिन्, दूध–भात देलिन् मलाई
यस वाक्यांश नेपालीजनको वार्तालापमा पुस्तौँ पुस्ता चलिआएको छ । छोराछोरीको माया र खिरको स्वादलाई एउटै दैलोमा राखेर तुलना गरिएको छ । खिरको महत्व अनि त्यसको स्वाद सन्तानको माया र आत्मीयतासँग गाँसिएको छ । यहाँहरूमा खिर खाने दिवसको शुभकामना ।

दूध–भात अर्थात् मीठो र पोषिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूध–भातसंग संख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तराईतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।

नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरूले गाँसेर बनाइएका हरिया दुना–टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।

मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ । यसबाट बन्ने कैयन मीठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदायमै प्रिय बन्न सफल छ ।

यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम सम्मिश्रण यस परिकारमा भोजन, पोषण यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचीनकालमा गरेको समुन्द्र–मन्थनसँग सम्बन्धित छ । त्यतिबेलादेखि अझसम्म दूधलाई शुद्धीकरण गर्ने तत्व र पोषण मिसिएको बहुगुणी अमृतकै रूपमा लिइन्छ ।

आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा ब्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।

भगवान् श्रीकृष्णले एक दिन साधारण साधुको भेषमा बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा मन्दिरहरूमा निःशुल्क गरिब दीन–दुःखीहरूलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान् श्रीकृष्णले राजामाथि विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीन–दुःखीहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।

हामी संस्कृति र संस्कारमा साँच्चिकै धनी छौँ । खिर खान कुनै कार्य या उपलक्ष्य नै कुर्नपर्छ भन्ने पनि छैन । यद्यपि श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ । अर्थात् श्रावणको मध्यबिन्दु खिरका लागि प्रचलित छ ।

रोपाई सकिन आँट्यो या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैँयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँस प्रशस्त हुन्छन् । जुन लैनो गाई तथा भैंसीहरूले अत्यन्त मन पराउने गर्छन्, जसका कारण प्रशस्त दूध पनि दिन्छन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।

अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दूधको ब्यापक बिक्री हुन्छ नेपालमा । बिहानैदेखि दूध पसलहरूमा भीडभाड हुने गर्छ । आफ्ना लागि खिरको जोहो गर्न नभुलौ है । ल है, शहरतिर हो भने त डेरीमा अरू दिन ३–४ बजे सक्किने दूध बिहान ९ नबज्दै सक्किएला । ढिलो हुँदा नपाइएला नि !

लगभग रोपाईँ सकिसकेको अवस्थामा छ यसपाली । बालीनाली सप्रियोस् । मानो खाएर मुरी उब्जाउन सकियोस् । असार र साउनको दुःख मंसिरमा प्राप्त हुन्छ, सुख । आनन्दको रूपमा परिणत होस् अनि मुख्य कुरो खिर जस्तै सेतो स्वच्छ र मीठो विचार हामीमा बनिरहोस् । खिरसँगै शुभकामना !

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!