Search

लघुकथा – ख्याक

लघुकथा – ख्याक

मिसु श्रेष्ठ

अनुहार, हात–खुट्टामा कोट दलिदलि मयल निकाल्यौँ । ख्याक बनाउन जम्मा गर्यौँ । पहिलो दिन खर्कुलोमा नुहाएर पसेका हौँ । प्रत्येक किसली, ख्याकमा पूजा गर्यौँ । १२ दिन सम्म कुनै पुरुष र सूर्य देख्नु हुँदैन्थ्यो ।

खाजा खुवाउन आउने आफन्त र स्कुले साथीहरू कोट दलि बिशेष टीका लगाएर जान्थे । अँध्यारो पारिएको कोठा थियो । मधुरो दियो बालेर बस्नु पथ्यौ । चार जना किशोरी गुफा बसेका थियौँ । बाह्रौं दिनमा सूर्यसँग हाम्रो बिहेको तयारी हुँदै थियो बाहिर ।

घरभित्र वाथरुम थिएन । पचास मिटर पर जानु पथ्यौ । कुबेलामा पेट काट्दा र ख्याक सम्झदा मन ढक्क हुन्थ्यो । तलमाथि गर्नु हुँदैन । ख्याकले दुःख दिन्छ है । भनिरहन्थे । ख्याक एक किसिमको भुत हो भन्ने दिमागमा थियो ।

टाउको टेकेर खुट्टा भित्तामा उभ्याइन्थ्यो तर कोपरा या उज्यालोमा शौचालय गईन्थ्यौ । मयलले त सकिएन कपास कै ख्याक मान्छे कै आकारमा हात–खुट्टा फिजाउँदै अड्यायौँ । अबिर छर्कि दियौँ । धुप बलेको झिल्कोको उज्यालोमा ख्याकको आगमनको प्रतीक्षा गरिरह्यौँ । मुटुको ढुकढुकी बढ्दै थियो । दर्शक समेत दसजना थियौँ ।

स्वास रोके झैँ लाग्थ्यो । बिस्तारै केही हिँडे झैँ आवाज आयो । ख्याक अगाडि राखिएको दल्छि ढुंगा, ठोकिएको धीमा आवाज आउन थाल्यो । कान ठाडो पारेर सुन्दै थिएँ । ट्वाक्क हातमा लाग्यो । ऐया ! झ भन्दै नजिकको साथीलाई च्याप्प समातेँ । ऊ पनि आँत्तिएर कराइ । पसिनाले निथुरुक्क भएछ । ख्याक भाग्यो ।

यो क्रम जारी रह्यो प्रतिदिन । तर ढुंगा फाल्ने क्रम बढ्दै थियो । मनमा आँधि चल्न थाल्यो । कपासको यो आकृति कसरी ख्याक भएर आफूभन्दा गह्रुगो ढुंगा फाल्छ ? दशौँ दिनमा त केही छाँया जस्तो आयो । एकछिन रोकिएर भटाभट ढुंगा हान्न थाल्यो । लागे पनि कोही सास काटेनौँ । थरिथरिका समुहलाई पटकपटक देखायौँ ।

साँझ परिसकेथ्यो । छिटो ख्याक थन्क्याएर धूपबत्ति गर्नु थियो । म मा बेचैनी बढ्दै थियो । दुईवटा ढुंगा फालेपछि मैले आँट गरेर छाँयाको हात च्याप्पै समातेँ । त्यो फुल्दै थियो । मेरो हात तन्काएर मान्छे जतै बनायो तर मैले हात छाडिन । टर्च बाल्नु त । झ म एक्कासि कराएँ । बत्ती बल्यो । के भो ? भन्दै झक झकाउँदै रहेछन् । पसिनै पसिना भएछु । बिस्तारै हात फुकाएर हेरेँ । हात खाली थियो ।

नोटः
कोट – चामलको पिठो, बेसार र बास्नादार जडिबुटीको धुलो र तोरी को तेल मिसाएर बनाएको लेप (दोलखा नेवारी भाषामा)
किसली – माटाका पाला भरि चामलमा सुपारी राखेर गणेश, कुल लगायतका देवता थापना (दोलखा नेवारी भाषामा)

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment