Search

७० वर्षीय गन्धर्व १३ वर्षको उमेरदेखि सारङ्गी रेट्दै

७० वर्षीय गन्धर्व १३ वर्षको उमेरदेखि सारङ्गी रेट्दै

‘सल्यान टर्‍यो सल्यानतिर दाङ टर्‍यो दाङतिर…
यो दुःखीले गीत गाएको मन पर्‍यो कि परेन
अहिलेसम्म यो दुःखीलाई कसैले हेरेन…
दुःखी मनको कुरा बुझ्यौ कि बुझेनौँ …।’

एकोहोरो आफ्नै कर्ममा टोलाएका कानहरु एक्कासी सारंगीको मनै रेट्ने धूनमा पुग्यो । मनै रेट्ने सारंगीको धूनले गन्धर्व दाइसम्म पुर्‍यायो । गन्धर्व दाइले मनका वेदना सारंगीको तारमार्फत आँसु नै खस्ने गरी शब्दबाट ओकलिरहेका थिए । वरिपरि बसेर सारंगीको धून सुन्‍नेले आफ्नो जिन्दगीको गहिराईसम्म पुगेर विगतका दिन स्मरण गर्दै थिए ।

दिउँसोको उखरमाउलो गर्मी । अनुहारमा बुढ्यौलीका धर्सा कोरिएका शरीर । नसा देखिन थालेका चाउरिएका गाला हातमा आफू जस्तै पुरानो र जीर्ण बन्दै गएको सारङ्गी बोकेर कर्णालीका गाउँ-ठाउँमा सारङ्गी रेट्दै यी पंक्ति गाउँदै हिँड्ने यी वृद्ध अनुहार हुन्, गोरे गन्धर्व । प्रायःले उनलाई जुङ्गे दाइ भनी पनि चिन्छन् ।

सुर्खेत तातोपानी टोलका ७० वर्षीय गन्धर्व १३ वर्षको उमेरदेखि सारङ्गी रेट्दै आफ्नै लयमा गीत गाउँदै सुनाउँदै बेदनाका पोका खोल्दै सुन्‍नेका गहभरि आँसु आँसु झार्दै वीरेन्द्रनगरका चोक र पसलमा पुग्छन् । उमेरले डाडाँ काटेर ७० वर्ष पुगेर पनि घर कुर्ने बेलामा पुगेका गन्धर्व सधैँ यसरी नै दिनभरि बजारमा सारंगी रेटेर जीविका चलाउँछन् । ‘७ पुस्तादेखि जग्गाजमिन, लालपूर्जा भने छैन । सम्पत्तिका नाउँमा यही एउटा सारंगी हो । ‘५३ वर्षदेखि यही सारंगी रेट्दै परिवार गुजरा चलाउँदै आएको छु’, उनले वेदाना पोखे ।

उनका पुर्खाले पनि सारंगी रेट्दै गाउँघर चाहर्दै लालाबाला पाल्दै आएका थिए । उनी चार वर्षको हुँदा आमा खसिन । खाऊँ-खाऊँ लाऊँ-लाऊँ भनेर स्कुल जाने उमेरमा बुबाको पछिपछि झोला बोकेर जाने गोरेले १२ वर्षको उमेरमै आफैँ सारंगी रेट्न सिके ।

सानै उमेरमा बुबाको पनि मृत्यु भयो । बुबाको मृत्युपछि टुहुरा भए र घरको सबै जिम्मेवारी गोरेमाथि आइलाग्यो । बिहान सबेरै निस्केर दिनभर गाउँमा सारंगी रेट्दै मानोमुठी ल्याएर आफ्नो र भाइबहिनीको पेटको आगो निभाउँथे ।

स्कुल पढ्ने उमेरमा बुबाको झोला बोकेर हिँडेको अझै पनि झल्झली सम्झन्छन, उनी । ‘बुबाले सारंगी रेटेको देखेर मैले पनि रेट्न सिकेँ । पछि आमाको पनि मृत्यु भयो र केही समयपछि बुबाले पनि संसार छाडे । त्यसपछि भाइबहिनी हुर्काउने सबै जिम्मेवारी मेरै काँधमा आयो त्यो पल अहिले पनि झल्झल्ती सम्झिन्छु ।’

पहिले-पहिले गाउँभरि डुल्दा १०-१५ पाथी अन्‍न हुन्थ्यो रे । ‘त्यो अन्‍न ट्रकमा बोकेर घरमा ल्याउँथेँ’, उनले भने, ‘अचेल गाउँभरि डुले पनि कसैले बुझ्दैनन् मेरो पीडा ।’

युवा पुस्तामा सारङ्गीमोह कम हुँदै


पछिल्लो समय सारङ्गीको धून समाजले भुल्दै गएको र युवा पुस्तामा सारङ्गीमोह कम हुँदै गएकामा चिन्तित छन् उनी । ‘युवा पुस्ताले पुरानो संस्कार र चलन भुल्दै गएको छ’, उनले भने, ‘हाम्रो जातिका मानिस सारङ्गी छुनसमेत मान्दैनन् ।’

कुनै समय समाजमा दुःख पीडाका विषयमा बोल्दा, परदेशी कथा सुनाउँदा, माया प्रीतिका गीत गाउँदै गाउँ-गाउँमा हिँड्दा धेरैका आँखामा आँसुका धारा बग्ने गर्थे उनले भने । पहिला पहिला गाउँघरमा पुगेर गन्धर्वहरूले नै देश विदेशका घटनालाई, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनिसरा, मल्लार, कर्खार र असारे लगायतका भाकामा खबर दिँदै घुम्ने गर्थे ।

गाइने दाइ भनेर सम्बोधन गरिने गन्धर्व लोप हुँदै जादा गएकामा निकै दुःखी छन् उनी । ‘नयाँ पुस्ताले भाकामा खबर दिने धून भनेको के हो भनेर सोध्यो भने कसैले जान्दैनन् ।’ गोरे सारङ्गीलाई गन्धर्वको पेसाको माध्यम मात्र ठानिनु नहुने बताउँछन् । उनलाई लाग्छ, समाजका बाजागाजा, परम्परा र संस्कृति त सभ्यता पनि हुन् ।

विगतमा गन्धर्वहरूले गाउँ-गाउँमा सारङ्गी बजाउँदै विभिन्‍न घटनाहरूलाई सुनाउने, सूचना तथा संचारको रूपमा काम गर्ने गरेका थिए । सूचना र संचारको प्रविधि बद्दिएको छ, माध्यमहरू फेरिएका छन् ।

आधुनिक प्रविधिले खोस्दै अमूल्य संस्कृति


एफएम रेडियो र हातहातमा आएका मोवाइलले गन्धर्वको पेसासँगै सारङ्गी र एउटा अमूल्य संस्कृति पनि हराउन थालेको उनको भनाई छ । आधुनिक मोवाइल आएको छ । वनमा घाँस-दाउरा गर्न गएका र गाईबस्तु चराउन जानेले कानमा औला हालेर गुनगुनाउँदा रनवन थर्किने गीतका भाका पनि हराउँदै गएका छन् ।’

‘आफू गएपछि के होला ? यो सारंगी पेशा अनि के होला ?’ सारंगी सुम्सुमाउँदै उनले भने । घरमा ३ छोरी र २ छोरा छन् । एउटी छोरीबाहेक सबैको बिहे भइसक्यो । छोराबाट उनले पनाति देखिसकेका छन् । दुवै छोरा सँगै बस्दैनन् । उनी भन्छन्, ‘पनाति देखिसक्दा पनि मेरा दुःख कम भएका छैनन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाहेक अन्य आम्दानीको स्रोत केही छैन । २ जना बुढाबुढी र एउटा छोरीलाई पाल्ने सम्पत्ति नै सारंगी हो’, उनले वेदनाको पोको खोले ।

जितेन्द्र थापा

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment