Search

नाममा के छ ?

नाममा के छ ?
प्रा.डा. श्याम जोशी

विख्यात नाटककार विलियम शेक्सपियरद्वारा लिखित नाटक रोमियो जुलियट्मा प्रसङ्गवश एउटा प्रश्न जुलियट्ले सोधेको छ कि “नाममा के छ ?” अर्थात् उनको भनाइमा नाम जे दिएपनि केही फरक पर्दैन, किनकि गुलाबको फूलको नाम जे दिएपनि आँखिर दिनुपर्ने बासना स्वेच्छिक गुण जनाएर सुगन्ध दिइहाल्छ ।

त्यस्तै कालेलाई गोरे बहादुर या गोरोलाई काले बहादुर नाम राखेर केही फरक पर्दैन, फरक हुनेछैन पनि । उनीहरुमा हुनुपर्ने निहित गुण त रहि नै रहन्छ, मानिसहरुलाई सजिलैसँग पहिचान गर्न सकियोस् भनेर नाम दिने गरिन्छ । नामले समान थर भएका मानिसहरु बिचको वर्णनात्मक परिचय दिलाउन मद्दत गर्छ ।

तर केही दृष्टान्तमा नाम र थर पनि समान हुनेहुँदा पहिचान गर्न गराउन अलिक अप्ठ्यारो पर्छ, उदाहरणार्थ म स्कुलमा ९ कक्षामा पढ्ने बेलामा ६ कक्षा देखि ९ कक्षासम्म ४ जना श्यामकृष्ण थिए, म बाहेकको सबै श्रेष्ठ थरका थिए, यसो हुँदा साथीहरूले एकले अर्कालाई चिनाउने माध्यम फलानो श्याम, ढिस्कानो श्याम भन्ने गर्थे सही नाममा ’बिनाम’ राखेर ।

उसबेलामा रामायण, महाभारत पढेका सुनेकाहरुले आफ्ना छोराछोरीको नाम भगवानकै नाम राख्ने प्रचलन थियोे । जस्तो कि; विष्णु, राम, बलराम, कृष्ण, लक्ष्मण, वासुदेव, ध्रुव, भरत, प्रल्हाद आदि पुरुषको वर्गमा थियोे भने स्त्री वर्गमा पनि शकुन्तला, रति, सीता, सावित्री, लक्ष्मी, पार्वती, मेनका, सरस्वती, उर्वशी, गंगा जस्तो राखिएको थियो । कोही कोही आफ्ना छोराछोरीको नाम विभिन्न तिर्थस्थलको नामबाट राखिएको हुन्थ्यो, जस्तो कि, केदारनाथबाट केदार, बद्रीनाथबाट बद्री, द्वारिकानाथबाट द्वारिका आदि ।

२०१७ साल अगि दोलखामा पनि अन्यत्र जस्तै अधिकांश मानिस अशिक्षित थिए । शिक्षा र साहित्यमा सहज पहुँच पनि थिएन, त्यसैले नाटककार शेक्सपियरले “नाममा के छ र !” भनेजस्तै उनीहरूले आफ्ना छोराछोरीको नाम मुखमा जे आयो त्यो राख्ने गरेको पाईन्छ । ती नामहरु कुनै जन्मेको दिनको तिथि, बारमा आधारित, कुनै वर्णमा आधारित, कुनै खाने मसलामा आधारित, कुनै खानेकुराको पदार्थमा आधारित थिए, यहाँ यस्ता जस्तै यस्ता थिए ।

बच्चा जन्मेको दिनमा आधारित :
दशैंको पूजाको दिनमा जन्मेको बच्चाको नाम पूजा बहादुर, पूजालक्ष्मी, खड्गजात्राको दिनमा जन्मेको भए खड्गबहादुर, खड्गकुमारी, जमरा राखेको दिनमा जन्मेको हो भने स्वनलक्ष्मी, पूर्णिमाको दिन जन्मेको भए पूर्णबहादुर, पूर्ण लक्ष्मी आदि ।

बच्चाको वर्णमा आधारित :
सेतोलाई सेते, सेतीलक्ष्मी, त्वायौबाबु, कालो वर्णको छ भने कालुमान, काले, काली हाकौ, यसै प्रसङ्गमा म जन्मिदा निलै देखिएकाले विष्णु सम्झेर मेरो नाम ’हरि’ राखिएको थियोे रे भन्नुहुन्थ्यो आमाले ।

मसलामा आधारित :
हामीले घर्यायसी खाने मसला प्रयोग गरेको मसलाको नाम पनि मान्छेको नाममा राख्ने गरेको पाईन्छ । जस्तैः मिश्री, चिनी, दालचीनी, अलैंची, सुकमेल, मरिच, मर्चि, लाबा, जाइफल, नरिवल आदि ।

श्रृङ्गार सामग्रीमा आधारित :
नस्कन् (ऐना), तस्बिर, टीका, फूलमति, स्वन आदि ।
गुणमा आधारित : अकल बहादुर, ज्ञानबहादुर, चेतबहादर, बुद्धिबहादुर, दिलबहादुर, हसनादेवी आदि ।

अन्य खानेकुरामा आधारितः
चिनी, चाकु, लड्डु , सुन्तला, सुन्तली आदि ।

यसरी उसबेला मानिसहरूले मुखमा जे आयो त्यो नामाकरण गरेको पाईन्छ । आफ्नोे छोराछोरीको । छोराछोरी ठूला भैसकेपछि भने आफ्नै बुबाआमाको नाम र आफ्नै नाम कसैले लिंदा पनि अप्ठेरो महशुस गर्नुपर्ने स्थिति पनि थियोे ।

२०२५ सालतिर भीम पब्लिक हाईस्कुलमा मेघराज कोइराला र कविताराम दुईजना साहित्यमा रुचि भएका शिक्षक थिए, उहाँहरूलाई त्यसबेलाको विद्यार्थीहरूको नाम परम्परागत शैलीको लागरे मन पराउनु भएन यसै कारणले केही विद्यार्थीहरूको नाम परिवर्तन गर्नुभएको थियो । उदाहरणका लागि जस्तै कि उदय नारायणलाई विनोद, बलदेबलाई प्रमोद, विष्णुबहादुरलाई रत्न प्रभात, हरि नारायणलाई अनुराग, खड्गबहादुरलाई अमन, दुर्गाबहादुरलाई उपासक, जगन्नाथलाई राष्ट्रभूषण, भवनाथलाई आभुषण, बलरामलाई प्रायश्चितमा नाम बदलियो । तर यी सबमा नाम अनुसारको गुण र विशेषता भएर चाहिँ होइन ।

यसरी “नाममा के छ र !” भन्ने अनुसरण गरेर छोराछोरीको नामकरण गरिएको पाईन्छ त्यसबेला दोलखामा । अहिले मानिसहरूको साहित्यिक पहुँच भएका कारणले साहित्यिक शब्दहरूबाट नामकरण गर्ने प्रचलन आएको पाईन्छ । तर यसक्रममा नाम राख्न उपयुक्त अनुपयुक्त शब्द जे पनि प्रयोग गरिएको पनि पाईन्छ, अरुको भन्दा बिल्कुलै बेग्लै कसैसँग नमिल्दो होस भन्नेहरु पनि पाईन्छ । यसको लागि बाबुआमाको नामको सन्धि गरेरपनि नामकरण गरेको पाईन्छ बिना अर्थको, तर नाम सकेसम्म अर्थपूर्ण हुनु राम्रो मानिन्छ । जे जस्तो भएपनि आँखिर “ नाममा के छ र !! “

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!