कल्पना श्रेष्ठ “महर्जन“
धर्मशास्त्रमा नारीको धेरै गुणगान गाइन्छ,
अर्थशास्त्रमा नारीको नै मूल्यांकन गरिन्छ,
समाजशास्त्रमा नारी नै अद्वितीय मानिन्छ,
ग्रन्थमालामा नारी सहनशीलता दर्शाईन्छ ।
महाभारतमा नारीलाई देवी कहलाईएको छ,
भाग्वत गीतामा नारी साहसी जताईएको छ,
रामायणमा नारी सत्यवान शक्ति देखाएको छ,
हरेक पुराणमा नारीको महिमा बताएको छ ।
तर यी नारी जातीयतालाई कतै कलंकित किन,
नारी जातीलाई श्रृङ्गारमा मात्रै परिभाषित किन,
नारीको अंग प्रत्यंगलाई खेलौनामा वर्णित किन,
नारीमाथि पुरुषत्वको अभिमानी तरंगित किन !?
नारी सृजना हुन्, नारी जगसृष्टिको प्रतिमूर्ति हुन्,
नारी भूमिका हुन्, नारी अन्तर्दृष्टिको प्रीति हुन्,
नारी गरिमा हुन्, नारी भौतिक रुपको किर्ति हुन्,
नारी महिमा हुन्, नारी भौगोलिक गतिविधि हुन् ।
यहाँ यो जगतमा नारीलाई सहवासको पात्र किन,
यहाँ फगतमा नारीलाई नाटकको रुप मात्र किन,
यहाँ अधिकारको नारी नौटंकी अर्थहीन गोत्र किन,
यहाँ नारीले शब्दकोष सजिने खाली पवित्र किन ।
नारीलाई बुझ्ने पुरुषको नजरअन्दाज खै कहाँ छ,
नारीलाई चिन्ने ऐनको मध्यनजरहरु खै कहाँ छ,
नारीलाई दिने सेकेन्ड पलमा मान्यता खै कहाँ छ,
नारीलाई बन्देज फुकाउने नैसर्गिक तर्क कहाँ छ ।
२०७८/०४/०५
जन्मघर : दोलखा
कर्मघर : लाजिम्पाट