Search

दोलखाको पुरानो नाम अभयपुर हो, जहाँ आफ्नै मौलिक अनी भिन्न नेवारी भाषा र संस्कृति छ ।

दोलखाको पुरानो नाम अभयपुर हो, जहाँ आफ्नै मौलिक अनी भिन्न नेवारी भाषा र संस्कृति छ ।
डा. मधु कृष्ण श्रेष्ठ “माधुर्य

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ डोकलुङा टोल दोलखामा बुबा स्वर्गिय श्याम कृष्ण श्रेष्ठ तथा आमा स्वर्गिय चन्द्रदेवी श्रेष्ठको जेष्ठ सुपुत्र मधु कृष्ण श्रेष्ठ “माधुर्य” हुनु हुन्छ । माध्यमिक स्तरको शिक्षा भीम माध्यमिक विद्यालयबाट अध्यापन पुरा गर्नु भएका श्रेष्ठले मास्को स्टेट सिभिल इञ्जिनियरिङ्ग युनिभर्सिटी (मास्को, रुस महासंघ) बाटसिभिल इञ्जिनियरिङ्ग बिषयमा विद्यावारिधी हासिल गर्नु भएको हो । पेशाले सिभिल इञ्जिनिय हुनु हुन्छ । अध्ययनको सिलसिलामा सन् १९८७ देखि २०१४ सम्म रुस महासंघ बस्नु हुन्थ्यौ । यसै गरी सन् २०१५ देखि हालसम्म संयुक्त राज्य अमेरीकामा बस्दै आउनु भएको छ ईन्जिनिय साहित्यकार डा.मधु कृष्ण श्रेष्ठसँग बाँपीझ्याला अनलाईन पत्रीकाको तर्फबाट बालकृष्ण श्रेष्ठ “पासा” संग भएको समसामयिक कुराकानीको मुल अशं यहाँहरुको लागि प्रस्तुत गरेका छौं ।

नेपाल भन्दा बाहिर रहेर नेपाललाई स्मरण गर्दा यहाँलाई कस्तो महशुष भएको छ ?
सन्ध्याकालमा विशेष परिस्थितिबस आफ्नो गुँड छोडेर अन्जान क्षितिजतर्फ उडिरहेको चरीलाई जुन अनुभूति हुन्छ त्यो भन्दा पनि बढी मलाई पीडाबोध हुन्छ, “नोस्टाल्जा“ हुन्छ, ’जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ मन्त्रले भत्भती पोल्छ । आधारभूत सम्भावनाहरु स्वदेश मै भई दिएको भए आफ्नो भविष्य खोज्न सायद कोहि पनि विदेशमा जाँदैनथे जस्तो लाग्छ । यथास्थितिवाद लागायत विविध संकट÷ समस्याबाट मुक्त भएर हाम्रो देश नेपाल कहिले अमेरिका, रसिया, स्विटजरल्याण्ड, स्वीडेन वा सिंगापुरजस्तो सम्पन्न एवं विकसित बन्ने होला भन्ने अन्तहीन प्रश्नहरुको घेराबन्दीमा हुन्छु म र मैले यस्को लागि के कस्तो कस्तो योगदान दिन सक्छु होला भन्ने विचारले मेरो मानसपटलमा शासन गरिरहन्छ – अनेक कल्पना, सोच, तर्कवितर्कको आँधीवेहरी भोगिरहन्छु प्रत्येक पल प्रत्येक दिन !

यहाँ अहिले अमेरिकामा बस्नु भएको छ, पहिले रसियामा हुनुहुन्थ्यो, रुसबाट स्थानान्तरण किन हुनु भयो ?
“गर्मीमा लेक उक्लने र जाडोमा बेंसी झर्ने” मानवीय प्रवृत्तिबाट म पनि अछुतो बन्न सकिनँ । सम्पूर्ण अध्ययन–कर्म सकेपछि ज्ञान–भूमिबाट कर्म–भूमिको खोजीमा युरोपीय देशहरुमा भौंतारिंदै गर्दा म अमेरिका पुगेको हुँ । अन्तरिक्षमा पहिलो मानव पठाउने समाजवादी देश सोभियत संघ र रुस महासंघको लामो बसाईपछि बहुसंख्यक मनिसहरुको मानसपटलमा “सपनाको देश” कहलिएको शक्तिशाली पूँजीवादी राष्ट्र अमेरिका हेर्ने रहर थियो त्यो पनि पूरा भएको छ । रुस र अमेरिकामात्र होइन, धेरै देशहरुको यात्राले मलाइ के अनुभव गरायो भने यो सिंगो पृथ्वी नै मानवजातिको साझा महादेश हो ।

नेपाली साहित्य जगतमा हजुरको उपस्थिति कुन गन्तव्यसम्म पुगेको छ त ?
“ज्याक अफ अल ट्रेडर्स“ बन्ने क्रममा जानी–नजानी साहित्यमा पनि मेरो प्रवेश भएको रहेछः कुनै गन्तव्य वा उचाई चुमेको अनुभव भएको छैन, सामान्य बामेसर्ने काम मात्र भएको छ, जान्न र गर्न बाँकि कामकुराहरु धेरै छन्। सिक्ने प्रयास जारि नै छ । बुझ्दै जाँदा समग्र जीवन नै अलिखित काव्यजस्तो लागिरहेछ । हामी आज पृथक परिवेश र वातावरणमा बाँचिरहेका छौँ । पुराना मान्यता, आदर्श, सिद्धान्त र दर्शनहरुले सन्तुष्टि दिईरहेको अवस्था छैन र अर्कोतिर सिंगो संसार नै एउटा भर्च्युएल गाउँजस्तो भएको छ – यो यथार्थलाई बुझेर केहि नूतन सिर्जनाहरु गर्ने मन छ ।

हजुरको साहित्यिक लेखनमा कविता विधामा “क्वान्टम” शब्द पाईन्छ, यसको मूल अर्थ र तात्पर्य के होला ?
ल्याटिन भाषामा क्वान्टम (Quantum, बाट quanta) भन्ने शव्दले मात्रा (Quantity) वा परिमाण (magnitude) लाई जनाउँछ । यसको आधुनिक बुझाईले कुनै पनि अन्तरक्रियामा संलग्न हुने पदार्थ (Matter) वा उर्जा (Energy) को सम्भव भए सम्मको न्युनत्तम असतत मात्रा (Discrete unit) लाई इंगित गरेको पाइन्छ । भौतिक विज्ञानको प्रचलित परिभाषा अनुसार क्वान्टम (Quantum) भनेको विकिरणको आवृत्ति (requency या the radiation) को अनुपातमा संलग्न हुने उर्जाको असतत परिमाण हो। भौतिक शास्त्री माक्स प्लांक (Max Planck) ले सन् १९०० मा प्रस्तुत गरेको कार्यपत्रमा गणितीय समीकरण–सूत्रमा उर्जाको इकाई (Unit) को रुपमा सामान्य बोलीचालीको शव्द “क्वान्टम“ प्रयोग गरेपछि उक्त शव्दले बैज्ञानिक क्षेत्रमा व्यापकता पाएको हो । क्वान्टम विज्ञानको विकास भएपछि नै सुक्ष्मतम् पदार्थ र उर्जाको प्रकृतिको व्याख्या सम्भव भएको हो, यसले जीवन र जगतलाई हेर्ने परम्परागत दृष्टि र मान्यताहरुको थप कायापलट गरिरहेको छ।

नव क्वान्टम दर्शन र क्वान्टम साहित्यमा “क्वान्टम“ भन्ने शव्दले विचार, सोच, चिन्तन वा प्रकृतिमा विद्धमान कुनै पनि तत्वको सुक्ष्मतम् अस्तित्वलाई बुझाउँछ । क्वान्टम साहित्यमा “काव्य–तत्व“ भनेको मूल (केन्द्रिय) विचारको एक झिल्को अर्थात् एक क्वान्टम विचार हो जो बिस्तारित हुँदै गएपछि एउटा पूर्ण रचनाको रुपमा अभिव्यक्त हुन्छ । यसरि नव–क्वान्टम दर्शन र क्वान्टम साहित्यमा विशेषणको रुपमा प्रयोग हुने “क्वान्टम“ शव्दको अर्थको भौतिक शास्त्र वा क्वान्टम विज्ञानसँग खासै सम्बन्ध छैन ।

संक्षेपमा भन्नु पर्दा, क्वान्टम साहित्य–यो विश्व साहित्यमा एउटा नूतन सोच हो, प्रयोग हो, वैज्ञानिक चिन्तन हो, एउटा सिर्जनात्मक प्रस्तावना हो जो स्थिर (क्तबतष्अ) वाद वा कोरा सिद्धान्तका प्रचलित संरचना, मान्यता र परिधिहरु नाघेर अगाडी बढ्छ । यो आफैमा कुनै सिद्धान्त, वाद वा धारा होइन, बरु यसले “काव्य–तत्व“ लाई स्वतन्त्र हुन दिएर नैसर्गिक सिर्जनालाई बढावा दिन्छ । कुनै पनि निर्धारित सिद्धान्त वा पूर्वनिर्धारित संरचनामा लेखन बाँधिएपछि त्यसको बहुआयामिक अस्तित्व समाप्त नभएपनि खुम्चिने सम्भावना नहोला भन्न सकिन्न । क्वान्टम साहित्य जीवन र जगतलाई बहुआयमिक दृष्टिकोणले हेर्ने नव क्वान्टम दर्शन (ल्भय–त्तगबलतगm एजष्यिकयउजथ) को एउटा विधा हो । क्वान्टम साहित्य अन्तर्गत साहित्यका सबैजसो विधाहरुको अस्तित्व–निर्वाह सम्भव छ, जस्तो कि क्वान्टम कथा, क्वान्टम कविता, क्वान्टम निबन्ध, क्वान्टम उपन्यासआदि। अहिले विश्वमा क्वान्टम कम्प्युटर, क्वान्टम गणित, क्वान्टम उपचार–विधि, क्वान्टम विज्ञान, क्वान्टम मनोविज्ञानजस्ता शब्द संयोजनहरु सामान्य बनिसकेका छन्।

दोलखाको माटोमा जन्मिनु भएको त्यो हृदयमा दोलखा प्रतिको आस्था र मायामा मधु “माधुर्य” जीको अभाव खट्किएको आभास पाएका छौं हामीले,… यहाँको दृष्टिकोण के छ दोलखा प्रति ?
प्रवासी जीवन भोग्ने क्रममा भौतिक दृष्टिकोणले म टाढा रहँदा पनि मैले जन्मथलो दोलखा र जन्मभूमि नेपाललाई मेरो मुटुमा अनवरत बोकेर हिँडेको छु । हिँडिरहेकै छु, मैले मात्र होइन लाखौँ प्रवासी नेपालीहरुले जन्मथलो र जन्मभूमि बोकेर हिँडेको अनुभव सुनाउने गरेका छन् । देशबाट जति टाढा भयो देशप्रतिको माया झन् गाढा हुँदो रहेछ – यो मनोदशा बिदेसिएकाहरुको मन मै घटित हुने रहेछ । आस्था र मायाजस्ता भावनाहरु मनभित्रका कुरा हुन् । “दोलखा प्रतिको आस्था र मायामा मधु “माधुर्य” जीको अभाव खट्किएको आभास“ कुन ’अन्तर्यामी’ लाई किन र कसरि भएछ ? व्यक्तिको आस्था र मायाको मापन कसरि गर्नु भयो ? – कैयौँ प्रतिप्रश्नहरु अझै लाममा छन् । कि त दोलखाको हृदयमा मधु माधुर्यप्रतिको आस्था र मायामा अभाव खट्किएको कुरा पो गर्न खोज्नु भएको हो कि ? – यो पनि सम्भव देख्दिनँ, किनकि दोलखाले आफ्नो सन्तान वा दोलखालीमाथि अन्तर्घात वा घृणा गर्न सक्दैन ।

दोलखाप्रतिको मेरो दृष्टिकोण बहुआयमिक छ । सुन्दर र शुभ्र गौरीशंकर हिमालको काखमा रहेर भीमसेनको अनवरत आशिर्वाद प्रवाह भैरहेको दोलखाको पुरानो नाम अभयपुर हो, जहाँ आफ्नै मौलिक अनी भिन्न नेवारी भाषा र संस्कृति छ । दोलखाको आफ्नै ऐतिहासिक पहिचान पनि छ – तात्कालीन राजा इन्द्रसिंह देवले चलाएको चाँदीको मुद्रालाई नेपाल कै पहिलो चाँदीको मुद्रा मानिएको छ । दोलखाली दाजुभाइहरु एकदमै मेहनती छन्, कसैले राम्रो काम गर्यो भने जो कोहि साथ–सहयोग दिन हमेशा तत्पर हुन्छन्, एकले अर्काको “खुट्टा तान्ने“ चलन देख्दिनँ, फरक फरक विचारधारा भएपनि आपसमा एकता र सद्भावको भावना नै देख्छु । अरु जिल्ला भन्दा दोलखाको राम्रो विकास हुनुमा यिनै सकारात्मक तत्वहरुले महत्वपूर्ण भूमिका खेलेजस्तो लाग्छ । यस ’अर्थ’ मा हामी दोलखावासीहरु महान र भाग्यशाली छौँ, दोलखा हाम्रो गौरवको अर्को नाम हो ।

दोलखाको नेवारी भाषा बिस्तारै हराउँदै गएको आभाष पाएर हामीले यसै अनलाइन मार्फत् र सम्पूर्ण दोलखाबासीलाई समेटेर निरन्तरता दिने प्रयासमा छौं । दोलखामा जन्मेको बासिन्दाको नाताले हजुरको केही सुझाव र उचित सल्लाहको अपेक्षा राखेका छौं, यहाँलाई कस्तो लाग्छ ?
यो एकदमै अपरिहार्य र सकारात्मक काम हो जसको म मुक्त कण्ठले प्रशंसा नगरी बस्न सक्दिन । आफ्नो जीवनलाई समाजसेवामा पूर्णतः समर्पित गर्नुहुने स्व. पूज्य पिताश्री श्यामकृष्ण श्रेष्ठज्यूले दोलखाको नेवारी–नेपाली शव्दकोष तयार पार्ने भनेर बाक्लो कापीमा दोलखाको नेवारी भाषाको शव्दहरु टिपेर राख्नु भएको थियो तर त्यो सामग्रीको भविष्यबारे अहिले कुनै जानकारी लिन सकिने अबस्था रहेको छैन ।

यसै गरी नेवारी शब्दकोषको कुरा गर्नु पर्दा द्वाल्खा नेपाल भाषा खलक र ग्रामीण सामूदायिक परिषद् दोलखाको प्रकाशन र उपेन्द्र प्रधानको सम्पादनमा “द्वाल्खा नेपालय खँकुठी” नाम दिएर दोलखाको नेवारी – नेपाली – अंग्रेजी माध्यमबाट शब्दकोष प्रकाशन गरेको रहेछ । यो एकदम खुसी र गौरवको कुरा रहेको छ । यस कार्यले दोलखाको नेवारी भाषा संरक्षण कार्यमा सहयोग पुग्ने कुरामा म विश्वस्त छु । दोलखाको नेवारी भाषा, संस्कृति र इतिहास जान्ने धेरै अग्रजहरु हुनुहुन्छ ।

यसै गरी यस पुस्तकलाई परिमार्जन सहित बृहत शव्दकोष“ र “दोलखा नेवारी भाषाको व्याकरण” प्रकाशन गर्न सके राम्रो हुने थियो । प्रकाशन र यस किसिमको क्रियाकलापमा मेरो तर्फबाट साथ र सहयोग हुनेछ । यस्तो महत्वपूर्ण ऐतिहासिक काममा सम्पूर्ण दोलखाली दाजुभाइ दिदीबहिनीहरुको पनि साथ सहयोग हुने कुरामा म विस्वस्त छु । हाम्रो मातृभाषा संरक्षणको पहल मध्ये यो पनी एक भएकोले यस कार्यमा हामी सवै मिलेर अगाडी बढ्नु पर्छ भन्ने मेरो धारणा रहेको छ । अन्यथा हाम्रो मातृ भाषा लोप हुँदै जाने खतरा छ, भाषा र संस्कृति लोप भयो भने हाम्रो पहिचानको अस्तित्व पनि हराउने छ ।

अन्तमा हजुरले हाम्रो यो बाँपिझ्याला अनलाईन पत्रिका हेर्नुभएको छ कि छैन, यदि छ भने यसलाई उजागर पार्नको लागि के कस्तो कदम चाल्नु पर्ला ?
फेसबुकको माध्यमद्वारा मैले बाँपिझ्याला अनलाईन पत्रिकाबारे थाहा पाएको हुँ । यसले नेपाली र दोलखाको नेवार भाषा, साहित्य, संस्कृति र कला मात्र नभएर विविध बहुआयमिक विषयवस्तुलाई समेट्दै कसकसको जन्मदिन कुन दिन पर्ने रहेछ भनेर शुभकामना मार्फत अबगत समेत गराउने जाँगर देख्दा पत्रिकाको टिम निकै सक्रिय रहेछ भनेर अनुमान लगाएको छु ।

यो पत्रिकाको उजागर गर्नाकालागी सर्वप्रथम राम्रो र स्तरीय सामाग्रीहरुको प्रकाशन गर्नु पर्छजस्तो लाग्छ र दोश्रो यो पत्रिकाको नाममा कुनै सामाजिक कार्यहरु गर्दा पनि यसको लोकप्रियता बढ्ने सम्भावना हुन्छ । यो पत्रिका प्रकाशनको महत्वपूर्ण कार्यकोलागि सम्पादक उपेन्द्र प्रधान, तपाई विके पासा र यस पत्रिकामा आवद्ध भएर प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने महानुभाव, शुभचिन्तक दाजुभाई दिदीबहीनी हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।

साथै म नेपाल बाहिर अमेरीका बसेको अवस्थामा पनी मलाई सम्झेर मेरो बिचारहरु बिशेषतः दोलखा जिल्लावासी लगाएत सम्पूर्ण मेरो शुभचिन्तक नेपाली दाजुभाई, दिदीबहीनीहरुको बिचमा पू¥याउने जुुन कार्य यस पत्रिकाले गरेको छ । यस कार्य प्रति हर्ष व्यक्त गर्दै बाँपिझ्याला अनलाईन पत्रिकाको उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछु ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment