Search

साउनको पहिलो सोमबार, बिभिन्न देव देवालयमा परिसरमै पूजा आराधना गरी मनाउँदै

साउनको पहिलो सोमबार, बिभिन्न देव देवालयमा परिसरमै पूजा आराधना गरी मनाउँदै

साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाउँदैछन् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भिड लाग्ने गरेकामा यसवर्ष कोभिडको जोखिम कायमै रहेकाले मूल ढोकामै तालाबन्दी छ । मूल मन्दिर बन्द गरिए पनि बाहिर भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधना गर्न नपाए पनि भक्तजन पशुपति क्षेत्रका शिवालयमा पूजाआराधना एवं दर्शन गरेर फर्किएका छन् ।

राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले पतिको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् ।

घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रतबसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन ४, ११, १८, २५ र ३२ गते सोमबार परेको छ ।
पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

गोकर्णेश्वर मन्दिर पनि बन्द
यसैगरी राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसमरमा भक्तजनको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना महामारीको जोखिम कायम रहेकाले बन्द गरिएको छ ।

पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजाआराधना गर्ने प्राचीन कालेदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ । यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिर बन्द हुँदा गोकर्णेश्वरमा भक्तजनको भीड बढ्नसक्ने भएकोले मन्दिर बन्द गरिएको हो । सूचना प्रकाशन गरेर मन्दिर बन्द गरी नित्य पूजामात्र गर्ने व्यवस्था मिलाइएको गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले जानकारी दिइन् ।

वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गरेकामा कोरोनाका कारण बन्द गरिएको छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने परम्परा छ ।

यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा ‘बोल बम’ उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बमयात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा कोरोनाका कारण गतवर्ष र यसवर्ष पनि प्रभावित भएको छ ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ । यसवर्ष साउन महिनामा १८ दिन रुद्री जुरेको समितिले जनाएको छ ।

भक्तजनलाई बाहिरबाट दर्शनको व्यवस्था
यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिर बन्द गरिए पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी मास्क, स्यानिटाइजर वितरण गरी दूरी कायम गरेर बाहिरबाट दर्शनको व्यवस्था मिलाइएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए ।

दोलखा भीमेश्वरमा पनी बाहिर बाटै दर्शनको व्यवस्था
यसै गरी दोलखा भीमेश्वरमा पनी आज साउनको पहिलो सोमबार बिहानदेखि ब्रत बस्ने भक्तजन महिला दिदीबहीनीको भिड भएपनी सुरक्षाको कारणले गर्दा मन्दिरको सिढीँबाटै दर्शन गर्ने व्यवस्था गरिएको छ भनी भीमेश्वर व्यवस्थापन समितीमा कार्यरत कर्मचारी हरिदर्शन जोशीले बताउनु भयो ।

कोभिडअघि मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लाग्ने गर्दथ्यो । यस महिनाको सोमबार पारेर मन्दिरमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, मुद्दामामिलाको झन्झटबाट मुक्ति पाइने र कालसर्प योगको दोष जन्मकुण्डीमा भए यसबाटसमेत राहत मिल्ने धार्मिक विश्वास छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment