२६ असार, बाँपीझ्याला, काठमाडौं । भारतको केरला राज्यमा जीका भाइरसका १४ संक्रमित फेला परेसँगै त्यहाँको सरकारले सतर्कता बढाएको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जर्जले तिरुअनन्तपुरम जिल्लामा जिका भाइरसका संक्रमित फेला परेको पुष्टि गरेकी हुन् । विनाले भनेकी छिन्, ‘राज्यको सबै स्वास्थ्य निकायलाई सतर्क गराइएको छ । सबै जिल्लाको मेडिकल अधिकारीलाई पनि विशेष गरी गर्भवती महिलाको ख्याल गर्न भनिएको छ । ‘हामी लगातार अनुसन्धान गरिरहेका छौं ।
हामीले पुनेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीलाई नमुना संकलन गरेर पठाइरहेका छौं । चिन्ता गर्नुपर्ने त्यस्तो केही छैन । हामीले राज्यभर परीक्षण र निगरानी बढाएका छौं’ उनले भनेकी छन् । भारतमा सन् २०१६–१७ मा पहिलोपटक जिका भाइरसका संक्रमित देखिएका थिए । त्यतिबेला गुजरातमा यो भाइरसका संक्रमित फेला परेका थिए ।
सन् १९४७ मा युगाण्डाको जीका जंगलका बाँदरमा पहिलोपटक यो भाइरस देखिएको थियो । तर, सन् १९५२ मा यसलाई औपचारिक रुपमा एक विशेष किसिमको भाइरस मानिएको थियो । यद्यपि शोधकर्ताहरुका अनुसार भारतमा ठूलो संख्यामा मानिसहरु संक्रमित भएका थिए । किनकि १९६ जनामा परीक्षण गर्दा ३३ जना मानिसमा यो भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास भइसकेको पाइएको थियो । यी शोधकर्ताहरुले जिका भाइरसले भारतमा पनि मानिसहरुलाई संक्रमित बनाइरहेको निष्कर्ष निकालेका थिए ।
यो भाइरस विशेषगरी लामखुट्टेबाट फैलिने गरेको छ । यद्यपि यौन सम्बन्धबाट पनि यो भाइरस सर्न सक्छ । यो भाइरसको कारण बालबालिकाको मष्तिस्कको विकास हुन पाउँदैन । धेरै संक्रमितको कम विकसित मष्तिस्क भएको बच्चा जन्मिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०१६ मा जिका भइरसलाई विश्व स्वास्थ्य आपतकाल भएको बताएको थियो ।
जीका भाइरसको संक्रमणका लक्षणहरु
यो भाइरसको संक्रमण भएका मानिसको मृत्युदर निकै कम छ । पाँच संक्रमितमध्ये एकजनामा यसको निम्न लक्षण देखिन्छ –
हल्का ज्वरो
आँखा रातो हुने वा सुन्निने
टाउको दुख्ने
अत्यधिक जीउ दुख्ने
शरीरमा बिमिराहरु देखिने
अहिलेसम्म यो भाइरसको लागि कुनै पनि खोप र औषधि उपलब्ध छैन त्यसैले बिरामीलाई आराम गर्ने र धेरैभन्दा धेरै तरल पदार्थ खाने सल्लाह दिइन्छ ।
सबैभन्दा चिन्ताको कुरा यसको असर गर्भमा बढिरहेको बच्चालाई पर्छ । यस्तो अवस्थामा कम विकसित मष्तिस्क भएको बच्चा जन्मिन्छ । यसलाई माइक्रोसेफली भनिन्छ ।
के हो माइक्रोसेफली ?
जब बच्चा जन्मिँदा उसको मष्तिस्क कम विकसित र असामान्य हन्छ, त्यसलाई माइक्रोसेफली भनिन्छ । यो अवस्थामा मष्तिस्क राम्रोसँग विकसित हुन पाएको हुँदैन । यसको गम्भीरता कम वा धेरै हुन सक्छ ।
यद्यपि मष्तिस्क कहिलेकाहीँ पूर्ण रुपमा विकसित नभएको कारण जीवनको प्रमुख कार्यलाई पनि नियन्त्रित गर्न सक्दैन । जुन निकै घातक हुन सक्छ ।
यो भाइरसबाट संक्रमित भएका बच्चाको मष्तिस्कले राम्रोसँग काम गर्न सक्दैन र उसको विकास पनि सही समयमा हुन सक्दैन ।
यस्तो अवस्था रुबेला, गर्भावस्थाको समयमा नशा सेवा गर्ने वा वंशाणुगत असामान्यताजस्ता संक्रमणको कारण पनि हुन सक्छ । डब्ल्यूएचओका अनुसार वैज्ञानिकले जिका भाइरसको कारण माइक्रोसेफलीका साथै गिलेन बेरे सिन्ड्रोम पनि हुन सक्ने बताएका छन् । यो संक्रमणको कारण एक विशेष किसिमको समस्या देखिन्छ । यसलाई गिलेन बेरे सिन्ड्रोम भनिन्छ । यसको कारण अस्थायी पक्षघात हुन सक्छ ।
गर्भावस्थामा केही बच्चाको मृत्यु भएपछिको अध्ययनमा बच्चाको मष्तिस्कमा यो भाइरस पाइएको थियो । भाइरस फैलिन सक्ने अवस्थामा सरकारले महिलालाई गर्भवती नहुन सल्लाह दिने गरेको छ । विशेषज्ञले जिका भाइरसको सम्बन्ध गर्भावस्थाको धेरै जटिलतासँग पनि जोडिएको हुन सक्ने बताएका छन् । जसमा गर्भपतन, मरेको बच्चा जन्मिनु, समयभन्दा पहिला बच्चा जन्मिनु र आँखाको समस्याजस्ता कारण हुन सक्छन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)का अनुसार जिका भाइरस रगतमा एक सातासम्म रहन्छ र यौन सम्बन्ध राख्दा पनि सर्न सक्छ ।
सीडीसीका अनुसार यदि संक्रमण मुक्त भइसकेपछि गर्भाधारण हुने हो भने बच्चामा यसको संक्रमण देखिँदैन ।
सन् २०१६ मा डब्ल्यूएचओले जिका भाइरस प्रभावित क्षेत्रमा बस्ने र त्यहाँबाट आउने जोडीलाई आठ सातासम्म सुरक्षित यौन सम्बन्ध मात्र राख्न सुझाव दिएको थियो ।
पुरुषलाई जिका संक्रमण भएको भए ६ महिनासम्म उसलाई यौन सम्बन्ध नराख्न वा सुरक्षित यौन सम्बन्ध मात्र राख्न सुझाव दिइन्छ ।
कहाँबाट आयो जिका भाइरस ?
जिका भाइरसको सन् १९४७ मा पहिलोपटक युगाण्डामा बाँदरमा फेला परेको थियो । सन् १९५४ मा नाइजेरियामा पहिलोपटक मानिसमा यो संक्रमण देखिएको थियो । त्यसपछि अफ्रिका, दक्षिणपूर्वी एसिया र प्रशान्त द्वीप क्षेत्रमा यो संक्रमण देखिएको थियो ।
पहिला जिकाको संक्रमणको स्तर निकै कम थियो र यसबाट मानिसको जीवनमा कुनै खतरा नरहेको मानिएको थियो । यद्यपि सन् २०१५ मा ब्राजिलमा जिका भाइरसका संक्रमित फेला परेका थिए र त्यसपछि तीव्र गतिमा निरन्तर यसको संक्रमण फैलिएको थियो ।
कसरी फैलिन्छ संक्रमण ?
यो एडिस लामखुट्टेबाट सर्छ । यो लामखुट्टेको कारण डेंगु र चिकनगुनियाजस्ता रोग पनि फैलिन्छ । क्यानडा र चिलीलाई छाडेर पूरा अमेरिका महादेशमा यो लामखुट्टे पाइन्छ । त्यसका साथै एसियामा पनि यो लामखुट्टे पाइन्छ ।
यद्यपि औलो फैलाउने लामखुट्टेभन्दा फरक यो लामखुट्टे दिउँसो धेरै सक्रिय हुन्छ । यदि यो लामखुट्टेले संक्रमित व्यक्तिलाई टोक्यो भने यसले अन्य धेरै मानिसलाई पनि संक्रमित बनाउने सम्भावना हुन्छ ।
संक्रमण निको हुन कति समय लाग्छ ?
अहिलेसम्मको प्रमाणलाई हेर्ने हो भने यो संक्रमण एक सातासम्म रहन्छ । यद्यपि मानिसको वीर्यमा भने यो भाइरस दुई सातासम्म रहन सक्छ । संक्रमणबाट प्रभावित धेरै मुलुकमा यसअघि नै सुरक्षित रुपमा मात्र यौन सम्बन्ध राख्न र एक महिनासम्म रक्तदान नगर्न सल्लाह दिइएको थियो ।
रोकथामका उपायहरु
अहिलेसम्म यसको कुनै उपचार उपलब्ध छै्रन । त्यसैले यसको एकमात्र उपाय भनेको लामखुट्टेबाट बच्नु नै हो । स्वास्थ्य अधिकारीहरुले दिएको सुझाव अनुसार
इन्सेक्ट रेपेलेन्ट्सको प्रयोग गरौं
लामो बाहुला भएको कपडा लगाऔं
झ्याल ढोका बन्द राखौं
घरनजिकै पानी जम्मा हुन नदिऔं