Search

हामीलाई दोलखाली छोराछोरीको रुपमा पहिचान दिलाउने धरातल नै दोलखा हो । यहाँको हरेक संस्कृति र प्रकृति संग हाम्रो अमीट छाप बसेको छ ।

हामीलाई दोलखाली छोराछोरीको रुपमा पहिचान दिलाउने धरातल नै दोलखा हो । यहाँको हरेक संस्कृति र प्रकृति संग हाम्रो अमीट छाप बसेको छ ।

देशको सर्वाङ्गीण विकासको लागि एकल प्रयास असम्भव छ । जसको लागि समूह, सामुदायिक संघ, संस्थाको अत्यावश्यक छ । यसमा सरकारी पक्षले पनि सदाशयता प्रकट गर्नु अत्यन्तै जरुरी छ । तर सरकारी तवरमा राजनीतिक अन्यौेल र सत्ता समीकरणको हानाथापले राज्यको विकासको कार्यपत्रमा विभिन्न कार्यविधिको खाका तैयार गरिए तापनि एकता शैलीमा अवरोध हुनेगर्दो कैयन् निर्माणका नीतिहरु ओझेलमा पर्न गएको कुरालाई नकार्न सकिन्न ।

देश निर्माणका लागि भनेर विभिन्न संघ संगठन, कर्पोरेट कार्यालयहरु नखोलिएका हैनन्, तर देशमा भएको पार्टीगत नीति निर्देशनमा एकरूपता नदेखिएकाले विकासका कार्यक्रममा टाँचा लागेको देखिनु पनि अस्वभाविक होइन । यिनै कुराहरुलाई दृष्टिगत गरि नेपालमा एउटा सशक्त निर्माण व्यवसायीहरुले संघको अत्यन्तै आवश्यकता महशुस गरेर बुद्धिजीवी, प्राज्ञ, ईन्जिनियर, तथा प्राविधिज्ञहरुले विशेष गहनताका साथ सरसल्लाह गरेर बिभिन्न व्यवसायमा आवद्ध व्यक्तिहरुले नेपाल निर्माण व्यवसायी संघको स्थापना गरिएको हो ।

२०४७ साल जेठ २१ गते विधिवत रुपमा स्थापना गरिएको यो निर्माण व्यवसायी संघले विभिन्न आरोह अवरोह पार गरेर चार वर्षपछि २०५६ सालमा “महासंघ” को रुपमा स्थापित हुन पुगेको हो । निर्माण उद्योगको सम्बन्धमा नेपाल सरकारले समय समयमा लागू गर्ने गरेको नीति, नियम र सिद्धान्तलाई निर्माण व्यवसायीहरूको हितमा प्रतिपादन गर्न, संशोधन गर्न र यसलाई कार्यान्वयन गर्न गराउन निर्माणकार्यको सिलसिलामा तयार गरिने बोलपत्र, करारपत्र आदि दस्तावेजमा अमेल एवं एकपक्षीय सर्तहरु हटाई अन्तर्राष्ट्रिय स्तरमा कायम गर्नका लागि नेपाल सरकार तथा अन्य संघसंस्था वा निकायसमक्ष सुझाव पेश गरेर विभिन्न गोष्ठी, सेमिनार, छलफल आदिको आयोजना गरेर यस निर्माण व्यवसायी महासंघलाई प्रभावकारी बनाउने उद्देश्यसाथ स्थापित गरिएको हो ।

स्थापनाकालदेखि वर्तमानसम्म अनेकौं उतारचढाव पार गरेर आफ्नोे कार्यक्रम र कार्यनीतिलाई अगाडि बढाउँदै जाँदा अदृश्य जीवाणु (कोभिड–१९ ’क’ र ’ख’) प्रकोपले विश्वजगतलाई तहस नहस पारिदिएको अवस्थामा यस महासंघलाई पनि धरापमा पारिएको कुरालाई नकार्न सकिन्न । त्यसपछिका प्राकृतिक प्रकोपले ठाउँठाउँमा रहेका निर्माण गर्न लागिएका विकासका पर्खालहरु भत्काएर झनै ठूलो समस्या र चुनौतीलाई सामना गर्नुपरेको छ । यस्तो विषम परिस्थितिमा पनि यो निर्माण व्यवसायी महासंघ अनवरत लागिपरेको कुरा सर्वविदितै छ । अहिलेको वर्तमान समयमा यसै महासंघमा कार्यरत पदाधिकारीहरुले हरेक कार्यहरू सराहनीय छ । यसै अन्तर्गतको कार्यकारिणी सदस्यीय रुपमा महासचिवको पदमा रहनु भएका दोलखाका प्रतिभाशाली युवा व्यवसायी रोशन दाहाल रहनुभएको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं.–२ राम्पा निवासी स्वर्गीय पंडित पिताजी गोविन्द प्रसाद दाहाल र माता जगमाया दाहालको कोखबाट जन्मनु भएका ५ भाइ छोराहरु मध्ये कान्छो सुपुत्र हुनुहुन्छ रोशन दाहाल । भीम माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा उतिर्ण गरेर काठमाडौंको शंकरदेव कलेजबाट प्रवीणता प्रमाणपत्र तह दाहालले उतिर्ण गर्नु भएको हो ।
बाल्यकालदेखि नै पढाइमा लगनशील विद्यार्थीको रुपमा परिचित रोशन दाहाल हाल यस नेपाल निर्माण व्यवसायी महासंघको महासचिव भएर काम गरिरहनु भएको छ । यस महासंघमा रहेर काम गरिरहँदाको अनुभव, कार्यनीति, कार्यविधि आदिबारे केही जानकारी लिएर सबै सामु राख्ने उद्देश्यले हाम्रो बाँपिझ्याला प्रतिनिधि बालकृष्ण “पासा“ संग भएको महत्वपूर्ण कुराहरुको केही अन्तरंग सार संक्षेप यहाँ प्रस्तुत गरेका छौं ।

नमस्कार रोशन सर, यहाँलाई हाम्रो बापिझ्याला अनलाइन पत्रिकामा स्वागत छ ।
नमस्कार दाजु, धन्यवाद ।

हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
के गर्नु र खै, कोभिड १९ को पहिलो र दोश्रो संक्रमणले सरकारले लगाएको निषेधाज्ञाले अघोषित कैदी बनाएको छ । बाहिरी वातावरणबाट अझै अनभिज्ञ बनेर बस्नु परेको छ । नचाहँदा नचाहँदै पनि आफ्नो आफन्तबाट टाढिनु परेको छ । सबै काम लथालिङ्ग बनेको छ । त्यत्तिकै घरको कोठाभित्र यसो समाचार हेर्यो, टीका टिप्पणी सुन्यो बस्यो तथ्यांकलाई त्यही हो । तर अव निषेधज्ञालाई सरकारले केही खुकुलो बनाएर ल्याएको छ अव हेरौं काम गर्न कतिको सहज परिस्थिती हुन्छ ।

त्यै त, यो संक्रमणकारी कोरोनाले जनजीवन त अस्तव्यस्त बनाईहाल्यो, यस्तो अवस्थामा कस्तो के मा अलमलिनु भएको छ त ?
आफ्नो र अरु सबैको स्वास्थ्य र समयको हिसाबले भौतिक दूरीको नियमलाई पालना गरेर आफ्ना पेशा र व्यवसायलाई चलायमान गर्ने गराउने काममा कोशिस जारी राखेको छु । सँधैजसो कार्यालयमा गएर व्यवसायीका समस्या लिएर सम्बन्धित क्षेत्रमा गएर समाधानको लागि पहल गर्ने गरेको छु ।

तपाईं त नेपाल निर्माण व्यवसायी महासंघको महासचिवमा हुनुहुँदोरहेछ, यो क्षेत्रमा कसरी पुग्नुभयो त ?
म यो निर्माण व्यवसायको बारेमा त्यत्ति ज्ञान नहुँदा नहुँदै २०४८ सालतिर प्रवेश गरेको हुँ । २०५४ सालदेखि काठमाडौं उपत्यकामा रहेका तीनवटै जिल्लालाई (काठमाडौं, भक्तपुर र ललितपुर) समेटेर सबैभन्दा पहिले काठमाडौं उपत्यका निर्माण व्यवसायी संघ स्थापना गरि त्यहाँ रहेका सम्पूर्ण निर्माण व्यवसायीलाई समेटेर सबैको हकहितका लागि गठन गरिएको संघमा संस्थागत सचिव हुँदै ३ वटा कार्यकालसम्म त्यही संस्थाको अध्यक्ष भएर एक कार्यकाल निवर्तमान अध्यक्ष रहि तत्पश्चात निर्माण व्यवसायीहरूको एकमात्र छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको सह–कोषाध्यक्ष हुँदा २ कार्यकाल कोषाध्यक्षमा रहेर हाल महासचिवको पदमा कार्यरत छु । साथै व्यावसायिक राजनीति संगै आफ्नो पेशा व्यवसायलाई निरन्तर अगाडि वढाईरहेको छु ।

यो महासंघले देश निर्माणका लागि गरिरहेका महत्त्वपूर्ण कदम कुन माध्यमबाट अगाडि बढिरहेको छ ? यसबारेमा केही बताउन दिनु हुन्छ की ?
यो महासंघ एउटा विशुद्ध व्यावसायिक संस्था हो । यसले निर्माण क्षेत्रमा रहेका विसंगति विकृतिको जरैदेखि उखेलेर व्यवसाय मैत्री ऐन नियमको लागि नेपाल सरकारसँग सहकार्य गरि समयसमयमा आफ्ना रायसुझाव दिने कार्य गर्दै निर्माण व्यवसायीहरूको विविध समस्याहरूको लागि अग्रस्थानमा रहेर सम्बन्धित निकायमा पहल गर्दै आएको छ । देश निर्माणको मेरुदण्डमा रहेको क्षेत्रलाई गुणस्तरीय निर्माण गर्ने, समयमा सम्पन्न गर्ने गरि आम उपभोक्तालाई सहजरूपमा हामीले निर्माण गरेका भौतिक संरचनाहरुको उचित समयमा उपयोग गर्न पाउने अधिकारलाई समेत अंगीकार गर्ने र त्यसतर्फ सम्पूर्ण निर्माण व्यवसायीलाई सम्बन्धि क्षेत्रका विज्ञहरुसंग बेलबेलामा हुने गोष्ठी सम्मेलनमार्फत ध्यानाकर्षण गर्ने काम गर्छ ।

महासंघले नेपालको कुनकुन क्षेत्रमा आफ्नो अभियान शुरु गरिरहेको छ त ?
यो महासंघ नामैले निर्माण व्यवसायी संघ भएकोले यो एउटा राज्यको राज्यको भौतिक पूर्वाधारको मेरुदण्ड भएको हुँदा स्वभावैले यसले निर्माण क्षेत्रलाई प्रतिनिधित्व गर्छ र केही सामाजिक क्षेत्रमा पनि उल्लेख्य प्रतिनिधित्व गरिरहेको छ ।

यो कोभिड–१९ को पहिलो र दोस्रो लहरमा पारेको यस महासंघ लगायत अन्य विकासका बारेमा भन्नुपर्दा कसरी भन्नु हुन्छ ?
कोभिड १९ को पहिलो र दोस्रोको असरले हाम्रो क्षेत्र मात्रै होइन सम्पूर्ण क्षेत्र नै तहसनहस बनाएको अवस्था रहेको छ । मानव जगतलाईनै तहसनहस बनाएर आएको यो महामारीले निर्माण क्षेत्र पनि अछुतो रहन सकेन । यसले समग्र निर्माण क्षेत्रलाई ठूलै असर पारेको छ, गतसालको कोभिडको पहिलो लहरले मात्रै करीब ६५ अरबको नोक्सानी व्यहोर्नुपरेको यस क्षेत्रले हालको कोभिडको प्रभाव र असर कहिले हट्ने हो टुंगो छैन र अहिले पनि विगतको जत्तिकै घाटा व्यहोर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ निर्माण सामाग्रीहरुमा भएको मूल्यवृद्धिले गर्दा झनै ठूलो असर परेको छ । समयमा कामदार नपाउने निर्माण सामाग्री पनि समयमै उपलब्ध नहुने आदि कारणले गर्दा यो निर्माण क्षेत्र तहसनहस अवस्थामा छ ।

कोभिड संक्रमणले नेपाली जनताको आर्थिक स्थिति दयनीय अवस्थामा गुज्रिएको छ यतिबेला जनताको लागि सरकारले के गरिदिए हुन्थ्यौ जस्तो लाग्छ ?
यसको लागि त सबैभन्दा पहिला त खोप नै हो । यो खोप छिटोभन्दा छिटो उपलब्ध गराउन जरुरी छ, निम्नस्तरका ज्यालादारी मजदुरहरूलाई राहतको व्यवस्थापन सरकारी पक्षले गर्नुपर्ने पर्छ । स्वास्थ्य मापदण्डमा कडाइ गरेर कामदार कर्मचारीलाई आआफ्नो व्यवसायमा फर्काउन सरकारको दायित्व हो । यसमा सरकारको मात्रै दायित्व हो भनेर हामीहरुले पनि लापरबाही गर्नुहुन्न, तपाईं हामी सबैको कर्तव्य पनि हो ।

अनि जन्मभूमि दोलखाको सेरोफेरोमा यस महासंघको दृष्टिकोण र लगाव कस्तो छ त ?
मेरो जन्मघर दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा हो । यो ऐतिहासिक अनी धार्मिक तथा पर्यटकीय स्थान पनि हो । यसकारण विशेषतः दोलखा भीमसेनमा दशर्न गर्न आउने भक्तजनहरुको सुविधालाई ध्यानमा राखी नेपाल निर्माण व्यवसायी महासंघले हालैमात्र भीमेश्वर मन्दिर परिसरमा सरसफाइको लागि अति आवश्यक रहेको २×२ हजार लिटरको २ वटा स्टिलको खानेपानी ट्यांकी सहित त्यसको आवश्यक प्लेट फर्म बनाई भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समिती अध्यक्ष भरत बहादुर श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।
यसैगरी त्रिपुरासुन्दरी (देवीकोट) र पाखलतीमा पनि पानी ट्याङ्की राखिदिने योजना बनाईएको छ । हालैमात्र कोभिडबाट पीडित दोलखाका जनताको लागि आवश्यक पर्ने स्यानीटाइजर र मास्कहरु वितरण गरेको छु । आवश्यक परेको समयमा जिल्लामा भएका र हुने विभिन्न खेलकुद तथा सामाजिक कार्यमा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्दै आएको छु यस कार्यलाई निरन्तरता दिनेछु ।

अब प्रसङ्ग बदलौं, दोलखाको नेवारी भाषा संस्कृतिबारे र दोलखामा लोपोन्मुख जात्रा पर्बबारे केही भन्नुहुन्छ कि ?
दोलखाको माटोमा जन्मेर हुर्केको यो जीवनमा पहिला पहिला राम्पा घरबाट दोलखा शहर पुग्दा संसारमा यो भन्दा ठूलो शहर अन्तपनि होला र जस्तो लाग्थ्यो, त्यहाँको जस्तो जात्रामात्रा अन्त छैन होला जस्तै महशुस हुन्थ्यो, तर जब ठूला हुँदै जाँदा र पढाइको सिलसिलामा काम कर्तव्यको कारणले देशविदेशमा पाइला हाल्न बाध्य भएपछि शहरको भौगोलिकतामा फरक त हुने नै भयो । तथापि आफू जन्मेको ठाउँको विशाल र महान विशेषतासंग अन्य ठूलाठूला शहरको तुलना गर्न यो मनले मान्दैन र मान्ने पनि छैन । अर्को कुरा काम गर्दागर्दै परदेशमै घर बनाएर बसेपनि जन्मेको ठाउँको झुपडी पनि स्वर्गस्वरुप ठान्नुपर्छ । किनकि हामीलाई दोलखाली छोराछोरीको रुपमा पहिचान दिलाउने धरातल नै दोलखा हो । यहाँको हरेक संस्कृति र प्रकृति संग हाम्रो अमीट छाप बसेको छ ।

काठमाडौंमा चाहे जस्तोसुकै विशाल दरबार जत्रै महल बनाएपनि म दोलखाली हुँ भन्ने गर्वलाई परित्याग गर्नुहुन्न, यहाँको संस्कृति परम्परालाई दिगो राख्न दोलखाको कमेरो, रातोमाटोलाई आफ्नै रगत र अंग सम्झ्रेर लाग्नुपर्छ, समय अनुसारको परिवर्तन भए तापनि हाम्रो मनस्थिति र पुर्खाहरुले संरक्षण गरेर पहिचान दिलाएका भाषा, संस्कृती र परम्परालाई निरन्तरता दिन तपाईं हामी सबै दत्तचित्त हुनुपर्छ । २÷४ वर्ष विदेशमा बसेर केही रकम कमाउँदैमा “दोलखामा त बस्नै मन लागेन” भन्ने संकीर्ण सोचलाई त्यागेर, हराउँदै गएका परम्परागत नाच, जात्रालाई हुबहु नभए तापनि प्रतीकको रुपमा यथावत राख्ने पहल गर्नुपर्छ ।
यसैगरी भाषागत दृष्ट्रिले दोलखाको नेवार भाषा सबै बुझ्छु तर बोल्ने बानी नभएको कारणले मात्रै अप्ठ्यारो महशुस भएको हो । फेरी दोलखामा सानै उमेर देखि हुर्केको कारणले दोलखाको भाषा, संस्कृती, परम्परा र चाडपर्वहरु संग म धेरै नजिक छु । मेरा बुबा अनि तीनजना दाजुले त बोल्नुपनि हुन्छ । यो भाषा त झन् महाभारत जस्तो ग्रन्थमा समेत उल्लेख गरिएको पाण्डवहरुले प्रयोग गर्ने पौराणिक भाषा पनि भएकोले यसलाई अझ सशक्त रुपमा अगाडि बढाउन पहल गर्न जरुरी छ । यसको लागि यस पत्रिकाका सम्पादक मेरो आत्मीय मित्र उपेन्द्र प्रधान, तपाईं लगाएत सम्पूर्ण टिमलाई अग्रसर भएर लागेकोमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।

हवस् त रोशनजी अत्यन्तै व्यस्तता हुँदाहुँदै पनि हामीलाई आफ्नो व्यवसायबारे, दोलखाको संस्कृति र प्रकृतिबारे अमूल्य महत्वपूर्ण कुराहरु राखे सहयोग गर्नु भएकोमा हृदयदेखि आभार व्यक्त गर्दैछौं ।
मेरो पारिवारिक, व्यक्तिगत र हाम्रो व्यवसायी महासंघको तर्फबाट पनि यहाँहरुको यो बाँपिझ्याला अनलाइन पत्रिकालाई विशेष धन्यवाद छ, यस्तो विषम परिस्थितिमा पनि केही कुरा राख्न सम्झिनु भएकोमा सधन्यवाद दिंदै यस पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!